र्‍यापको पदचाप

- गोकर्ण गौतम

इमिनेमले ‘लुज योरसेल्फ...’ बाट ओस्कार अवार्ड जिते, सन् २००३ मा । ओस्कारको इतिहासमा अवार्ड चुम्ने पहिलो र्‍याप गीत बन्यो त्यो । त्यही गीत ग्रामी अवार्डमा पनि उत्कृष्ट ठहरियो । पश्चिमा समाजमा र्‍याप गीतले प्रतिष्ठा कमाएको यसै छेकोमा एक पत्रकारले निर्णय श्रेष्ठलाई सोधेछन्, ‘नेपाली र्‍याप गीतले कहिले ओस्कार र ग्रामी जित्छ ?’

भर्खरै र्‍याप गाउन सुरु गरेका निर्णयसँग जवाफ थिएन । त्यतिबेला र्‍याप गीत सुन्ने श्रोता असाध्यै कम थिए नै, र्‍यापरको पनि चर्को खडेरी थियो । र्‍यापलाई संगीत नै मानिँदैनथ्यो । एफएम रेडियोदेखि हरेक सञ्चारमाध्यममा ‘निषेध’ जस्तै थियो । ‘र्‍यापर्स युनियन’ का संस्थापकसमेत रहेका निर्णय ती दिन सम्झँदै भन्छन्, “मलाई पहिले र्‍याप गीत सबैले बुझ्ने र सुन्ने बनाउनुपर्छ भन्ने लाग्यो ।”

त्यही सोचको परिणाम थियो, ‘दिन पनि बित्यो, रात पनि बित्यो...’ । तामाङ सेलोको बिटमा र्‍याप गाए । नभन्दै राजधानी र मुख्य सहरका एकाध श्रोतामा सीमित र्‍यापलाई व्यापकता दिलाउन यस गीतले उल्लेख्य भूमिका खेल्यो । यसको लोकप्रियताबाट प्रभावित भएर निर्णयले एल्बम नै निकाले, नेपाली टच । अर्थात्, र्‍यापमा नेपालीपन ।

डेढ दशक बित्यो । नेपाली र्‍यापले छलाङ मार्‍यो त ? निर्णयलाई त्यही प्रश्न सोधियो । केही बेर सोचे अनि जवाफ फर्काए, “छलाङ नै भन्न मिल्दैन । कम्तीमा र्‍यापलाई संगीत मान्न थालिएको छ, र्‍यापरलाई पहिलेजस्तो हेय दृष्टिले हेरिन्न । यो पनि उपलब्धि नै हो । तर, गर्न अझ धेरै बाँकी छ ।” र्‍याप गीतको लोकप्रियताको दायरा अनि र्‍यापरको पेसागत प्रगति र निरन्तरतालाई केलाउने हो भने निर्णयको पछिल्लो वाक्य ज्यादा तथ्यपरक छ । आज पनि र्‍याप गीत अस्तित्वकै लडाइँमा रहेको तीतो–सत्य हो । नेपाली र्‍याप संगीतको यात्रा दुई दशक कटेको छ । तर, हामीसँग औँलामा गन्न सकिने केही र्‍यापर मात्र छन् ।

नेपाली टच  एल्बम निकाल्नु चार वर्ष पहिल्यै निर्णयले फर यु अल  नामक र्‍याप एल्बम निकालिसकेका थिए । त्यसमा अंग्रेजी गीत मात्र थिए । र्‍याप, त्यसमाथि अंग्रेजी, दायरा औधि साँघुरो भइहाल्यो । बरु त्यसअगाडि र्‍याप गाएर चर्चा बटुलिसकेका थिए, गिरीश खतिवडाले । नेपाली र्‍यापको प्रणेता मानिने गिरीशले गाएको पहिलो गीत थियो, ‘यो हो मिनिङलेस र्‍याप...’ ।

काठमाडौँको एलआरआई स्कुलमा पढेका गिरीशले एसएलसीअगावै गीत रेकर्ड गरिसकेका थिए । पप गीत नपच्ने बेला र्‍याप गाउँदा छि:छि: दूरदूर त कत्ति हो कत्ति, तर कहिल्यै हतोत्साही भएनन् । र्‍यापलाई निरन्तरता दिइरहेका गिरीश भन्छन्, “त्यतिबेला मलाई र्‍यापको नसा लागिसकेको थियो । त्यही भएर कसले के भन्छ, बालै दिइनँ । बरु विदेशी र्‍यापरका लुक्स र स्टाइल पछ्याउन थालेँ ।” गिरीश र प्रनिल एल तिमिल्सिनाको जोडी ‘जिपी’ का गीतहरु नेपाली र्‍यापको ‘माइलस्टोन’ मानिन्छन् । ‘मलाई भोट दे...’ जस्ता आक्रोशले भरिएका गीत गिरीशको चिनारी बन्यो । ‘म यस्तो छु...’ बाट उत्तिकै लोकप्रियता कमाए ।

खासमा र्‍याप भनेकै स्वतन्त्रताको खोजी हो । गोराहरुले कालामाथि थिचोमिचो गरेपछि स्वछन्द शैलीमा गाउने संगीतको यो विधा जन्मिएको थियो, जसमा कलाकारले निर्धक्कसँग आफूलाई लागेको कुरा गाउन सक्छन् । गिरीशले नेपालमा र्‍यापको यही मर्म आत्मसात् नगरेका होइनन् । तर, समस्या उही, र्‍याप जति छिटोछिटो गाइन्छ, त्यही दु्रत गतिमा नेपालमा विकास र विस्तार भएको देखिन्न । लामो समयदेखि एफएममा र्‍याप गीत सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएका निर्णय भन्छन्, “प्रभावकारी प्लेटफर्म र अवसर अभावले पनि र्‍यापरले फड्को मार्न नसकेको हुनुपर्छ ।” तर, यही दुई दशकको अवधिमा यस्तो समय पनि आयो, जतिबेला हरेक गीतमा र्‍याप हुनैपथ्र्यो । कतिसम्म भने लोकगीतमा समेत र्‍याप घुसाइयो ।

त्यो स्वर्ण समय हो, सन् २००३ देखि ००७ सम्म । जतिबेला गिरीशका गीतबाहेक निर्णयका ‘हाम्रो गाउँले जीवन...’, ‘म नेपाली...’ जस्ता गीत हटकेक बने । त्यही बेला म्याडजोन, नेप्साइडेजजस्ता र्‍याप समूह जन्मिए । र्‍यापर अरोज र डिजे एजेले ‘अन्डरग्राउन्ड हिपहप मुभमेन्ट’ नै सुरु गरे । केही समयपछि सुदीन पोखरेल (डीए ६८), एड्रे, लेजी ब्वाईलगायतका र्‍यापरहरुले लोकप्रियता कमाए । फिमेल र्‍यापरहरु याङजी र मेरी डी देखापरे । निर्णयको ‘ब्रिङ द हाउस डाउन’ नामक रेडियो कार्यक्रम नयाँ र्‍यापरका लागि प्रतिभा देखाउने थलो बन्यो ।



तिनताका र्‍यापरलाई देशका विभिन्न सहरमा हुने कन्सर्टमा भ्याइनभ्याई हुन्थ्यो । र्‍याप गाएरै बाँच्ने स्थिति बन्दै थियो । तर, त्यही बेला रिमिक्स गीतको हालीमुहाली सुरु भयो । र्‍याप र र्‍यापर ओझेल पर्न थाले । अर्थात्, नेपाली र्‍यापको दोस्रो पुस्ता लामो समय टिक्न सकेन । निर्णय भन्छन्, “र्‍यापर आउने–जाने क्रमले त्यतिबेला खुब तीव्रता पायो । भविष्य नदेखेर वा अन्य व्यक्तिगत कारणले यस्तो भएको हुन सक्छ ।” गिरीश अध्ययनका लागि अमेरिका गएको समय पनि यही हो ।

जब अनिल अधिकारी (यमबुद्ध) को प्रवेश भयो, नेपाली र्‍यापमा फेरि उत्साह छायो । ‘साथी...’ गीतबाट बलियो खुट्किला राखेका यमबुद्धले नेपाली र्‍यापको परिदृश्य नै बदले । र्‍याप गाउने र सुन्ने माझ मात्र होइन, बाहिरी सर्कलमा पनि ‘आइडल’ बने । “यमबुद्ध र उनले सुरु गरेको र्‍याप ब्याटल नेपाली र्‍यापका उल्लेखनीय उपलब्धि हुन्,” कन्सर्टका लागि दक्षिण कोरिया पुगेका गिरीश भन्छन्, “त्यही बेला व्यापकता पाएको युट्युब र इन्टरनेटको सहज पहुँच वरदान साबित भयो ।”

अर्थात्, मूलधारको मिडियाबिनै पनि र्‍याप गीत हिपहपप्रेमीसम्म पुग्यो । माध्यमको अभावमा र्‍यापरहरु खुम्चिनु परे पनि यमबुद्धले नयाँ र्‍यापर जन्माउने प्रभावकारी अस्त्र बनाए । उनले सुरु गरेको ‘र बार्ज’ बाटै हो, बालेन, युनिक पोयट, साकारजस्ता प्रतिभाशाली र्‍यापर जन्मिएका । फ्रि–स्टाइल र्‍यापले व्यापकता पायो, रेकर्डिङ गर्दै युट्युबबाट रिलिज गर्ने लहर छायो । भनुँ न, यमबुद्ध र युट्युबका कारण नेपाली र्‍यापमा नयाँ ‘भाइब्स’ आयो ।

यमबुद्धका कति सपना पूरा भए, कति बाँकी थिए । उनीसँग पछिल्लो पुस्ताले ठूलो आडभरोसा राखेको थियो । तर, एक्कासि बज्रपात आइलाग्यो, ३ फागुन ०७३ मा यमबुद्ध सदाका लागि बिदा भए । लन्डनमा नियमित बस्न थालेका यी र्‍यापर आफ्नै कोठामा मृत फेला परे । र, सन्नाटा छायो नेपाली र्‍यापमा । कति र्‍यापरहरु ‘फ्रस्टेसन’ को सिकार भए । यो समय चर्चामा रहेका र्‍यापर समिर घिसिङ उर्फ भिटेन भन्छन्, “यमबुद्ध दाइको बिदाइले निकै चोट दियो । तर, त्यो शोकलाई शक्तिमा बदल्ने प्रयास गरिरहेका छौँ ।”

‘हालखबर...’ जस्ता हिट गीतका धनी भिटेन यतिबेला कन्सर्टका लागि अस्ट्रेलिया पुगेका छन् । उनलाई जस्तै भ्याइनभ्याई छ, अर्का र्‍यापर आशीष राना उर्फ लाउरेलाई पनि । फिल्म अभिनय, रियालिटी सो, विज्ञापन चारैतिर लाउरेको माग छ । लाउरे र भिटेनलाई नेपाली र्‍यापलाई टिकाउने ‘खम्बा’ मानिन्छ ।

धीमा गतिमा सही, र्‍यापमा सुखद संकेत देखापरिरहेका छन् । गिरीशकै शब्दमा, र्‍याप गाएर फरारी चढ्ने हैसियत बनाउन नसके पनि सामान्य गाडी चढ्न सकिने अवस्था बनेको छ । कम्तीमा आफ्नो कला पस्कन युट्युब  छ, कसैको भर पर्नुपर्दैन । तर, यति उपलब्धिमै दंग पर्ने अवस्था छ त ? “छैन तर निराश पनि हुनुपर्दैन । र्‍यापमा नेपाली पनको खाँचो छ, र्‍यापरमा लगावको,” नयाँ एल्बमको तयारीमा जुटेका निर्णय भन्छन्, “र्‍यापमा मादल, डम्फु, सारंगी, बाँसुरीजस्ता मौलिक बाजा बजाइयो भने सबैले आत्मसात् गर्न सक्छन् । अहिले त्यसकै खाँचो छ ।”

प्रकाशित: आश्विन १५, २०७५