[स्मरण] ‘मातेको मान्छे’ देखि ‘अन्धा र हात्ती’ सम्म

- वैरागी काइँला

‘मातेको मान्छेको भाषण : मध्यरातपछिको सडकसित’ कविताको चर्चा हुनुको मुख्य कारण त्यसको लेखन काल र विषयवस्तु पनि हो । राजा महेन्द्रले १ पुस ०१७ मा जननिर्वाचित सरकार र संसद् भंग गरी पञ्चायती प्रजातन्त्रको खोलले ढाकछोप गरे । निरंकुश राजतन्त्रको एकतन्त्री शासनको अभ्यास प्रारम्भ गरेपछि प्रजातन्त्र, मानवाधिकार, आधारभूत मौलिक अधिकारबाट पनि वञ्चित आम नेपाली जनताले बेहोर्नुपरेको त्रासपूर्ण परिस्थितिको विरोधमा स्वाभिमानी र जागरुक नेपाली त उठेकै थिए । त्यो महान् अभियानमा साहित्यकारका नाताले मेरो पनि सानो सहभागिता थियो– यो कविता ।

त्यसो त, मेरो परिवारले ००७ को जनक्रान्तिमा पनि एकतन्त्री जहानियाँ राणा शासनविरुद्धमा सहयोगी भूमिका नै खेल्यो । निरंकुश राजतन्त्रको प्रचारप्रसारमा पल्लो किरातको पाँचथर जाँदै गरेको दौडाहामाथि आक्रमण गरी सुरक्षाकर्मीका हातहतियार खोसेर मेरै परिवारका सदस्यहरुले ०१८ मा सशस्त्र क्रान्ति सुरु गरेका थिए । त्यसमा अग्रणी भूमिकामा मेरा साइँला दाइ भूविक्रम नेम्बाङ र भाइ कृष्णविक्रमको नाम अग्रपंक्तिमा आउँछ । यो कविता लेख्दाताका भूविक्रम आफ्ना सहयोगी तथा जिल्लाका सयौँका संख्यामा निर्वासित नेपाली कांग्रेसका नेता/कार्यकर्तासँग दार्जिलिङमा थिए भने भाइ कृष्णविक्रम धनकुटा जेलमा बन्दी थिए । सशस्त्र क्रान्तिमा लागेर निर्वासित भएको र ‘अराष्ट्रिय तफ्व’ घोषणा गरिएको अनि सर्वस्वहरण भएको छोराका कारण घरमा आमाबाबु, दाजुभाइ र दिदीबहिनीले भोग्नुपरेको ताडना, अपमान, अमानुषिक र अमर्यादित व्यवहार अनि शब्द बयान गर्नै सकिँदैन ।

००७ को जनक्रान्ति सिंहदरबारको राणाको जहानियाँ शासन हटाएर शक्तिको केन्द्र नारायणहिटी दरबारमा स्थानान्तरण गर्न मात्र नभएर प्रजातान्त्रिक मूल्यमान्यताको स्थापना र जनताको शासन जनताका प्रतिनिधिबाट जनताका लागि नै हुनुपर्ने आधारभूत सिद्धान्तमाथि उभिएर आम नेपालीको सहयोगमा सफल भएको थियो । तर, भयो उल्टो । राणाजीहरुले खोपीको देवता बनाएका राजा अब बाघ भएर गर्जंदै टुँडिखेलमा मात्र होइन, मुलुकका गाउँगाउँ पस्न सक्ने गरी बलियो भइसकेका थिए ।

विश्वमा विभिन्न वैचारिक क्रान्ति र मुक्तिका लागि भएका परिघटनाका लागि सन् साठीको दशक महत्त्वपूर्ण छ । ठूला शक्तिराष्ट्रका शक्तिमा क्षय र कहिल्यै घाम नअस्ताउने राज्यको शासन गर्ने ब्रिटिस उपनिवेशवाद अन्त्यको अवस्था थियो त्यो । ससाना राष्ट्रले स्वाभिमान र पहिचानका लागि टाउको उठाउन थालिसकेका थिए । विश्वका दुई शक्तिराष्ट्रका हाराहारी असंलग्न राष्ट्रहरुको ठूलै समूह गोलबद्ध हुँदै गरेको समय । ठूला राष्ट्र होऊन् वा साना राष्ट्र, सबैको सम्प्रभुता समान हुन्छ भन्ने मान्यताले शिर खडा पारेको त्यस अवधिमा थिचोमिचो, शासक र शोषकको दलन–मलनको विरोध गर्न सक्ने विवेक हुर्किसकेको थियो । यस्तो परिस्थितिमा जन्मियो मेरो कविता– ‘मातेको मान्छेको भाषण : मध्यरातपछिको सडकसित’ ।

मातेको मान्छे मुक्तिकामी जनताको प्रतीक थियो भने मध्यरात निरंकुशताको चरम अवस्था अन्त्यको संकेत । त्यसरी नै रक्सी– स्वतन्त्रताको चेतनाबोध र मध्यरातपछिको सडक परिवर्तनका लागि व्यग्र समय र मुक्त जीवनका विम्ब थिए । त्यसैले स्वतन्त्रताको चेतनाबोधले जागृत मानिसको प्रतिनिधित्व गर्दछ मातेको मान्छेले । अन्याय, अत्याचार र असमानताविरुद्ध बोल्ने र मानवाधिकारको पक्षमा उभिने ।

नागरिक कसरी र कहिलेसम्म शिर झुकाएर शासकहरुको वंशावलीलाई आफ्नो पनि इतिहास भनेर पढिरहन सहमत हुन्छ  ? यही विद्रोहको चेतना र अन्त्यमा त मुक्तिकामी जनताको विजय निश्चित छ भन्ने आस्था र विश्वास जगाएकै कारण यो कविता सबैको प्रिय पनि हुन पुग्यो होला ।

आयामको वस्तुताबाट फाल हानेर आईबी राईमा आएको लीलालेखनले वस्तुताको निरपेक्ष स्वतन्त्र सत्ता हल्लिएको भेटिन्छ । यही लीलाबोधमा नजाँनिदो गरी आधारित हुन पुग्यो मेरो ०२१ मा प्रकाशित कविता– ‘अन्धा मान्छेहरु र हात्ती’ । लीलालेखनले लेखकको तटस्थतामा भन्दा आत्मपरकतामा जोड दिन्छ । हात्तीको हात्तिता (वस्तुता) पनि अब आयामिक कालको झैँ स्वतन्त्र, निरपेक्ष र निर्दिष्ट नभएर अनिर्धार्य छ । जानेका अर्थहरुमा बहुलता आएको छ भनौँ, सत्यहरु एउटा नभएर बहुल अथवा सबै भ्रमजस्ता, लीलाजस्ता हुन पुगेका छन् ।

छामिने हात्ती (कृति) र छाम्ने क्रिया (पठन) का बीच छाम्ने कार्य गर्ने अन्धा मान्छेहरु (पाठकहरु) सधैँ उपस्थित छन् । एउटा हात्ती र लोककथामा वर्णित अन्धा मानिसहरुका सापेक्ष दृष्टिबाट भेटिएका धेरै हात्तीहरुले दार्शनिकले औँल्याएका सत्यको बहुलता सिद्ध गर्छन् अथवा अनिर्धार्यताको । कुनै वस्तु, कृति र पाठलाई सबैले एकै अर्थमा बुझ्नुपर्ने भन्ने धारणा अब गलत भएको तथ्य देखाउने राम्रो उदाहरण हो– लोककथाको ‘अन्धा मान्छेहरु र हात्ती’ को आख्यान ।

प्रस्तुति : रमण घिमिरे

प्रकाशित: आश्विन १८, २०७५

ट्याग: सस्मरण