अवैध आर्जन

- पर्वत पोर्तेल

झापा– कुनै पनि अवैध कारोबार सहजै हुन सक्छ, खुला सिमानामा । नेपाल छिर्ने पूर्वी नाकाबाट पनि प्रहरी प्रशासनको आँखा छलेर होस् या आँखा चिम्लिन बाध्य पारेर खुलेआम नुनदेखि सुनसम्म तस्करी फस्टाएकै छ ।

कछुवा, पाहा भ्यागुतो, सर्पजस्ता जीवजन्तु र तिनको विषदेखि सालकको खपटा होस् या लोपोन्मुख वन्यजन्तुका हड्डी–खुट्टीदेखि दुर्लभ वनस्पतिसमेत पूर्वी नाकाको बाटो प्रयोग गरेर भारत तथा तेस्रो देश चोरी–निकासी हुने गरेको छ । पाँचऔँले, पाखनवेत, ठूलो ओखती, यार्सागुम्बालगायतका हिमाली जडिबुटी पनि भारत तस्करी हुने गरेको पाइएको छ । सुपारी, विदेशी सामान, स्याउसँगै मरीच पनि चीन तथा तेस्रो देशबाट आएर वर्षौंदेखि भारततर्फ चोरी–निकासी हुँदै आएको छ ।

नेपाल–भारतबीचको वाणिज्य सन्धिमा तेस्रो देशबाट आयातीत वस्तु नेपालमै खपत गर्नुपर्ने र अन्य मुलुकमा बिक्री गर्न नपाउने प्रावधान छ । तर, नेपालले सधैँ आफ्ना लागि आयात गरेर भारत पठाउने गरेको छ ।

सुपारी, विदेशी सामानदेखि अहिले आएर मरीचसमेत नेपालको बाटो भएर भारत तस्करी हुने गरेको छ । “भारतले उच्च करका कारण यी वस्तु सोझै आयात गर्दैन,” मेची भन्सार कार्यालयका एक अधिकारी भन्छन्, “त्यसैले नेपालले आयात गरेका सामान तस्करी बाटोबाट भारत पुर्‍याइन्छ ।”

गाँजा नेपालबाट जान्छ । चरेस, ब्राउन सुगरजस्ता महँगा लागूपदार्थ भारतबाट भित्रिन्छ । लागूऔषधसहित दैनिक एक जनालाई त प्रहरीले पक्राउ गरेकै छ । समुद्री घोडा (सीहर्स) नामक एक प्रकारको जलप्राणीको समेत तस्करी भइरहेको छ । खासमा पेरुबाट तस्करी भएर आउने सीहर्स भारत हुँदै काँकडभिट्टा नाकाबाट भित्रिने गरेको छ । विदेशबाट आयातीत यो वस्तुको चीनमा अत्यधिक माग रहेको बताइएको छ ।

यो वस्तु नेपाल हुँदै चीन पुर्‍याउँदा हजारौँ डलरमा बिक्री हुने सम्बद्ध व्यवसायीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । क्यान्सरको औषधी उत्पादनमा यसको प्रयोग गरिने अनुमान छ । पूर्वोत्तर भारतको असम, मणिपुर, मेघालयलगायतका राज्यबाट मान्छेको खप्पर वर्षौं अघिदेखि नेपालमा तस्करी हुँदै आएको छ ।

केही समयअगाडि भारतको पश्चिम बंगालस्थित सिलिगुडी प्रहरीले दुर्लभ वन्यजन्तु सालक तस्करीमा संलग्न नेपाली नागरिक राजु बम्जनलाई पक्राउ गरेको थियो । प्रहरीका अनुसार बम्जन नेपालबाट सालक तस्करी गरी भारत हुँदै बर्मासम्म पुर्‍याउने नाइके हुन् । यसअघि गैँडाको सिङ तस्करीको आरोपमा तीन नेपाली असममा पक्राउ परेका थिए । चन्दनको तस्करी पनि कुनै जमानामा नभएको होइन । तर, हाल भने यो नाकाबाट ठूलो परिमाणमा तस्करी हुँदैन ।

प्रकाशित: आश्विन २१, २०७५