आवरण कथा : धमिला हिमाल [भिडियो सहित]

- बसन्त बस्नेत

खुम्बु क्षेत्रबाट फर्केर


सोलुखुम्बु, खरिखोलाका तेन्जिङ शेर्पा, ४८, ले चढ्दाताक नुप्से हिमाल सेतो थियो । अहिले त कालै भइसक्यो । हिमाल हो कि आफ्नै जीवनको उदासी, खुट्याउनै गाह्रो !

साढे तीन वर्षअघि भूकम्प आउने बेला सगरमाथाको पहिरोबाट सय मिटर तल खस्दा कसोकसो बाँचेथे, तेन्जिङ । त्यो प्रलयमा उनी अघिल्तिरैका ३० आरोही एकै चिहान भए । सन् १९५३ मा शिखर टेकेका तेन्जिङ नोर्गेजस्तै अर्को तेन्जिङ बन्ने उनको सपनामा ब्रेक लगाइदियो, भूकम्पले । मेरुदण्ड पहिलेजस्तो चल्दैन । हिमाल पहिले रहर थियो, अहिले घर चलाउने बाध्यता ।

तेन्जिङका भाइ कर्मालाई सगरमाथाले नै निल्यो । कर्मा थिए, अन्तर्राष्ट्रिय भरिया । उनीसँग विदेशका हिमालमा समेत आरोहीलाई सघाएको अनुभव थियो । हिमालमा खराब मौसम चलेका बेला ‘बढ्ता जान्ने भएर’ भाइ बितेको एक लाइन ठहर छ, तेन्जिङसित । गोरक्सेपबाट एभरेस्ट बेस क्याम्पतिर छड्किँदै गर्दा उनले नेपालसँग बह पोखे, “घाइते भएर केही दिन बाँच्यो । तर, जीवनभरि पक्षघात भएर बाँच्न सकिँदैन जस्तो लागेर होला, उसको आत्माले हिमालमै शान्ति पायो ।”

►हेर्नुहोस् भिडियो : धमिला हिमाल : जलवायु परिवर्तनले खुम्बु क्षेत्रका चुचुराहरु काला पहाडमा बदलिँदै

हिमाल जहाँ थियो, त्यहीँ छ । आउने–जाने त मानिसहरू हुन् । तिनका आँसु र दु:खका कथा भनेर/गनेर सकिँदैनन् । हरेक मानिसको जीवनबाट भावुकता निकालेर बजारमा बेच्न सकिएला । तर, म तेन्जिङलाई माथिको पहिलो वाक्यतिर निर्ममतापूर्वक ल्याउन खोजिरहेको थिएँ । उनी चोरऔँलाले नुप्से देखाउँदै भनिरहेका थिए, “मैले चढ्दासम्म यो हिमाल सेतो थियो, अहिले त कालै भइसक्यो ।”

तेन्जिङको विचारमा यो विश्वतापीय उष्णताको परिणति हो । अंग्रेजी भाषामा ‘ग्लोबल वार्मिङ’ । उनले अनेक यात्राक्रममा विदेशीहरूबाट सर्वाधिक सुनेको पदावली हो, यो । उनले खुट्टा राखेको नुप्से कालो हुने कारण पनि यही हो । एउटा यस्तो सजाय नेपालले भुक्तान गर्दैछ, जसका लागि ऊ नगन्य दोषी छ । विश्वभरिबाट कार्बन उत्सर्जन हुँदै गर्दा नेपालको भागमा केवल ०.०२२ प्रतिशत पर्छ । आजसम्मको इतिहास हेर्दा अमेरिका सर्वाधिक हरितगृह उत्सर्जन गर्ने राष्ट्र हो । अनि, पछिल्लो वर्षको नम्बर एकचाहिँ, छिमेकी चीन । (हेरौँइन्फोग्राफ)



विश्वशक्ति बन्ने दौडमा अरूलाई उछिन्ने हुँदा हाम्रा उत्तरी हिमालहरूको सिमानामा भेटिने यो देशले अन्तर्राष्ट्रिय मान्यताका सबै सीमाहरू भत्काइरहेको छ । त्यसको सजाय हाम्रो देशका उत्तरी पर्खालहरूले भुक्तान गर्दैछन् । बिग्रनुको पनि सीमा हुन्छ नि ! सगरमाथाको तिब्बती मोहडापट्टि ६ हजार मिटरसम्मै मोटरबाटो पुर्‍याइएको रहेछ । खुम्बु क्षेत्रमा सुन्न पाइन्थ्यो, अनेक किसिमका पसलदेखि भड्किलो जीवनको पराकाष्ठा छ रे उतापट्टि ।

हिमालका बारेमा पढे–सुनेका किस्सा र किंवदन्तीहरू बिर्साउने गरी यस्ता अनेक नयाँ परिघटनाहरू देखापर्न थालेका छन् । हिमतालहरू जोखिममा छन् । हिमनदीहरू पग्लिने र खस्ने क्रम बढेको छ । लोबुचेबाट जोङ्ला जाने बाटोमा हामी देख्दैछौँ, ४ हजार ७ सय मिटर उचाइमा पहिरो खसेर ताल बन्न पुगेको । स्थानीयका अनुसार यो कुनै पनि बेला छिद्र नपाएर फुट्न सक्छ, जसका कारण सिंगै फेरिचे बस्ती डुबानमा पर्नेछ । (हेरौँतस्बिर)


जोङ्लामा पहिरो खसेर बनेको ताल  | तस्बिर : बसन्त बस्नेत


१७ हजार फिटमाथिको जमिनलाई हिमरेखा मान्ने गरिन्छ । तर, कुनै बेलाका सेताम्मे यी माथिका हिमालमा हिउँ अब बाँकी छैन । पहराहरूमा चट्टान खस्ने क्रम बढ्दो छ । देशीविदेशी पर्यटकको मन कहाँ पहिलेजस्तो रत्तिन्छ होला ! हिमालबारे लेख्दै आएका पत्रकार कुन्द दीक्षित भन्छन्, “अब त जलवायु परिवर्तनले पारेका नकारात्मक प्रभावमाथि नै पर्यटन हुनु आवश्यक छ । किनभने, ‘क्लाइमेट चेन्ज टुरिज्म’ को अवधारणा पनि आइसक्यो । कम्तीमा विदेशबाट पर्यटकहरू आऊन् र हेरून्, पहिलो विश्वका गलत निर्णयहरूका कारण विश्वभरि कति असर परेको छ ? कसरी हाम्रा हिमालहरू काला हुँदैछन् ?”

जलवायु परिवर्तनको मुद्दाले कसरी राजनीतिको मुख्य हिस्सा ओगट्न थालेको छ भन्नेबारे एकैछिन पछिल्ला उदाहरणमा जाऔँ । बेलायती समाजवादी नेता जेरेमी कोर्बिनले १० असोजमा गरेको सम्बोधन धेरै कोणबाट ऐतिहासिक बन्न पुग्यो । लेबर पार्टीको अधिवेशनमा बोल्दै उनले जलवायु परिवर्तनलाई मानव सभ्यताकै ठूलो समस्याका रूपमा चित्रित गरे । उनले सन् २०३० भित्र हरितगृह उत्सर्जन ३० प्रतिशतमा झार्ने, २०५० भित्र शून्यमा पुर्‍याउने प्रतिबद्धता जनाए । उनले बेलायतलाई पुनर्जागृत गर्न व्यापक सुधारका कार्यक्रम चाहिएको, त्यसका लागि पर्यावरण विनाश नै सर्वाधिक चुनौती रहेको दोहोर्‍याउँदै भने, “आजको दिनमा मानिसका लागि जलवायु परिवर्तनजस्तो ठूलो चुनौती अरू केही छैन, त्यसैले हामीले उदाहरणबाट आफूलाई सावित गर्नुपर्छ । २०३० सम्म कार्बन उत्सर्जन ६० प्रतिशतसम्म घटाएर ४ लाख सिपालु कामदारका लागि रोजगारी सिर्जना गर्न सक्नुपर्छ । स्क्यान्डिनेभियन देशहरूकै दाँजोमा बेलायत जलवायु परिवर्तनको बाध्यता झेल्न सक्ने हुनुपर्छ ।”

कोर्बिनले उल्लेख गरेको जलवायु परिवर्तन आजको विश्वमा छल्नै नसकिने अहं प्रश्न भइसकेको छ । आज कैयौँ देशहरूको चुनावी मुद्दामा यो विषय सुरुकै बँुदातिर आइपुग्छ । तर, जलवायु परिवर्तनले प्रत्यक्ष प्रभाव पारिरहेको हाम्रो देशमा भने अझै पनि यो कताकति नारा या बुद्धिविलासको विषय मात्रै बनिरहेको देख्न, बुझ्न सक्छौँ । कसैले गम्भीरतापूर्वक बोलिरहे पनि विकास र समृद्धिको ‘हाई–डेसिबल’ हल्लामा तिनको ध्वनि मसिनो सुनिन्छ । र, यो संसारमा बादशाह बन्ने महत्त्वाकांक्षामा छन्, डोनाल्ड ट्रम्प । महाशक्ति अमेरिकालाई फेरि महान् बनाउने उनको अभिलाषाका अघिल्तिर जलवायु परिवर्तनको मुद्दा केही पनि होइन । पछिल्ला दुई वर्षहरूमा उनले पर्यावरण संकटमोचन सम्बन्धी आयोजित विश्वमञ्चहरू कि छले कि त ललकारे ।


लोबुचेबाट असोज पहिलो साता देखिएका काला हिमाली शृंखला हिमनदी क्षेत्रतस्बिर : प्रकाश लामिछानेबाबाजी


इम्जालगायत उच्च हिमाली भेगहरूको अध्ययन गरेका भूगोलविद् प्राध्यापक पीताम्बर शर्मा यस्तो प्रवृत्तिलाई अनुचित मान्छन् । उनको भनाइमा जलवायु परिवर्तनबाट हाम्रा हिमाली भेग र अन्यत्र उत्तिकै असर परिरहेको छ । “विकसित देशहरूले गरेका गल्तीहरूको सजाय हामी भोगिरहेका छौँ, हामीलाई नखाएको विष लागिरहेको छ,” भर्खरै सगरमाथा आरोहण गरी फर्केका आरोही र हिमाली क्षेत्रमा सक्रिय अभियन्ताहरूसँगको छलफलबाट एकैछिन फुर्सद निकालेर शर्माले भने, “अहिलेको हाम्रो प्राथमिकता भनेको भएको जंगल बचाउने हो अनि कार्बन उत्सर्जन बिस्तारै शून्यमा झार्ने हो ।”

असोज पहिलो साता सोलुखुम्बुका विभिन्न क्षेत्र हुँदै सगरमाथा आधारशिविरसम्म पुग्दै गर्दा देखिएका दृश्यहरूले बदलिँदै गरेको हिमाली परिवेशको कथा भनिरहेका थिए । पाश्र्वमा देखिने हिमालैपिच्छे कीर्तिमानका इतिहास रच्नेहरूका सम्झना पनि जोडिएकै थिए । पहिले रोमाञ्चकता र जोखिमका लागि हिमाल चढ्ने क्रम भए पनि अचेल प्रविधि र आविष्कारले सहज बनाइदिएको छ । बिस्तारै हिमाल रोमाञ्चकताबाट रहरमा परिणत हुँदैछ । यसको मार अरू कसैले भोगिरहेको छ भने संसारका १० मध्ये नेपालमा पर्ने आठ हिमालले नै हो । त्यसैले इच्छाएका जो पनि सगरमाथा पुग्ने क्रम अब रोक्नुपर्ने स्थानीय तर्क गर्छन् ।

“पहिले आफ्नो ठूलो भारी आफैँ बोकेर सगरमाथातिर गएको देखिन्थ्यो, अहिले ७५ वर्ष नाघेकाहरू पनि अरूका बुई चढेर उक्लिरहेका हुन्छन्,” एक स्थानीय शेर्पा गाइडले भने, “सगरमाथा भनेको जसका लागि पनि होइन । सक्नेले चढ्ने हो ।” ती गाइडले संकेत गरेकामध्ये एक थिए, मीनबहादुर शेरचन, जो ७६ वर्षको उमेरमा सन् २००८ मा सगरमाथा चढे । अर्को वर्ष ८० वर्षीय जापानी युचिरो मिउरा आएर रेकर्ड तोडेको इखले उनलाई चुप बस्न दिएन । फेरि रेकर्ड फर्काउने हुँदा आधारशिविरमै उनको ज्यान गयो । पढैया भनेर चिनिने अर्का पूर्वपरराष्ट्रमन्त्री शैलेन्द्रकुमार उपाध्यायको पनि सगरमाथाको रहरले ८२ वर्षको उमेरमा ज्यान गयो, जबकि ५ हजार मिटरभन्दा माथि सामान्य मानिसलाई नै रहन/बस्न कठिन पर्दै जान्छ ।

सायद यिनै असुरक्षाका दृष्टान्त बुझेर हुनुपर्छ, सरकारले शारीरिक सक्षमता भएका आरोहीलाई मात्रै हिमाल आरोहणका लागि फुकुवा गर्‍यो । तर, यसैबीचमा सक्रिय भयो, सर्वोच्च न्यायालय । १३ असार ०७५ मा अदालतले अन्तरिम आदेश जारी गर्दै संविधानत: बिनाभेदभाव जोकोहीले पनि सगरमाथा चढ्न पाउने फैसला सुनायो ।


नेपालको सबैभन्दा लामो हिमनदी ङोजुम्पा  यहाँबाट दूधकोसी नदी सुरु हुन्छ  | तस्बिर : बसन्त बस्नेत


हिमाली पदयात्राका लागि नेपाल संसारकै आकर्षक गन्तव्य भएकाले पर्यटन प्रवद्र्धन गराउनुपर्ने भए पनि हिमालहरूको सुरक्षाका लागि निश्चित मापदण्ड अपनाउनुपर्ने तर्क संरक्षणविद्हरूको छ । हेर्दा सानो कुरा लागे पनि सगरमाथा क्षेत्रसँगै अन्य हिमाली क्षेत्रलाई भारत, बंगलादेशमा हुने चर्को हरितगृह उत्सर्जन मात्रै नभई स्वदेशमै भइरहेका पर्यावरण नास्ने क्रियाकलापसमेतले संकटमा पार्दै लगेको उनीहरू बताउँछन् । जलवायु परिवर्तनका अध्येता अजय दीक्षित भन्छन्, “जलवायु परिवर्तनका कारण हाम्रा हिमालहरूमा परेको असरबारे भन्न वैज्ञानिक शोधको सीमितता छ । अहिले मनलाग्दी गरौँ, ४०–५० वर्षपछि जे होला, होला भन्ने हचुवा सोचले हामीलाई त्योभन्दा छिटो संकटतर्फ धकेल्दै छ ।”

हिमाल कालो हुँदै गएका उदाहरण खोज्दै जाँदा देख्न सकिन्छ, आमादब्लम, काङतेगा, चाम्लाङ, कान्चुङ्जे, लोबुचेजस्ता शिखरहरू । सगरमाथा छेवैमा रहेका नेपाल र तिब्बती दुवैतिरका चुचुराहरू अलिअलि गर्दै काला पहाडहरूमा अनुदित हुँदैछन् । खुम्जुङ क्षेत्रमा खस्दै गएका हिमपहिरो अनि त्यसबाट बन्न गएका हिमताल र पोखरीहरू पर्यावरणीय बदलावकै कारण पहिलेभन्दा असन्तुलित बन्दै गएको स्थानीयहरूको भोगाइ छ ।

गोक्योमा भेटिएका भ्रमण गाइड बद्री पन्तको भनाइमा आम्बुलाप्चा, इम्जा, खुम्बु, ङोजुम्पाजस्ता हिमनदी (ग्लेसियर) हरूमा हिउँको मैलो ढिका खस्ने क्रम पहिलेभन्दा बढेको छ । “अघिल्लो हप्ता हामी मज्जाले हिँडेर आएको बाटो एक सातापछि जाँदा भेटिन्न, पहिल्यै खसेर पुरिइसकेको हुन्छ,” उनले सुनाए, “यस्तो क्रम पहिलेभन्दा बढेको छ ।”

स्थानीयका अनुसार पहिले वनस्पति नउम्रने ठाउँमा अब मज्जैले रुखबिरुवा हुर्कन्छन् । अनि, पहिले बाक्लो हिउँ पर्ने ठाउँमा आजभोलि कहिलेकाहीँ मात्रै फासफुस हुन्छ । वर्षा नियमित छैन । कहिले आरीबाट पानी घोप्ट्याएझैँ झर्छ । कहिले पूरै शून्य । पहिले फुल्ने फूल, पाक्ने फल, आउने चराहरू अब छैनन् । सट्टामा बेँसीतिरका जाति, प्रजाति थपिएका छन् । अरू भेगहरूजस्तै हिमाल अनिश्चित बन्न पुगेको छ ।

जलवायु परिवर्तनको बदलिँदो चक्रलाई सम्बोधन गर्न सकियोस् भनेर हुनुपर्छ, तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले ०६६ मा मन्त्रिपरिषद्को बैठक नै ५ हजार ५ सय ४४ मिटर अग्लो कालापत्थरमा राखे । सन्दर्भ ‘कोप १५’ को थियो । कालापत्थर, जहाँबाट सगरमाथा शिखरको सबैभन्दा स्पष्ट दृश्य देख्न सकिन्छ । मालदिभ्सले संसारमा बढ्दै गएको पर्यावरणीय संकटबारे बाँकी विश्वलाई सन्देश दिने अभिप्रायले समुद्रमुनि बैठक राखेसँगै नेपाल पनि सर्वोच्च हिमालको काखबाट पर्यावरण उत्थानको सन्देश सुनाउने मनसुवाबाट उत्प्रेरित रहेको बुझ्न सकिन्थ्यो । पत्रकार कुन्द दीक्षितको शब्दमा, हिजोआजका सरकारहरूले कम्तीमा त्यति मात्रै भए पनि संवेदनशीलता देखाइदिएको भए !

कुरो बुझियो, जलवायु परिवर्तनका बारेमा बोल्नै त पुगेको छैन । गर्न त कति, कति बाँकी छ । जलवायु परिवर्तनले शेर्पा समुदायमा पारेको असरबारे वासिङ्टन स्टेट युनिभर्सिटीबाट पीएचडी गरेकी पासाङ याङ्जी शेर्पाको विचारमा, स्थानीय पहिलेभन्दा सचेत हुँदै गएका छन् । तापक्रममा आएको बदलावले हिमाली क्षेत्रमा हिउँ पर्ने प्रवृत्तिमा देखापरेको अन्तरका कारण सोलुखुम्बु क्षेत्र पहिलेभन्दा फेरिएको उनको ठहर छ । ह्याबिटाट हिमालय जर्नलमा उनी लेख्छिन्, ‘होटल सञ्चालकहरूले वातावरणीय परिवर्तनका कारण आगन्तुकको आगमनदेखि अन्य फेरबदलबारे पहिलेभन्दा ध्यान दिन थालेका छन् । उनीहरूको धार्मिक गतिविधि र संस्कारदेखि दैनिक क्रियाकलाप अझै फेरिने निश्चित छ ।’

यी सबै उतारचढावबारे नेपाली बेखबर भएर बस्ने कुरै आउँदैन । परिवार धान्ने परिबन्दमा बाँधिएर दुर्भाग्यवश हामीले आफूवरिपरिको भूगोललाई राम्ररी नियाल्नै पाउँदैनौँ, भ्याउँदैनौँ । हाम्रो यही प्रवृत्तिलाई देखेर हुनुपर्छ, भूगोलविद् हर्क गुरुङले कुनै बेला ‘पर्वतारोहण’ निबन्धमा लेखेका थिए, ‘विदेशी पर्वतारोही नेपाल आउँछन्, हाम्रै शेर्पाको काँध चढेर नाम कमाउँछन् । हामी वाल्ल परेर रमिता हेरिरहन्छौँ । खुबै गर्‍यौँ भने हिमालको गीत गाउँछौँ, कविता लेख्छौँ र हिमाली सौन्दर्यको धाक दिन्छौँ । वास्तवमा हामीलाई आफ्नै हिमालको ज्ञान छ ? हाम्रो स्वतन्त्रतालाई हिमालले तगारो हालेर जोगाएको छ । तर, हिमालकै पहिरोले हाम्रो प्रगतिलाई किचेको पनि छ ।’

गुरुङले २० को दशकतिर यी पंक्ति लेख्दै गर्दा पर्यावरणको विनाशलीला मच्चिइसकेको थिएन । बीचका यी वर्षहरूमा ओजोन तहको क्षय, पृथ्वीको अन्त्य, मानव सभ्यताको समाप्तिजस्ता बहस खुबै चले । हिमालदेखि आल्पस पर्वत, एसियादेखि दक्षिण अमेरिकासम्मको वाष्पीय उष्णताको विमर्श त्यसै छाड्न नमिल्ने भइसकेको छ । नेपालीहरू बाह्य पर्यटक मात्रै होइन, आन्तरिक पर्यटकसमेत राम्रै गरी भित्र्याउन थालेका छन् ।


तेन्जिङ शेर्पा


नेपालीका लागि हिमाल अब जानकारीबाहिरको विषय रहेन । वर्षा सकिएर शरद ऋतु लाग्दै गर्दा यो वर्ष पनि हिमाली भेग घुम्न जाने पदयात्रीहरूको मौसम सुरु भइसकेको छ । हिमालको उचाइसँग आफूलाई दाँजेर सेल्फी खिच्नु प्रतिष्ठाको विषय बन्दै छ । यही बेला विश्व तापमानमा भइरहेको वृद्धिले कुरूप हुँदै गइरहेका मनोहर हिमालहरूको चिन्ताले हामीलाई सताउन थाल्नुपर्नेछ ।

१० दिनको हिमाली पदयात्रामा धेरैलाई भेटियो । धेरैका कुरा सुनियो । फेरि सम्झनामा उनै तेन्जिङ छन् । जलवायु परिवर्तनले गल्दै गरेका सगरमाथा क्षेत्रका हिमालहरूबारे उनले सोझो कुरा गरे, “हामीले मात्रै बचाएर यो हिमाल बच्दैन । विश्वले यता हेर्नुपर्छ ।”


दिङ्बोचेबाट देखिएको हिमशृंखलातस्बिर : अंगद ढकाल


 

प्रकाशित: आश्विन १७, २०७५