देश डुब्नै लाग्यो किनारा लगाउने को ?

- जनक नेपाल

कहिले एउटै गुट, कहिले घम्साघम्सी । प्रधानमन्त्री केपी ओली र नेकपा वरिष्ठ नेता माधवकुमार नेपालको सम्बन्ध बितेको साढे दुई दशकमा उतारचढावपूर्ण रह्यो । एमाले विभाजनको चुनौतीपूर्ण घडीमा समेत यी दुई शीर्षस्थ नेता सँगै रहे । पहिलो संविधानसभा चुनावमा यी दुवै नेता हारेपछि छाएका झलनाथ खनालविरुद्ध एकगठ भएर अन्तरसंघर्ष चर्काए । कतिसम्म भने एमाले र माओवादी केन्द्रबीच ३ जेठमा पार्टी एकता हुँदा तिनै खनालको वरीयता मिचेर नेपाललाई तेस्रो नेता बनाउन ओलीले प्रचण्डसँग मतो मिलाए ।

अहिले उनै नेपालले नेकपाका दुई पाइलटहरूको ककपिट हल्लिने गरी चुनौती दिइरहेका छन् । उनले ११ असोजमा संसद्मा भोला रिजालले लेखेको गीत जोड्दै सम्बोधन गरे, ‘मेरो देश डुब्न लाग्यो किनारा लगाइदेऊ । सपुत छौ कि कोही माझी बचाइदेऊ ।’ भलै नेपालले गीत सम्झन नसकेर अर्कै पंक्ति बोलेका थिए ।

त्यसो त, तत्कालीन एमालेमा डेढ दशक एकछत्र चलाएका नेपालले आजै, अहिल्यै नेतृत्व हत्याउँला भनेर सोचिहालेका भने छैनन् । तर, आफ्नो अनुपस्थितिमा पार्टी सचिवालयले प्रदेश कमिटीहरू गठन गरेपछि उनको रिसको पारो चढेको छ । उनले संसद्मा सरकारलाई तीतो लाग्ने गरी केही बोले । अनि, बुद्धनगरमा पार्टी स्थायी कमिटी सदस्यहरूको भेला बोलाएर चर्को दबाब सिर्जना गरे । ओली पनि के कम ! राष्ट्रसंघको महासभा भ्याउन न्युयोर्क पुगेका बेला उतैबाट दौँतरीविरुद्ध शाब्दिक छुरा चलाए । हेरौँ, दुई नेताका दुईथरी तर्कवितर्क :

माधव नेपाल

संसदमा सम्बोधन, ११ असोज

  • ‘मेरो देश डुब्न लाग्यो, किनारा लगाइदेऊ । सपुत छौ कि कोही माझी बचाइदेऊ ।’
  • हुन त मैले सुनेको थिएँ, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्रैबाट त विरोध भइरहेछ । यस्तोमा विरोधीले त विरोध गर्ने नै भए ।
  • अगाडि बढ्नुस्, हाम्रो पूरा साथ रहन्छ । राम्रो काम गर्नुभएन भने रहँदैन । जता गयो, आलोचना, विरोध, खिसिट्युरीबाहेक केही छैन । यो स्थितिले त पोल्नुपर्ने हो हामी सबैलाई ।
  • प्रकृतिले हामीलाई दुई कान र एक मुख दिएका छन् । यसको मतलब जेको पनि मुखले प्रतिवाद मात्रै गरेर हुँदैन । थोरै बोल्नुपर्‍यो । सुन्ने र समस्याको समाधान गर्न पहल लिने बानी बसाल्नुपर्‍यो ।
  • दुनियाँले औँला ठड्याइरहेको भ्रष्टाचारी भनिरहेको व्यक्ति पुरस्कृत हुँदा हाम्रो शिर निहुरिन्छ । यो कहिले रोकिने ? गल्ती गर्नेहरू दण्डित पनि नहुने, सजाय पनि नदिने, स्पष्टीकरण नसोध्ने, तिनीहरू कालोसूचीमा पनि नपर्ने, कालोसूचीमा परेकाहरू झन् ज्यादा पुरस्कृत हुने, जति कालोसूचीमा पर्नुहोस्, त्यति तपार्इं पुरस्कृत हुनुस् । जति अपराध गर्नुस्, तपाईं त्यति नै पुरस्कृत हुँदै जानुस् । यस्तो खालको स्थिति देख्दा दिक्क लागेर आउँछ ।

केपी ओली

अमेरिकाबाटै टिभी अन्तर्वार्तामा, १२ असोज

  • खै, देश डुब्न लाग्यो भनेर उहाँले कविता–सविता केही साहित्यवाचन गर्नुभएको होला । देश त अत्यन्त सही बाटोमा सही ढंगले अघि बढेको छ । हाम्रा छिमेकीसँगका सम्बन्ध सुमधुर भएका छन् । ल्यान्डलक्डबाट नेपाल मुक्त भएको छ । एउटा सार्वभौम समानताको हिसाबमा देश अगाडि बढेको छ । आर्थिक उन्नतिको दिशामा हामी अगाडि बढेका छौँ।
  • यो त राम्रै कुरा हो । म दुई चार दिन संयुक्त राष्टसंघतिर आएँ, कतिपय नेताहरूले बोलेको सुनियो– लौ न, देश डुब्न लाग्यो, आऊ कोही त बचाऊ । म फर्केर गइहाल्छु । त्यो ठूलो समस्याको कुरा होइन । म नहुनेबित्तिकै कसैलाई अलिकति शून्यता भो, छटपटी भो, लौ न, बर्बाद हुन लाग्यो ।
  • म पार्टी अध्यक्ष भइसक्या छु । म प्रधानमन्त्री भइसक्या छु । मलाई अरु केही चाहिएको छैन । मलाई पैसा कमाउनु छैन, धन कमाउनु छैन । यस्तो अवस्थामा मैले कसैलाई पेल्नुपर्ने होइन । कोही आफ्ना साना स्वार्थहरू राखेर केही कुराहरू भन्छ अथवा ल न, म तपाईंको समर्थक भनेका भरमा त्यो भएन भन्छ भने वा कसैले आफ्ना नातागोताका लागि पीरचिन्ता गर्छ भने अब ती कुरा त देशले सम्बोधन गरेर साध्य हुँदैन । 

स्थायी कमिटी सदस्यहरूको भेलामा नेपाल, १२ असोज

पार्टी विधि र पद्धतिमा चल्नुपर्छ, सामूहिक निर्णय गरेर अगाडि बढनुपर्छ, पार्टीमा छलफल नगरेर अध्यक्षद्वयले मात्र अधिकार केन्द्रित गर्न खोज्नु ठीक तरिका भएन । पार्टीमा अध्यक्षद्वयले मनलाग्दी गर्ने निर्णय टुलुटुलु हेरेर बस्न सकिँदैन । अध्यक्षले तपाईं स्वदेश नफर्की निर्णय गर्दिनँ भन्नुभएको थियो । तर, म नभएका बेला सचिवालयको बैठक बोलाउनुभएछ, सचिवालयको यो निर्णय मलाई मान्य नभएकाले आजै औपचारिक रूपमा असहमति दर्ज गरेको छु । मैले स्थायी कमिटीको बैठक बोलाउन माग गरेको छु, यहाँ धेरै कुरा नभनौँ ।

ओली स्वदेश फर्किएपछि विमानस्थलमा, १८ असोज

मैले त सबै कुरा सुनेको छैन । तर, अलिकति कवितात्मक ढंगले एउटा पुरानो गीत सम्झिनु भो भन्ने कुरा । बोल्दै जाँदा त्यस्तो हुन पनि सक्छ । के कुरामा अलिकति चित्त बुझेको हुँदैन । कवि मनले कवितामा, लयात्मक ढंगले केही कुरा भनिहालियो भने त्यसैलाई समातेर कुदिहाल्नुपर्ने केही छैन । उहाँसँग ०२९ सालदेखिको सम्बन्ध छ, घनिष्टता र मित्रता छ, सँगै काम गरेका छौँ, सम्बन्धमा चिन्ता छाडेर ढुक्क हुन आग्रह गर्छु ।

संयोजन : जनक नेपाल

प्रकाशित: आश्विन २१, २०७५

ट्याग: समसामयिक