[निबन्ध] शुभलाभ

- सरोनर

सरोनरका शब्दमा म सन्तोषी माता हुँ । तर, यो निबन्धको ‘न्यारेटर’ सन्तोषी माता अर्थात् म माता होइन, पिता हुँ ।

मलाई थाहा भइसकेको छ, अब तपाईं मेरो नाम चलनचल्तीको कुनै बलिउड ’उडउड दबंग’ चुट्किलासँग जोड्नु हुनेछ, म माता हुँ किनकि म पिता हुँ; म पिता हुँ, त्यही भएर त म माता हुँ । मैले सरोनरलाई एक दिन भनेको हुँ, उमेरको बाइसेचौबीसे राज्य एकीकरण गर्न लागे पनि तपाईं अद्यापि बच्चा हुनुहुन्छ । उक्त उक्ति उल्लेख भइरहँदा उसको जिब्रोमा एक क्याडबरी चकलेटको चक्काजाम परेको हो । अधर्म होइन तर उसको अधरमा हिलोजस्तो देखियो । हिलोमा कमल फक्रियो, यशोदामैयाँ ! तपाईं मेरो माता हो भने सरोनर तपाईंको बालक, बालकृष्ण जरुर हो  । कमल ! म पनि ‘हिरो’ होइन, हिलो हुँ । अनि, मेरो प्रतिक्रिया प्रस्तुत भएको हो, ओके छ त । जीवनमा सन्तोष छ, सब छ ।

आजचाहिँ मलाई सरोनरले उसको कुनै साथीको प्रेमको किस्सा भन्न लगाएको छ । जुन साथीलाई मैले आजसम्म देखेभेटेको पनि छैन । तर, के मलाई उसले आफ्नो जिन्दगीको अनुभूति हिस्सा बन्न लगाएको छ, सघाएको छ ? भियतनामी चलचित्र बफेलो ब्वाईको बुझ्नेको व्यथा नबुझ्नेलाई कथाको कठालो समात्ने व्यवस्थाजस्तो, कहाँबाट सुरु अथवा खडा गरुँ यो कथा ! खडेरीबाट अथवा बाढीबाट ? म त पानी नै पानी देख्छु । जीवन पानीको बिहानी देख्छु । जीवन पानीको सिरानी देख्छु । जीवन पानीमा प्राप्ति देख्छु, प्राणी देख्छु । जीवन पानीमा खरानी देख्छु । सबै प्रेमकथाको भण्डार भन्नका लागि हुँदैन । सबै प्रेमकथाको भण्डार बन्नका लागि हुँदैन । कुनै विद्वानको एक चरण चरम कथन छ, संसारमा मानिसहरु बाँच्न सक्छन् प्रेमबिना । तर, पानीबिना बाँच्न सक्दैनन् ।

हाम्रो मिलन अन्त्यमा हुन्छ अथवा अनन्तमा ? देह हो भने अन्त्यमा हुन्छ, घाटमा ? आत्मा हो भने अनन्तमा हुन्छ, आघातमा ? मृत्युले जति बाक्लो पोसाक पहिरिएको छ, जीवनको रहस्य, चिन्ता र चिहान उति गहिरिएको छ । मृत्युको पोसाक उतारेर हेर्दा जीवन त नांगै हुन्छ अनि मृत्यु लुगलुग काँप्छ । वृहदारण्यकमा याज्ञवल्क्यको वचन छ– आत्मा नै यो प्रथम पुरुषजस्तो थियो  । त्यसले दृष्टि भ्रमण गराउँदा आफूबाहेक अरु कसैलाई देखेन । उसले सर्वप्रथम यो वचन उच्चारण गर्‍यो– म हुँ । अनि, त्यो नामधारी भयो । त्यसकारण आजभोलि पनि बोलाउादा सर्वप्रथम अहं (म) भनेर अर्को नाम भनिन्छ । ...त्यो भयभीत भयो, सोही कारण आज पनि एक्लो मानिस भयभीत हुन्छ, भयरहित हुँदैन ।... उसले अर्कोको चाह गर्‍यो । ...उसले आफ्नो यही आत्मा (शरीर) लाई दुई भाग पार्‍यो, त्यसबाट पति र पत्नी भए...।

आधुनिक डाँडागाउँ हो, कीर्तिपुरको नयाँबजार । नयाँबजारको वक्षस्थल क्यानभास हो, जहाँ एक चित्रकला छ आयताकार । रातो रङको धागोले उनेको एक्काइस घरको भित्ता अनि आयताकार चित्र हित्तचित्त बुझेको अमृत कार्कीको कलाकारिता । ‘अमृत’ कलाकारको क्यानभासको चित्रभित्र नै एक घर पर्छ, जुन घरको भित्ताले भने रातो रङलाई बेघर गर्छ । उक्त घरको घेरामा डेरा गरेर त्रिभुवन विश्वविद्यालय पढ्छ, मिलन ।

शिक्षा संकायमा गणित अध्ययन गर्न थालेका दुई विपरीत जिल्लाका दुई विपरीत लिंगी एक वर्षमा मित्रजन बन्नु कुनै विपत्तिजनक विषय होइन । तर, एक अन्तरालमा सारा कक्षाले पत्तो पायो, कक्षाकै ज्ञानी र मिलनसार मिलन औसत जुजुनालाई औधि चाहन्छ । स्वयं जुजुनालाई पनि यो कुरा पूरा थाहा थियो । जुजुनाका दुई साथीहरु समीक्षा र आलोचनालाई साक्षी राखेर भ्यालेन्टाइन्स डेमा जुजुनालाई उसले ‘प्रोपोज’ गरेको पनि हो । जुजुनाले हाँसोमा टारिदिई । तर, मिलनसँग भने टाढिइन । मिलनको दिलभित्र र उसको मोबाइलको भित्तेचित्र दुवैमा जुजुना थिई । जुजुनालाई सिलाइबुनाइमा रुचि थियो । शब्दमा अभिव्यक्त नभए पनि जुजुना पनि मिलनलाई मन पराउाछे भन्ने कक्षालाई लाग्थ्यो । तर, मिलनको जन्मदिनमा उसलाई जुजुनाको हातबाट गलबन्दी र स्वेटर उपहार मिलेको पनि हो ।

रामगोपाल वर्मा जिया खानलाई नि:शब्द  रहन र कहन लगाउँछन्– ‘कल रात जब मैंने खिडकी से बाहर देखा तो बाहर कोही नहीं था । फिर में बाहर गई और मैंने देखा खिडकी पर कोही नहीं था ।’ जब मिलन दु:खी हुन्छ, जब मिलनको विछोड हुन्छ, प्रेमपत्र लेख्न थाल्छ, जुन कसैलाई हुँदैन, जुन केही पनि हुँदैन । प्रेमको यात्रा छ, गन्तव्य छैन । सत्यको प्रथम प्रेम र प्रेमको अन्तिम सत्य हुँदैन, हुँदैन । मिलनले जुन जुजुनालाई सपनामा पाएको हो, उनलाई विपनामा गुमाएको हो । सपना सम्पन्न छ र विपना विपन्न । विछोडिएका प्रेमीहरुका खातिर सपना आधार र पीडा दुवै हुन् । रामकृष्ण परमहंसको ‘गड’ लाइज इन भजाइना । फ्रेडरिक नित्सेको ‘गड’ इज डेड । फ्रायडको जीवनको अन्तिम निष्कर्ष थियो– मनुवा मूलत: सेक्सुअल प्राणी हो । त्यसैले दु:खी प्राणी हो । मनुवा सेक्सुअल हुनु ऊ स्वयंको दु:खप्राप्ति हो । सन्देशलाई एक दिन मिलनले भनेको थियो, मेरोजस्तो उसको पनि आमा छैन ।

धेरै पढ्ने मानिस लेख्न सक्दैन । होइन । लेख्दैन । धेरै लेखिएको छ । धेरै पढिएको छैन । पढ्नुको आनन्दले लेख्नुलाई समय प्रदान गर्न सकिँदैन । लेख्नु आधा हो । पढ्नु पूरा हो । लेख्नु आदानप्रदान हो । पढ्नु आधार हो ।

डीपी भण्डारीको स्मरण एक कथन हुन्छ– धेरै संवेदनशील मनुवाहरु सबै लेखकबाट प्रभावित हुँदैनन् । असल पाठकले आफ्नो मन आमाबाबालाई, साथीभाइलाई, दिदीबहिनीलाई र प्रेयसीलाई दिएको हुन्छ । त्यहाँ समयको सीमा छैन । त्यहाँ कालको आगमन हुँदैन । असल पाठक त्यही कुरा पुस्तकहरुमा खोज्छ । ऊ आमाबाबासँग, साथीभाइसँग, दिदीबहिनीसँग र प्रेयसीसँग एउटै बिछ्यौनामा निदाउँछ । असल पाठक असली तवरले सदा बालक, बालकृष्ण हुन्छ । जब लेखकले लेख्छ, त्यतिबेला त उक्त बालापन समाप्त भइसकेको हुन्छ । पुस्तकमा केवल स्मृति बाँकी रहन्छ ।

एन्टोन चेखबको चेत छ, देअर इज नथिङ न्यू इन आर्ट एक्सेप्ट ट्यालेन्ट । मैले नाम भुलेका एक सायर छन् । सायद सायरको नाम सैफ्फुदिन सैफ हुनुपर्छ । तीन वर्षको प्रेमपछि उनको घरबार भयो । सबको पिरतीमा घरबार हुन्छ, मेरो पिरतीमा तरबार हुन्छ । सायरको तीन वर्षीय प्रेमको घरबार तीन महिनामै तरबार भयो, तवाह भयो । उनकी प्रेमिका अर्कोसँग हिँडिदिइन् । उनी सायरकी पत्नी भइनन्, प्रेमिका भने थिइन् । सबै प्रेमिका पत्नी हुन सक्दैनन् । तीन वर्षपछि फेरि उनकी प्रेमिकाको पतिको देहावसान भएको छ । सायरले आफ्नी प्रेमिकालाई सदा चाहेका छन्, त्यही तीन वर्ष, तीन महिना, तीन वर्षपछि पुन: अपनाएका छन् । उनको एक गजलको शेर गर्जन गर्छ, अन्दाज–ए–बयाँ ही रंग बदलदेता है बातको, वरना दुनियाँमें कोई बात नई बात नई ।

हरेक वर्षको तीन सय पैंसट्ठी दिन म तीन सय पैंसट्ठी जनालाई सम्झन्छु । हरेक चार चार वर्षमा एक अधिक दिन अझ थप हुन्छ । प्रिय ! मेरो वर्ष भनेको चाहिँ तिमी हौ । अब स्वयं पत्ता लगाऊ, म वर्षको तीन सय पैंसट्ठी दिनमा कोको तीन सय पैंसट्ठी जनालाई सम्झन्छु ! हरेक चार चार वर्षमा थप हुने एक अधिक दिनमा चाहिँ म मेरी प्रियलाई सम्झन्छु ।

प्रिय ! म तिमीलाई अधिक प्रेम गर्छु । तर, बशिर बद्रको मत्लाको अर्को मतलब छ, शर झुकाओगे तो पत्थर देवता होजाएगा, इतना मत चाहो उसे वो बेवफा हो जाएगा ।

सरोनर भन्छ– मेरो ‘बुबा’ महिला लेखक हुनुहुन्छ । ऊ के भन्दैछ  ? सन्तोषी पितालाई सन्तोषी माता तुल्याएजस्तो अब ऊ बुबालाई आमा तुल्याइरहेको छ ? उसले मेरो द्विविधा बुझेछ, बुझ्ने सुविधा प्रदान गर्छ, म सेकेन्ड सेक्स  लेखक सिमोन द बुबाको कुरा गरिरहेको छु । सेकेन्ड सेक्सबाट म तपाईंलाई केही सुनाउन चाहन्छु, यदि जरुरत पर्छ भने प्रेमिकाले आफ्नो प्रेमीका लागि स्वयंमाथि अत्याचार अंगीकार अथवा स्वीकार्छे । प्रेमिका आफ्नो सर्वस्व प्रियलाई बनाउन चाहन्छे, जसबाट ऊ स्वयं सार्थक होस् । ऊ प्रियतमबाट अलग आफ्ना खातिर केही पनि हाजिर गर्दिन । जब प्रियले ऊसाग केही माग गर्दैन, तब ऊ दु:खी हुन जान्छे । ऊ त्यही पुस्तक पढ्छे, जुन प्रेमीले पढ्छ । उसलाई त्यही दृश्य रुचिकर हुन्छ, जुन उसले प्रेमीसँग हेर्छे । जससँग उसले मित्रता गर्छे, उसले पनि उसैसँग मित्रता गर्छे र उसका शत्रुहरुसँग नै शत्रुता । प्रेमीका विचार नै प्रेमिकाका विचार हुन्छन् । जुन फल प्रेमीका हातबाट आउँदैनन्, तिनीहरुमा प्रेमिकालाई स्वाद आउँदैन । उसलाई त सौरभ पनि प्रेमीले दिएका फूलहरुमै महसुस हुन्छ । अनुपस्थितिमा प्रेमीको आराधना गरेर स्त्रीलाई जति आराम मिल्छ, त्यति उसको उपस्थितिमा आराम हराम हुन्छ ।

अनि, रहस्योदघटन हुन्छ । धेरै पहिलेदेखि नै विज्ञान र जुजुनाबीच प्रेम छ । विज्ञानले नै जुजुनालाई मिलनसँग फोन वार्ता गर्न लगाएको हो । विज्ञानका निम्ति जुजुनाले बुनेको गलबन्दी र स्वेटर नै मिलनले जन्मदिनको उपहारमा पाएको हो । के उसो भए आफ्नो दाजु नै ठान्ने मिलनलाई विज्ञानले ‘कर्ण कम्प्लेक्स’ मा पुर्‍याएको हो ? प्रेममा कसैको विकल्प हुनु सबैभन्दा ठूलो विडम्बना हो, वेदना हो । महिला जब रुन्छे, तब महिला हुन्छे । अंग्रेजी शब्द ‘वुमन’ दुई शब्दको संगम हो । ‘वु’ को अर्थ रुनु हो । र, ‘मन’ हुनु अर्थात् ‘म्यान’ को म्यानमा हुनु मानिस हुनु हो । ‘बुबा’ को आशीर्वचन छ– वुमन इज नट बर्न बट मेड । अनि नित्सेको कथन छ– महिला जब प्रेम गर्छे, तब महिला हुन्छे । जुजुनाको यथार्थ छ, मैले उसलाई प्रेम गर्छु भन्ने प्रदर्शन गरेर आफैँलाई धोका दिइरहेँ । मैले आफैँलाई धोका दिनचाहिँ उसलाई प्रेम गरेकी होइन ।

जुजुनाको जन्मदिन आएको छ । जन्मदिनको सबै खर्च मिलनले आफ्नो खल्तीबाट विज्ञानलाई पठाएको छ । विज्ञानले जुजुनाको अगाडि गएर पुन: एउटा भ्रम छरेको छ, उसको जन्मदिनको उपलक्ष्यमा उसैले भव्य भोजको आयोजना गरेको छ । मिलन तीनकुनेबाट कीर्तिपुरको क्यानभासमा अन्दाज लगाउँछ । एक ‘महावीर’ कविको गन्तव्य छ ‘सम्भोगदेखि समाधिसम्म’ सम्पन्न भन्छ, धेरै प्रेमिकाहरुका खातिर नग्नतामा हाजिर मेरो यो शरीर अब अन्तिम प्रेमी मृत्युसित भेट्न पनि नग्न भएर जाँदैछ ।    

प्रकाशित: आश्विन १७, २०७५