‘हिम एन्ड आई’

- गोकर्ण गौतम

संसारभर ‘नेसनल कमिङ आउट डे’ मनाइन्छ, ११ अक्टोबरमा । यसको उद्देश्य हो, यौनिक अल्पसंख्यक (एलजीबीटी) परिवार र समाजसँग खुलेर आउनु । आफ्नो पहिचान लुकाउन बाध्य नहुनु । खासगरी यो दिन ‘गे’ र ‘लेस्बियन’ प्रति समर्पित छ ।

यो दिवस यसपटक नेपालमा पनि प्रभावकारी ढंगले मनाइयो । त्यसकै कडी हो, समलिंगी पुरुषको फोटोसुट । जसमा लेक्स लिम्बू र कार्तिक क्षत्रीलाई फिचर गरिएको छ । लन्डनमा बस्दै आएका मिडिया पर्सनालिटी लेक्स केही महिनाअघि मात्र ‘गे’ का रुपमा ‘ओपन’ भएका हुन् भने कार्तिकले मिस्टर ‘गे ह्यान्डसम’ २०१७ मा सहभागिता जनाइसकेका छन् । फोटोसुटको नाम दिइएको छ, ‘ हिम एन्ड आई ।’ अर्थात्, ‘ ऊ र म ।’

लेक्स नेपाल आउनुको प्रयोजन फोटोसुट गर्नु पनि हो । त्यसको संयोजन आफैँले गरे । अवधारणा पनि उनकै हो । यौन अल्पसंख्यकको अधिकार र पहिचानबारे आवाज उठाइरहने लेक्स भन्छन्, “दुई पुरुषबीच पनि प्रेम हुन्छ । हरेक व्यक्तिले आफ्नो यात्राबारेमा थाहा पाउनुपर्छ भनेर सन्देश दिन चाहन्छौँ ।”

फोटोसुटअगाडि लेक्स र कार्तिकबीच खासै चिनजान थिएन । तर, जब फोटोसुट गरे, उनीहरु ‘डेट’ मा रहेको गाइँगुइँ सुनिन थालेको छ । यस्तै हो त ? लेक्स भन्छन्, “मैले पनि त्यस्तै सुनेँ । तर, हामी ‘रिलेसन’ मा छैनौँ । खास उद्देश्यले मात्र हामीलाई नजिक बनाएको हो ।” फोटोसुट भक्तपुर र पाटन दरबार स्क्वायर क्षेत्रमा गरिएको थियो ।

प्रकाशित: आश्विन २४, २०७५

ट्याग: रङ