[नोटबुक] सगरमाथा किन एभरेष्ट ?

- बसन्त बस्नेत

कालापत्थरको ५६४० मिटर उचाइबाट सगरमाथातिर हेर्दै गर्दा अनायास एउटा प्रश्न उठ्यो, ‘अरु हिमालको नाम स्थानीय भाषामै छ । सगरमाथाचाहिँ किन माउन्ट एभरेष्ट ?’

व्यक्ति होस् या संस्था । राष्ट्र होस् या समुदाय । अहिलेको संसारमा नामको भाउ छ । बीचका यी वर्षहरुमा बर्मा म्यानमार भयो । कम्पुचिया कम्बोडिया । पर्सिया इरान । एबिसिनिया इथियोपिया । सिलोन श्रीलंका । भारतका ब्रिटिस उपनिवेशकालीन सहरहरुमध्ये बम्बई मुम्बई भयो । क्यालकटा कोलकाता । दृष्टान्त धेरै दिन सकिन्छ ।

उच्च हिमाली क्षेत्रबारे शोध गर्न सक्ने ल्याकत हाम्रा पुर्खाहरुसँग त्यसबेला थिएन । डेढ सय वर्षअघि सन् १८५६ मा यहाँ आएका ब्रिटिस सर्वेक्षकहरुले थुप्रै हिमालको अन्वेषण गरे । तिनका अगुवा जर्ज एभरेष्टका नाममा ब्रिटेनको रोयल जोग्राफिकल सोसाइटीले यसको नाम एभरेष्ट राख्यो । त्यसअघि यसको नाम पिक फिफ्टिन राखिएको थियो । न यसको आदिनाम चोमोलोङ्माले मान्यता पायो, न त इतिहासकार बाबुराम आचार्यले राखेको सगरमाथाले नै ।

अमेरिकी फोटोग्राफर जेफ बोल्जले यस्तो कामलाई पहिचानको चोरी मात्रै नभएर चरित्रहत्या नै भनी आरोप लगाए । १० वर्षअघि उनले ‘एभरेष्ट’ नाम हटाउन तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्ञापनपत्र नै पठाए । हिमाल बौद्धिक सम्पत्ति भएको तर्क दिँदै उनले लेखे, ‘त्यो सगरमाथा या चोमोलोङ्मा हो, एभरेष्ट होइन ।’

अघिल्लो साता १० दिन लामो सगरमाथा आधारशिविर यात्राक्रममा यस्ता अनेकौँ जिज्ञासा उठे । भोलिपल्ट गोक्यो जाने बाटोमा मैले लेखक/चिकित्सक रामेश कोइरालासित यो खसखस पोखेँ । उनले सहमति जनाउँदै भने, “राज्यले यसबारे निर्णय दिन सक्नुपर्छ । र, संसारलाई भन्नुपर्छ ।”

नाम्चेमा दोस्रो, गोक्योमा पहिलो

सुनिएको थियो, ‘हिमालमा विदेशी पहिलो, नेपाली दोस्रो ।’ फाप्लुबाट सगरमाथा आधारशिविर हिँडेको चौथो दिनमा त्यो प्रस्टै भोगियो । पाहुनालाई देउता मान्नुको अर्थ घरकाहरुलाई हेप्नु भन्ने हुँदैन । हामी नाम्चेको जुन होटलमा सुस्ताउने मुडमा थियौँ, होटलवाला भाइले हिउँभन्दा चिसो सोमत देखाए । उनले तातोपानीको खर्चदेखि मोबाइल चार्ज र वाईफाईको मूल्य एकै सासमा भनिभ्याउँदासम्म हामी चकित थिएनौँ । तर, उनको आशय थियो, ‘मिल्छ भने गए हुन्छ, विदेशीहरु आउँदैछन् ।’

चियाखाजाको चर्को बिल भुक्तानीपछि केही साथीहरुले तिनलाई मुखभरिको जवाफ दिए । त्यसै दिन अन्य ठाउँमा पनि यस्तो व्यवहार भोग्नुपर्दा एक सहयात्रीले त नाम्चेमा दोस्रो दर्जाको मानिस बन्न आफूलाई स्वीकार्य नरहेको ट्वीटसमेत गरे । यस्तो रवैया अन्यत्र पनि नदेखिएको होइन । तर, दसौँ दिन गोक्योमा पाएको न्यानोपनले भने सबैलाई भावुक बनायो । नमस्ते गोक्यो होटलका सञ्चालकहरुका लागि हामी एक रातका पाहुना दरिएनौँ । भोलिपल्ट बिलिङ गर्दा उनीहरुले चिया र खाजाको पैसै लिएनन् । च्यातिएका जुत्ता टाल्न सामग्री जुटाइदिए । त्यहाँको सौहार्दता देखेर साथीहरु भनिरहेका थिए, ‘नाम्चेको ट्वीट यहाँ मेटाउन मन लाग्यो ।’

राजनीतिकै कुरा

नेपालको राजनीतिबारे जुनसुकै नेपालीलाई सोध्नुस्, कम्तीमा १० मिनेट धाराप्रवाह भट्याउन सक्छ । नेपालको राजनीति सुनिजान्नेमा विदेशी पनि त्यत्तिकै हुँदा रहेछन् । यस्तैमा गोरक्षेपबाट जोङ्ला जाँदा भेटिए दुई औतारी स्पेनी । कांग्रेस–कम्युनिस्टबारे नेपाली गाइडको नौरंगी व्याख्या सुनेसँगै तिनले अंग्रेजीमा जवाफ दिए, ‘नेता भ्रष्ट भएकैले नेपाल नबनेको ।’ गाइड पनि आफ्नो राजनीतिविद्या चलाउन पाएकामा आफैँसँग पुलकित देखिए ।

पक्कै यहाँ समस्याहरु छन् । त्यति सौम्य हिमालचुलीमुन्तिरको स्वच्छ वायु फोक्सोमा भर्न पाएको वास्तै छैन, जोडा स्पेनीलाई । कत्ति न तिनको देशमा लफडै नभएजस्तो । हामी भने क्याटलोनिया र स्पेनको रडाको स्क्रोल गरिरहेका हुन्छौँ । पहिलेपहिले राजनीतिको कुरा निस्कँदा जान्ने पल्टिएर दुई चार लाइन टुच्च दिन मन लाग्थ्यो । हिमालय यात्राले स्पेनीहरुलाई के सिकायो या सिकाएन कुन्नि, मलाई भने अझै सतर्क बनायो ।

यो पनि पढ्नुहोस् :

→ आवरण कथा : धमिला हिमाल [भिडियो सहित]

 

प्रकाशित: आश्विन १८, २०७५

ट्याग: नोटबुक