एक दुस्साहसीको बयान [पुस्तक समीक्षा : विमान विद्रोह]

पुस्तक : विमान विद्रोह | लेखक : दुर्गा सुवेदी | प्रकाशक : किताब पब्लिसर्स | पृष्ठ : ३०२ | मूल्य : रु. ५८०

- विनोद सिजापति

२८ जेठ २०३० बिहान ११ बजे खचाखच भरिएको साझा बसबाट ओर्लेर कक्षातर्फ लाग्दै थिए, तथ्यांकशास्त्रका प्राध्यापक भरतबहादुर कार्की । मलाई आफूतिर आउने इशारा गरे । कम बोल्ने भरत सरले भने, “जान्नुभयो  ? हाइज्याक गरेछन् नि केटाहरुले ।” म रनभुल्लमा परेँ । त्यस बिहान नेपाली कांग्रेसका तीन क्रान्तिकारीले शाही नेपाल वायुसेवा निगमको विराटनगरबाट काठमाडौँ उडेको हवाईजहाज अपहरण गरेका रहेछन् । मैले सोधेँ, “कोको थिए, हाइज्याकरहरु ?” उत्तर आयो, “दुर्गा भएजस्तो लाग्छ । तर, पूरै खबर पाएको छैन ।” मैले सगौरव भनेँ, “उसो भए क्रान्ति सुरु भयो ।” भरत सर अर्थशास्त्र विभागतिर लागे । त्यतिबेला कार्की मोरङ कलेज विद्यार्थी युनियन अध्यक्ष हुँदा दुर्गा सुवेदी सचिव थिए ।

त्यसै दिन दरबारबाट उक्त हवाईजहाज अपहरण सम्बन्धी अध्ययन गर्न एक उच्च सुरक्षा टोली खटिएको थियो । टोलीले निष्कर्ष निकालेको थियो, ‘सूक्ष्म योजना गरेर अत्यन्त छरितोसँग सञ्चालन गरिएको अपहरण । एन इफेक्टिभ सर्जिकल एक्ट ।” टोलीमा सम्मिलित एक हवाई अपहरण विशेषज्ञको भनाइमा, ‘यति इफेक्टिभ र इफिसेन्ट हाइज्याकिङ विगतमा कहिल्यै र कहीँ पनि भएको छैन ।’

विसं २००३ मा जन्मिएका, सानै उमेरमा आमा गुमाएका र सात वर्षमै निबन्ध लेखेर छात्रवृत्ति प्राप्त गर्ने अब्बल विद्यार्थी हुन्, दुर्गा सुवेदी । कलिलैमा कांग्रेसको झन्डा बोकेर समकालीन विद्यार्थीहरुभन्दा पृथक पहिचान स्थापित गरेका व्यक्ति । विद्यालयको शिक्षक भएर आर्जेको कमाइले डेरामा बसेर दु:खजिलो गरेर अध्ययन गर्ने विद्यार्थी । विज्ञान विषयका विद्यार्थी भएकाले तिनको उद्देश्य डाक्टर वा इन्जिनियर बन्ने हुनुपर्छ ।

मोरङ कलेजमा राजा महेन्द्रको नाम जोडिएको थियो । त्यसविरुद्ध निबन्धमा ‘कुनै दिन राजाको नाम मेटिन्छ’ लेखेबापत तिनको जेलयात्रा आरम्भ भयो । तीन महिनापछि जेलबाट छुटेलगत्तै उनी झोरा काण्डमा संलग्न भए । र, १८ महिना दोस्रो जेल सजाय पनि भोगे । त्यसपछि तिनले फर्केर हेरेनन् । आफ्नै रगतको छाप लगाएर मुक्ति सेनामा युवाहरुलाई सामेल गर्ने जिम्मेवारी पाएका दुर्गाले हतियार–तालिम लिएपछि भारतबाट हतियार ओसारपसार गरे । र, अन्तत: विमान अपहरण पनि गरे । अपहरण काण्डपछि आधा दशकभन्दा लामो अवधि तिनले छद्मभेषी, बेखर्ची, जोखिमयुक्त भूमिगत जीवन बिताए । तर, जेलमा रहँदा भने सुरक्षित थियो उनको दैनिकी । भारतमा रहँदा तिनको सम्बन्ध नेता, पत्रकार, जोगी, क्रान्तिकारीदेखि अभियन्ता सबैसँग रह्यो ।  

दुर्गा सुवेदी निर्भीक, निष्ठावान र वचनबद्ध क्रान्तिकारी हुन् । विमान अपहरण काण्डमा गिरफ्तार गरेपछि भारतीय सुरक्षा अधिकृतहरुले साम, दाम, दण्ड, भेदजस्ता सबै अस्त्रको प्रयोग गरेर बीपी कोइरालाको निर्देशनमा जहाज अपरहण भएको साबिती बयान दिलाउन खोजे । अमानवीय यातना खपे । तर, दुर्गा आफ्ना नेता बीपी कोइरालाको व्यक्तित्वमा आँच आउन सक्ने बयान दिन तयार भएनन् । त्यस समयसम्म आइपुग्दा नेता र पार्टीसँग तिनको मोहभंग भइसकेको थियो । आफ्नै नेताको आदेशमा मारिने सम्भावनाका कारणले त्रसित जीवन बिताउँदै थिए । क्रान्तिकारी जीवनलाई तिनले परिमार्जित गरी इमानदार पति र कुशल पिताको रुपमा हाँके । मुलुकको आवश्यकता अनुरुप आइपरेको जिम्मेवारीलाई भने वफादारीका साथ तिनले वहन गरेको दृष्टान्त पुस्तकमा छ ।      

पन्नाहरु पल्टाउँदै गर्दा पुस्तक वास्तविक दुस्साहसीहरुको गाथा रहेको अनुभूति हुन्छ । पर्दापछाडिका धेरै रहस्य पनि खुल्दै जान्छन् । हवाईजहाज अपहरणजस्तो अत्यन्त जोखिमपूर्ण कार्य बिनातयारी हतासमा गरिएको थियो । व्यक्ति तथा बैंक लुट्ने नियतजस्तै ‘आए आँप गए झटारो’ योजना थियो त्यो पनि । सम्बन्धित ज्ञान नभएकाले कोरेको नक्साका आधारमा जहाज अपहरण गरिएको थियो । सिमली रुखको टुप्पामा रातो टालोलाई निसाना गरेर जहाजलाई अज्ञात गन्तव्यमा पुर्‍याउन सफल भएको कारबाही थियो त्यो । कुनै ‘रिहर्सल’ समेत नगरी सफल भएको यो विश्वकै पहिलो हवाई अपहरण थियो सायद । बिनाअप्रिय घटना जुन प्रकारले अपहरण, विमान अवतरण अनि राष्ट्र बैंकको ट्यांकाहरु ओरालेर हवाई जहाज पुन: उड्यो, त्यसैलाई विश्लेषण गरेर ‘सर्जिकल प्रेसिजन’ कार्यान्वयन भएको थियो । त्यसैका आधारमा दरबारले खटाएको सुरक्षा टोलीले प्रतिवेदन बुझाएको थियो ।

नेताहरु पनि कम दुस्साहसी थिएनन् । २००७ को क्रान्ति नायक तथा ०१८ को असफल क्रान्तिका कारणहरुको अध्येता बीपीसँग ज्ञान र अनुभव थियो । भारतीय भूमिमा बसेर नेपालमा क्रान्ति गर्दा कठिनाइ आइपर्थे नै । गुरिल्ला तालिमप्राप्त नगरेका मात्र होइन, हतियार सञ्चालनको अनुभवसमेत नभएका २५/२६ युवा दस्ताले ओखलढुंगा कब्जा गर्न सक्छ भन्ने कल्पना गर्नु अनि उक्त स्थानलाई आफ्नो आधार बनाएर मुलुकमा क्रान्ति गर्ने सपना देख्नुलाई आत्मघाती सोचको उपजसिवाय अरु केही भन्न सकिँदैन । सफल हुने कुनै आधार र सम्भावना नभएको योजना यदि पत्तासाफै भएको भए कसरी बीपी, गणेशमान, शैलजा, गिरिजा आदि नेताले त्यस स्थानलाई सुरक्षित ‘हेड क्वार्टर’ मा परिणत गरेर देशभरि क्रान्ति सञ्चालन गर्न सक्दा हुन् ।

क्रान्तिको भेदलाई प्रदीप गिरिले खोलिदिएका छन् पुस्तकको ‘अलिखित अध्याय’ मा, जस अनुसार त्यहाँ क्रान्तिको कुनै कार्यक्रम तथा रुपरेखा थिएन । स्वयं (बीपी) समेत यो त एउटा खिचपिच मात्रै हो, सैद्धान्तिक कुरो मात्र हो भन्नुहुन्थ्यो । विमान अपहरणलगत्तै त्यही सैद्धान्तिक क्रान्तिका निम्ति सीमापारबाट तकियामा बम ल्याउने ठगी दाहाल, गोकर्णबहादुर कार्की, खगेन्द्र दाहाल र लीलानाथ दाहाललाई सुरक्षाकर्मीले ‘जेल सार्ने’ क्रममा हात पछाडि बाँधेर रिङरोडभित्र (जावलाखेल–नख्खुबीच) गहुँबारीमा हत्या गरेका थिए ।

कांग्रेसका एकथरी नेताहरुले युवालाई बन्दुक बोक्नुको साटो कलम समात्न प्रेरणा दिएकै हुन् । तर, दुर्गाजस्ता क्रान्तिकारी जोसिला युवाका निम्ति त्यस्तो सल्लाह निरर्थक र औचित्यहीन थियो । परिणाम थुप्रै युवाले जीवन गुमाए । धेरै महिलाको सिउँदोको सिन्दूर कलिलै उमेरमा मेटियो भने धेरैको युवावय कालकोठरीमा बित्यो । छोटकरीमा, नेतृत्वले प्रजातन्त्रमा समर्पित युवाहरुलाई ‘गिनी पिग’ तुल्याएको रहेछ ।

पुस्तकले उक्त क्रान्तिको कमान्डर गिरिजाप्रसाद कोइरालाले आफ्ना नेता तथा दाजु बीपीको नियन्त्रणभन्दा बाहिर रही काम गरेको छरपस्ट्याउँछ । दुर्गा सुवेदीलाई मार्ने आदेश कार्यान्वयनपूर्व स्वयं बीपीले दुर्गालाई बचाउनु परेको थियो । पछिल्लो कालखण्डमा पनि दुर्गाकै सहयोद्धाहरुबाट गराइएको सांघातिक आक्रमणबाट गिरिजाप्रसादले प्रजातन्त्र पुनस्र्थापनादेखि संघीय गणतन्त्र स्थापनासम्म प्रदर्शन गरेको चरित्रको विश्लेषण गर्न सहज तुल्याउँछ पुस्तकले । विगतको भूमिकाका कारण गिरिजाप्रसादप्रति इतिहास कति दयालु हुन सक्छ भन्ने लख काट्न पुस्तकले खुराक दिन्छ ।

लेखकले आफूले भोगेका घटनाको विवेचना गरेर धारणा अगाडि सार्नुको साटो घटनाको प्रस्तुतिबाट पाठकलाई नै विश्लेषण गरी निचोड निकाल्ने अभिभारा सुम्पेका छन् । कतैकतै तिनले आफू संलग्न नभएका घटना समावेश नगरी दिएको भए पुस्तक अझै छोटो र मीठो हुने थियो । भाषा सरल छ । प्रस्तुति रोचक छ । घटनाको वर्णन पढ्दा ती घटनावली पाठकसामु सचित्र देखापर्छन् । समष्टिमा, पुस्तकले कांग्रेसभित्र लुकेर बसेका धेरै रहस्योद्घाटन गरेको छ । इतिहास, राजनीति र समाजशास्त्रका विद्यार्थीदेखि राजनीतिक वृत्त र साधारण नागरिकका निम्ति पठनयोग्य छ यो पुस्तक ।  

प्रकाशित: आश्विन २५, २०७५

ट्याग: पुस्तक