कतारबाट काठमाडौँ

- दीपक भेटवाल

कतार छाडेर काठमाडौँ बसाइँ सरेको पनि चार महिना बितिसकेछ । अझै पनि स्मृतिका पुञ्ज बनेर मेरो मनको खुला आकाशमा यदाकदा कतार छाइरहन्छ । अझै उतै बसेर घाम खाँदै गरेका दौँतरीहरुको सम्झना आइरहन्छ । कतार मेरो मनको गहिराइमा अझै पनि अमिट विम्ब बनेर बसिरहेको छ । घरमाथिको आकाशमा पखेँटा फिजाएर ओहोरदोहोर गरिरहेको कतार एयरवेजको जहाज देख्दा एकटकले हेरिरहूँ लाग्छ । नाडीघडीमा अझै कतारी समय चलिरहेको छ । मनोवैज्ञानिकको कुन ग्रन्थीले काम गरेर हो, घडीको सुईलाई नेपाली समय अनुसार मिलान गर्न अझै जाँगर चलेको छैन ।

झन्डै १२ वर्ष मैले कतारी भूमिमा बिताएँ । थाहै नपाई एक जुग बितेछ । एउटै थलोमा अविचलित भई यति लामो समय काम गरेको मेरो पहिलो अनुभव थियो । उमेरका हिसाबले पनि जीवनको सबैभन्दा ऊर्जाशील समय कतारको घाममा नै काटेको थिएँ । टाउकाको दुई पाखोमा फुल्न ठीक्क परेका केश देख्दा, मनमा च्वास्स बिझ्छ, ओहो, जवानी त कतारको घामले खाइदिएछ । त्यहाँ मैले जीवनका तीनै घुम्ती काटेँ । मेरा दुई सन्तान कतारमै जन्मिए । अनेक हन्डर–ठक्कर र घाम खाँदै जीवनका तीनै आयामको दह्रो खुट्टा टेकेँ । म एक पुत्र, पति र पिता भएँ ।

चौबीस वर्षको जोशिलो उमेरमा पहिलोपल्ट कतारमा पाइला टेकेको थिएँ । उतिबेला त्यो विरानो देशमा मेरो आफ्नो भन्नु कोही थिएन । हातमा सीप, इलम केही थिएन । मलाई आफ्नै बाटो र गन्तव्यको पनि टड्कारो होश थिएन । आफ्नो जीवनको बोझले आफैँ थिचिएको कुप्रो नियति बोकेर मरुभूमिमा हिँड्दै थिएँ । बोझिला पाइलाहरु अन्धकार जीवनपथमा टेकेर म बेहिसाब कुदिरहेको थिएँ– मनको सुदूर कुनामा उज्यालो बिहानीको लालसा बोकेर । त्यतिबेला विकासको वायुपंखी घोडा चढेर वेगवान गतिमा कुदिरहेको कतारको सानो सहर दोहामा बस्थेँ म । यस विरानो सहरमा मनको गह्रौँ झोली बिसाउने मेरा निकट आफन्तजन कोही थिएनन् नै, सहयोगको हात फैलाउने प्रिय मित्रजन पनि कोही थिएनन् । मनमा भय, त्रास र अनिश्चितता बोकेर बिरानो भूमिमा गोता खाइरहँदा म घरिघरि आफैँलाई प्रश्न गर्थें– ‘गरी खाइएला त ?’ तर, समय र नियतिको कुन संयोग मिलेर हो कुन्नि, मैले कतारमा गरिखाएँ ।

सानो कम्पनीमा ठीकैको काम पाएँ । जानेको केही थिएन । तैपनि, धैर्य र लगनसाथ काम सिक्दै गएँ । रातदिन नभनी काममा घोटिँदै गएँ । कामको लत बस्दै जान थाल्यो । अनि, आराम, निद्रा र खान्कीको समेत प्रभाव नगरी काममा घोटिन थालेँ । काम, काम अनि काम । कहिलेकाहीँ म १८ घन्टासम्म नियमित काम गर्थें । काममा पागल मान्छेजस्तो भएँ । एउटै ध्येय धन आर्जन थियो । अनुभव बढ्दै जाँदा आयको आयतन पनि बिस्तारै फैलिँदै जान थाल्यो । अनि, आफैँलाई पनि अब त गरी खाइएलाजस्तो आत्मविश्वास बढ्न थाल्यो । झन्झन् पैसाको दासजस्तो भएर काममा घोटिन थालेँ ।

कामले मलाई काम सिकायो । अनुभव र आत्मविश्वासको घेरा पनि फराकिलो हुँदै जान थाल्यो । कम्पनीको व्यापार पनि फैलिँदै जान थाल्यो । धैर्य, लगनशीलता र इमानदारीको नतिजा बिस्तारै देखिँदै जान थाल्यो । आफैँले जग हालेर काम सुरु गरेको कम्पनीले कतारी बजारमा फराकिलो स्थान पाउँदै जान थाल्यो । कम्पनीभित्र मेरो मर्यादा बढ्दै जान थाल्यो । मालिकसँगको सम्बन्ध मित्रवत त थियो नै, सहकर्मीबीच पनि म सबैको प्रिय थिएँ । बिस्तारै भिज्दै गएँ ।

कामबाहिर मेरो संसार खासै ठूलो थिएन । तर, कतारमा विशाल नेपाली समुदाय थियो । ती विभिन्न विचार, भूगोल, कला, संस्कृति, पेसाका आधारमा गोलबन्द थिए । म आफैँ पनि एउटा साहित्यिक संस्थामा आबद्ध थिएँ । शुक्रबारे छुट्टीमा ती कुनै पार्क वा सभाहलमा भेला हुन्थे । राष्ट्रिय गान गाउथे, देशप्रेमले निथु्रक्क भिजेर कविता वाचन गर्थे र विभिन्न पर्वमा सांस्कृतिक पहिरनमा सजिएर नाचगान गर्थे । यदाकदा फुर्सदमा र आयोजकको वचन हार्न नसकेका बेला म पनि शुक्रबारे भेलामा सरिक हुन्थेँ । त्यस्ता कार्यक्रम मलाई जीवनका ससाना देउरालीजस्ता लाग्थे । यति पर दूरदेशमा पनि यिनीहरुले देशको मानचित्र, झन्डा र राष्ट्रिय गान सँगै बोकेर ल्याएका थिए । जतनसँग मनमा सम्हालेर राखेका थिए । कतारका यी नेपाली समुदायले नाचगान र कविता वाचन मात्र गर्दैनथे । देशमा कुनै प्राकृतिक विपत्ति परेको खबर पाउनासाथ गोलो परेर भेला हुन्थे अनि फराक छातीले सहयोग गर्थे । समाजका मनकारी अभियन्ताहरु कतारभित्रै कोही नेपाली भोकै पर्दा अन्नको बोरा बोकेर कुद्दै पुग्थे । कतारका नेपालीका नि:स्वार्थ देशप्रेमबाट देशभित्रै बसेर दोहन गरिरहेकाहरुले सिक्नुपर्ने कुराहरु कति छन् कति ।

मेरो जिन्दगी सबै ठीकठाक चल्दै थियो । कामको सिलसिला समातेर संसार घुमिरहेकै थिएँ । कामको बोझ हल्का हुँदै थियो । आम्दानीको थैली राम्रै थियो । आफ्नै व्यवसाय सुरु गरुँ भने पनि बाटो खुल्लै थियो । सायद कतार प्रवेश गर्नुको मेरो अभीष्ट पूरा भइसकेको थियो । कर्पोरेट संस्कृतिमा अभ्यस्त हुँदै जान थालेको जीवनशैली र मेरो अन्तस्करणबीच हल्का घर्षणका ध्वनिहरु सुनिन थाले । अन्तस्करणले मलाई भन्यो– ‘भाइ, धनसम्पत्तिले दिने सुखको एउटा सीमा हुन्छ । सीमा नाघेपछि धनले सुख होइन, दु:ख दिन थाल्छ । अलि समय मैले आफ्नै मनको आवाजलाई टारेँ । तर, मनले मलाई लखेट्न छाडेन । एक दिन मैले मनको टड्कारो आवाज सुनेँ– ‘भाइ, व्यवसाय तेरो मूल रुचिको विषय होइन ।’ आफ्नो रुचि अनुसारको कर्ममा लाग । अनि, मैले कर्पोरेट जंगलबाट निस्किएर रुचिपूर्ण जीवन बाँच्नका लागि कतार छाड्ने निर्णय गरेँ ।

१२ वर्षमा खोला पनि फर्कन्छ भन्छन् । म पनि १२ वर्षपछि कतार बसाइको बिट मारेर मुलुक फर्किएँ । फर्किएपछि उहिल्यै छाडेर हिँडेको आफ्नो थातथलोमा फर्केर बस्न मन लागेन । काठमाडौँमै बस्न थालेँ । काठमाडौँ निकै प्रिय लाग्छ । यो सहरसँगको मेरो पुरानो सम्बन्ध बेलाबेलामा सम्झिरहन्छु । यो सहर मेरो जीवनका कैयौँ उतारचढावको साक्षी बसेको छ । यहाँका सडक, गल्लीहरुमा जीवनको उज्यालो खोज्दै भौँतारिएको पुराना विम्बहरु अझै मानसपटलमा छाइरहन्छन् । यही सहरको सडकमा उभिएर यदाकदा मैले पनि शासकहरुको शिरमा ढुंगा फालेको छु । कठोर संघर्षका दिनहरुमा यहाँका गल्लीगल्लीमा छाडेका मेरा पदचापको धमिलो आकृति अझै लहराउँछ । त्यसैले काठमाडौँ मलाई पुरानो मित्रजस्तो लाग्छ । भनूँ लाग्छ– ‘लौ, म पनि कहिल्यै नफर्कने गरी आएँ ।’

मुलुक फर्केपछि रुमानी संसारको आकाशमा उन्मुक्त भएर कावा खाँदै मेरो दैनिकी चल्न थाल्यो । वर्षौं परदेसिनुको कुण्ठाबाट मुक्त भएर आफ्नै माटोमा टेकिरहन पाउँदा मलाई संसार जितेजस्तो लाग्न थाल्यो । आफ्नै आँगनमा उभिएर प्रकृतिको जादूमय क्रीडा चिहाउँदै बाँच्न पाउँदा म हुनसम्म पुलकित थिएँ । उसै पनि काठमाडौँ उपत्यका मलाई विश्वकै सुन्दर भूगोल लाग्छ । यहाँको प्रकृति र हावापानीले मलाई सधैँ मोहित तुल्याइरहन्छ ।

काठमाडौँ उपत्यकालाई घेरेर लहरै उभिएका हरिया पहाडहरुको शिरमा थचक्क बसेका सेता बादलका थुम्काहरु सांस्कृतिक पहिरनजस्तो लाग्छ । पर पहाडको पिठ्युँमा आङ तन्काएर पसारिएको इन्द्रेनी देख्दा सप्तरंगी उमगंहरु उम्लिएर मन भुतुक्क हुन खोज्छ ।

वर्षा मलाई उसै पनि सबैभन्दा कामुक याम लाग्छ । घरको बार्दलीबाट यसो बाहिर चिहाउँदा गोदावरीपूर्वका पहाडबाट बादल हावाको वेगसँग हानिँदै चोभारको डाँडा ताकेर पश्चिमतिर लाग्दै गरेको दृश्य सुन्दर लाग्छ । उडन्ते बादलका गुच्छाहरु चोभारको नाकमा ठोक्किएपछि काठमाडौँ खाल्डोमा दर्के झरी पर्न थाल्छ । मनभित्र एकखाले झंकार अनुभूति हुन्छ । परदेशीहरुलाई जस्तै मलाई पनि उतिबेला सधैँ देशले खिचिरहन्थ्यो । म देशको धेरै कुरा सम्झन्थेँ । मान्छे खाने खाडीको घाममा सबैभन्दा धेरै झरी याद गर्थें । आफ्नै कानको पर्दामा झरीको संगीत ठोक्किरहेको अनुभूतिले म निकै गदगद भएको छु ।

जसै मेरो स्वदेश बसाइ लम्बिँदैछ, म उतिउति देशलाई अझै नजिकबाट स्पर्श गर्दैछु । मैले दूरदेशबाट देखेको देश र देशकै आँगनमा टेकेर हेरेको देश एउटैजस्तो देखिन छाडेको छ । ती दुई देश फरक हुन् जस्तो लाग्दै जान थालेको छ ।

जब समाजतिर फर्कन खोज्छु, देशको अर्को पाटो निकै दर्दनाक देख्छु । राजधानीकै सडकछेउको खाडलभित्र पानीको भलमा डुबेर कलिलो नानीको जीवन नामेट भएको सम्झिएपछि झरीको मधुर संगीत क्षणभरमा मनबाट अलप हुन्छ । हिउँपातको चिसोले खाएका हिमाली मान्छेहरुको कष्टकर जीवन सम्झन्छु, अघिसम्म मेरो मनमा हाँसिरहेका सेता हिमालहरु धुमिल हुँदै जान थाल्छन् । किसानको बाँझो मन, भाग्य अजमाउन सहर झरेको गाउँले पदचाप, चौँरीको बथानपछाडिका लेकाली कलिला हातहरु र मजस्तै खाडीको घाम खान विमान चढ्दै गरेका दु:खीहरुको लस्कर । जब म यी सम्झँदै जान्छु, तब देखिने र भोगिने देशको भिन्नै तस्बिर गोचर हुन्छ । फेरि देशको अर्को तस्बिर सम्झन्छु, सत्ताको केन्द्रमा बसेर अकूत वैभव आर्जन गर्ने दुर्गन्धित नेताको जमात, केन्द्रीय सत्तालाई परिक्रमा गरेर वर्षौँदेखि तर मार्न पल्केको स्थायी सत्ताका लुच्चा, ठग, व्यापारी । उच्चपदस्थ कर्मचारी, पुलिस, सेना । चोट्टा, सुदखोर, नाफाखोर र भ्रष्टाचारी । यी सबै दृश्य मेरो मनको बाटो भएर ओहोरदोहोर गरिरहँदा अघिसम्म देखेको सुन्दर देश झन्झन् कुरुप लाग्दै जान्छ ।

यतिबेला महसुस गर्दैछु, भूगोलको सौन्दर्य प्राकृतिक स्वरुपमा मात्र होइन, जनजीवनको सुख–दु:ख र शासन व्यवस्थाको कलेवरसमेत गाँसिएर देखापर्दो रहेछ । मलाई देश जति सुन्दर लाग्छ, राज्य त्यति नै चुत्थो लाग्छ । खानलाउन उति साह्रो दु:ख नभएको मजस्तो नागरिकलाई आफूतिर मात्र फर्केर बाँच्दा देश स्वर्गजस्तो लाग्छ । जब समाजतिर फर्कन्छु, मलाई यो देश पीपैपीपको तलाउले भरिएको दुर्गन्धित नर्कजस्तो लाग्छ । जसरी देशले मलाई खिचिरहन्छ, त्यति नै राज्यले मलाई धकेलिरहन्छ । र, मनमनै कुरा खेलिरहन्छ । यो देश कहिले देशजस्तै बन्ला खोइ !    

प्रकाशित: आश्विन २५, २०७५

ट्याग: निबन्ध