अब भीपीएनतिर

- विभु लुइटेल

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालका इन्टरनेट सेवाप्रदायक कम्पनी (आईएसपी) लाई यौनजन्य सामग्री भएका वेबसाइटको पहुँचमा रोक लगाउन आदेश दिएसँगै इन्टरनेट प्रयोगकर्ताबाट मिश्रित प्रतिक्रिया आइरहेका छन् । मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा, नेपाली समाजको मूल्यमान्यता र सामाजिक सद्भावमा खलल पुगेको तथा समाजमा यौनहिंसा र विकृति सिर्जना गर्न प्रेरित गरेकाले यो कदम चालिएको उल्लेख छ । केहीले यसको खुलेर स्वागत गरेका छन् भने धेरैजसोले आक्रोश पोखेका छन् ।

नेपालका प्रमुख आईएसपीहरुले पोर्न सामग्री उपलब्ध हुने सयौँ वेबसाइट ब्लक गरिसकेका छन् । यति हुँदाहुँदै पनि ती वेबसाइटका सामग्री हेर्न कम भएको भने देखिँदैन । कारण, भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) । सार्वजनिक नेटवर्कमा उपलब्ध सामग्रीलाई निजी नेटवर्कमै भएजसरी प्रयोग गर्न यसले सघाउ पुर्‍याउँछ । सुरक्षा र व्यवस्थापनका दृष्टिले यो निकै प्रभावकारी प्रविधि हो । काठमाडौँका केही आईटी कम्पनीले भीपीएन सम्बन्धी कार्यशाला पनि आयोजना गर्दैछन् । भीपीएन कसरी प्रयोग गर्ने भनी नेपालबाट इन्टरनेटमा खोज्नेको संख्या प्रतिबन्धपछि करिब ७० प्रतिशतले बढेको गुगल ट्रेन्डले देखाएको छ ।

नेपालमा पोर्न सामग्री हेर्न भीपीएनको प्रयोग बढेको देखिए पनि यसलाई विकल्पका रुपमा भने अथ्र्याइहाल्न मिल्दैन । यसका अनेकौँ बेफाइदाबारे पनि युवा जमात सचेत हुन आवश्यक छ । जस्तै : सार्वजनिक स्थलमा इन्टरनेट चलाउँदा ब्राउजिङ सुरक्षित हुन्छ भन्ने छैन । त्यस्तो अवस्थामा ‘इन्ट्रुडर’ लाई आफ्ना ब्राउजिङ क्रियाकलापबाट टाढा राख्न भीपीएन फलदायी सिद्ध हुन सक्छ । फायरवालको उपस्थितिमा इन्टरनेट चलाउँदा ब्राउजिङ सुरक्षित रहनेमा कुनै दुईमत नै छैन । तर, भीपीएनले एक तह सुरक्षा थप गरिदिने पक्षलाई पनि नकार्न भने सकिँदैन । डिजिटल साक्षरता बढेसँगै प्रयोगकर्ताले आफ्नो पहिचान गुमनाम राख्न सामान्य ब्राउजिङभन्दा भीपीएनलाई नै प्राथमिकतामा राख्ने गरेका छन् ।

भीपीएन प्रयोग गर्न जति रमाइलो छ भन्ने लाग्छ, त्यति नै कठिन पनि छ । प्रभावकारी ढंगले यसलाई प्रयोगमा ल्याउन आफ्नो नेटवर्क ट्राफिकबारे प्रयोगकर्ता अवगत हुन आवश्यक छ । अझ, नेटवर्क टोपोलोजी, विभिन्न प्रोटोकलबारे राम्रो ज्ञान हुनेले यसबाट अधिकतम लाभ उठाउन सक्छन् । गतिलो तरिकाले भीपीएन चलाउन मन लाग्ने तर खासै ज्ञान नभएकाका लागि यसको विकल्प हो, ‘पेड भीपीएन’ । केही शुल्क तिरी यिनको प्रयोग गर्न सकिन्छ । तुलनात्मक रुपमा यस्ता नेटवर्क नि:शुल्क नेटवर्कभन्दा सुरक्षित पनि देखिएका छन् ।

सन् २०१५ मा भारतमा पनि पोर्न साइटमा प्रतिबन्ध लगाइएको थियो । त्यस निर्णयले चर्को आलोचना खेपेपछि उक्त प्रतिबन्ध हटाइयो । चीनमा फेसबुक, गुगलजस्ता वेबसाइट प्रतिबन्धित छन् । तर, इन्टरनेट साक्षर समुदायले भने सजिलै प्रयोग गर्ने गरेका छन् । वर्डप्रेस र युट्युबजस्ता साइट पाकिस्तानमा प्रतिबन्धित भए पनि त्यहाँ प्रयोगकर्ताको संख्यामा कमी आएको छैन ।

प्रकाशित: आश्विन २२, २०७५