लेखमणि कमेडी

- गोकर्ण गौतम

जम्मा ७ महिना भयो, लेखमणि त्रितालले युट्युबमा स्ट्यान्ड अप कमेडी देखाउन थालेको ।

‘नेपग्याज्म’ नामक च्यानलमा उनका ११ भिडियो अपलोड भइसकेका छन् । सहरीकरण, मायाप्रेम, विदेश पलायन, राजनीतिजस्ता हरेक विषयमा छेडछाड गर्छन्, ठट्यौली शैलीमा । उनले निर्माण गरेको ‘रमेश अंकलको छोरो’ चरित्र उस्तै प्रिय छ । भन्छन्, “हामीले केही नयाँ गरौँ भनेर स्ट्यान्ड अप कमेडी थाल्यौँ । ठूलो अपेक्षा थिएन, अहिले त सोको अफर पनि आउन थालेका छन् ।” नेपग्याज्ममा लेखमणिसहित झन्डै दस कलाकारको भिडियो हेर्न पाइन्छ ।

लेखमणि ट्राभल एन्ड टुरिज्म म्यानेजमेन्टमा स्नातक हुन् । जागिरचाहिँ नेपाल एयरलाइन्समा । साथीभाइसँग खुब मजाक गर्थे, लेखमणि । जे कुरा गर्दा पनि हसाउन सक्ने । यस्तैमा साथीहरुले एक दिन उक्साइदिए, ‘स्ट्यान्ड अप कमेडी गरेर युट्युबमा हाल, हिट हुन्छौ ।’ मह जोडी र मनोज गजुरेललाई आदर्श मान्ने लेखमणि भन्छन्, “जिस्कँदा–जिस्कँदै भिडियो हालियो । त्यतिबेला प्यासन मात्र थियो, अहिले विस्तारै पेसा बन्दैछ ।”

सो गर्नुपहिले विषय छान्छन्, सोही अनुरुप पटकथा तयार पार्छन्, पन्चलाइन लेख्न खुब ध्यान दिन्छन्, साथीभाइमाझ परीक्षण पर्फम गर्छन् अनि मात्र स्टुडियोमा रेकर्ड गरिन्छ । काठमाडौँ र चितवनमा सो गरिरहेका लेखमणि भन्छन्, “दर्शकको चाह र चर्चामा रहेको विषयमाथि कमेडी गर्दा रुचिकर हुँदो रहेछ ।” उनी किन हौसिरहेका छन् भने सुरुमा सो गर्दा ८० दर्शक हुन्थे, अहिले ५ सय पुग्न थालेका छन् । युट्युबमा चाहिँ प्रत्येक बिहीबार साँझ ७ बजे नयाँ भिडियो अपलोड गर्छन् ।

 

प्रकाशित: आश्विन १७, २०७५

ट्याग: रङ