तीन खम्बे पुरुषसत्ता

- सञ्जीव उप्रेती

आक्रामक हुनुपर्ने र प्रकृतिलाई नियन्त्रणमा राख्नुपर्ने मान्यताबाट पुरुषहरूको सामाजिकीकरण भएको हुन्छ । समयक्रममा त्यही अवधारणालाई आन्तरिकीकरण पनि गरिएको छ । कुनै नारीले यौन वा प्रेम प्रस्ताव अस्वीकार गरिदिए आफूलाई नामर्द ठान्ने पुरुष थुप्रै छन् । त्यसैले आफूमा आक्रामकता ल्याउन उनीहरू बलात्कारजस्ता अपराधमा उद्यत हुन्छन् ।

नारीविरुद्ध सबै किसिमका लैंगिक हिंसाको चरम रूप हो बलात्कार । सबै पुरुषले बलात्कार गर्छन् भन्न खोजिएको होइन । यसो गर्छु भनेर सायद ऊ आफैँले कहिल्यै नसोचेको पनि हुन सक्छ । तर, आफूलाई वास्तविक पुरुषका रूपमा स्थापित गर्न परिवारका महिलालाई कुनै न कुनै किसिमको नियन्त्रण गरेको हुन सक्छ । भलै त्यसका लागि कुटपिट गर्न नै किन नपरोस् ।

मेरो अनुसन्धानले देखाउँछ, पारम्परिक सामाजिकीकरणको प्रक्रियाले पुरुषमा हीन भावना उत्पन्न भएको हुन सक्छ । चित्त दुखेका बेला नरोइकन आफूलाई बलियो देखाउनुपर्ने पुरुषसत्ताको बनिबनाउ दबाबले गर्दा उनीहरूले कहीँ न कहीँ लघुताभासको अनुभव गरेका हुन सक्छन् । यस्तो भासमा धकेल्न फिल्म, उखान–टुक्का, संगीत तथा अन्य सामाजिक संकथनहरूले सघाएका छन् । किनकि, स्थापित आदर्शले सोचेजस्तो कोही पनि पुरुष चौबीसै घन्टा/३ सय ६५ दिन ‘बहादुर’ हुनै सक्दैन । निर्धन हुँदा, घाटा पर्दा, श्रीमतीको कमाइमा बाँच्नुपर्दा, बेरोजगार हुँदा या बुढ्यौलीको कमजोरीले गर्दा पुरुषले एक्लो र निरीह अनुभूति गरेको हुन सक्छ । वास्तविक पुरुष हुन नसकेको काल्पनिकी या भनौँ पुरुषत्वको संकथनको दपेटामा परेर ऊ हिंसातिर उद्यत हुन्छ ।

हामीले पुरुषत्व या नारीत्व आख्यानात्मक प्रतिमान हो भनेर बुझ्नुपर्छ । संसारका अर्बौं नारी–पुरुष अर्बौं प्रकारकै हुन्छन् । हरेक व्यक्ति मौलिक हो । तर, हामी बहुलतालाई बेवास्ता गर्दै नारी र पुरुषबारे खास प्रतिमान खडा गरिदिन्छौँ ।

चंगेज खाँ, कुब्ला खाँको मध्यकालीन युगमा पनि पराजित राज्यका नारीहरूलाई बलात्कार गरिएको इतिहास भेटिन्छ । साँच्चै भन्ने हो भने युद्धको संकथन नै पुरुषत्वको वैचारिकी वरिपरि घुमेको छ । इतिहास र मिथक दुवैमा युद्ध लड्ने र राज्य जित्नेमा पुरुष नै अगाडि देखाइन्छन् र महिलालाई माध्यम बनाइन्छन् । चाहे हेलेन होस्, चाहे द्रौपदी । महाभारतको चिरहरणको घटनामा द्रौपदी त केवल माध्यम थिइन् ।

उनीवरिपरि पुरुषहरूबीच प्रतिस्पर्धा चलेको थियो । पुरुषत्वका मानकहरूले मानवतालाई तहसनहस बनाइदिएका छन् । जित्नैपर्ने, शासन गर्नैपर्ने र ठूला–सानाको सोपानक्रम (हाइरार्की) मानवकेन्द्री संकथन हो । रूखहरूले युद्ध गरेको हामीले सुनेका छैनौँ । वनस्पतिले कसैलाई जानेर परोपकार गर्दैन । उनीहरू त स्वत:स्फूर्त रूपमा बाँची मात्र दिन्छन् । बाँचेरै मानवताप्रति लगातार परोपकार गर्दै आएका छन् ।

लडेर जितेको इतिहासमाथि हामी अनावश्यक गर्व गरिरहेका छौँ । राष्ट्रवाद, धर्म, सम्पत्ति या सत्ताको नाममा लड्नेहरू पुरुषहरू नै हुन् । तिनले परोक्ष ढंगले फेरि पनि पुरुषत्वको वकालत गरेकै हुन्छन् ।

पछिल्लो समय बलात्कारलाई पुँजीवादको परिणाम मात्रै ठानिदिँदा मुख्य समस्या विषयान्तर हुने खतरा देखिएको छ । हाम्रो समाज अति नै दलीयकरणतिर गएको छ । राजनीति चाहिन्छ नै । तर, हर विषयलाई पार्टीगत लाभहानिबाट व्याख्या गरिदिँदा ठूलो समस्या हुन सक्छ । म राजनीतिक कार्यकर्ताहरूको विरोधी होइन । तर, पार्टीबाहिर रहेर स्वविवेकका आधारमा बोल्ने, चल्ने मानिस पनि हुन सक्छन् । तिनको विचार र भावनालाई सम्मान गर्न सक्छन् भन्ने मान्छु । त्यस्ता स्वतन्त्र नागरिकहरूको विचार र भावनालाई सम्मान गर्न सक्नुपर्छ ।

घटनाहरूले देखाइरहेका छन्, महिला असुरक्षित छन् । लिंग, जात, वर्गका आधारमा तल पारिएकाहरू असुरक्षित हुन्छन् । न्याय प्राप्तिको प्रणाली पनि कमजोर देखिन्छ । न्यायका निकायमा महिलाभन्दा पुरुषको संख्या बढी देखिन्छ । यस्ता निकायमा रहेका धेरै पुरुषले पनि ‘पुरुषहरू स्वभावैले आक्रामक हुन्छन् र महिला सहनशील हुनुपर्छ’ भन्ने सोचलाई स्वीकारेका हुन्छन् । यस्तो परिस्थितिमा महिलालाई न्याय पाउन कठिन हुन्छ । न्यायालयका निर्णायकहरूले निष्पक्ष न्याय दिनुको सट्टा पीडित र पीडकलाई मेलमिलापको बिन्दुमा लैजान खोज्छन् ।

वैधानिकतामा प्रश्न उठाउन परे कस्तो सजिलो, पुरुषलाई दलाल भनिदियो, महिलालाई चरित्रहीन !

पुरुषत्वमा गर्व गर्नु भनेको सहअस्तित्वको वैचारिकीमाथि नै आक्रमण गर्नु हो । पुंसत्वको महिमागान गर्नेहरूले घर–कार्यालयमा सोपानतन्त्रको आधारमा शोषण–नियन्त्रण गरेका हुन्छन् । सञ्चार जगतमा छाउने पारम्परिक पुंसत्वको आन्तरिकीकरणका कारण समलैंगिक सम्बन्धमा समेत महिलाको भूमिकामा रहेको व्यक्तिमाथि दमन हुने उदाहरण भेटिन्छन् ।

राजनीतिक अस्तित्वको प्रतिस्पर्धामा पनि ‘जुँगाको लडाइँ’ हाबी देखिन्छ । आन्दोलनको बेला छ भने, कुनै खास क्षेत्रको प्रदर्शन कमजोर हुँदा या नेतृत्वको निम्छरोपनलाई व्यंग्य प्रहार गर्नुपर्दा चुरा, पोते र धागो पठाइएका उदाहरण प्रशस्त छन् । यस्ता घटनालाई पुंसत्वको अभिमानको अभिव्यक्तिका रूपमा लिन सकिन्छ ।

गाईजात्राताका उपल्लो तहका नेताहरूलाई चुरा, पोते लगाइदिएका कार्टुनहरू टन्नै देखिन्छन् । कुनै बेला बाबुराम भट्टराईले एमालेलाई ‘लिंग’ नछुट्टिएको पार्टी’ भने । यसरी कमजोर कहलिएका पुरुष या पार्टीलाई स्त्रैण उपमा दिनु पुरुषहरू योद्धा/आक्रामक हुन्छन्/हुनुपर्छ भन्ने चिन्तनको उपज हो ।

भट्टराईको कथनपछि म नीलहिरा समाजमा पुगेको थिएँ । त्यहाँका एक तेस्रो लिंगीले भने– ‘मैले त माओवादीलाई भोट दिएको थिएँ । तर, मलाई साथीहरूले तँ अब एमाले भइस् भन्छन् । यो त अन्याय भएन र !’’ राजनीतिक डिस्कोर्समा समेत यस्ता चिन्तनले समस्या ल्याउँछ ।

भूराजनीतिक सन्दर्भमा हामी नेपाल–भारत सम्बन्धलाई लिन सक्छौँ । चुनावताका या सत्ता परिवर्तनका बेला एउटा दलले अर्कोलाई बारम्बार दलालको आरोप लगाउँछ । दलाल शब्दले हाम्रोमा आफ्नै श्रीमती या सोझासीधा युवती बेच्ने व्यक्ति भन्ने अर्थ दिन्छ । राजनीतिक संकथनमा यो साह्रै डरलाग्दो कुरा हो । वैधानिकतामा प्रश्न उठाउन परे कस्तो सजिलो, पुरुषलाई दलाल भनिदियो, महिलालाई चरित्रहीन !

पितृसत्ताका प्रमुख तीन खम्बा छन्– सोचाइ, कानुन र संरचना । यी तीनै खम्बालाई एकसाथ नबदलेसम्म शताब्दीयौँदेखि जरा गाडेर बसेको पितृसत्ताको अन्त्य हुँदैन । मिथकशास्त्रमा ‘हाइड्रा’ चर्चित विम्ब छ, जसमा एउटा टाउको काटे पनि अर्को पलाइहाल्छ । यो मिथक पनि हाम्रो सामाजिकीमा मेल खान्छ । सोचाइ, कानुन र संरचनामा कुनै एक मात्र परिवर्तन गर्न खोजे अर्कोको बलमा फेरि नयाँ टाउको पलाइहाल्छ । आर्थिक सम्बन्धको आधार उस्तै रहुन्जेल उपरिसंरचना मात्रै बदल्नुको के अर्थ ! त्यसैले तीनवटै खम्बालाई साथसाथै बदल्ने तहको काम गर्नु जरुरी छ ।

वैकल्पिक आधुनिकतालाई हामीले नजिकबाट हेर्नु जरुरी छ । एकातिर उपभोक्तावादी संस्कृतिले व्यक्तिवादी बन्ने मानिसको जमात बढ्दो छ । हेपाहा प्रवृत्ति र आक्रामकता बढ्दो छ । अर्कातिर गान्धी र बुद्धजस्ता वैकल्पिक पुंसत्वयुक्त पात्रहरू पनि पाठका रूपमा छन् हामीसँग । इस्लामिक धर्मलाई थुप्रैले आतंकवादसित मात्र जोडेर हेर्छन् । तर, त्यसभित्र सुफीजस्तो मिस्टिक दर्शन पनि छ, जसमा सञ्चयभन्दा त्याग–समर्पणभाव बलियो छ । यस्तो दर्शनले उत्पीडनभन्दा सहअस्तित्वलाई बल दिन्छ ।

वैकल्पिक पुसंत्व खोज्न ऐतिहासिक पात्रहरूसम्मै पुग्नुपर्छ भन्ने छैन । हाम्रै वरपरका दैनिक जीवनमा त्यस्ता पुरुष पनि छन्, जो सन्तानको भविष्यका लागि एकल अभिभावकत्वसहित अहोरात्र खटेका छन् । नानीहरूको खुसीमा हाँसेका छन्, उनीहरूसँगै रोएका छन् ।

प्रकृतिको स्वभावमा ढल्ने दर्शनलाई हामीले नियाल्नैपर्छ । हाम्रैमा आदिवासी–जनजातिहरूको दर्शन छ । मुन्धुमको दर्शन पनि प्रकृतिलाई प्रेम गर्ने खालको छ । नारीलाई सम्मान गर्ने संस्कृति छ । प्रकृति र नारीलाई सम्मान गर्ने मूल्य–पद्धतिलाई पछ्याउने हो भने हिंसामा कमी ल्याउन सकिन्छ । अब हामीले प्रश्न उठाउने बेला भएको छ कि रूख कसले काट्दैछ ? प्रकृतिलाई ध्वस्त पार्न को उद्यत हुँदैछ ? पुरुष हाबी भएको समाजमा पितृसत्ताकै मूल्य–प्रणाली लागू हुन्छ । र, पृथ्वीमाथि नै कब्जा जमाउन खोज्छ ।


सञ्जीव उप्रेती | तस्बिर रवि मानन्धर


पहिलेभन्दा अहिलेका पुरुषमा केही बदलाव आएको देखिन्छ । उहिल्यै संयुक्त परिवार थियो, बाहिर गएर कमाइ गर्ने जिम्मेवारी पुरुषको मात्र थियो । सहरीकरण बढेसँगै अचेल एकल परिवार बढ्दो छ । एक जनाको कमाइले जीवन धान्न मुस्किल परेपछि कामको बाँडफाँट हुन थाल्यो । पश्चिममा यस्तै अभ्यास भयो । नेपालमा पनि यही जीवनशैली अपनाउन थालेपछि पुरुषको पारिवारिक भूमिका केही परिवर्तित भयो । तर, आधारभूत रूपमा पुरुषको वैचारिकी अझै पुरानो छ ।

म आफ्नै आमाबाको पुस्ताको कुरा सम्झन्छु । मेरा आमा र बुबाको पनि प्रेमविवाह भएको हो । आमाले हिन्दी साहित्यमा एमए पढ्नुभयो, बुबाले औषधविज्ञान । ठीकै थियो, उहाँहरूको जीवन । म देख्थेँ– बुबा बोलिरहने, आमा सुनिरहने । सायद त्यस्तै खालको सिकाइ थियो होला । मैले बुबालाई सोधेँ पनि– ‘अवश्य प्रेमविवाह थियो तपाईंहरूको । आमा तपाईंको कत्तिको साथी हुनुहुन्थ्यो ?’ उहाँले भन्नुभयो– ‘साथी थियौँ ।’ सायद उहाँहरूको युग अनुसार त्यो ठीकै थियो कि !

तर, मेरो पुस्ता अलि फरक छ । अर्चना (श्रीमती) र मबीच दिनहुँजसो छलफल/विमर्श हुन्छ । चुनावमा समेत हामी फरक–फरक पार्टीलाई भोट दिइरहेका हुन्छौँ । लेखन ढाँचा र सोच पनि हामीमा पृथक नै छन् । यदि मेरा सबै कुरामा सही थाप्ने श्रीमती या प्रेमिका हुन्थिन् भने कति वाक्कदिक्क भइन्थ्यो होला ! मेरा एक साहित्यिक अग्रजलाई भनेको थिएँ– ‘दाइ, मेरो र अर्चनाको सधैँ तर्क–वितर्क हुन्छ ।’ उनले यही कुरालाई टिपेर भन्दै हिँडेछन्– ‘सञ्जीव त एकदमै पीडित रहेछ ।’ वास्तवमा हामी एकअर्कालाई जति वैचारिक चुनौती दिन सक्छौँ, उति राम्रो साथी बन्न सक्छौँ । र, सम्बन्धलाई स्वस्थ र खुला राख्न सक्छौँ । म हाम्रोजस्तो परिवार मात्र राम्रो हो भन्दिनँ । र, यसलाई सामान्यीकरण पनि गर्न मिल्दैन । तर, यसरी पनि जीवन चलाउन सकिन्छ । त्यो पनि वैकल्पिक सोचकै एउटा स्वरूप हो ।

मेरै विद्यार्थीहरूसँग बुझ्दा अहिलेको पुस्ताका जोडीबीच काममा साझेदारी, छलफल र सम्मान रहेको देखिन्छ ।

म  ब्राह्मण  पुरुष हुँ । आर्थिक  रूपमा  सबलै  थिएँ ।  मभन्दा योग्य कैयन व्यक्ति थिए होलान् । तर, संरचनात्मक लाभांशकै आधारमा म अहिले यहाँ छु । त्यसैले मैले गरेका कामप्रति गर्व गर्नुपर्ने कुनै कारण छैन ।

‘निर्मलाका लागि न्याय’ मा संरचनात्मक लाभांशप्राप्त धेरै पुरुष पनि आन्दोलित भएका देख्यौँ । यो सकारात्मक पक्ष हो । तर, हामी सहानुभूति मात्रै राखेर पो त्यहाँ गएका छौँ कि ? हामी कत्तिको प्रतिबद्ध छौँ भनी सोध्नुपर्छ । हामीले आफैँलाई अप्ठेरा प्रश्न गर्नुपर्ने बेलाचाहिँ आइसक्यो ।

जब अप्ठेरा प्रश्न गरिन्छ, तब पुरुषले आफूलाई प्रतिरक्षात्मक स्थानमा राख्छ । उसले सोच्छ– ‘म त उदारै छु महिलाप्रति । मैले किन आरोप खेप्नुपर्ने !’ भनिदिन्छ पनि–‘पुरुष पनि पीडित छन् ।’ मलाई एक मित्रले भने– ‘सञ्जीवजी, तपाईं महिलाको पक्षमा मात्रै बोल्नुहुन्छ । तर, सानो हुँदा महिलाबाट म झन्डै बलात्कृत भएको छु ।’

नारी समानताको कुरा उठाउँदा कतिपयले ‘पुरुषविरुद्ध नारी’  बुझ्छन् । तर, बुझ्नुपर्ने कुरा के हो भने यो नारी– पुरुषबीचको युद्ध  होइन । मुख्य कुरा हो– नारी–पुरुषले  एकसाथ पितृसत्ताको वैचारिकीविरुद्ध संघर्ष गर्नु । बलात्कारलगायतका हिंसा घटना हुन् । हामी घटनाभन्दा पर  संरचनामा जानुपर्छ । जबसम्म संरचनामा पुगेर चिन्तन गर्दैनौँ, तबसम्म यस्ता हिंसात्मक घटना बढिरहन्छन् । पुग्नुपर्ने अधिरचनामा नभएर आधारमै हो, जरामै हो ।

नीति निर्माणमा महिलाको पर्याप्त सहभागिता र निर्णायक भूमिका नरहेसम्म संरचनालाई हल्लाउन सकिँदैन । संरचना दुई प्रकार हुन्छन्– आर्थिक संरचना र संस्थागत संरचना । संसद्, अदालत, न्यायिक समितिजस्ता संस्थागत संरचनामै पुरुषको संख्या बढी हुनेबित्तिकै नारीको अवस्था तल परिहाल्छ । ती संस्थागत संरचनामा रहेका थोरै महिला पनि पुरुषत्वको परम्परागत भाष्यलाई आन्तरिकीकरण गर्दै–गर्दै त्यहाँ पुगेका हुन सक्छन् । अनि, उनीहरू कसरी आलोचनात्मक आवाज उठाउन सक्छन् ? त्यसैले समावेशिताको सिद्धान्तलाई आज बलियो रूपमा कार्यान्वयन गर्नु जरुरी छ ।

आरक्षणजस्ता सकारात्मक विभेद आदर्श सिद्धान्त होइनन् । आदर्श समाजमा आरक्षण नै चाहिँदैन । नेपालजस्तो विभेदले गाँजेको समाजमा चाहिँ केही समय यो व्यवस्थाबाट उत्पीडितलाई उठाउनु जरुरी छ । हुन त, आरक्षणको ढोकाबाट पहुँचवालाहरूले आफ्ना मान्छेलाई पोस्ने गरेको आरोप पनि उठेका छन् । महिला हिंसाविरुद्ध  ‘सेतो रिबन’ जस्ता अभियानले केही न केही योगदान त पुर्‍याउँछन् नै । तर, कहिलेकाहीँ त्यस्ता कार्यक्रम पुरुषका लागि आफूलाई उदार देखाउने ‘टोकन’ मात्रै बनिदिन्छन् । प्लेकार्ड बोकेर जाने सबै पुरुषले समस्याको गुदी बुझेकै हुन्छन् भन्ने कुनै निश्चय हुँदैन ।

हिंसा कम गर्न सामाजिकीकरणको प्रक्रियालाई निकै गहन ढंगले सोच्नुपर्छ हामीले । त्यसका लागि विद्यालयदेखि नै पाठ्यक्रममा लैंगिक अध्ययनको पाटो समावेश गर्नुपर्छ । वैकल्पिक सोचको विस्तारका निम्ति मिडिया अर्को बलियो आधार र माध्यम बन्नुपर्छ । सिनेमा, साहित्य, कलाजस्ता सांस्कृतिक अवयवले सञ्चेतनाका लागि अर्थपूर्ण काम गर्नु आवश्यक छ । बलात्कारीलाई फाँसी नै दिनुपर्ने जुन माग उठेको छ, त्यसबारे राम्ररी सोच्नुपर्छ । किनकि, फाँसीको व्यवस्था भएका मुलुकमा पनि बलात्कारका घटना भइरहेकै छन् । अर्को कुरा फाँसीको माग हाम्रो संविधानविपरीत धारणासमेत हो । बरु ‘फास्टट्रयाक’ बाट कानुनी उपचार खोज्नुपर्छ ।

दु:खद कुरा, देशका जिम्मेवार व्यक्तिहरू नै निर्मला पन्तको अभियुक्त पत्ता लाग्न १२ वर्ष पनि लाग्न सक्ने अभिव्यक्ति दिन्छन् । यस्तो गैरजिम्मेवार बोलीमा पनि पुंसत्वको अभिमानी गन्ध भेटिन्छ । घरेलु हिंसामा श्रीमान्का विरुद्ध महिलाहरूले मुद्दा दर्ता गर्नै महाभारत हुन्छ । किनकि, उनीहरूसँग आर्थिक अधिकार छैन । जाने ठाउँ हुँदैन । सधैँ अरूको आश्रयमा रहेर मुद्दा लड्न सकिँदैन । घरमा बस्ने वातावरण हुँदैन । यसैले हाम्रो संरचना महिलामैत्री छैन । आर्थिक निर्णय महिलाको हातमा हुने हो भने केही हदसम्म हिंसा न्यूनीकरण गर्न सकिन्छ ।

कतिपय अवस्थामा पराक्रम जोगाउने मानसिकताबाट पनि वृद्धहरू बलात्कारी अवतारमा उत्रिएको लैंगिकताबारेको विश्वव्यापी शोधले देखाएको छ ।

उदारवाद भनेको कहिल्यै पनि अन्तिम उत्पादन होइन, निरन्तर प्रक्रिया हो । राज्यले गर्नुपर्ने परिवर्तनबाहेक हामी पुरुषले आफैँतिर फर्केर सोधिरहनुपर्ने प्रश्न छन् । म लामो समय लैंगिक अध्ययनमा लागेँ । तर, आफैँलाई सोध्छु– ‘म कति उदार छु ?’ मसिना कुराहरूलाई केलाएर हेर्दा मभित्र अनेक अन्धता भेट्छु । परम्पराले उपलब्ध गराएको लाभांशको भोगमा अभ्यस्त भएपछि संरचनात्मक अन्धता पनि बढ्दो रहेछ । अमेरिकामा रहेर सिद्धान्तहरू पढेँ तर, नारीका दर्द मैलेभन्दा अर्चनाले छिटो बुझ्छिन् । उनले त्यतिबेला सिद्धान्त पढिसकेकी थिइनन् । उनको जत्तिको बुझाइसम्म पुग्न मैले शास्त्र नै पल्टाउनुपर्‍यो । जसलाई दुख्छ, उसैले विभेदको अन्तर्य चाँडो बुझ्छ सायद ।

देवी स्थापना गर्ने संस्कृतिले नारीको पुरानो विम्बलाई भत्काएर वैकल्पिक नारीशक्तिबारे थोरै सोच्ने ठाउँ त दियो होला । तर, त्यो प्रतिमानलाई हामीले पाल्तुजस्तो बनाइसक्यौँ । नारीवादका बहसमा पुरुषले सहजै भनिदिन्छन्– ‘हामीकहाँ नारीलाई पुज्ने चलन छँदैछ । त्यसैले हाम्रो समाजमा परिवर्तनको आवश्यकता छैन ।’

अहिलेको उपभोक्तावादी संस्कृतिमा मात्रै होइन, हिजैदेखि नारीलाई भोग्या वस्तुको रूपमा हेरिन्थ्यो । पोर्न साइटहरूले आधुनिक समस्या  ल्याएका छन् । पुरुषवादी सोचले पुरुषहरू आफैँलाई पनि समस्यामा पारेको छ कि उनीहरूलाई आफ्नै मानवतासित साक्षात्कार गर्न कठिन हुन्छ । पीडामा पनि आँसु खसाउने छूट छैन । उखानको लट्ठी देखाएर भनिएको हुन्छ कि लोग्नेमान्छे रुनुहुँदैन ।

मेरा एक साथीले चिन्ता प्रकट गरे– ‘हामी घरमा उति समय दिन भ्याउँदैनौँ । पोर्न साइटहरू सहजै उपलब्ध हुन्छन् अचेल । मेरा छोराको विकास कस्तो खालको होला भन्ने कुराले मलाई खुब सताउँछ । प्रायजसो फिल्ममा पुरुषले महिलालाई नियन्त्रित गरेको देखाइन्छ । सायद तिनै फिल्मको प्रभावले होला, उसले आफ्नी बहिनीलाई समेत नियन्त्रणमा राख्न कोसिस गर्छ ।’ साथीको कुराले म पनि गम्भीर भएको छु ।

वीर इतिहासको गाथाबाटै पराक्रमलाई पुरुष जोडेर हेरेको भेटिन्छ । पुँजीवादी युगमा आइपुग्दा पराक्रमका मानकहरू परिवर्तन भएका छन् । धेरै पैसा कमाउनु, प्रशस्त जग्गा जोड्नुलाई आज पराक्रम मान्न थालिएको छ । बुढ्यौलीमा पुगेका पुरुषमा पराक्रमको अहं क्षय हुँदै जाने हुँदा हीन भावना पलाउने सम्भावना हुन्छ । पुरुष र नारीमा शारीरिक भिन्नता त अवश्य छ । तर, शारीरिक पाटो मात्रै होइन पुरुषत्व । कतिपय अवस्थामा पराक्रम जोगाउने मानसिकताबाट पनि वृद्धहरू बलात्कारी अवतारमा उत्रिएको लैंगिकताबारेको विश्वव्यापी शोधले देखाएको छ ।

नारीवादभन्दा पुरुषत्वको अध्ययन कान्छो भए पनि यी दुवैलाई लैंगिक चिन्तनको ठूलो छातामा राखेर हेर्न सकिन्छ । र, सहकार्यात्मक यात्रामा बढ्न सकिन्छ । हामीले सिद्धान्तका ठेलीहरूमा घोत्लिने काम धेरै गरिसक्यौँ । तापनि, संरचनात्मक लाभांशको संबलमा हामी अनेक अन्धतालाई हुर्काइरहेका छौँ । अब प्रतिरक्षात्मक हुन छाडेर आफैँसित  प्रश्न गर्न र ऐनाअगाडि आफैँलाई नियाल्न जरुरी छ ।

(बसन्त बस्नेत, राजकुमार बानियाँ गुरुङ सुशान्तसँग कुराकानीमा आधारित)

प्रकाशित: आश्विन २३, २०७५

ट्याग: विचार