[विशेष] लोडु डिमेको रजगज

- मनबहादुर बस्नेत

पुसमा सूर्यास्तसँगै चिसोको पारो बढिहाल्छ । यही सिरेटो खपेर नुवाकोटको ककनीमा ओहोरदोहोर गरिरहेका सवारी साधन जाँचमा खटिएको छ, प्रहरीको एउटा टोली । जब साँझ सवा ७ बजेतिर बा२ख ७५०४ नम्बरको आइसर गाडी आयो, प्रहरीका आँखा चनाखो बने । चामलको बोराले भरिएको गाडी खोतल्दा पाटेबाघको छाला र हड्डी भएका एक दर्जनभन्दा बढी बोरा फेला परे । यति सामानका लागि कम्तीमा पनि तीन दर्जन वयस्क बाघ मार्नुपर्ने अनुसन्धानकर्मीको अनुमान रह्यो ।

६ वर्षअघि अर्थात्, २८ पुस ०६९ को यो घटना सुन्दा जति सामान्य लाग्छ, त्यसपछि जोडिएका घटनाक्रम उत्तिकै रहस्यमयी । नहोस् पनि किन, सामान्य सुरक्षा जाँचमा बरामद भएका यी सामानका कारोबारी भने असामान्य थिए । ठूलै उपलब्धि हात पारेको ठानेर दंग प्रहरी त्यतिबेला झस्कियो, जतिबेला उक्त घटना सार्वजनिक नगर्न र गुपचुप मिलाउन उच्च तहबाटै दबाब आयो ।

तत्कालीन वनमन्त्री यदुवंश झाले समेत यो घटनामा अस्वाभाविक चासो देखाएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारी सम्झिन्छन् । घटनालगत्तै जिल्ला प्रहरी कार्यालयका तीन प्रमुख लगालग फेरिएका थिए, अनुकूल अनुसन्धान गर्न नमान्दा । घटनाको उद्गमबिन्दुबाटै देखापरेका यस्ता रहस्यका पात्र हुन्, लोडु डिमे, ४० । ठूलो परिमाणमा नियन्त्रणमा लिएको अवैध आखेटोपहारका मालिक थिए, डिमे, जसको सामान धुन्चे हुँदै सीमापारि चीन तार्ने लक्ष्य राखिएको थियो ।

संरक्षित वन्यजन्तुका अंगको अवैध कारोबारी डिमे प्रहरीका लागिसमेत नयाँ अनुहार थिए । चौतर्फी दबाब आएपछि ठूलो कारोबारी हुन सक्ने अनुमानसहित अनुसन्धानमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) समेत जोडियो । भोलिपल्टै बिहान ३ बजे बौद्धस्थित डिमेको घरमा छापा मार्दा उनी भागिसकेका थिए । घरबाट प्रहरीले वन्यजन्तुका अंगबाट निर्मित सामान, पुरातात्विक वस्तु, विभिन्न मुलुकका मुद्रा, विभिन्न बैंकका चेकबुकसहित डिमेकी पत्नी छिरिङ डिकीलाई पक्राउ गरेको थियो ।

त्यसपछि कानुनी कारबाहीको प्रक्रियामा छिर्दा विकसित रहस्यमयी घटनाक्रम अझै उधिनिएको छैन । पुनरावेदन अदालत पाटनले पाँच वर्ष जेल सजाय तोकेपछि पक्राउ परेका डिमे सर्वोच्च अदालतको आदेशबाट छुटिसके, गत असारमा । अवैध आखेटोपहारको कारोबारका मुख्य अभियोगी सुरुबाटै धरौटीमा रिहा हुँदै आउनु र सहयोगीहरू जेल सजायको भागीदार बन्नुले समेत धेरै कुरा शंकास्पद देखाउँछ ।



उन्मुक्तिको सिलसिला

सीआईबीको अनुसन्धानबाट डिमेबारे केही यस्ता तथ्य सतहमा आएका थिए, त्यसले उनी वन्यजन्तुका अन्तर्राष्ट्रिय कारोबारी रहेको संकेत दिएको थियो । घरबाट बरामद भएका सामान र विदेशी मुद्राले समेत उनी वन्यजन्तुका अंग ओसारपसारका अन्तर्राष्ट्रिय गिरोहमा संलग्न हुन सक्ने आधार प्रस्तुत गरेको थियो । बंगलादेशी, इन्डोनेसियन, चिनियाँ र भारतीय मुद्रा उनको घरमा भेटिएका थिए । तर, डिमेकी पत्नीले भने उक्त मुद्रा खाना खान आउने विदेशी पाहुनाले दिएको जिल्ला वन कार्यालय नुवाकोटका अनुसन्धान अधिकृतसमक्ष बताएकी थिइन् ।

त्यसअघि ०६५ मा नक्सालस्थित राजेश महर्जनको घरमा आखेटोपहारको भण्डार नै प्रहरीले फेला पारेको थियो । प्रहरी अनुसन्धानबाट घरमा अढाई दशकदेखि बस्दै आएका अमेरिकी पत्रकार इआन बेकरको सम्पर्क बौद्धतिर बढी भएको देखाएको थियो । सम्पर्कका व्यक्ति डिमे नै भएको एक प्रहरी अधिकारीको दाबी छ ।

वन्यजन्तु अंगको अन्तर्राष्ट्रिय कारोबारी गिरोहमा संलग्न भनिएका डिमेप्रति सुरुदेखि नै कानुनी कारबाही खुकुलो पारिएको घटनाक्रमले पुष्टि गर्छ । घटनालगत्तै भागेर भारत पुगेका डिमेविरुद्ध जिल्ला वन कार्यालय नुवाकोटले सुनाएको फैसला उदेकलाग्दो छ । घटनाको ६ महिनापछि १३ असार ०७० मा वन कार्यालयले डिमेलाई १ लाख रुपैयाँ जरिवाना गरेर छाड्ने फैसला सुनाएको थियो । अर्थात्, जरिवाना तिरेर उनले अभियोगबाट सफाइ पाए । जबकि, गाडीधनीलाई ९ वर्ष कैद सजायको फैसला गरेको थियो, वन कार्यालयले ।

घटनाको दुई महिनापछि नै ८० हजार रुपैयाँ धरौटीमा छुटेकी डिमेपत्नी डिकीले समेत पछि वनबाटै सफाइ पाएकी थिइन् । त्यसको निर्णय तत्कालीन जिल्ला वन अधिकृत प्रेम खनालले गरेका थिए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, ०२९ मा जिल्ला वन कार्यालयलाई अर्धन्यायिक अधिकार दिइएको छ । खनालले कैफियत गरेको भन्दै वन विभागले उनलाई क्षेत्रीय वन तालिम केन्द्र सुर्खेत सरुवा गरिदिएको थियो । तर, उनीमाथि थप कारबाही भएन ।

प्रतिबन्धित आखेटोपहारका मालिकले सफाइ पाएको तर सहयोगीलाई अधिकतम सजाय तोकेको भन्दै गाडीधनी सुकबहादुर तामाङ वनको फैसलाविरुद्ध पुनरावेदन अदालत पाटन पुगे । यो मुद्दामा पुनरावेदनले उनको फैसला सदर मात्रै गरिदिएन, डिमेलाई उन्मुक्ति दिने वनको फैसला उल्टाइदियो र मुख्य अभियुक्त ठहर्‍यायो । मोहनबहादुर कार्की र नित्यानन्द पाण्डेको संयुक्त इजलासको फैसलामा भनिएको छ, ‘लोडु डिमेले आरोपित कसुरउपर सफाइ लिन सक्नुपर्नेमा मौकादेखि (सुरुदेखि) नै फरार रहेको अवस्थासमेतबाट यी प्रतिवादी मुख्य अभियुक्त रहेको देखिन्छ ।’ १२ फागुन ०७१ भएको उक्त फैसलाले डिमेलाई ५ वर्ष कैद सजाय सुनायो । डिमे भारतमा लुकेर बसेका थिए । त्यसपछि उनलाई पक्रन प्रहरीको

अन्तर्राष्ट्रिय संगठन इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी भयो । भारतीय प्रहरीको सहयोगमा उनलाई फैसलाको ३ वर्षपछि प्रहरीले गत २१ फागुनमा नेपाल ल्याएर जेल चलान गरेको थियो । तर, डिमे कानुनी छिद्र पहिल्याएर चार महिनामै जेलमुक्त भए, रोचक शैलीमा ।

फैसलाको पुनरावलोकन र कारागारबाहिरै बसेर मुद्दा लड्न पाउने सुविधाका लागि डिमेले सर्वोच्च अदालतमा निवेदन दिए । साविकको मुलुकी ऐनको अदालती बन्दोबस्त खण्डको १९४ दफामा निश्चित सर्तका मुद्दामा जेलबाहिरै बसेर मुद्दा लड्न पाउने सुविधा दिइने व्यवस्था छ ।

सर्वोच्चका सह–रजिस्ट्रारले गत १ वैशाख र ६ जेठमा सुविधा दिन नमिल्ने आदेश दिएका थिए । त्यसपछि डिमेले इजलासमै यस्तो सुविधा पाउनुपर्ने निवदेन दिए । र, लगत्तै न्यायाधीशद्वय मीरा खड्का र डम्बरबहादुर शाहीको संयुक्त इजलासले २८ असारमा डिमेले खोजेको सुविधा दिइछाड्यो । ‘निवेदकको पुनरावेदनपत्र यस अदालतमा विचाराधीन रहेकाले’ यसअघिको सर्वोच्चकै आदेश बदर गर्ने र १९४ दफाको सुविधा दिने ठहर अदालतले गरेको हो । आदेशपछि डिमे ५ वर्षको कैदबापत प्रतिवर्ष ९ हजारका दरले एकमुष्ट ४५ हजार रुपैयाँ धरौटी बुझाएर कारागारबाट छुटिसके ।

उल्लेख्य पक्ष के भने मतियारको भूमिकामा देखिएका सुकबहादुरलाई भन्दा अदालत आफैँले मुख्य अभियुक्त ठानेको डिमेलाई चाहिँ कम सजायको फैसला भयो । दुवैलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनको दफा २६ (१) बमोजिम सजाय दिइएको हो । उक्त दफामा दुर्लभ वन्यजन्तुको आखेटोपहार ओसारपसार गर्नेलाई ५ वर्षदेखि १५ वर्षसम्म कैद वा ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन्छ । मुख्य अभियुक्तलाई सबैभन्दा कम सजाय तोकियो भने मतियारलाई त्यसको झन्डै दोब्बर ।

सानालाई ऐन

भर्खरै सामान ढुवानी गर्ने सेकेन्ड ह्यान्ड गाडी खरिद गरेका थिए, रसुवा चिलिमेका सुकबहादुरले । गाडी किनेपछि आफ्नो जीवन सहज हुने अपेक्षा थियो, उनको । गाडीको आम्दानीबाट दुई सन्तानलाई राम्ररी पढाउने र परिवारको जीवन सुखी तुल्याउने सपना थियो । गरिब परिवारका तामाङको सपना त्यतिबेला चकनाचुर भयो, जतिबेला उनको गाडी अवैध आखेटोपहारका बोरासहित प्रहरीले नियन्त्रणमा लियो ।

उनलाई काठमाडौँ, बौद्धका डिमेले धुन्चेसम्म सामान पुर्‍याइदिएबापत एक लाख रुपैयाँ दिने वाचा गरेका थिए । साथै, गाडीमा ढुवानी गरेको सबै चामल (१ सय १२ बोरा) पनि तामाङकै हुने मौखिक सहमति बनेको थियो । बाल्यकालमा भेडीगोठमा अर्काको गोठालो बसेका उनी रातारात पैसा कमाउने लोभमा पर्दा प्रहरीको फन्दामा परे । र, अहिले रसुवा कारागारमा सजाय काटिरहेका छन् । ९ वर्ष जेल सजायमध्ये उनले ५ वर्ष कटाइसके । उनलाई अह्राउने व्यक्ति डिमेचाहिँ थुनामुक्त भइसके । सानालाई ऐन र ठूलालाई चैन भन्ने प्रचलित उखान सुकबहादुरको हकमा समेत चरितार्थ बनिरहेको छ ।


नुवाकोटको ककनीमा प्रहरीद्वारा बरामद बाघको छाला र दाह्रा, २८ पुस ०६९


अनुदघाटित पाटो

तिब्बतमा जन्मिएका हुन् डिमे । उनका बाबु श्रीकिंगा धेरै अगाडि नेपाल आए । श्रीकिंगाले डिमेलाई समेत नेपाल ल्याए । लामो समय नेपालमै बसोबास गरेपछि श्रीकिंगाले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट अंगीकृत नागरिकता हात पारे । त्यसपछि यो परिवार तिब्बतीबाट नेपाली बन्यो ।

डिमेको बौद्धमा सेरामिक्स, चिनियाँ धुपलगायतका सामानको पसल थियो । प्रहरीले डिमेलाई पक्राउ गरेपछि पसल बन्द छ । श्रीकिंगा भने अहिले पनि बौद्धमा लुचन गेस्टहाउसका मालिक छन् । अस्वाभाविक सम्पत्ति देखिएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले वन कार्यालयसँग सम्पत्ति विवरण मागेको थियो । तर, वन कार्यालयले आलटाल गरिदियो । अभियोगपत्रमा सम्पत्ति छानबिन गर्न विभागमा पठाउने भनिए पनि त्यसबारे जिल्ला वन कार्यालय, पुनरावेदन अदालत कसैले पनि बोलेनन् ।

बरु भारत पुगेपछि उनले त्यहाँ आफ्नो अवैध कारोबार सुरक्षित राख्न सम्बन्धको जालो बनाए । डिमेको अवैध आखेटोपहार बरामद भएको एक साताअघि मात्रै गोरखाको सोतीखोला र केउरेपानीबाट चार अर्ब रुपैयाँ मूल्य बराबरको १ सय ८० किलो प्रतिबन्धित चिरु (तिब्बती जरायो, जसलाई साहतुससमेत भनिन्छ) को रौँ प्रहरीले नियन्त्रणमा लिएको थियो । यो निषेधित वस्तु चीनदेखि भारत पुर्‍याउन लागिएको थियो, नेपालको बाटो भएर । यी चिरु कारोबारीसँग समेत उनको सम्पर्क देखिएको थियो ।

चीनतिर आखेटोपहार पठाउने डिमे र साहतुस तस्करीमा संलग्न व्यक्तिबीच विभिन्न मुलुकका समान मोबाइल नम्बरमा कुराकानी भएको सीआईबीको अनुसन्धानमा देखिएको थियो । भारत, जापान, अमेरिका र चीनमा साहतुस तस्करमा संलग्नहरूको सम्पर्क भएको थियो । ती नम्बरमा डिमेको मोबाइलबाट समेत सम्पर्क गरिएको थियो । विदेशी नम्बर ट्रेस गर्न ती मुलुकले समन्वय नगर्दा यो अनुसन्धान त्यत्तिकै सेलायो । प्रहरीले समेत विस्तारै यो प्रकरण बिर्सियो ।

अर्को तथ्य, साहतुस तस्करीका फरार अभियुक्त र डिमेको गतिविधि एउटै क्षेत्र बौद्धमा देखिनु हो । फरार भएको रुटसमेत मिल्छ, उनीहरूको । चिरु तस्करीका फरार अभियुक्त रिजन वाङदु र छेतेन लुन्डुप लामा घटनालगत्तै भैरहवा हुँदै भारत पसे । त्यसपछि उनीहरू भारतको हिमाञ्चल प्रदेशमा अवस्थित दलाई लामाको धर्मशालामा आश्रय लिन पुगेका थिए । डिमे पनि सोही रुटबाट भारत भासिएको ‘ट्रेस’ चार्ट प्रहरीले उतारेको थियो । डिमे पछि सोही धर्मशाला पुगेको प्रहरीले सूचना पायो ।

डिमे चिरुको अवैध कारोबारमा संलग्न भएको भारतीय सुरक्षा निकायको अभिलेखले समेत पुष्टि गर्छ । वन्यजन्तु अपराध सम्बन्धी भारतीय अनुसन्धान ब्यूरो (डब्लुसीसीबी) ले डिमे चिरु तस्करीमा संलग्न भएको दाबी गरेको छ । डब्लुसीसीबीले तयार पारेको डिमेको प्रोफाइल अनुसार यो दम्पतीले भारतीय राजनीतिक वृत्तदेखि कास्मिरका प्रभावशाली व्यक्तिसँग बलियो सम्बन्ध स्थापना गरेका छन् । ‘यसले उनीहरू साहतुस र वन्यजन्तुको अवैध कारोबारमा संलग्न रहेको संकेत गर्छ, जुन कुरामा उनीहरू दक्ष पनि छन्,’ डब्लुसीसीबीले भनेको छ । कल डिटेल रेकर्ड (सीडीआर) बाट थप सूचना हात पार्ने कोसिस भइरहेको डब्लुसीसीबीको उक्त अभिलेखमा उल्लेख छ ।

नेपालबाट भागेर भारत छिरेपछि डिमे दिल्लीमा अकस्मात उदाए । नोयडा, उत्तर प्रदेशमा भारतीयसँग मिलेर व्यापार बढाएको भन्दै डब्लुसीसीबीले उनका आधा दर्जनभन्दा बढी व्यावसायिक कम्पनीको सूची तयार गरेको छ । फेसन टिभी स्यालुन एन्ड स्पा खोलेपछि डिमे दम्पती दिल्लीको उच्च घरानियाँको वृत्तमा छिरेको उक्त रिपोर्टमा उल्लेख छ । नेपाली सुरक्षा निकायले मात्र होइन, भारतीय सरकारी निकायको अभिलेखले पनि डिमे वन्यजन्तु चोरी, सिकार र कारोबारका अन्तर्राष्ट्रिय गिरोहमा संलग्न भएको हुन सक्ने पर्याप्त आधार देखाएको छ । उद्घाटित आरोपमा त धमाधम उन्मुक्ति पाइरहेका यी प्रभावशाली अभियोगीको अनुद्घाटित पक्षको अनुसन्धान होला ?

प्रकाशित: आश्विन १६, २०७५

ट्याग: विशेष