मसलामुक्त [फिल्म समीक्षा : सुई धागा]

फिल्म : सुई धागा | रेटिङ: ४/५

- गोकर्ण गौतम

बलिउडमा कथा र चरित्रलाई महत्त्व दिइएका फिल्म प्राय: बेवास्ता गरिन्छ । गीत, कमेडी, रोनाधोना, एक्सन, रोमान्सको सूत्रबाट प्रताडित फिल्मकै बोलवाला हुन्छ । तर, बलिउडको मूलधारमै कहिलेकाहीँ यस्ता फिल्म निर्माण हुन्छन्, जसमा मनोरञ्जन त हुन्छ नै, सन्देश र प्रेरणा पनि ‘ बोनस’ पाइन्छ । ‘इन्फोटेन्मेन्ट’ भनिने यही कोटिको फिल्मको नयाँ नमुना हो, सुई धागा । चकलेटी हिरो वरुण धवन र ग्ल्यामरस हिरोइन अनुष्का शर्माको मुख्य भूमिका रहेको फिल्मको गुणात्मक पक्ष उच्च छ । सुन्दर पक्ष नै वरुण–अनुष्काको अभिनय र रसायन हो । पहिलो श्रेय जान्छ, लेखक/निर्देशक शरत कटरियालाई । उद्यमशीलतालाई केन्द्रमा राखेर भारतको निम्नमध्यम वर्गको यावत् नियतिलाई छर्लंग पारेका छन्, कटरियाले । आफ्नो क्षमता पहिचान गर्न र त्यसलाई सफलतामा बदल्न गर्नुपर्ने संघर्षको द्योतक हो, यो फिल्म ।

सिलाइ मेसिन बेच्ने पसलमा काम गर्छन्, मौजी (वरुण धवन) । मालिकले असाध्यै हेप्छन् । घरमा बुबाले गाली मात्र गर्छन् । पत्नी ममता (अनुष्का) लाई छुने मौका पनि मिल्दैन । घर खर्च चलाउनै धौधौ छ । दु:खैदु:ख छ तैपनि खुसी छन् । कपडा सिलाइमा दक्ष भए पनि आयस्रोतमा बदल्न सकेका हुन्नन् । मालिकको रुखो व्यवहारले सीमा नाघेपछि जागिर छाड्छन् । अनि, ममताको साथ र सहयोगमा कपडा बुन्ने आफ्नै व्यापार सुरु गर्छन् । जबकि, उनीसँग आफ्नै सिलाइ मेसिनसमेत हुन्न । चुनौतीका अनेक पहाड छिचोल्दै आफ्नो व्यापार स्थापित गर्न मौजी–ममता सफल होलान् त ? क्लाइमेक्स मायालु छु ।

सुई धागाको प्रधान विशेषता नै हलबाहिर निस्किसक्दा पनि दर्शकको मानसपटलमा फिल्म नसकिनु हो । चरित्र र घटना दिमागमा खेलिरहेका हुन्छन् । सिर्जनशील तर आफूले स्पष्ट बाटो पक्ड्न नसकेकालाई त यस फिल्मले आत्मविश्वास प्रवाह गर्छ । कपडा बुन्ने, आफ्नै उद्यम गर्ने, बाबुको टोकेसो सहनुपर्ने विषय आफैँमा निरस लाग्छन् । तर, कटरियाले हरेक दृश्यलाई रसिलो र कसिलो बनाएका छन् । मौजी–ममताको सम्बन्ध, बुबाको मनोविज्ञान, पानीप्रति आमाको आशक्ति, मालिकको व्यवहार समाजबाट हुबहु टिपिएका हुन् । भारतमा विद्यमान वर्गीय विभेद, गरिबमाथिको सरकारी उदासीनता र सार्वजनिक यातायातको गन्जागोलमाथि कटाक्ष गरिएको छ । पैसाको रवाफमा कथित सम्पन्न वर्गले निमुखाको आत्मस्वाभिमानमा चोट पुर्‍याउने प्रवृत्तिलाई उदांगो पारिएको छ । मालिकको आडमा आफूजस्तै तल्लो वर्गबाट फाइदा लुट्ने गुड्डुजस्ता चरित्र हाम्रै समाजका प्रतिनिधि हुन् ।

मौजीको स्वभावले हाँसो पैदा गर्छ, सँगै संवेदना पनि जगाउँछ । ममताप्रतिको अव्यक्त प्रेम उत्तिकै रोचक छ । फिल्मको मेरुदण्डचाहिँ ममताको चरित्र हो । आत्मनिर्भरताको बाटोतिर उनले नै प्रेरित गर्छिन् । तर, दार्शनिक ढंगले होइन, असाध्यै व्यावहारिक शैलीमा । भनुँ न, वास्तविक जीवनमा पनि अनुसरण गर्न मिल्ने । यद्यपि, यो जोडीले ‘फेसन फन्ड’ नामक प्रतियोगिताका लागि एकसाथ अनेकौँ डिजाइन वेयर बनाएको त्यति विश्वसनीय लाग्दैन । किनभने, उनीहरुलाई त्यसअगाडि घरेलु कपडा बनाउन सीमित राखिएको हुन्छ । त्यस्तै, भाइ र बुहारीसँग मौजीको सम्बन्ध बिग्रन्छ । पछि एकसाथ देखाइन्छ । तर, कसरी मिले ? त्यसको जवाफ पाइन्न । जबकि, पारिवारिक कथामा यस्ता पक्षले ठूलो अर्थ राख्छन् ।

‘सुई धागा...’, ‘खटर पटर...’, ‘तु हि आम...’ जस्ता गीतले कथावाचनलाई थप बलियो बनाएका छन् । फिल्ममा प्रशस्त कमेडी छ । तर, तिनले कथाको बहाव बिथोलेका छैनन् । त्यसैले स्वाभाविक लाग्छ । वरुणले करिब एक दर्जन फिल्म खेले, सबै हिट । अर्थात्, उनको करिअर शिखरमा छ । तैपनि, उनले यस्तो चुनौतीपूर्ण विषय र फिटिक्कै ‘हिरोइज्म’ नभएको भूमिका रोजे । र, चरित्रलाई जीवन्तता दिए । यसले अभिनेताको रुपमा उनको आयु लम्बाएको छ । ग्ल्यामरको क्लेससम्म नभएको भूमिकामा अनुष्काले जादू देखाएकी छन् । उनले बोल्नै पर्दैन, अनुहारको भावबाटै उनीभित्रको पीडा दर्शकले महसुस गर्न सक्छन् । रिसाहा बाबु बनेका रघुवीर यादवले उस्तै सम्झनालायक काम गरेका छन् । यसअघि दम लगाके हैसाबाट वाहवाही बटुलेका कटरियाले यस फिल्मबाट आफ्नो साख अझ बढाएका छन् । विषय र बजेटभन्दा कथा भन्ने शैली महत्त्वपूर्ण हुन्छ भन्ने प्रमाणित गरेका छन् ।

सुई धागा  कथित बजारु मसलाबाट मुक्त छ । तर, जोकोहीको मन जित्छ । कारण, हरेक पात्र र घटनालाई आत्मसात गर्न सकिन्छ । र, फिल्म हेरेपछि बेग्लै स्फुर्ती आउँछ ।

 

प्रकाशित: आश्विन १९, २०७५