के भएको हो प्रचण्डपत्नीलाई ?

- जनक नेपाल

पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक वर्षदेखि पारिवारिक तनावमा छन् । पुत्रवियोगको शोकमा जीवनसंगिनी सीताको रोग थपिएको छ । उनको हेरचाह र उपचारमा ध्यान दिनुपर्दा नेपाली राजनीतिका चलायमान नेता प्रचण्डको परिधि नै खुम्चिएको छ ।

आठ महिनादेखि थलिएकी छन्, सीता । १० असोजमा सिंगापुरमा उपचार फलोअपका लागि उनीसँग छोरी गंगा र भतिज समिर मात्रै जाने तयारी थियो । तर, सीताले प्रचण्डलाई पनि लैजान जोडबल गरिन् । र, पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसमेत देशबाहिर रहेका बेला उनी पार्टीका तल्ला कमिटी एकीकरणको व्यस्तता छाडेर पत्नीको उपचारमा सिंगापुर जानुपर्‍यो । ३० भदौमा चीन भ्रमणमा जाँदासमेत प्रचण्डले पत्नी सीता, छोरी र नातिनातिना सँगै लग्नुपरेको थियो । पारिवारिक स्रोत भन्छ, “पत्नीको बिरामी अवस्थाले अध्यक्ष प्रचण्डलाई पहिलेजस्तो राजनीतिक सक्रियता मुस्किल भइरहेको छ ।”

०७४ को दसैँअघि सीता पहिलोपल्ट गम्भीर बिरामी परेकी थिइन् । शारीरिक सन्तुलन गुमाएर हिँड्डुल गर्नै मुस्किल भएपछि उनलाई तत्काल थापाथलीस्थित नर्भिक अस्पताल लगियो । केही दिनको उपचारपछि स्वास्थ्यमा केही सुधार आए पनि रोग पत्ता नलागेको छोरी रेणु दाहाल बताउँछिन् । उनलाई शंकाकै भरमा औषधी चलाएर घर फर्काइयो ।

लगत्तै, प्रदेश तथा संघीय चुनावमा सक्रिय हुनु परेपछि प्रचण्ड परिवारले सीताको उपचारमा ध्यान दिन सकेन । अरू बेला पतिसँगै हिँड्ने उनी घरमै बसिन् । बुबाको चुनावी प्रचारमा नगई उनकै हेरचाहका लागि घरमा बसेका एक्ला छोरा प्रकाशको ३ मंसिर ०७४ मा अकल्पनीय निधन भएपछि सीता थप विक्षिप्त भइन् ।

भाइको निधनपछि आमालाई रोगले झन् च्याप्दै लगेको छोरी रेणु बताउँछिन् । भन्छिन्, “ममी आफैँलाई धान्न नसक्ने स्थितिमा पुग्नुभयो । शौचालय जाँदासमेत साथी चाहिने भयो ।”

व्यथाले च्याप्दै जाँदा सीता थुप्रै पटक शौचालय र कोठामा मात्रै लडिनन्, सहयोगीबिना सामान्य हिँड्डुल पनि गर्न नसक्ने अवस्थामा पुगिन् । सुरुमा परिवारकै सदस्यले पनि पुत्रवियोगका कारण बेसुरा भएको ठाने । तर, शारीरिक असन्तुलन बढ्दै जाने र हिँड्न नसकेर लड्ने लक्षण देखिएपछि ३० पुसमा उनी पुन: नर्भिक अस्पताल भर्ना भइन् । त्यहाँका चिकित्सकहरूले तत्कालै नयाँ दिल्ली रेफर गरिदिए ।

छोरी रेणुले सीतालाई १ माघमा मेदान्त अस्पताल भर्ना गराइन् । भारतीय न्युरो चिकित्सकले लक्षण अनुसार अल्जाइमर्स भएको ठानेर औषधी चलाए । तर, त्यसको साइड इफेक्टले रोग निको हुनुको सट्टा झन् बल्झिँदै गयो । रेणु भन्छिन्, “केही दिन सुधार भएझैँ भयो । तर, रोग पहिचान नगरेरै गलत औषधी चलाएको पछि मात्र पत्ता लाग्यो ।” मेदान्तपछि घर फर्काइएकी सीतालाई न्युरो चिकित्सककै सल्लाहमा ४ असारमा सिंगापुर लगियो ।

सिंगापुरस्थित एमटी एलिजावेथ अस्पतालले काठमाडौँको नर्भिक र नयाँ दिल्लीको मेदान्तका डाइग्नोसिसलाई गलत भनिदियो । त्यहाँका न्युरो विशेषज्ञले प्रचण्डपत्नी सीतालाई लागेको रोग प्रोगेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) पुष्टि गरे । यो रोगका प्रारम्भिक लक्षण पार्किन्सन्स र अल्जाइमर्ससँग मिल्दाजुल्दा भएकाले डाइग्नोसिसमा नेपाल र भारतका न्युरो चिकित्सकले झुक्किएर गलत औषधी चलाएका थिए ।

शिक्षण अस्पताल महाराजगन्जका प्रोफेसर डा जगदीश अग्रवाल राम्ररी डाइग्नोसिस नगरी औषधी चलाउँदा साइड इफेक्टले यो रोग झन् बल्झिने बताउँछन् । भन्छन्, “न्युरो सम्बन्धी पचासौँ रोग छन् । बेलैमा पहिचान र उपचार नपाए बिरामीले धेरै दु:ख पाउँछन् ।”

प्रचण्ड स्वयं १३ दिन सिंगापुरमै पत्नीको उपचार गराएर १७ असारमा स्वदेश फर्किए । एमटी एलिजावेथ अस्पतालले चलाएको औषधीले तीन महिनामा सीताको स्वास्थ्यमा केही सुधार आएको छ । नेपाल फर्किएपछि पनि सीताले औषधीसँगै पर्याप्त व्यायाम र वाटर थेरापी गरिन् । अस्पतालले वाटर थेरापी सिकाएरै पठाएको थियो । “तीन महिनापछि फलोअपका लागि बोलाएको थियो । औषधी पनि नेपालमा नपाइने रहेछ,” सीतासँगै सिंगापुर पुगेकी छोरी गंगा भन्छिन्, “फलोअप जाँच भएकाले यसपटक धेरै बस्नु नपर्ला ।”

शारीरिक सन्तुलनमा समस्या भए पनि सीतामा बेसुरे, जथाभावी बोल्ने वा धेरै बिर्सनेजस्ता समस्या कमै छन् । धेरैले उनको अनुहारमा हराएको मुस्कानलाई पनि रोगकै लक्षणका रूपमा लिने गरेका छन् । तर, छोरी रेणु भने आफ्नी आमा धेरै हँसिमजाक गर्ने स्वभावकी नभएको बताउँछिन् । भन्छिन्, “पहिल्यैदेखि ममीको अलि रिजर्भ स्वभाव हो । खासै हँसिमजाक गर्ने बानी छैन । भाइप्रति उहाँको धेरै भरोसा थियो । असामयिक निधनको घटनापछि स्तब्ध हुनुभएको छ ।”

०११ मा जन्मिएका प्रचण्ड र सीता दुवै १५ वर्षका हुँदा ०२६ मा वैवाहिक सम्बन्धमा गाँसिएका थिए । ११ वर्षे माओवादी ‘जनयुद्ध’ मा पनि सीता प्रचण्डसँगै भूमिगत भइन् । शान्ति प्रक्रियामा आएपछि दम्पतीमा नै उच्च रक्तचाप र मधुमेह देखियो । ०७० असारमा स्तन क्यान्सरको आशंकामा सीताको सिंगापुरमै स्वास्थ्य जाँच गरिएको थियो । क्यान्सर होइन, उनलाई अर्कै रोगले भित्रभित्रै च्याप्दै लगेको रहेछ । त्यो रोग उनका कमजोरी ठानिएका पुत्र प्रकाशको असामयिक निधनले बल्झियो ।   १३ चैत ०७० मा क्यान्सरबाट जेठी छोरी ज्ञानुको निधनले प्रचण्ड परिवार त्यसै पनि पीडामै थियो ।


के हो पीएसपी ?

चिकित्सकका अनुसार प्रचण्डपत्नी सीतालाई लागेको रोग प्रोगेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) हो । यो मस्तिष्कमा लाग्ने रोग हो । यसका सुरुआती लक्षण अल्जाइमर्स र पार्किन्सन्सजस्तै लाग्छन् ।

न्युरो चिकित्सकहरूको अन्तर्राष्ट्रिय संगठन वल्र्ड फेडेरेसन अफ न्युरोलोजीका अनुसार पीएसपीका बिरामीले शारीरिक सन्तुलन गुमाई पछाडितर्फ लड्ने, पुराना कुरा बिर्सने र शरीर अररो हुनेजस्ता लक्षण देखाउँछन् ।

स्नायुकोषले डोपामाइन रसायन उत्पादन गर्छ । यसको काम मस्तिष्कमा आवश्यक संकेत वा निर्देशन पठाई मांसपेशीको गति नियन्त्रण गर्नु हो । पीएसपी भएपछि डोपामाइन उत्पादन बन्द भई स्नायुकोष निस्क्रिय हुने भएकाले शरीर कडा हुने, काम्ने, सुस्तपन आउने र असन्तुलित भई हिँड्डुल गर्न कठिनाइ हुन्छ । मस्तिष्कका काममा अवरोधपछि मांसपेशीको चाल प्रभावित भई हिँड्दा हुत्तिने हुन्छ । त्यस्ता बिरामीलाई निहुरिएर हेर्न वा काम गर्न गाह्रो हुन्छ । आँखाको दृष्टिमा असर भई बिरामीले दायाँबायाँ हेर्न सक्छ तर तलमाथि हेर्न सक्दैन । “शरीर अररो हुँदै जान्छ । केही बिरामीमा डिप्रेसनसमेत पैदा हुन्छ,” प्रोफेसर डा जगदीश अग्रवाल भन्छन्, “पीएसपी निको नहुने दीर्घरोग हो । तर, पारिवारिक हेरचाह र आत्मबलले बिरामीलाई फाइदा पुग्छ ।”

चिकित्सकहरू पीएसपीको औषधीले केही वर्षका लागि मात्र प्रभावकारी काम गर्ने दाबी गर्छन् । तर, नियमित औषधी, व्यायाम र सन्तुलित आहारले बिरामीको आयु बढाउन सकिने उनीहरूको राय छ । नेपालमा पीएसपीका बिरामी कति छन्, स्वास्थ्य मन्त्रालयसँग कुनै तथ्यांक छैन । तर, पछिल्ला केही वर्षयता संख्या बढिरहेको चिकित्सकहरूको अनुभव छ ।

प्रकाशित: आश्विन १४, २०७५