मन्टो माने नवाजुद्दिन

- नेपाल संवाददाता

उर्दू भाषाका सिद्धहस्त लेखक हुन्, सादत हसन मन्टो । ब्रिटिस इन्डियामा जन्मिए, उपनिवेशमुक्त भएपछि मन्टो पाकिस्तानतिर परे । जम्मा ४२ वर्ष बाँचेर १९५२ मा बिदा भए । तर, मन्टोका छोटा कथाहरु आज पनि उत्तिकै सान्दर्भिक मानिन्छन् । तत्कालीन समयमा उनी यस्ता विषयहरुमा बुलन्द लेखनी पस्कन्थे, जसबारे मान्छेहरु सामान्य गफ गर्न पनि हच्किन्थे । उनलाई ६ पटक अपराधी ठहराउने प्रयास गरियो । तर, कहिल्यै सफल भएनन्, तत्कालीन शासक । यिनै महान् व्यक्तित्वको जीवनीमाथि नन्दिता दासले फिल्म बनाएकी छन्, मन्टो । अनि, मन्टोको भूमिकामा छन्, नवाजुद्दिन सिद्धिकी । ५ असोजमा प्रदर्शित यस फिल्मबारे अनलाइन पत्रिका द वायरमा प्रोफेसर शाह अलाम खान लेख्छन्, ‘मन्टो हेर्न मात्र होइन, हेरिसकेपछि सम्झनालायक पनि छ ।’ 

भारतमा प्रदर्शनअगावै मन्टोले विदेशी फिल्म फेस्टिभलमा वाहवाही बटुलिसकेको थियो । यसको प्रिमियर नै प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा भएको थियो । सुरुमा मन्टोकै बारेमा नन्दिताले बनाएको सर्ट फिल्म इन डिफेन्स अफ फ्रिडमको मुख्य भूमिकामा नवाजुद्दिन नै थिए । उनीहरु मन्टोको जीवन र लेखनबाट कति प्रभावित भए भने फिचर फिल्म बनाउन कम्मर कसेर लागे । अझ रमाइलो पक्षचाहिँ महँगा अभिनेतामा दरिने नवाजुद्दिन सिद्धिकीले मन्टोबाट मात्र भारु एक रुपैयाँ पारिश्रमिक लिएका थिए ।

 

किन ? भन्छन्, “यति सशक्त फिल्म र प्रेरणादायी चरित्रमा विरलै काम गर्न पाइन्छ । त्यसैले मलाई जसरी पनि मन्टो गर्नु थियो, पैसालाई हेरिनँ ।” 

यसअघि फिराक बनाएर देश/विदेशमा ख्याति कमाएकी नन्दिता दासले मन्टोका लागि झन्डै पाँच वर्ष खर्चिएकी छन् । मन्टोका साथीभाइ, परिवार, लेखन कला, जीवनशैलीको अध्ययन गर्नै अढाई वर्ष लाग्यो । अभिनेत्रीसमेत रहेकी नन्दिता भन्छिन्, “यो फिल्मको मुख्य उद्देश्य नै मन्टोजस्ता साहसिक लेखक र स्वतन्त्र अधिकारकर्मी हाम्रै देशमा थिए भनेर जानकारी गराउनु हो ।” नन्दिता यसो किन भनिरहेकी छन् भने निडर स्वभावका कारण मन्टोलाई तत्कालीन समयमा ‘समाज विरोधी’ का रुपमा चित्रित गरिएको थियो । तर, मृत्युपछि उनको महिमागान गाइयो ।

 

प्रकाशित: आश्विन १५, २०७५