मायाको आशमा ज्येष्ठ नागरिक

- विभु लुइटेल

कपाल पूरै फुलिसक्यो, गालामा चाउरी देखिन थालिसके, सेवानिवृत्त भएको पनि वर्षौं भइसक्यो । दैनन्दिनको साथीजस्तै बनेको रक्सी पनि बढ्दो उमेरसँगै टाढा भइसक्यो । तर, ध्रुवचन्द्र गौतम, ७५, को जोसजाँगर उस्तै छ । लेखन बन्द भएको छैन, आत्मकथा लेख्दैछन् । कतै जानुपरे कसैको साथ पनि चाहिँदैन, हिँडाइको रफ्तार उही छ । तर पनि कहिलेकाहीँ साथीभाइ सम्झँदा ननिको लाग्छ । भन्छन्, “उमेरले गर्दा होला, साथीहरू निकै टाढा भए । भेटघाट हुनै छाड्यो ।” उनलाई आफू एक्लिएको अनुभूति त हुँदैन । तर, साथीभाइ भेटी पुराना सम्झना ब्युँताउन भने मन छ, कहिले नछुट्टिएजसरी गफ गर्न मन छ । उनका दिन लेखपढमै बित्छन् । श्रीमतीसँग बसी उनी पुराना गीत सुन्ने र फिल्मका कुरा गर्ने गर्छन्, कहिलेकाहीँ घुम्नै पनि जान्छन् ।

सामान्य नेपालीको भन्दा गौतमको आर्थिक अवस्था सुदृढ छ । सामान्य औषधोपचार गर्न पुगेको छ, आफ्ना व्यक्तिगत व्यय पनि आफैँ धान्छन् । न कसैसँग केही गुनासो छ, न त कसैको आफूमाथि केही गुनासो भएजस्तो लाग्छ । समाज र देश सूक्ष्म रूपमा बुझेका यी लेखक भन्छन्, “सबैको अवस्था मेरोजत्तिकै सन्तोषजनक छैन भन्ने पनि ज्ञात छ ।”

वास्तवमै, गौतमले भनेजस्तै उनलाई प्रतिनिधि पात्रका रूपमा लिएर सिंगो नेपाली समाजका ज्येष्ठ नागरिकको अवस्थाबारे चित्रण गरिहाल्न पनि मिल्दैन । वीरगन्जकी भुवनेश्वरी उपाध्याय, ७०, ले इच्छा हुँदाहुँदै पनि पढ्न पाइनन् । सानै उमेरमा विवाह गरी पठाइयो । छोरी बामे सर्न नपाउँदै उनले श्रीमान् गुमाइन् । भएको केही पुख्र्यौली सम्पत्तिका भरमा एक्लै छोरीको पालपोषण गरिन् । पढाइन्, लेखाइन् । तिनै छोरी ठूली भएपछि सम्पत्ति आफ्ना नाममा गरेर उनलाई छाडेर कहाँ गइन्, अत्तोपत्तो छैन । रविभवनको एक वृद्धाश्रम नै अहिले उनको घर भएको छ । माइतीका नाममा भाइ छन् । तर, भेट नभएको वर्षौं भइसक्यो । सरकारले दिने वृद्धभत्ता लिन वीरगन्ज नै पुग्नुपर्छ । तर, शरीरमा खासै बल शेष छैन । बितेका दिनको सम्झना र वृद्धाश्रमका रहेकासँग दु:खसुखका कुरा गर्दै उनका दिन बित्छन् । भन्छिन्, “अरू त गर्न पनि के सकिन्छ र ?”

भुवनेश्वरीको कोठाछेवैमा बस्ने राम घले, ६६, वृद्धाश्रममा बस्न थालेको एक दशक पुग्न लागिसक्यो । नुवाकोटमा घर छ । तर, जाने शक्ति छैन । काठमाडौँमा रङरोगनको काम गरेर राम्रोसँग जीविका चलेकै थियो । तर, कुमको हड्डी खुस्किएर हात चल्न छाडिसक्यो । हिँड्दा सिंगो शरीर काँप्छ । श्रीमती बितेको १५ वर्ष भयो । परिवारका नाममा दुई भाइ, एक दिदी र एक बहिनी छन् । तर, कहाँ छन्, के गर्छन्, अहिले कस्तो देखिन्छन्, उनलाई थाहा छैन । सन्तान कहिल्यै भएनन् । उनलाई त्यसले पिरोलेको भने छैन । भन्छन्, “सन्तान भए पनि के, नभएर पनि के ! छोराछोरी आफैँले वृद्धाश्रम छाडेर गएका बूढाबूढीसँग बस्छु अहिले ।”

जीवनमा उनको अब एउटै मात्र इच्छा छ । बाल्यकालमा उपद्रव गरेका र हाँसीखेली हिँडेका दिनबारे भाइसँग भेटी कुरा गर्न मन छ, ती दिनका सम्झना साट्न मन छ । यो लगभग असम्भवजस्तै छ भन्ने तथ्यसँग उनी अज्ञात छैनन् । तर, आश मारिहाल्न पनि मन नभएको बताउँछन् ।

एक सय दुई वसन्त कटिसकेकी ठँहिटी काठमाडौँकी रामदेवी श्रेष्ठ पनि भुवनेश्वरी र रामसँगै वृद्धाश्रममा बस्छिन् । आँखा कमजोर भइसके । तर, तिनले ९० सालको भुइँचालोमा आफ्नै अगाडि घर लडेको देखिन्, समयक्रममा ती घर ठडिएको पनि देखिन् । उनका आफन्तसँगै आएका अपरिचित व्यक्तिले झुक्याएर दस्तखत गराई भएभरको सम्पत्ति कुम्ल्याएको दृश्य झल्झली सम्झिन्छन् । गणेशमान सिंहकी पत्नी मंगलादेवीसँग बाल्यकालमा खेले–कुदेका सबै सम्झना उनीसँग अझै ताजा छन् । राजा महेन्द्रले उपहारस्वरूप दिएको गाडी लाइसेन्स नहुँदा पनि काठमाडौँका सडकमा बेपर्वाह हाँकेको हिजैजस्तो लाग्छ । यी सबै सम्झना उनी वृद्धाश्रममा सेवा गर्न आएका सामाजिक सेवा संकायका विद्यार्थी र अन्य आगन्तुकसँग बाँड्छिन् । ‘नोस्टाल्जिया’ मा नडुबेका दिन नै छैनन् उनका । वृद्धाश्रमका आफूभन्दा कान्छा सदस्यलाई जस्तो रोग पनि लागेको छैन उनलाई । गुलियो, चिल्लो सब खान्छिन् ।

गुच्चा खेल्दा प्रेममा परी बिहे गरेका श्रीमान्ले रामदेवीलाई छाडेर गएको वर्ष दिन भइसक्यो । सन्तान नभएकाले श्रीमान्को अन्तिम संस्कार आफैँले गरिन् । त्यतिबेलै आफ्नो तर्फबाट पनि शैय्यादान गरिन् । भन्छिन्, “धार्मिक हिसाबले हेर्ने हो भने म मरिसकेँ । अब साँच्चिकै प्राणपखेरु उड्न मात्र बाँकी छ ।”

रामदेवीको झ्यालबाहिर केही चराचुरुंगीले गुँड लगाएका छन् । अन्यत्रबाट पनि केही चरा चाराको आशले उनको झ्यालैमा आएर बस्छन् । वरपरका बिराला पनि आउँछन् । ती सबलाई उनी खान दिन्छिन् । भन्छिन्, “संसारमा मानिसबाहेक अरू पनि प्राणी छन् । त्यसैले त मायाको अनुभूति गर्न पाइएको छ । मान्छे मात्र हुँदा हुन् त संसार कति कुरूप हुँदो हो ।”

रामदेवीका कुरा सुनिरहेकी माइली (पूरा नाम उनी स्वयंलाई थाहा छैन) होमा हो थप्छिन् । वरपरका पशुपक्षीका लागि उनीहरू नै अभिभावक हुन् । र, पशुपक्षी उनीहरूका लागि । माइलीलाई आफ्नै छोराले बेहोस पारी वृद्धाश्रम छाडेर गएका हुन् । वृद्धाश्रमका मालिकलाई भने ती महिला बाटोमा भेटेको झुटो स्पष्टीकरण दिएछन् । आफ्नो नाम, ठेगाना, फोन नम्बर केही छाडेनन् । होसमा आएपछि माइलीले छोरा, बुहारी र नाति खोजिन् । तर, पाइनन् । “सम्झँदा भक्कानो फुटेर आउँछ । त्यसैले अब केही नसोध नानी,” उनले बिन्ती बिसाइन् ।

वृद्धाश्रममा बस्दै आएका वृद्धवृद्धाको समस्या सबैले बुझेकै छन् । छोराछोरीसँग बस्ने सबै बाबुआमा मनदेखि नै खुसी छन् भन्नचाहिँ नसकिने विभिन्न अध्ययनले देखाएका छन् । हातखुट्टा चलुन्जेल त संसार आफैँ हाँकौँजस्तो जोश हुन्छ । हातखुट्टा चल्न छाड्ने उमेर पुगेपछि आफ्ना सहयात्रीले पनि छाडेर जान्छन् । एक जोर लुगा र एक मुट्ठी सासबाहेक धक फुकाएर मनको वह पोख्न सकिने साथी चाहिने बेला एक्लो भइन्छ कि भन्ने डरले यिनको मनमा डेरा जमाउने गरेको अध्ययनले देखाउँछ । बुढेसकाल लागेसँगै छोराछोरीसँग केही दूरी कायम हुनुलाई गौतम भने स्वाभाविक रूपमा लिन्छन् । “उनीहरू साना छँदा धेरै समय सँगै बिताइन्थ्यो । अहिले ‘प्राक्टिकल डिस्टेन्स’ सिर्जना भएको छ । उनीहरूको संसार फराकिलो हुँदै गएको छ, हुन आवश्यक पनि छ ।” उनले सबै परिस्थितिलाई सहज रूपमा लिँदै भने । तर, आफू र अरूलाई एकै प्रकारले मूल्यांकन नगरिदिन पनि आग्रह गरे ।

सन्तानले त्यागेका अधिकांश अभिभावकले वृद्धाश्रमलाई वैकल्पिक चौतारी बनाउने गरेको देखिन्छ । तर, सबैलाई एकै कोटिमा राखी दाँज्न पनि मिल्दैन । अहिलेको सन्दर्भमा त छोराछोरीसँगै बस्ने बाबुआमाका सहारा बनिदिएका छन्, काठमाडौँका विभिन्न स्थानमा खुलेका रिट्रिट सेन्टर । टोलछिमेकका वृद्धवृद्धा भेला भएर आफ्नै उमेरका अन्यसँग सुखदु:खका कुरा गर्न यी रिट्रिट सेन्टरले मियोको काम गरेका छन् । ट्यांग्ला फाँट, कीर्तिपुरको रुद्रान्जु प्रतिष्ठानमा दिनहुँ करिब ५० वृद्धवृद्धा आएर एकअर्कासँग भलाकुसारी गर्छन्, पर्याप्त समय भएका बेला भजनकीर्तन पनि गर्छन् ।



यस्तै, रिट्रिट सेन्टर काठमाडौँको भुरुङखेल, बुढानीलकण्ठ, तीनकुनेलगायतका स्थानमा पनि खुलेका छन् । वृद्धवृद्धा भलाकुसारी गर्ने रिट्रिट सेन्टर विश्वका अन्य देशमा पनि छन् । बालबच्चाका लागि नेपालमा पर्याप्त डे–केयर सेन्टर भए पनि  वृद्धवृद्धाका हकमा त्यस्ता सेन्टरको संख्या निकै कम रहेको गुनासा बेलाबखत सुनिँदै आएका छन् । बुढानीलकण्ठस्थित अरोगिन केयर होमकी जानुका विष्ट भन्छिन्, “चिल्ड्रेन डे–केयर सेन्टरमा बच्चाहरूको खानपान र स्वास्थ्यमा ध्यान दिएजस्तै ज्येष्ठ नागरिक डे–केयर सेन्टरमा वृद्धवृद्धामाथि पूर्ण रूपले ध्यान दिन सक्नुपर्छ ।”

अस्तव्यस्त जीवनशैली, वर्षान्तर, बढ्दो आधुनिकीकरणका कारण पछिल्लो समय नेपालमा वृद्धवृद्धा एक्लिँदै गएको तथ्य नजिकैबाट नियाल्ने मौका पाएका छन्, पाटन अस्पतालका एक मात्र जेरियाट्रिसियन रमेश कँडेलले । यसको न्यूनीकरणका लागि अहिलेको पुस्तालाई उनी वृद्धवृद्धाका दैनिक जीवनशैलीका हरेक सानाभन्दा साना कार्यमा समेत सामेल हुन सुझाव दिन्छन् । हामीलाई सामाजिक मूल्यमान्यता सिकाउने वृद्धवृद्धालाई समाजका अग्रणी व्यक्तित्वका रूपमा हेर्नुपर्ने उनको धारणा छ । भन्छन्, “पितृ देवो भव: र मातृ देवो भव: लाई उक्तिमा मात्र सीमित नराखौँ ।”


वृद्धावस्थामा मानसिक तनाव

–डा रमेश कँडेल

जेरियाट्रिसियन, पाटन अस्पताल

मैले शासन गरिरहेको परिवारले अब ममाथि शासन गर्न थाल्छ भन्ने एक प्रकारको मानसिकता धेरै वृद्धमा देखिएको छ । त्यही हीनताबोधले छोप्ने हुँदा धेरै डिप्रेसनको सिकार भएको पनि देखेका छौँ । यस्तो अवस्थामा मानसिक रोगबारे जानकार छोराछोरी बाआमालाई मनोरोग विशेषज्ञकहाँ लिएर जान्छन् । वृद्धवृद्धाबारे ज्ञान नभएका

मनोरोगविज्ञ छन् भने उक्त समस्याको समाधान कहिल्यै भेटिँदैन ।

पाटन अस्पतालमा अहिले अल्जाइमर्सका बिरामी अत्यधिक आउने गरेका छन् । अन्य उमेरका भन्दा ६० कटिसकेका बढी आउने गरेका छन् । आफूले भर्खर खाएको कुरा बिर्सने तर बाल्यकालका घटना याद हुने केस पनि छन् । आफू कहाँ जाँदै छु भन्ने थाहा नपाई घरबाट निस्कने पनि छन् । सामाजिक सञ्जालमा वृद्धवृद्धा हराएको सूचना आउँदा युवा पुस्ताले त्यसलाई उपहास गरेको पनि देखेको छु । ती व्यक्तिलाई अल्जाइमर्स भएको हुन सक्छ भन्ने हामीले बुझ्न जरुरी छ । अल्जाइमर्स फेरि एक्कासि लागिहाल्ने पनि होइन । यसले समातेपछि सुरुआती चरणमा टाढाका मान्छे नचिन्ने समस्याबाट सुरु भएर बिस्तारै आफ्नै घरका मान्छे चिन्न छाड्छन् । यसले चरम रूप लिइसकेपछि बिरामीले खाना खाने तरिका पनि बिर्सेको हामीले देखेका छौँ ।

नेपालमा अहिले अल्जाइमर्सका बिरामीको संख्या करिब ७८ हजार रहेको अनुमान छ । सन् २०५० मा यो संख्या २ लाख ८५ हजार हाराहारी पुग्ने वैज्ञानिक अनुसन्धानले देखाएका छन् । यो रोगको कुनै उपचार पद्धति नहुनु सबैभन्दा दु:खद पक्ष हो । यसको एक मात्र समाधान भनेको वृद्धवृद्धासँगको सम्बन्धमा ह्रास हुन नदिनु नै हो । मेरो बुबाआमाको अब केही काम छैन भन्ने मानसिकता हटाउन आवश्यक छ । हिँड्न नजान्दा हामीलाई काँधमा बोकी हिँड्ने बाआमालाई अहिले हाम्रो हात चाहिएको छ ।


समस्या हामीमै

–कृष्णमुरारी गौतम ‘चट्याङ मास्टर’

अध्यक्ष, एजिङ नेपाल

विश्वकै तथ्यांक नै हेर्ने हो भने युवाका तुलनामा संसारमा अहिले धेरै वृद्धवृद्धा छन् । कमाउने एक व्यक्तिले ६ जनालाई पाल्नुपर्ने वर्तमानको तथ्यांकले देखाउँछ । यो अनुपात घट्नेवाला पक्कै छैन । सानो समूहले ठूलो जमातलाई कसरी पाल्ने ? अहिले हेर्दा हामीलाई यो समस्या सामान्यजस्तो लाग्छ । तर, भविष्यमा यसले ठूला संकट निम्त्याउने निश्चित छ ।

हाम्रो समाजमा बच्चाको स्याहार कसरी गर्नुपर्छ, सबैलाई थाहा छ । तर, वृद्धको स्याहारसुसारबारे कसैलाई थाहा छैन । बूढाबूढीमाथि अन्य उमेर समूहमा भन्दा बढी हिंसा हुन्छ । पुलिसकहाँ रिपोर्ट गर्दा ‘तपाईंहरू मिलेर बस्नुस्’ भन्ने सुझाव आउँछ । एक जोर लुगा, ‘कठैबरा’ शब्द र दुई छाक खान दिएका भरमा बूढाबूढीलाई अन्य केही समस्या छैन भन्ने सोच्छ परिवारले । सरकारले पनि सीमित वृद्धभत्तामा टारिदिएको छ । हाम्रो चेतनाको स्तर यत्ति हो ?

नेपालमा बूढाबूढीसँग सम्बन्धित आवश्यक तथ्यांक छैन । यस विषयमा अनुसन्धान गर्ने दक्ष जनशक्ति पनि छैन । एकै हातका औँलामा गन्न सकिने संख्यामा जेरियाट्रिक डाक्टर छन् । यो संख्या कसरी बढाउने भन्नेमा ध्यान दिँदैनौँ, यति भए पनि छन् नि भनी उल्टै गर्व गर्छौं । खरायो र मौरीको औपचारिक गणना भएको छ । तर, बूढाबूढीका हकमा उक्त कार्य भएको छैन । तथ्यांक नै नभएपछि केलाई आधार मानी नीति बनाउने ? हो, हामी यहीँ चुकेका छौँ ।

अनुसन्धान मात्र होइन, हाम्रामा बूढाबूढीका विषयमा प्रशिक्षण र जनचेतनाको पनि कमी छ । ‘बूढा भए, अब वृद्धाश्रम गइहाल्छन् नि’ भन्ने मानसिकता छ । आफू पनि कुनै दिन त्यही अवस्थाबाट गुज्रनुपर्ला भनी चिन्ता गरेको खोइ ?

मैले कति यस्ता युवा देखेको छु, जसले बूढाबूढीलाई केही आउँदैन भनी उपहासको दृष्टिले हेर्छन् । कम्प्युटरका केही बटन प्रेस गर्न आयो भन्दैमा आफूलाई सब थाहा छ भन्ने भ्रम पाल्न सुहाउँछ ? दुई प्याकेट चाउचाउ नपाउँदा खाली पेट सुत्न बाध्य हुने पुस्ताले केही नहुँदा बोटका मुनामा आहारा खोज्ने बूढाबूढीलाई ‘केही नजानेका’ भन्ने ? समाजका जान्नेसुन्ने भनाउँदाले हामी सबैलाई ‘बूढाबूढी भनेका ज्ञानका भण्डार हुन्’ भन्छन् । त्यस्ता ज्ञानका भण्डारको संरक्षण गर्नुपर्दैन ? किताब थोत्रो भयो भन्दैमा त्यसमा भएको ज्ञान पनि थोत्रो हुन्छ ?

साक्षर जिल्ला अभियान चल्दा देशभरबाट तथ्यांक संकलन गरियो । दुर्गममा ९० प्रतिशतभन्दा बढी साक्षर भेटिए रे । ‘कस्तो ठट्टा गरेको ! त्यहाँका बूढाबूढी पनि साक्षर छन् ?’ भनी सोध्दा ६० कटेकालाई गणनामा सामेल नगरिएको जवाफ आयो । के अब ६० कटेका व्यक्ति देशका नागरिक नै होइनन् भनी बुझ्नु ? ६० कटेका महिलामाथि पनि बलात्कार हुने गरेको छ । ती घटनाका रिपोर्ट महिला आयोगमा नभई ज्येष्ठ नागरिक आयोगमा आउँछन् । के अब उनीहरूले आफूलाई महिला नै नसोच्ने ?

साहित्य हेर्ने हो भने पनि बालसाहित्य, नारीसाहित्यलगायतका साहित्य छन् । बूढाबूढीका हकमा हरेराम, हरेराम मात्रै ? उनीहरूका लागि छुट्टै साहित्य लेखिएको खोइ ? समावेशी समाजमा बूढाबूढीको स्थान खोइ ?

विकास निर्माणमा खोइ बूढाबूढीको सहभागिता ? बालबालिकाका लागि पोलियो थोपा अभियानलगायतका कार्यक्रम छन् । बूढाबूढीलाई रोग लाग्दैन ? खोइ बूढाबूढीलक्षित स्वास्थ्य कार्यक्रम ? समस्या हामीमा छ । तर, हामीले बेवास्ता गर्नु नै सबैभन्दा ठूलो समस्या हो ।


 

प्रकाशित: आश्विन २२, २०७५