‘बाटो ढुकेर कारबाही’

- मनबहादुर बस्नेत

मानव तस्करीको अनुसन्धानमा अब्बल अधिकृत हुन्, प्रहरी उपरीक्षक (एसपी) किरण वज्राचार्य । प्रदेश २ को ट्राफिक प्रहरी प्रमुख वज्राचार्यले सवारी साधनको आपराधिक अभिलेख राख्ने प्रणाली मुलुकमै पहिलो पटक सुरु गरेकी छन् । प्रदेशको ट्राफिक कमान्ड चलाउने पहिलो महिला प्रहरी अधिकृत वज्राचार्यसँगको कुराकानी :

ओभर लोड गाडीलाई कारबाही किन ?

यो प्रदेशमा आउनासाथ मैले जीर्ण पुल र सडक देखेँ । यसको कारण खोज्दै जाँदा क्षमताभन्दा बढी भार बोक्ने सवारी साधन प्रमुख कारण भेटियो । खासगरी औद्योगिक क्षेत्रमा भित्रिने मालवाहक गाडीले क्षमताभन्दा तीन गुणा बढी सामान बोक्दा रहेछन् । यसले सडकलाई खराबी त गर्‍यो नै, दुर्घटनाको जोखिम पनि भयो । त्यसैले यो प्रवृत्ति रोक्न लागेको । 

क्षमताभन्दा बढी बोक्ने यात्रुवाहक गाडी पनि हुन्छन् तर, मालवाहकलाई मात्रै कारबाही किन

ठूलो समस्या मालवाहकमा देखियो । यात्रुवाहकका हकमा छतमा यात्रु राख्न निषेध गरेका छौँ । दसैँतिहारका बेला भीडभाड हुने भएकाले व्यावहारिक रुपमा केही लचिलो हुनुपर्छ ।

औद्योगिक क्षेत्रका गाडीमा किन यस्तो समस्या रहेछ ?

सुख्खा बन्दरगाहबाट सामान लोड गर्दा नै सम्बन्धित निकायले ध्यान दिएन अनि ट्राफिकले बीच बाटोमा ढुकेर कारबाही गर्नुपर्ने अवस्था आयो । लोड गरेको गाडी बाटोमा खोल्दा अव्यावहारिक हुन्छ । हामीसँग यान्त्रिक उपकरण छैन । क्षति भयो भने त्यसको जिम्मा कसले लिने ? समस्या छ । 

त्यही भएर प्रहरीको आलोचना भइरहेको हो ?  

लामो समयदेखि नियम मिचेर फाइदा लिएका व्यवसायी र उद्योगपति यो कामप्रति खुसी छैनन् । औद्योगिक क्षेत्र भएकाले बढी भार बोक्न पाउनुपर्छ भन्ने उनीहरुको तर्क छ । तर, कतिसम्म बढी ? विज्ञले लचकताको मापदण्ड नबनाई छूट हुँदैन ।

ट्राफिक प्रहरी जरिवाना गराउन मात्र होइन, नियम पालना गराउन हो भन्नुभएको थियो नि ?

क्षमताभन्दा बढी भार बोकेर सवारी साधनलाई पचासौँ पटक कारबाही गरिएको छ । जति पटक जरिवाना गर्दा पनि समस्या नसल्टिने रहेछ । यस्ता सवारी साधनलाई यातायात कार्यालयले छुट्टै कारबाही गर्ने कानुनी व्यवस्था चाहिने रहेछ । अहिले त १५ सय रुपैयाँ जरिवाना तिरेपछि छूट भइहाल्छ । 

मानव तस्करीको अनुसन्धान गरेबापत विगतमा अवार्ड जित्नुभयो ट्राफिकको फरक खालको भूमिका कस्तो लागिरहेको

ट्राफिक व्यवस्थापन पनि प्रहरीकै जिम्मेवारी हो । अपराध अनुसन्धानसँग यसको सम्बन्ध छ । अपराध अनुसन्धानलाई सहयोग पुर्‍याउन सवारी साधनको अभिलेख राख्ने भेहिकल्स क्राइम रेकर्ड सिस्टम (भीसीआरएस) पनि सुरु गरेका छौँ ।  

यसले अपराध नियन्त्रणलाई कसरी सघाउँछ ?

पछिल्लो ५ वर्षमा तस्करी, हिट एन्ड रनलगायतका अपराधमा संलग्न सवारी साधनको अभिलेख राख्छौँ । प्रदेश २ मा हिट एन्ड रनमा प्रयोग भएको गाडी कर्णाली प्रदेशमा चलिरहेको हुन सक्छ । यो प्रणालीबाट सवारीधनी पत्तो लगाएर पीडितलाई क्षतिपूर्ति, औषधोपचारमा सहयोग हुन्छ । 

सवारी साधनमा हवाईजहाजकोब्ल्याक बक्सजस्तै प्रविधिको आवश्यकता कत्तिको देख्नुहुन्छ

विकसित मुलुकमा ‘ड्यासबोर्ड क्यामेरा’ वा ‘भेहिकल रेकर्डिङ’ प्रविधि हुन्छ । यस्तो उपकरण जरुरी छ । घटना, दुर्घटना भएमा त्यो रेकर्ड हेरेर अनुसन्धान गर्न सजिलो हुन्छ । तर, हाम्रोमा त्यस्तो कानुनी व्यवस्था छैन ।

 

प्रकाशित: आश्विन १७, २०७५

ट्याग: अचानक