आनीबानी बदल्ने अठोट [पुस्तक समीक्षा]

पुस्तक : अठोट | लेखक : श्रीश भण्डारी | प्रकाशक : इटर्नल पब्लिकेसन प्रालि | पृष्ठ : १५९ | मूल्य : रु. ३५०

- माधव बस्नेत

एक समय विद्यालय गएका बालबालिकाहरू घर फर्किएर बाबुआमा खोज्दै खेतबारीमा पुग्थे । उस्तै पर्दा खाजासमेत नखाई खेती किसानी, गाईगोरु, भैँसी, बाख्राको स्याहारसुसारमा बाबुआमालाई सघाउँथे । अहिले पनि दुर्गम गाउँबस्तीमा यो थिति छँदैछ ।

त्यसअघि गुरुकुलीय शिक्षा लिनेहरु त गुरुकै आश्रममा बसेर उनीहरुको सेवाशुश्रूषा गर्दै कष्ट सहेर विद्या लिन्थे । गुरुकुलीय आश्रम हट्दै विद्यालय खुल्न थालेपछि पनि आठ/दस वर्षकै उमेरमा एक दुई दिन टाढाको बाटो हिँडेर छात्रवासमा बसेर आफैँ खाना पकाएर शिक्षा लिइन्थ्यो ।

पहिले–पहिले विद्यालय गएर फर्केपछि होस् वा छात्राबासमा बस्दा नै, खाजाका नाममा रोटी, मकै, भटमास, चिउरालगायत सीमित खाद्य सामग्री मात्र थिए । ठूलाबडा, सम्पन्न भनिने/गनिनेहरुका सन्तानले समेत मीठो  खाजा पाउँदैनथे । रोटी, मकै, भटमास– खाए खाऊ, नखाए भोकै बस । यस्तै थियो, खानपान र शिक्षा लिने संस्कार ।

अहिले सहरी क्षेत्रमा छोराछोरीले आमाबाबु खोज्न खेतबारीमा जाँदैनन्, आमाबाबुहरु छोराछोरी पुर्‍याउन/लिन विद्यालयको प्रवेशद्वारमै पुग्छन् । नभ्याउनेहरुले गाडीको व्यवस्था गरिदिएका हुन्छन् । खाजा के खाने ? जंक फुडदेखि अन्य परिकारसम्म विद्यालयको क्यान्टिन वा त्यस आसपासमै हाजिर छ । पछिल्ला वर्षहरुमा गाउँगाउँसम्म प्लस टुसम्मका शिक्षालयहरु खुलेका छन् । प्राथमिक तहको शिक्षा दिने विद्यालयहरु त गाउँटोलमै छन् । सहरको त कुरै छाडौँ, एक सय मिटर अन्तरमा बग्रेल्ती निजी विद्यालयहरु भेटिन्छन् । लाग्छ, विद्यार्थीभन्दा विद्यालय धेरै छन् । यति धेरै विद्यालयमा पढ्ने विद्यार्थीहरु कहाँबाट आँउछन् ?

शिक्षामा धेरै ठूलो तडकभडक बढ्दैछ । शिक्षा मन्त्रालयले साक्षरता प्रतिशत बढेको तथ्यांक सार्वजनिक पनि गर्दैछ । उच्च शिक्षा लिनेहरुको संख्या पनि उत्तिकै छ । तर, संस्कार भने झन्झन् कमजोर बन्दैछ । विद्यार्थीहरु यति धेरै पुल्पुलिँदै छन् कि विद्यालय हिँड्ने बेलामा ड्रेस, परिचयपत्र, जुत्ता, मोजा, टाई, झोला, किताब–कापीको ठेगाना थाहा पाउँदैनन् । समय व्यवस्थापन कुन चरीको नाम हो, अपवादबाहेक अधिकांश विद्यार्थीले बिर्संदै जान थालेका छन् ।

पत्रकार श्रीश भण्डारीले कलिला नानी–बाबुहरुमा हुर्कंदै गएको यही प्रवृत्ति/समस्या/पीडालाई ख्याल गरेर अठोट : उज्ज्वल भविष्यको  पुस्तक लेखेका छन् । हामीले दैनिकजसो सुन्दै आएका तर जीवन/व्यवहारमा उतार्न नसकिरहेका विषयहरुलाई अठोटमा मिहीन ढंगले केलाइएको छ । र, त्यसको महत्त्व दर्साइएको छ । भण्डारी सुरुमै लेख्छन्, ‘हामी एक मिनेटमा सरदर १६ पटक सास फेर्छौं । यसको मतलव एक घन्टामा ९ सय ६०, एक दिनमा २३ हजार ४० र एक वर्षमा ८४ लाख ९ हजार ६ सयपल्ट सास फेर्छौं । ८० वर्षसम्म बाँच्ने कुनै व्यक्तिले सामान्य अवस्थामा औसत ६७ करोड, २७ लाख ६८ हजारपल्ट सास फेर्छ । जीवनकालमा तय भइसकेको यो श्वासप्रश्वास संख्यामा न एउटा थप्न सकिन्छ, न त कम गर्न । यसरी प्रत्येक श्वासप्रश्वासमा हाम्रो जीवन छोटिइरहेको हुन्छ । कसैसँग १५ मिनेट विवादमा अल्झियौँ भने हाम्रो जीवनकालको २ सय ४० श्वासप्रश्वास खेर जान्छ ।’ समय कति महत्त्वपूर्ण छ ? भण्डारीको यही प्रस्तुतिले खुलाउँछ ।

खुसी के हो ? खुसी कसरी रहन सकिन्छ ? बाल्यकालदेखि नै जीवनको प्राथमिकता, लक्ष्यहरु कसरी निर्धारण गर्ने ? स्मरण–शक्ति के हो र कसरी ताजा राख्नेलगायत महत्त्वपूर्ण जानकारी नानीबाबुले प्राप्त गर्न सक्छन्, अठोटमा । बालबालिकाको जीवन/व्यवहार परिवर्तन गर्न निकै ठूलो सहयोग पुर्‍याउने निश्चित छ ।  शिक्षा, संस्कार र सम्पत्तिमध्ये कुन ठूलो ? आजको दुनियाँमा यो सबैभन्दा पेचिलो प्रश्न बन्दैछ । यी तीनमध्ये संस्कार सबैभन्दा प्रमुख भन्ने बहुसंख्यक छन् । तर, त्यही संस्कारचाहिँ दिनानुदिन कमजोर बनिरहेको परिप्रेक्ष्यमा पुस्तक अध्ययन गरी ज्ञान लिन सके ठूलो राहत पुग्नेछ ।

अठोट  प्रत्येक विद्यालयले आफ्ना विद्यार्थीहरुलाई, प्रत्येक बाबुआमाले आफ्ना छोराछोरीलाई नैतिक ज्ञान, उपदेश सिक्न/बुझ्न पढाउनु जरुरी छ । बालबालिका मात्र होइन, उनीहरुका अभिभावकको आनीबानी, सोच, चेतना बदल्न यसले सहयोग पुर्‍याउँछ ।

असल काम र व्यवहारबाट आफूलाई उच्चताको शिखरमा पुर्‍याएका व्यक्तिहरु अब्राहम लिंकन, अल्बर्ट आइन्सटाइन, आइज्याक न्युटन, ओशो, कन्फ्युसियस, गिजुभाइ, गौतम बुद्ध, चाल्र्स डार्बिनलगायतले कसरी सफलता हात पारे ? उनीहरुको बाल्यकाल कस्तो थियो ? यस्ता उदाहरण दिएर पुस्तकलाई सरल र पठनीय बनाइएको छ । पुस्तकको भाषा सरल शैलीमा बगेको छ । पढ्न बसेपछि नसिध्याई उठ्न मन लाग्दैन ।

प्रकाशित: आश्विन १७, २०७५