बंगबन्धु गोल्डकप : टोली पुरानै

- पवन आचार्य

सन् २०१६ मा बंगलादेशको ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा बहराइनको यू–२३ टोलीलाई हराएर नेपालले बंगबन्धु गोल्डकपको उपाधि उचालेपछि नेपाली फुटबलको स्वर्णिम युग सुरु भएको थियो । किनभने, त्यसपछि नेपालले १२औँ दक्षिण एसियाली खेलकुद (यू–२३) मा स्वर्ण र एएफसी सोलिडारिटी कपको उपाधि उचाल्यो ।

एसियाली फुटबल महासंघले एसियन कपमा छनोट हुन असफल राष्ट्रहरूबीच सोलिडारिटी कप खेलाएको थियो । बंगबन्धुको चौथो संस्करणको उपाधि उचालेको ११ महिनामा थप २ वटा अन्तर्राष्ट्रिय उपाधि चुम्नु नेपाली फुटबलकै ऐतिहासिक उपलब्धि थियो । तर, त्यसयता नेपाली फुटबलले आफ्नो लय गुमाउँदै गएको छ । बंगबन्धु गोल्डकपको दोस्रो सहभागितामा १७ वर्षपछि फुटबलमा उपाधि उचालेको नेपाल साफ सुजुकी कपको सेमिफाइनलबाटै बाहिरियो । सन् १९९९ मा भएको प्रतियोगिताको दोस्रो संस्करणमा नेपाल समूहको दुवै खेलमा पराजित हुँदै घर फर्केको थियो ।

अघिल्लो संस्करणमा नेपालले खेलेका ५ मध्ये ३ वटा स्पर्धा मात्रै अन्तर्राष्ट्रिय थिए । मलेसियाली क्लब फेल्डा युनाइटेड र बहराइनको टोली २३ वर्षमुनिको भएकाले अन्तर्राष्ट्रिय मान्यता पाएनन् । समूह चरणमा नेपालले गत संस्करणमा श्रीलंकालाई १–० ले हराएको थियो । फेल्डा युनाइटेड र बंगलादेशको राष्ट्रिय टोलीसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको नेपाल उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । सेमिफाइनलमा मालदिभ्सलाई ४–१ ले पराजित गर्दा नवयुग श्रेष्ठले ह्याट्रिक गरे । थप गोल विशाल राईको नाममा रह्यो । फाइनलमा पनि नेपाली टोलीले बहराइनको २३ वर्षमुनिको टोलीलाई ३–० ले हरायो । विमल घर्तीमगर, नवयुग र विशालले गोल गरेपछि नेपाल च्याम्पियन बनेको थियो । साथै, फुटबलमा लामो समय कायम उपाधिको खडेरी पनि तोडेको थियो ।

कठिन समूहको सकस

१५ असोजदेखि बंगलादेशका विभिन्न सहर सिलेट, ढाका र कक्स बजारमा हुने बंगबन्धु गोल्डकपको यसपटक कठिन समूहमा छ, नेपाल । नेपाल रहेको समूह एमा प्यालेस्टाइन र ताजकिस्तान छन् । फिफा वरीयतामा दुवै नेपालभन्दा माथि छन् । प्यालेस्टाइन १००औँ र ताजकिस्तान १ सय २०औँ स्थानमा छ । पछिल्लो वरीयतामा १ स्थान सुधारेको नेपाल १ सय ६०औँ स्थानमा छ । नेपालले यसअघि एसियन कपको छनोटमा ताजकिस्तानसँग दुवै खेल हारेको छ । ताजकिस्तानको घरेलु मैदानमा ३–० ले नतिजा सुम्पेको नेपालले गृहमैदानमा २–१ को हार बेहारेको थियो । विमल घर्ती मगरले ताजकिस्तानविरुद्ध गोल गरेका थिए ।

नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जन पनि यसपटकको चुनौती कठिन भएको स्वीकार्छन् । भन्छन्, “अघिल्लो पटकभन्दा यसपटक स्तरीय टोली छन् । सबैको राष्ट्रिय टोली आउने भएकाले दोस्रो चरण प्रवेशलाई हामीले लक्ष्य बनाएका छौँ ।”

डिफेन्डिङ च्याम्पियनको हैसियतले ढाका पुग्दा फुटबल समर्थकले नेपाली टोलीबाट सोही अनुसारको प्रदर्शन अपेक्षा गरेका छन् । तर, प्रशिक्षक महर्जन दर्शकको अपेक्षाले दबाब नबढाउने बताउँछन् । “डिफेन्डिङ च्याम्पियन भएकाले टिमबाट राम्रो प्रदर्शन आश गर्नु स्वाभाविक हो । साफ च्याम्पियनसिपमा नेपाली टोलीको प्रदर्शनबाट निराश भएका दर्शकलाई थप निराश नपार्ने योजनामा हामी छौँ,” महर्जन भन्छन् ।

अघिल्लो संस्करणको बंगबन्धु गोल्डकप जित्दाका नेपाली टोली सदस्य विक्रम लामा नेपाली टोलीमा पछिल्लो समय सामूहिक भावनाको कमी देख्छन् । आफूभन्दा बलिया प्रतिद्वन्द्वीसँग स्पर्धा गर्दा टिम गेम नभए हार्नुको विकल्प नभएको उनी बताउँछन् । “साफ च्याम्पियनसिपको नेपालको प्रदर्शनलाई आधार मान्ने हो भने हामी टिमका रूपमा खेलिरहेका छैनौँ,” उनी थप्छन्, “हाम्रा खेलाडीहरू प्रतिभाशाली छन् । प्राविधिक रूपमा पनि राम्रा छन् । तर, सामूहिक भावनाको कमी छ ।’

बंगबन्धुको उपाधि रक्षा गर्नुभन्दा पनि साफ च्याम्पियनसिपमा नेपाली टिमले गुमाएको शाखलाई फर्काउने योजना बुन्नुपर्नेमा उनको जोड छ । अघिल्लो पटकको सेमिफाइनलमा मालदिभ्सलाई ४–१ ले हराएको नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलमा ३–० ले पराजित भएको थियो । त्यसैले गिर्दो शाखलाई जोगाउने अवसरका रूपमा बंगबन्धुलाई लिन उनी सुझाउँछन् ।

नेपाली फुटबल टोलीमा अधिकांश खेलाडी बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिप खेलेका छन् । गोलरक्षकमा किरण चेम्जोङ र एट्याकिङ मिडफिल्डर रोहित चन्द यसपटक टिममा अटाएका छैनन् । किरणको स्थानमा विशाल श्रेष्ठ र रोहितलाई तेज तामाङले विस्थापित गरेका छन् । किरण व्यावसायिक खेलका लागि मालदिभ्समा र रोहित इन्डोनेसियामा छन् । भरपर्दा दुई खेलाडीको अनुपस्थितिले नेपाली टिमको हौसलामा केही कमी आउने भए पनि त्यसले प्रदर्शनमा खासै फरक नपार्ने प्रशिक्षक महर्जनको दाबी छ । “उनीहरू दुवै सिनियर र भरपर्दा खेलाडी हुन् । त्यसैले अनुपस्थितिले केही फरक त पार्छ । तर, असर भने गर्दैन । टिममा रहेका अन्य खेलाडी पनि योग्य छन् ।” साफ च्याम्पियनसिपको अनुभव  र कमीकमजोरीबारे सबै खेलाडी ज्ञात रहेकाले पनि केही खेलाडीको अनुपस्थितिले फरक नपार्ने उनको तर्क छ ।

साफ च्याम्पियनसिपमा नचलेको नेपालको मिडफिल्ड र रक्षापंक्तिलाई सुधार्नु प्रशिक्षक महर्जनको चुनौती छ । सोही प्रतियोगिताका बेला बढी आत्मविश्वासी भएकाले बेहोर्नुपरेको नतिजामा सुधारको खाँचो पनि उत्तिकै छ । नेपाली टोलीका भरपर्दा मिडफिल्डर विक्रम लामा भन्छन्, “हारजित आफ्नो ठाउँमा छ । अघिल्ला गल्ती र कमजोरीलाई मात्रै सुधार्न सकियो भने सेमिफाइनल प्रवेश कठिन हुने छैन ।” तर, त्यसका लागि नेपाली टोलीमा जितको भोक र टिम स्पिरिटको खाँचो उनी औँल्याउँछन् ।

द्विविधाबीच सहभागिता

नेपालले बंगबन्धु खेल्ने/नखेल्ने भन्नेमै द्विविधा थियो । अघिल्लो संस्करण जित्दा नेपालले पुरस्कारबापत ५० हजार अमेरिकी डलर प्राप्त गर्नुपर्ने थियो । तर, आयोजक बंगलादेश फुटबल महासंघले त्यतिबेला नेपाललाई पुरस्कारको आधा रकम २५ हजार अमेरिकी डलर मात्र उपलब्ध गराएको थियो । बंगलादेशी प्रधानमन्त्रीको हातबाट विजेता नेपाली टिमका कप्तान विराज महर्जनले त्यतिबेला २५ हजार डलर र ट्रफी मात्रै थापेका थिए । नेपालले पुरस्कारबापतको बाँकी रकम प्राप्त नभएसम्म बंगबन्धुमा सहभागिता जनाउन नसक्ने बेहोराको पत्र बंगलादेश फुटबल महासंघलाई पठाएको थियो । गत ७ असोजमा बंगलादेशबाट बाँकी रकम प्राप्त भएसँगै अन्तिम समयमा नेपालले पाँचौँ संस्करणको बंगबन्धु कप खेल्ने निश्चित भएको थियो ।

बंगबन्धुको सहभागिताबारे अन्योलका बीच नेपाली टोलीले अभ्यास भने जारी राखेको थियो । ९ असोजबाट राष्ट्रिय टोलीले बन्द प्रशिक्षण थाले पनि खेलाडीहरू क्लबबाट नियमित अभ्यासमा रहेको प्रशिक्षक महर्जनको भनाइ छ । “साफ च्याम्पियनसिप खेलेर आएदेखि नै खेलाडीहरू नियमित अभ्यासमा छन् । सँगै प्रशिक्षण गर्न नपाए पनि सहिद स्मारक ए डिभिजन लिगका लागि खेलाडीहरू क्लबको प्रशिक्षणमा रहेकाले तयारी कम भन्न मिल्दैन,” उनी भन्छन् ।

साफ च्याम्पियनसिपका लागि घाँसेमैदानमा प्रशिक्षण गर्न नपाएको भन्ने खेलाडीको गुनासो सम्बोधनका लागि एन्फाले यसपटक नेपाली टोलीको प्रशिक्षण हल्चोकस्थित सशस्त्र प्रहरीको मैदानमा गराएको छ । त्यसभन्दा पहिले नेपाली टोलीको प्रशिक्षण सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको कृत्रिम मैदानमा हुँदै आएको थियो ।

नेपाली राष्ट्रिय टोलीको पछिल्लो फर्मलाई आधार मान्ने हो भने टोली बंगबन्धुको उपाधि रक्षा गर्ने तागत राख्दैन । लामो समय घरेलु लिग नहुनुको पीडा अहिले राष्ट्रिय टोलीमा देख्न सकिन्छ । त्यसबाहेक पनि अघिल्लो संस्करणको बंगबन्धु गोल्डकप जितेयता प्राप्त उपलब्धि र म्याच एक्सपोजरको लेखाजोखा गर्ने हो भने पनि नेपाल चुक्दै आएको छ । नेपालमा बिस्तारै फुटबल ट्रयाकमा आउँदै छ भनेर देखाउन पनि टोलीले बंगबन्धु गोल्डकपमा राम्रो प्रदर्शन गर्न आवश्यक छ । किनभने, बंगलादेशको भूमिमा नेपालले यसअघि साफ च्याम्पियनसिपमा बेहोरेको हारमा मलह्म लगाउन पनि आफूभन्दा बलिया प्रतिद्वन्द्वीलाई कडा टक्कर दिनु श्रेयस्कर हुन्छ । नेपाली टोलीले अहिलेकै अवस्थामा उपाधि रक्षा गर्नु भनेको फलामको चिउरा चपाएसरह हो ।

प्रकाशित: आश्विन १५, २०७५