बलिउडमा पनि #मीटू

- नेपाल संवाददाता

सन् २०१० मा अपार्टमेन्ट रिलिज भएपछि तनुश्री दत्त बलिउडबाट अलप भइन् । न उनी फिल्मी परिवारकी थिइन्, न त उनको कुनै फिल्म ब्लकबस्टर नै भएको थियो । यही कारण हुनुपर्छ, तनुश्रीको पलायनलाई बलिउडले कहिल्यै महफ्व दिएन । तर, असोज पहिलो सातायता बलिउडमा सबैभन्दा धेरै  ध्यान तानिएको छ भने नि:सन्देह तनुश्रीतिरै हो । कारण, उनले दिग्गज अभिनेता नाना पाटेकरले आफूलाई यौन दुव्र्यवहार गरेको गम्भीर आरोप लगाएकी छन् । त्यो पनि अहिले होइन, सन् २००८ मा फिल्म हर्न ओके प्लिजको सुटिङमा । सम्मानित अभिनेतामा दरिने नानामाथि यस्तो आक्षेप लागेपछि बलिउडभित्र मात्र होइन, बाहिर पनि अनेक तर्कवितर्क सुनिन थालेका छन् ।

हलिउडबाट सुरु भएको यौन हिंसाविरोधी अभियान ‘#मीटू’ तनुश्रीकै कारण बलिउडमा भित्रिएको छ । यो अभियान थालनीपछि हिन्दी फिल्ममा कुनै हिरोइनले आफूमाथिको यौन हिंसाका बारेमा यसरी खुलेर बोल्ने हिम्मत गरेका थिएनन् । तनुश्रीको अभिव्यक्तिसँगै बलिउडमा भएका र हुने अन्य यौन दुव्र्यवहारका घटना बाहिर आउने अपेक्षा गरिएको छ । तर, त्योभन्दा अगाडि यो घटना कसरी निरोपण हुन्छ, चासोका साथ हेरिएको छ । तनुश्रीको भनाइमा, नानाको यौन दुव्र्यवहारकै कारण उनले हर्न ओके प्लिज छाड्नुपरेको थियो । 

१० वर्षअगाडिको उक्त घटनाबारे तनुश्रीले एनडिटिभीसँग भनेकी छन्, ‘मलाई तर्साउने र धम्काउने काम भयो । मेरो कारमा हमला भयो । कैयौँ वर्षसम्म यो उत्पीडन जारी रह्यो । यो सबै नानाले गर्न लगाएका थिए ।’ उनको आरोपलाई बल पुग्ने एउटा भिडियो भाइरल भएको छ । सन् २००८ मा खिचिएको भिडियोमा तनुश्री कारको पछाडि बसेर मोबाइलमा कुरा गरिरहेकी छन्, बाहिर तोडफोड भइरहेको छ, नानाथरी गाली गरिरहेका छन् र टायरबाट हावा झिकिदिएका छन् । यो हर्कत नानाकै इसारामा भएको तनुश्रीको आरोप छ ।

प्रियंका चोपडा, फराह खान, ट्वींकल खन्ना, सोनम कपुर, हंसल मेहताजस्ता केही फिल्मकर्मीले तनुश्रीको समर्थन गरेका छन् भने बलिउडको बाँकी ठूलो समूह चूप छ । सोही कारण तनुश्रीले चित्त दुखाएकी छन् । उनको निसानामा अमिताभ बच्चन पनि परेका छन्, जो अघिल्लो वर्ष बलात्कार र यौन हिंसाविरोधी फिल्म पिंकमा देखापरेका थिए । तर, अहिले ‘रियल लाइफ‘ मा अन्याय पर्दाचाहिँ मौन छन् । 

यता, नानाले आरोप इन्कार गरेका छन् । ‘कसैले केही भन्छ भने म के गर्न सक्छु र ? यौन दुव्र्यवहार भनेको चाहिँ के हो ?,’ मिरर नाउसँगको कुराकानीमा उनले भनेका छन्, ‘हामी सेटमा थियौँ । त्यहाँ दुई सय मान्छे थिए । म के भन्न सक्छु ?’ नाना आफँैले कानुनी उपचार खोज्ने बताएका छन् । 

 

प्रकाशित: आश्विन २४, २०७५