काठमाडौँको भविष्य

- भास्कर गौतम

अब काठमाडौँको भविष्य काठमाडौँको प्रगतिमा मात्र सुनिश्चित छैन । केही दशकयता काठमाडौँको वैभव, धनसम्पत्ति र वैश्विक अन्तरसम्बन्ध अकासिएको छ । काठमाडौँले फड्को मार्दा पोखरा, विराटनगर, वीरगन्ज आदि सहरले भने अपेक्षित प्रगति गरेका छैनन् । किनकि, शताब्दीयौँदेखि काठमाडौँ केन्द्रीकृत राज्यको शान बन्यो । केन्द्रीय सत्ताको सिकार पनि भयो । अन्य सहर र गाउँलाई पराश्रित बनाउने अभ्यासमा काठमाडौँले आफ्नो वैभव देख्यो । एकात्मक राज्य व्यवस्थाको राजधानी भएकाले काठमाडौँले अन्य भूभागलाई आफूमा आश्रित बनायो । जमिन र वातावरणलाई उपभोग्य वस्तु बनायो । प्रकृतिलाई नाफामुखी बनाए जसरी नै जनगणलाई शक्ति सञ्चित गर्ने साधन बनायो । केन्द्रको मतियार भएकाले आज काठमाडौँसँग देशलाई चाहिने नेतृत्व र सहरलाई चाहिने नागरिकत्व निर्माण गर्ने सामथ्र्य देखिँदैन । के काठमाडौँ यस्तै अवस्थामा रमाउन अभिशप्त छ ?

वैभवका लागि काठमाडौँले शताब्दियौँदेखि देशको बोझ थेगिरहेकाले चौतर्फी रूपमा विस्तार भइरहेको छ । सहरको आमजीवनशैली हिजोभन्दा आज खस्कँदो छ । काठमाडौँमा सर्वत्र विभेद देखिन्छ । काठमाडौँ जनगणको सहर बन्न नचाहने यात्रामा लम्किँदो छ । सहरलाई सबैले उत्तिकै उपयोग गर्ने सम्भावना घट्दैछ । रैथाने र नयाँ बासिन्दाका लागि सम्भावनाहरू सहज देखिँदैनन् । कुनै भेदभावबिना काठमाडौँ स्वस्थ र सुरक्षित हुने, सहज र न्यायपूर्ण हुने, जुझारु र दिगो हुने अवसर सीमित हुँदैछ ।

काठमाडौँलाई तीन किसिमको संकटले गाँजेको छ । पहिलो संकट लामो समयदेखि विद्यमान केन्द्रीकृत शासन पद्धतिले सिर्जना गरेको हो । सहरलाई मूलत: उपभोग्य वस्तुको रूपमा हेर्ने विकासे जीवनदृष्टिले दोस्रो संकट उत्पन्न गरेको छ । बहिर्मुखी सेवा–सुविधालाई नै गतिशील परिवर्तनको द्योतक मान्ने प्रवृत्तिले तेस्रो संकट उब्जाएको छ । काठमाडौँको उज्ज्वल भविष्य यी तीनवटै संकटलाई चिर्ने सवालमा मात्र सीमित छैन । शासकीय पद्धति संघीय संरचनामा रुपान्तरित भइरहँदा अब काठमाडौँ अन्य गाउँ र सहरको बोझ थेग्ने कार्यमा मात्र अल्झिनुहुन्न । आफ्नो सहरको उन्नतिमा काठमाडौँले निर्णायक भूमिका खेल्नुपर्छ । साथै, मोफसलका सहरको सार्थक रुपान्तरणमा काठमाडौँले नेतृत्वदायी भूमिका खेल्नुपर्छ । त्यसैले काठमाडौँको भविष्य देशका अन्य सहरको भविष्यसँग अन्योन्याश्रित रूपमा जोडिएको छ ।

केन्द्रीकृत शासनको मार

काठमाडौँले केन्द्रीकृत शासनको मार धेरै भोग्यो । सहरभरि देखिने सांस्कृतिक सम्पदाको जीर्ण अवस्थाले भन्छ, नेवार समुदायको जीवनपद्धति चोटग्रस्त छ । अधिकांश स्थानमा ती सम्पदा उपभोग्य वस्तुमा परिणत भएका छन् । बाँकी ठाउँमा अव्यवस्थित बस्ती विस्तारका कारण जीर्ण छन्, तिरस्कृत छन् । केन्द्रीकृत सत्तामा नेपाली भाषीको स्वार्थ हावी भएकाले महानगरवासी सांस्कृतिक अतिक्रमणको सिकार भएका छन् । सहरी जीवनको मूल स्वामित्व स्थानीयको हातमा छैन । सहरलाई जीवन्त बनाउने र सहरी व्यवस्थापन प्रभावकारी राख्ने निर्णय प्रक्रियामा नगरवासीको सहभागिता नगन्य छ । सहरको जीवनशैलीमाथि उनीहरूको सामूहिक अधिकार फितलो छ । परिणाम, गुणस्तरीय जीवनपद्धति सुनिश्चित गर्ने कार्यमा सहरवासी निर्णायक छैनन् । यसको दुष्प्रभाव सहरी स्थानको प्रयोग, शिक्षादीक्षा, खानपान तथा सहरलाई सहज र न्यायपूर्ण बनाउने कार्यमा पर्‍यो ।

नेपालको संविधानमा स्वस्थ सहरी जीवन अधिकारको रूपमा सुनिश्चित छ । काठमाडौँको वास्तविकता भने भिन्न छ । काठमाडौँ सबैका लागि दिगो र स्वस्थ सहर रहेन । सहरी पूर्वाधारमा सबैको पहुँच सुलभ छैन । सहरको सार्वजनिक सेवा र सार्वजनिक जीवनमा धेरै असमानता छ । वातावरणीय ह्राससँगै काठमाडौँ संसारका प्रमुख हानिकारक सहरको सूचीमा पर्छ । सहरमा आर्थिक विभेद चरम छ । सहरका गरिब त के, मध्यम स्तरको आम्दानी भएकाले समेत आवास किन्ने सम्भावना छैन ।

सार्वजनिक आवासको सुलभता सहरी योजनामा प्रतिविम्बित छैन । आम्दानीको तह अनुरूप सहरमा मनोरञ्जन स्थलको रचनात्मक कल्पना छैन । आजका सहरवासीसँगै भविष्यको पुस्तालाई ध्यानमा राख्दै सहरका सार्वजनिक सुविधालाई उन्नत बनाउने प्रयास दुर्लभप्राय: छ ।

काठमाडौँ केन्द्रीकृत राजनीतिको सिकार भएकाले स्थिति बिँग्रदै गयो । काठमाडौँबाट उठ्ने राजस्वमा समेत केन्द्रको ठूलो पकड छ । हिजो काठमाडौँका मतदाताले चाहँदासमेत सबैका लागि न्यायपूर्ण सहर बनाउन महानगरपालिकाले सक्दैनथ्यो । आज देश संघीय शासन पद्धतिमा प्रवेश गरिसकेकाले काठमाडौँले आफ्नो भविष्य आफैँ बनाउने सम्भावना बढेको छ ।

महानगरपालिकाले रानीपोखरीलाई पूर्ववत् शैलीमा निर्माण गर्दैमा केन्द्रीकृत मनोवृत्ति भत्कने होइन । पशुपति क्षेत्रलाई विश्वसम्पदा सूचीमा सुनिश्चित गर्दैमा नयाँ अभ्यासको थालनी हुन्न । अब न्यायसंगत सहर बनाउने निर्णायक अधिकारमा महानगरवासीले दाबी गर्नुपर्छ । महानगरपालिकाको भूमिकालाई सार्थक बनाउँदै केन्द्रको एकाधिकारलाई भत्काउनुपर्छ । सहरमा विद्यमान स्रोतसाधनको रचनात्मक प्रयोगलाई अधिकार सम्झनुपर्छ । अनि मात्र स्थानीयले सहरका आधारभूत निर्णय प्रक्रियामा सहभागी हुने आधार मिल्छ । सहरमा विद्यमान नागरिक जीवनलाई सार्थक बनाउँदै काठमाडौँले भविष्यलाई नयाँ मोड दिन सक्छ । काठमाडौँजस्तो वैभवशाली सहरले केन्द्रीय सत्ताको सिकार भएर कहिलेसम्म बस्ने ? किन बस्ने ?

विकासे भास

सतहमा काठमाडौँमा विकास भइरहेको छ । हिजो सहर रिङरोडभित्र सीमित थियो । आज उपत्यकावरपरका पहाडसम्म फैलिएको छ । तर, हिजो पनि घरजग्गा नाफा कमाउने धन्दा थिए । आज तिनको भाउ अकासिएको छ । सानेपा, भैँसेपाटी र बालुवाटारमा घरजग्गाको मूल्य विकसित मुलुकका सहरभन्दा धेरै कम छैन । तर, काठमाडौँमा विकसित मुलुकको जस्तो ऋण सुविधा सम्भ्रान्तलाई मात्र छ । विदेशका सहरमा जस्तो सार्वजनिक आवासको कुनै व्यवस्था छैन । धेरै हिसाबले काठमाडौँको विकास असमान छ । धनीहरू झन् धनी हुने, उनीहरूका दलालहरू नवधनाढ्य हुने आर्थिक व्यवस्था छ । मूलत: घरजग्गा कित्ताकाटबाट नाफा कमाउने कार्यमा सहरका सम्भ्रान्तहरू अभ्यस्त भएकाले आम्दानीको स्रोतमाथि सहरमा असमान पहुँच छ ।

असमान विकासको राम्रै फाइदा ठूला व्यापारीले भरपुर उठाएका छन् । सहरमा आयात–निर्यात फस्टाएको छ । सहरी जीवनशैलीमा उपभोगतावाद छाएको छ । बजार आयातीत मालले भरिभराउ छ । यसको प्रत्यक्ष प्रभाव गाडीको बढ्दो उपभोग, विद्युतीय वस्तुको मोह तथा रेस्टुराँ र क्याफे कल्चरको विस्तारमा देखिन्छ । अनि, देखिन्छ– सुपरमार्केट र मल संस्कृतिमा । हिजो केही सीमित देशबाट सामान आयात हुन्थे । आज व्यापारीहरू विभिन्न देशमा जान्छन् । सामान परख गर्छन् अनि आयात गर्छन् । बजारमा उच्च गुणस्तरका विदेशी वस्तुको कमी छैन । हिजो मूलत: विदेशी र सीमित सम्भ्रान्तले ती वस्तु उपभोग गर्थे । आज विदेशी सहायताको ठूलो हिस्सा यिनै आयातीत वस्तुको उपभोगमा खर्च हुन्छ । फाइदाको ठूलो अंश व्यापारीको पोल्टामा जान्छ । अनि, घरजग्गाको निजी किनबेचसँगै भइरहेको बजार विस्तारमा जान्छ ।

विकासे भासबाट बाहिर निस्कन काठमाडौँले सबै चीजलाई उपभोग्य वस्तु देख्ने चिन्तन भत्काउनुपर्छ । स्थानीय प्राथमिकतालाई सहरी कल्पनाको केन्द्रमा ल्याउनुपर्छ । सहरवासीलाई केन्द्रमा राख्नासाथ समाजमा विद्यमान सामाजिक आवश्यकताले प्राथमिकता पाउँछ । सहरलाई उन्नत र न्यायसंगत बनाउने कार्य केवल वित्तीय नाफामा सीमित हुन्न भन्ने चिन्तनले ठाउँ पाउँछ । सहरी जीवन विभिन्न पत्रको संगम हो भन्ने विश्वाससँगै बहुपक्षीय सामाजिक सक्रियताका लागि धेरथोर ठाउँ खुल्छ ।


तस्बिर : भास्वर ओझा


बहिर्मुखी सेवा

हिजोको काठमाडौँ सम्भ्रान्तहरूका लागि आनन्दको सहर थियो । जनसंख्या थोरै थियो । सहरका महत्त्वपूर्ण जमिन राजा, राणा र तिनका भारदारका थिए । रणनीतिक सुरक्षाको नामका वरिपरिका महत्त्वपूर्ण स्थान सेनाको स्वामित्वमा थियो । तर, यी सबै विदेशीजस्तै हुन चाहन्थे– खानपानको हिसाबमा, पहिरनका दृष्टिले, भोगविलासको अभ्यासले र बोलीचालीको शैलीमा । यी सबै हासिल गर्ने क्रममा सम्भ्रान्तहरू सहरबासीबाट टाढिए । यसरी टाढिँदा नगरवासीलाई केही आधारभूत सेवा–सुविधाबाट वञ्चित बनाइयो ।

पहिले काठमाडौँमा साँझपख कफ्र्यु लाग्थ्यो । नगरवासी हिँड्डुल गर्न पाउँदैनथे । तर, त्यही समयमा शासकहरू मोजमस्तीमा रमाउँथे । महत्त्वपूर्ण राजनीतिक भेटघाट गर्थे । स्थानीयमाथि दीर्घकालीन प्रभाव हुने निर्णयहरू लाद्थे । आजको काठमाडौँमा साँझ ८ बजेपछि सार्वजनिक यातायात चल्दैन । न्यून आम्दानी भएका सहरवासीका लागि घुमाउरो तरिकाले आवागमन वर्जित नै छ । तर, महत्त्वपूर्ण कूटनीतिक भेटघाट राती नै हुन्छ । रेस्टुराँहरू प्राय: राती नै व्यस्त रहन्छन् । अधिकांश राजनीतिक सहमति राती नै हुन्छन् । सुकिलामुकिलाका लागि रातमा सहर जीवन्त रहन्छ ।

शासक वर्गका लागि काठमाडौँ विरलै सुत्छ । पैसावालसँग शासकहरूको साँठगाँठ बलियो छ । ती पैसावालमध्ये ठूलो हिस्सा विदेशीमुखी छन् । विदेशीसँग नतमस्तक छन् । त्यसैले खानपान विदेशी छ । भाषा आयातीत छ । निर्णय प्रक्रिया अपारदर्शी छ । यी सबै रातमै बढी हुन्छन् । सहरीजनले चाहेर पनि देख्दैनन् । सुन्दैनन् पनि । आवरणमा सम्भ्रान्तका मण्डलीहरू समावेशीजस्ता लागे पनि विशिष्ट छन् । विभेदकारी पनि छन् । तिनले सहरको विकासलाई सहरीजनबाट अलग्याएका छन् । अनि, उनीहरूको दृष्टि पनि नगरवासीतर्फ फर्किएको छैन ।

अन्त्यमा

विश्वका उन्नत सहर खास किसिमका राजनीतिक परियोजनाका हिस्सा हुन् । ती सहरले ज्ञान र पुँजीलाई आकर्षित गर्छन् । खास किसिमको जीवनदृष्टि सिञ्चित गर्दै नागरित्व उत्पादन गर्ने कार्यमा भूमिका खेल्छन् । तर, काठमाडौँलाई कस्तो नागरिक उत्पादन गर्दा सहरको भविष्य उज्ज्वल हुन्छ भन्ने हेक्का छैन । लामो समयदेखि केन्द्रीकृत शासनलाई प्रश्रय दिने उपभोगवादी संस्कृतिले काठमाडौँलाई संकटमा पारेको छ । भविष्य अनिश्चित बनाएको छ ।

अब काठमाडौँले सबैभन्दा पहिले उपत्यकामा विद्यमान बसोबासको चापलाई रोक्न सक्नुपर्छ । यसका लागि काठमाडौँ महानगरपालिकाले कस्तो सहर बनाउने एकाधिकार केन्द्रमा निहित हुन दिनुहुँदैन । देशको राजधानीसमेत भएकाले पोखरा, विराटनगर, वीरगन्ज आदि स्रोतसम्पन्न सहरलाई समेत केन्द्रको चंगुलबाट निस्कन सघाउनुपर्छ । काठमाडौँले गरिसकेको गल्ती अन्य सहरमा पुनरावृत्ति नहुने वातावरण बनाउन बाहिरका स्थानलाई काम लाग्ने अनुभवजन्य ज्ञान उत्पादनमा लगानी जरुरी छ । अन्य सहरमा निहित विराट सम्भावनालाई प्रस्फुटित हुन यसले धेरथोर सघाउँछ । त्यसपछि मात्र काठमाडौँको चाप घट्छ । अन्य सहर पनि स्वस्थ र सुरक्षित हुने, सहज र न्यायपूर्ण हुने, जुझारु र दिगो हुने अवसर खुल्छ । के अन्य सहरको उन्नतिमा आफ्नो भविष्य उज्ज्वल छ भन्ने वास्तविकता काठमाडौँलाई अवगत छ ? के आफ्नो र देशको नेतृत्व सम्हाल्दै सहरी जीवनमा सार्थक रुपान्तरण ल्याउने सामथ्र्य काठमाडौँले राख्छ ?  

प्रकाशित: आश्विन १८, २०७५

ट्याग: विचार