[तीन किताब] सिरानीमा अरवेल

- अमिशराज मुल्मी

जर्ज अरवेलका एनिमल फार्म  र १९८४  धेरैले मन पराउँछन् । मलाई पनि मन पर्छन् । तर, मेरा लागि अरवेलको बर्मिज डेज  नै प्यारो छ । प्रहरी अधिकृतका रुपमा बर्मामा रहेका बेला लेखकले बेलायती उपनिवेशवादका तौरतरिका र पद्धतिलाई नजिकबाट देख्न पाए । रैथाने बर्मेलीलाई बेलायतीले कसरी शासन गर्छन् भन्ने बोध गरेपछि नलेखी रहन सकेनन्, अरवेल । अरवेलले सबै कलालाई राजनीतिक पाठको रुपमा लिने हुनाले हरेक सामाजिक विभेदका जरासम्म पुग्न सक्छन् उनी ।

बर्मिज डेज  दक्षिण एसियामा खुट्टा घुमाउने उपनिवेशवादको असली अनुहार देखाउने अद्भुत उपन्यास हो । सरल भाषाशैलीमा नसुनिएका रुपक (मेटाफर) को प्रयोग गरी दृश्यात्मक अभिव्यक्ति दिन सक्षम लेखक हुन् अरवेल । शासक र शासितको दुवै मनोविज्ञानलाई बुझेकाले उनको लेखन स्वाभाविक लाग्छ । स्कुले जीवनमा मेरा गुरु भन्थे, ‘केही किताब यस्ता हुन्छन्, जसलाई पढिसकेपछि बाँड्नु राम्रो हुन्छ । केही किताब भने यस्ता हुन्छन्, जसलाई सदैव आफ्नै साथमा राख्नु श्रेयस्कर हुन्छ ।’ मेरा लागि अरवेल सिरानीमा राख्नुपर्ने लेखक हुन् ।

पोलिस लेखक राइजार्ड कापुत्सिन्कीको इम्पेरर  मलाई अति मन परेको किताब हो । उनी पत्रिकाको संवाददाताकै रुपमा इरान, कंगो र इथियोपियामै बसे । र, पछि ‘पोस्ट डिक्टेर्सिब’ माथि ट्रिओलोजी नै लेखे । इम्पेररचाहिँ इथियोपियाको परिवर्तित राजनीतिसँग सम्बन्धित छ । हिलसिलासीको शासन कस्तो थियो र कसरी राजतन्त्र ढल्यो भन्ने इतिहास छ । इथियोपियामा राजाको शासनमा रहेको चाकरी प्रथालाई मज्जाले नंग्याइएको छ । हाम्रोमा पनि राजसंस्थाको अवसानपछि विविधखाले विचार आए । कतिले भने, ‘राजा आऊ, देश बचाऊ ।’ राजतन्त्रात्मक शासन पद्धतिमा पनि केही सकारात्मक काम भए होलान् । तर, आधारभूत रुपमा गलत शासन थियो । जब यी घटनावलीको चर्चा हुन्छ, तब इथियोपियाको शासन व्यवस्था सम्झन्छु । उत्तरराजतन्त्रात्मक नेपाली इतिहासको प्रसंगमा यो गैरआख्यान सान्दर्भिक लाग्छ ।

पोखरामा हुँदा कमिक्सहरु पढेर किताबी दुनियाँ प्रवेश गरेको हुँ । पछि देहरादुनमा शिक्षादीक्षा हुँदा शिक्षकहरुको प्रेरणाले पाठ्यक्रमबाहिरका पुस्तकको लत बसेको हो । अहिले म अपराध–आख्यान पनि पढिरहेको छु । बोर्खेज, मार्खेज, मुराकामी, अरुन्धतीहरुले मलाई सधैँ आकर्षित गर्छन् । बिल गेट्सले सिफारिस गरेका किताबहरु म किनिहाल्छु । विश्वासिला साथीहरुको सुझाउलाई बेवास्ता गर्नै सक्दिनँ । मेरो शिक्षा नेपालबाहिर भएकाले नेपाली माध्यमका किताब गहिराइबाट पढ्न मुस्किल हुन्छ । तापनि, बीपी कोइराला र इन्द्रबहादुर राईका क्लासिक साहित्य त पढेकै छु । मैले नेपाली शब्दभण्डार बढाउनैपर्छ । लाग्छ– नेपाली साहित्यका अब्बल कृति अंग्रेजीमा अनुवाद गर्नु जरुरी छ । अनुवाद दुई किनार जोड्ने पुल नै हो । 

किताब पढ्ने बेला लेखकको वैचारिक कोणबाट पूर्वाग्रही हुनु समस्यामूलक हुन सक्छ । इन जोन्सनको सोल्स अफ चाइना  पनि समयको प्रिय किताब हो । पछिल्लो समय आधुनिक चीन सम्बन्धी पुस्तक छान मार्दै थिएँ । बेइजिङमा रहेका साथीले नै सुझाएपछि किन्डलमा पढेँ । सांस्कृतिक क्रान्तिपछि चीनमा गतिशील ताओवाद, बुद्धवाद र क्रिस्तानी धर्मबारे लेखकले मिहिनेतका साथ वर्णन गरेका छन् । कम्युनिस्टहरुले धर्मलाई विस्थापित गर्न खोजे पनि कहीँ न कहीँ सनातन आस्थाले टाउको उठाएको देखिन्छ । त्यहाँ ताओवादी चाडपर्वहरु मनाइन्छन् नै । चिनियाँ बौद्धमार्गीहरु आज पनि लुम्बिनी धाइरहेकै छन् । धर्म र पुँजीको सम्बन्धबारे पनि यो पुस्तकले बोलेको छ ।

दामासाहीमा साथीहरुसँग किताब किनेका स्मृति पनि ताजै छन् । ‘सेकेन्ड ह्यान्ड’ पुस्तक पसल जान मलाई खुब मन पर्छ । कहिलेकाहीँ महत्त्वपूर्ण किताब भेटिन्छ । भीएस नयपालको पुरानो किताब पाउँदा खुब खुसी भएँ । उहिल्यै पाना पल्टाउँदै पढ्दा मज्जा आउँथ्यो । तर, किताब राख्ने ठाउँ नभएकाहरुका लागि अचेल किन्डलजस्तो सुलभ सुविधा अरु के होला !

प्रस्तुति : गुरुङ सुशान्त 

प्रकाशित: आश्विन १८, २०७५

ट्याग: किताब