[तीन किताब] पाभेलको पौँठे

- छुदेन काबिमो

प्रकाश कोविदका उपन्याससँग रुने–हाँस्नेताका मैले सुनेँ, संसारको सबभन्दा खतरा किताब त म्याक्सिम गोर्कीको मदर  हो । निकै महिना लाएर खोजेपछि बल्ल गाता उप्किन लागेको एउटा पुरानो किताब मेरो हात लाग्यो । हप्ता दिन पढ्दा पनि केही बुझिनँ । सुनाउँदै हिँडेँ– मदरभन्दा दामी त प्रकाश कोविदको अर्को जन्म  हो । अलि परिपक्व भएपछि फेरि पढेँ, मदरलाई आमाका रुपमा ।

मलाई त्यस्तो किताब खासै मन पर्दैन, जुन किताब धरतीमा बसेर लेखे पनि पढ्दा स्वर्गतिर पुगेको अनुभव हुन्छ । मलाई त त्यस्तो किताब मन पर्छ, जसमा पाठकलाई पनि तानेर त्यहीँसम्म पुर्‍याउँछ । आमा  संसारकै सुन्दर किताब लाग्यो । किनकि, म आमासँग उडेर रुस पुगेँ । त्यहाँको जाडोमा बाफ आइरहेको एक घुट्की चिया पिएँ । एक टुक्रा बन रोटी खाएँ । त्यसपछि सुकसुकाउँदै दार्जिलिङ फर्किएँ ।

रुसी लेखकहरुका कथा भन्ने तरिका बडो गजबका हुन्छन् । बेलाबेला उनीहरु त्यहाँको मौसमको कुरा गर्छन् । त्यहाँ लाग्ने जाडोको कुरा गर्छन् । त्यहाँ गरिने संघर्षको कुरा बडो मिहिनेतसाथ गर्छन् । एउटा साधारण परिवारमा हुर्केका पोभेलमा म आफ्नै कथा देख्छु । कसरी एउटा सामान्य केटाले सत्ताविरुद्ध संघर्ष सुरु गर्छ ? कसरी उसले समाजका निम्ति सोच्न थाल्छ ? किताबले एउटा मान्छेलाई कसरी परिवर्तन गरिदिन्छ ? 

भारतको डुवर्समा पढ्दा लीलाबहादुर क्षत्री मेरा क्लासमेट थिए । कलेज पढ्दा उनलाई क्षयरोग र मधुमेहले एकैचोटि समात्यो । मृत्युनजिक पुगेर फर्किएपछि सुनाए, अन्तर्मनको यात्राजतिको किताब मैले अर्को पढेको छैन ।

किताब सुरु गरेँ । लेखकले जीवनको परिभाषा जत्रै लेखून्, फरक पर्दैन । आखिर यसको असली अर्थ त मृत्यु नजिक हुँदा नै बुझिने हो । मृत्युको एकदम नजिक रहेर लेखिएको जीवनको कथा हो, अन्तर्मनको यात्रा । यो किताब पढ्दा म निकै भावुक बनेको छु ।

किताबमा धर्म र विज्ञानलाई उनले जसरी जोड्न चाहेका छन्, त्यो साँच्चै बेजोड छ । नपढेकाहरुले पनि धर्मग्रन्थमा लेखिएका धेरै थोक थाहा पाउन सक्नेछन् अन्तर्मनको यात्रा पढेपछि । इच्छाशक्ति भए, धरतीमा के गर्न सकिन्न ? उनले भन्न खोजेको सार यही हो ।

दार्जिलिङलाई अहिलेसम्म चिनाउने उपन्यास आज रमिता  नै हो । धेरैले भन्छन्, इन्द्रबहादुर राईहरुले गाह्रो मात्रै लेखे । तर, मलाई लाग्छ, ‘साहित्यमा इन्द्रबहादुर राई र  सिलेबसका गणित एकै हुन् । ती जति गाह्रा छन्, त्यतिकै महत्त्वपूर्ण पनि छन् । जसलाई नछिचोली कोही अघि बढ्नै सक्दैनन् । चिया बगानको पीडा, हाम्रो मान्छेले भोगिरहेको समस्या, त्यो बेला दार्जिलिङले भोग्ने कथा, ती सब आज रमिता मा छ ।

निम्बोङ बजारमा रासन लिएर फर्किंदा सेन्टर जानुहुन्थ्यो आपा । र, मलाई पुस्तकालयबाट उपन्यास ल्याइदिनुहुन्थ्यो । बिहानै हिँडेका आपा बेलुकी किताबसँग आइपुग्दा म दंग हुन्थे । तर, पछिपछि नयाँ पाउनै छाडे । त्यही बेला आपाले सुनाए, “दार्जिलिङकै ठूलो लाइब्रेरी यहाँ थियो । १९८६ को आन्दोलनमा खरानी नबनाएको भए तैँले मनग्गै पढ्न पाउँथिस् । अब यो सानो लाइब्रेरीको किताब कति पढ्छस् ?” मलाई पुस्तकालय जलाउनेहरुसँग निकै रिस उठ्यो ।

मैले पढ्ने आख्यान नै हो । कविताचाहिँ पढ्नेभन्दा धेरै सुन्ने गर्छु । कहिलेकाहीँ सामान्य कथालाई पनि शैलीले गर्दा विशेष बनाइदिन्छ । असल किताबले पाठकको भोक मार्ने होइन, भोक जगाउने हो ।

सुरुमा समय कटौनीका निम्ति पढेँ । पछि त्यही लत बन्यो । स्मार्ट फोनले चाहिँ मलाई निकै बिगारिसकेको छ । अचेल किताबका केही पन्नाले तानेनन् भने पढ्नै सक्दिनँ ।

प्रस्तुति : गुरुङ सुशान्त 

प्रकाशित: आश्विन २५, २०७५

ट्याग: किताब