मध्यम वर्ग : संकटमा सम्हालिन सक्ने वर्ग

- रामेश्वर खनाल

मध्यम वर्गको परिभाषा राष्ट्रिय स्तरमा कहीँ पनि छैन । अन्तर्राष्ट्रिय स्तरमा भने आयको आधारमा मुलुकहरूको वर्गीकरण गर्ने गरिन्छ । दिगो विकास लक्ष्य हासिल गर्ने प्रयासमा रहेको नेपालले न्यून आय भएको मुलुकबाट माथि उठ्न वार्षिक प्रतिव्यक्ति कुल राष्ट्रिय आय २५ सय डलर (करिब २ लाख ६० हजार) पुर्‍याउने लक्ष्य लिएको छ । हाल १ हजार ४ डलर रहेको प्रक्षेपण छ ।

नेपालमा वर्ग सम्बन्धी एक मात्र आधिकारिक परिभाषा छ । त्यो हो– गरिबीको । प्रतिव्यक्ति प्रतिवर्ष १९ हजार २ सय ६१ रुपैयाँ आम्दानी नहुने व्यक्तिलाई गरिबीको रेखामुनि रहेको मानिन्छ । गरिबी मूल्यांकनको मापदण्ड प्रत्येक ५ वर्षमा परिवर्तन भइरहन्छ । खाद्यान्न, स्वास्थ्य, शिक्षालगायतका आधारभूत पक्षका इकाइ फेरबदल भइरहने हुँदा आम्दानीमा पनि फेरबदल हुन्छ ।

त्योभन्दामाथि निम्नआय, मध्यम आय, उच्चमध्यम आय वा उच्च वर्ग कति हदसम्मकालाई मान्ने स्पष्ट पारिएको छैन । तर, अहिलेको नेपालको सन्दर्भमा मोटामोटी एउटा फ्रिज, मोटरसाइकल, वासिङ मेसिन भएको परिवारलाई मध्यम वर्ग भन्दा केही फरक पर्दैन । अन्य मुलुकहरूमा पनि यस्तै परिभाषा हुन्छन् । जस्तो,  एउटा कार, एउटा फ्रिज, एउटा टिभी भएको, ४/५ वर्षमा टिभीजस्ता उपकरण फेर्न सक्नेलगायतका विविध उपभोग प्रवृत्तिलाई आधार लिइएको हुन्छ । मध्यम वर्ग यस्तो परिवार हो, जसमा सानोतिनो आर्थिक संकट आउँदा पनि झेल्न सक्ने क्षमता हुन्छ । विपन्न परिवार अलिकति आर्थिक संकट आउँदा पनि सम्हाल्न सक्ने अवस्थामा हुँदैन ।

आम्दानी स्तरका आधारमा बचत हुने/नहुने भन्ने कुरा गलत हो । मान्छेको उपभोग गर्ने प्रवृत्ति समाजको बनोट, संस्कृति, आनीबानीमा आधारित हुन्छ । विपन्न समुदाय मात्र बढी भएको समाजमा पनि उपभोग बढी हुन सक्छ, बचत नहुन सक्छ । कुनै अर्को विपन्न समाजमा भने त्यसको विपरीत हुन सक्छ । जस्तो, भारतको उत्तर प्रदेश, मध्य प्रदेश, झारखण्डलगायत स्थानका मानिसले विपन्न नै भए पनि भविष्यका लागि १० देखि २० प्रतिशतसम्म बचत गर्ने गरेको पाइन्छ ।

समान स्तरको आम्दानीको कुरा गर्दा जर्मनी र अमेरिका लगभग उस्तै हुन् । तर, अमेरिकीमा उपभोग गर्ने प्रवृत्ति धेरै छ, उनीहरू आम्दानीभन्दा १०/१२ प्रतिशत नै बढी खर्चिन्छन् । अमेरिकाका व्यक्तिको मात्र होइन, सरकारकै प्रवृत्ति त्यस्तो छ । त्यहाँको उपभोग कहिलेकाहीँ कुल गार्हस्थ उत्पादन (जीडीपी) भन्दा धेरै हुने गर्छ । किनभने, व्यक्तिले क्रेडिट कार्डबाट ऋण लियो, त्यहाँका बैंकहरूले चीन, ताइवानबाट ऋण लिएर पनि चलाइरहेका हुन्छन् ।

नेपाली समाजको चरित्र हेर्ने हो भने पहिलेदेखि बहुसंख्यकमा बढी उपभोग गर्ने बानी छ । उपत्यकाकै उदाहरण हेरौँ, भक्तपुर र ललितपुरका ज्यापु समुदाय जतिसुकै गरिब भए पनि सबै चाडपर्व, जात्रा धुमधामसँग मनाउँछन् । यी समुदायले ३ सय ६५ दिनमा आधाभन्दा धेरै समय भोजभतेर गरेको देखिन्छ । भएको आम्दानी यस्तै संस्कारमा धेरै खर्च हुने गर्छ । काठमाडौँ उपत्यकामा पहिलेदेखि बढी उपभोग हुने भएकाले यहाँ सम्भ्रान्त वर्गको उदय भयो । जहाँ उपभोग बढी हुन्छ, त्यहाँ उत्पादन पनि बढी गर्नुपर्छ ।

काठमाडौँमा पहिले उपभोग भए अनुसार उत्पादन वृद्धि गर्न आवश्यक थियो ।

अर्थशास्त्रीय दृष्टिकोणबाट हेर्ने हो भने उपभोग धेरै हुनेले आम्दानी पनि धेरै गर्नैपर्ने हुन्छ वा गरिरहेको हुन्छ । सही, गलत कुन बाटो प्रयोग गर्‍यो नहेरौँ । तर, आम्दानी गरेरै उपभोग पूरा गर्ने हो । ज्यापु समुदायकै उदाहरण लिने हो भने धेरैको आर्थिक अवस्था दयनीय छ । बचत हुँदैन तर उनीहरू रातदिन मिहिनेत गरेर पनि आफ्नो संस्कृति पालना गरिरहेका हुन्छन् ।

सानो तप्काका केही नेपाली समुदाय धन भएर पनि धेरै खर्च नगर्ने प्रवृत्तिका हुन्थे र अझै केही छन् । मदिरापानलगायतका संस्कृति भएका समुदायमा पनि उपभोगको प्रवृत्ति बढी देखिन्थ्यो । अहिले भने समुदाय मिश्रित हुँदै गएकाले अन्य समुदायका मानिस पनि मदिरापान गर्छन् । त्यसैले तिनमा पनि उपभोग संस्कृति बढेको छ । पहिलेदेखि उपभोग बढी गर्ने केही समुदायमा भने अहिले बचत वा लगानी गर्ने अभ्यास देखिन थालेका छन् ।

उपभोगको दर कतिसम्म उच्च छ भने देश भित्रने रेमिट्यान्सको प्रयोग बढीजसो उपभोगमै खर्च हुने गर्छ । विदेशमा छोराछोरी, श्रीमान्/श्रीमतीले दु:ख गरेर कमाएको पैसा पनि बचत गर्नेभन्दा खर्चिने प्रवृत्ति धेरै छ । बचत गर्ने सोच भएको समुदायमा दयनीय आर्थिक अवस्था हुँदा पनि बचत गर्ने बानी हुन्छ । चीनमा मदिरा उपभोग संस्कृति भए पनि धेरै बचत गर्ने बानी छ । किनभने, त्यहाँका मानिस कन्फुसियस विचार अवलम्बन गर्छन् ।

कन्फुसियसले भनेका छन्, ‘एक वर्षमा धनी बन्ने योजना हो भने खेती गर, दस वर्षको योजना हो भने रूख रोप र दीर्घकालीन योजना हो भने बालबच्चालाई शिक्षा देऊ ।’ भविष्यमा बालबच्चाको पठनपाठनलगायतमा चिन्तित हुने यो वर्ग बचत गर्न प्रेरित हुन्छ । चीनमा बचतको कतिसम्म अभ्यास थियो भने सरकारले नै ‘अब हामी गरिब छैनौँ, खर्च बढाऊ’ भन्नुपरेको थियो । अहिले नेपालको घरेलु बचत केही बढेको छ । यस आधारमा हामी ४ सय मेगावाटसम्मका आयोजना बनाउन सक्ने अवस्थामा छौँ । बचत कमजोर रहेकै कारण यसअघि नेपाल आफैँले बनाएका ठूला आयोजना कुनै पनि छैनन् ।

हामीकहाँ महँगी बढेका कारण बचत हुन सकेन भन्ने पनि सुनिन्छ । तर, महँगी एकतर्फी हुँदैन । वस्तुको भाउ बढ्ने, ज्याला (आम्दानी) नबढ्ने भन्ने नै हुँदैन । महँगीको उपभोग र बचतसँग पनि सम्बन्ध हुँदैन । उपभोग बढ्ने भनेको महँगीका कारणले नभई पारिश्रमिकमा भएको वृद्धिले हो । किनभने, पारिश्रमिक बढ्नेबित्तिकै बजारमा पैसाको प्रवाह (मुद्रा प्रवाह) बढ्छ र यसले महँगी बढाउँछ । कमाइ भएन भने उपभोग पनि त्यही अनुपातमा घट्छ । पारिश्रमिक नबढी महँगी बढ्दै–बढ्दैन । सामान्य परिवारले यस्ता कुरा गर्न सक्ला । तर, यो तर्क अर्थशास्त्रीय दृष्टिकोणले भने गलत हुन्छ । हाम्रोमा समस्या माग अनुसार उत्पादन नभएकाले नै हो ।

(कुराकानीमा आधारित)

यो पनि पढ्नुहोस् :

→ आवरण कथा» बचतशून्य मध्यम वर्ग : घर धान्नै धौधौ

प्रकाशित: आश्विन २३, २०७५