पानी बाराबार

- नेपाल संवाददाता

समीक्षात्मक प्रतिक्रिया सकारात्मक नभए पनि इन्टु मिन्टु लन्डनमाले बक्स अफिसमा लोभलाग्दो व्यापार गरिरहेको छ । खासगरी सहरिया युवा पुस्ता हलमा ओइरिएका छन् । तर, यही फिल्मकी हिरोइन साम्राज्ञी राज्यलक्ष्मी शाहले खुसी मनाउन पाएकी छैनन् । कारण हो, निर्देशक रेनाशा वान्तवा राईसँगको लफडा । रिलिजअगावै रेनाशा र साम्राज्ञीबीच मनमुटाव भएको थियो । तर, रिलिजताका सँगै देखापरे, त्यसपछि भने पानी बाराबारको अवस्था छ । कतिसम्म भने फिल्म युनिटले मनाएको ‘सक्सेस पार्टी’ मा समेत साम्राज्ञी उपस्थित भइनन् । प्रमोसनमा साथ नदिएपछि साम्राज्ञी र रेनाशाबीच दूरी बढेको थियो । त्यसो त, उनले जति फिल्म खेलिन्, प्राय: युनिटसँग चिसो सम्बन्ध छ । जस्तो : ड्रिम्स चल्यो, भुवन केसीसँग बोलचाल बन्द भयो । ए मेरो हजुर २ पछि झरना थापा र कायरापछि आर्यन सिग्देलसँग सम्बन्ध टिकाउन सकिनन् । गल्ती फिल्म निर्माताको हो कि साम्राज्ञीको ? समयले बताउला । 

 

प्रकाशित: आश्विन २२, २०७५