झारा टार्ने लिग

- पवन आचार्य

ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा)  सभाहलमा १३ असोजबाट सुरु हुने सहिद स्मारक ए डिभिजन लिगको खेलतालिका सार्वजनिक हुँदै थियो । झन्डै आधा दशकपछि हुन लागेको लिगलाई लिएर सहभागी १४ वटै क्लबका प्रतिनिधि उत्साही थिए । ड्र सार्वजनिक हुँदा १३ असोजमा  हुने उद्घाटन खेलमा सेनाको त्रिभुवन आर्मी क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा तय भयो । लगत्तै मन्तव्य दिने क्रममा लिगका टेक्निकल डाइरेक्टर सञ्जीव मिश्रले उद्घाटन खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा अपराह्न ३ बजे हुने तर त्यसपछिका खेल नेपाली राष्ट्रिय टोलीले बंगलादेशमा बंगबन्धु कप अन्तर्राष्ट्रिय फुटबलमा जनाउने सहभागितामा भर पर्ने बताए । यदि नेपालले बंगबन्धुमा भाग लिए लिग तालिका परिवर्तन हुने मिश्रको भनाइको क्लबका प्रतिनिधिहरूले प्रतिवाद गरे । पछि मिश्रले आफूहरूको काम टाइसिट ड्र गर्ने मात्रै भएको र लिगबारे अन्तिम र आधिकारिक निर्णय गर्ने अधिकार एन्फा कार्यसमितिमा रहेको बताएर उनीहरूलाई थामथुम पार्ने प्रयास गरे । लामो समयपछि हुन लागेको लिगमा देखिएको बेथितिको यो मात्रै उदाहरण होइन ।

लिग उद्घाटन खेलमा सहभागिता जनाउने त्रिभुवन आर्मीका ४ खेलाडी हाल राष्ट्रिय टोलीमा छन् । गोलरक्षक विकेश कुथु, डिफेन्डर सुमन अर्यालसँगै फरवार्डद्वय भरत खवास र नवयुग श्रेष्ठ पनि हाल क्लबको प्रशिक्षणमा छन् । तर, बंगबन्धुमा नेपालको सहभागिता निश्चित भए आर्मीको तयारीमा बाधा पुग्नेछ । आर्मीका प्रशिक्षक नवीन न्यौपाने राष्ट्रिय टोलीमा अटाएका खेलाडीबिना लिगको तयारी अपूरो हुने बताउँछन् । लिग सुरु हुने र राष्ट्रिय खेलाडी उपलब्ध नहुने हो भने टोलीको प्रदर्शनमा समस्या आउने न्यौपानेको तर्क छ । एन्फाले यसबारे आफूहरूलाई समयमै जानकारी नगराएको आरोप पनि क्लबका प्रतिनिधिको छ ।

न्युरोड टिम एनआरटीका महासचिव सुन्दर जोशी एन्फाकै गलत कार्यशैलीका कारण ४ वर्षपछि हुन लागेको लिगलाई लिएर क्लबहरूमा कुनै उत्साहको सञ्चार नभएको बताउँछन् । भन्छन्– “हामीसँगको छलफलमा बंगबन्धुले लिग प्रभावित नहुने भनिएको थियो । तर, खेलतालिका सार्वजनिक गर्दा मात्रै हामीले पत्तो पायौँ । निश्चित योजना नबनाउने टालटुले नीतिमा एन्फा छ । यसरी न फुटबल उँभो लाग्छ, न त क्लब र खेलाडीको भविष्य नै ।”

  एन्फाले ए डिभिजन लिगलाई हल्का बनाउने प्रयास गरेको उनी आरोप लगाउँछन् । “असोज १५ मा नेपालले बंगबन्धुमा सहभागिता जनाउने/नजनाउने कुरा पनि अन्तिम समयमा आएर छिनोफानो हुने हो र ? अन्तर्राष्ट्रिय प्रतियोगिता बच्चाले भाँडाकुटी खेलेजस्तो हो ?” उनी प्रश्न गर्छन् । लामो समयपछि हुन लागेको लिग ‘नखाउँm भने दिनभरिको सिकार खाऊँ भने कान्छाबाबुको अनुहार’ जस्तो भएको छ, क्लबहरूका लागि । बंगबन्धु प्रतियोगिताका लागि ब्रेक हुने लिग तिहारपछि मात्रै सुरु हुने भएकाले त्यतिबेलासम्म खेलाडीलाई के गर्ने, कहाँ प्रशिक्षण गराउने भन्ने बलियो आधार क्लबहरूसँग छैन ।

बेथितिबीच लिग

एन्फाले ३१ भदौमा पत्रकार सम्मेलन गरेर ए डिभिजन लिग असोज १३ देखि पुससम्म काठमाडौँमा आयोजना गर्ने जानकारी गरायो । रेलिगेसन नहुने यो वर्षको लिगमा १३ र १४औँ स्थान प्राप्त गर्ने टिमले आगामी वर्ष हुने सहिद स्मारक ए डिभिजन लिगमा १ र २ अंक घटाएर प्रतिस्पर्धा गर्नुपर्ने नियम एन्फाले लगाएको छ । त्यस्तै, उनीहरूलाई लिग तयारीका लागि एन्फाले प्रदान गर्ने रकममा पनि २ लाख र ३ लाख रुपैयाँ घटाइने जानकारी गराइयो ।

जबकि, गत भदौमा चितवनमा सम्पन्न एन्फाको विशेष साधारणसभामा १२ देखि १४औँ स्थान प्राप्त गर्ने टिमको क्रमश: १ देखि ३ अंक घटाइने र उनीहरूको तयारी रकममा पनि ५, ३ र २ लाख रुपैयाँ कटौती गर्ने निर्णय भएको जानकारी प्रवक्ता किरण राईले गराएका थिए ।

उनै राईले सातदोबाटोमा आयोजित पत्रकार सम्मेलनमा बोली फेर्दै भने, “विशेष साधारणसभामा क्लबहरू रेलिगेसनमा नपर्दा घटाइने अंक र रकमबारेमा छलफल भएको हो । तर, क्लबहरूले अन्तिम २ वटा टिमलाई मात्रै नसिहत दिनुपर्ने अडान राखेकाले निर्णय परिवर्तन भयो ।” विशेष साधारणसभाको निर्णय उल्ट्याइएको विषयलाई एन्फा नेतृत्वले लामो समयदेखि सञ्चालन नभएको लिगलाई ट्रयाकमा ल्याउन गरिएको बाध्यात्मक कदम भनेको छ । लिग समिति संयोजक विज्ञानराज शर्मा भन्छन्, “यो वा त्यो बहानामा लिगै नहुने अवस्था आउनुभन्दा कम्तीमा लिग हुने वातावरण त बनेको छ नि ।”

एन्फाको कार्यशैली र सोच परिवर्तनको नारा बोकेर अगाडि आएको कर्माछिरिङ शेर्पा नेतृत्वको टोली अहिले क्लबहरूसामु निरीह छ । कारण, चुनावका बेला परिवर्तन पक्षधर भएको दाबी गर्ने समूहले आफूतिर आकर्षित गर्न क्लबलाई विभिन्न प्रलोभन देखायो । त्यसैको कडीको रूपमा रेलिगेसन नहुने लिग सञ्चालन हुन लागेको हो । संसारमा नेपाल मात्रै एउटा मुलुक होला, जहाँ घटुवा नहुने लिग फुटबल आयोजना हुँदैछ । घटुवा र बढुवा लिगको मुटु हो । नेपालको हकमा लिगको मुटु गायब भएको छ ।

खेलाडी दर्ता र मैदान अभावमा लिगमा सहभागिता नै हुन नसक्ने अवस्था आएपछि एन्फाको पहलमा काठमाडौँ महानगरपालिकाले क्लबहरूलाई अस्थायी मैदान उपलब्ध गराउन राजी भयो । काठमाडौँको टुँडिखेलमा मच्छिन्द्र, संकटा, रानीपोखरी कर्नर टिम आरसीटी र न्युरोड टिम एनआरटीले प्रशिक्षण गर्दैछन् । त्यति मात्रै होइन, काठमाडौँका क्लबहरूलाई महानगरपालिकाले ९ लाख ३० हजार रुपैयाँ पनि उपलब्ध गराउने भएको छ । क्लबहरूले आफ्नो अभावलाई यतिखेर एन्फालाई प्रभावमा पार्ने अस्त्रका रूपमा प्रयोग गर्न थालेका छन् । त्यस्तै, एन्फाले लिग तयारी स्वरूप १४ वटै क्लबहरूलाई २० लाख रुपैयाँ उपलब्ध गराउँदै छ । फुटबलको सर्वोच्च प्रशासनिक निकाय फिफाको ‘फिफा फरवार्ड फुटबल डेभलपमेन्ट कार्यक्रम’ अन्तर्गत ए, बी र सी डिभिजन लिग सञ्चालन गर्न प्राप्त ६ लाख ८८ हजार अमेरिकी डलरमध्ये ए डिभिजन लिगका लागि ५ करोड ८० लाख रुपैयाँ खर्चिने एन्फा महासचिव इन्द्रमान तुलाधरको भनाइ छ । त्यसबाहेक प्रत्येक म्याच जित्ने क्लबलाई अतिरिक्त ५० हजार रुपैयाँ प्राप्त हुनेछ ।

पत्रकार सम्मेलनमार्फत आयोजना हुने फुटबल खेलको जानकारी दिँदै एन्फा पदाधिकारीहरू, ३० भदौ | तस्बिर : विवेक सुवेदी


घट्यो लिगको पुरस्कार रकम

चुनाव आउने बेलामा क्लबहरूसँगको छलफलमा हालका एन्फा अध्यक्ष शेर्पाले भनेका थिए, “हामीसँग लिग सञ्चालन गर्ने आकर्षक विधि र प्रक्रिया मात्रै होइन, पुरस्कार रकम पनि आकर्षक नै राख्ने योजना छ ।” चुनाव सकिएको ६ महिनापछि सञ्चालन हुन लागेको ए डिभिजन लिगमा पुरस्कारको रकम घटाइएको छ । यसअघिको ए डिभिजन लिग विजेताले ७५ लाख र राष्ट्रिय लिग विजेताले १ करोड रुपैयाँ हात पारेका थिए । तर, प्रथम पुरस्कारमा रकम कम देखिए पनि समग्रमा धेरै टोलीले राम्रै रकम पाउने एन्फा अध्यक्ष शेर्पाको तर्क छ । “पहिलोदेखि छैटौँ स्थानसम्मका टिमले पाउने रकमलाई जोड्ने हो भने यसअघि सञ्चालन गरिएको लिगभन्दा यसपटक धेरै रकम पुरस्कारमा खर्च हुनेछ,” शेर्पा भन्छन् ।

लिग विजेताले ५० लाख, उपविजेताले ३५ र तेस्रो स्थान हासिल गर्नेले २५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । चौथो हुनेले १५, पाँचौँले ७ र छैटौँ हुनेले ५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट फरवार्ड, मिडफिल्डर, डिफेन्डर, गोलकिपर र उत्कृष्ट प्रशिक्षकलाई एक–एक थान मोटरसाइकल प्रदान गरिने अध्यक्ष शेर्पाले बताए । त्यसबाहेक प्रत्येक म्याचको म्यान अफ दि म्याचलाई नगद १० हजार रुपैयाँ पुरस्कार दिइने एन्फाले जनाएको छ । सहिद स्मारक ए डिभिजन लिग विजेताले एसियन कप २०१९ मा सहभागी हुन पाउनेछ ।

म्याच फिक्सिङको टाउको दुखाइ

घरेलु लिगमा म्याच फिक्सिङको टाउको दुखाइ एन्फाले झेल्दै आएको नियमित समस्या नै हो । अझ यसपटक रेलिगेसनमा नपर्ने भएपछि खेल मिलेमतोको संख्या बढ्ने अनुमान फुटबल पण्डितहरूको छ । तर, एन्फा अध्यक्ष शेर्पा अन्तिम २ मा आउने क्लबहरूले आगामी वर्ष अंक र लिग तयारीको रकम कम पाउने भएकाले म्याच फिक्सिङ नहुने तर्क गर्छन् । खेल मिलेमतो निरुत्साहित गर्न एन्फाले इन्टिग्रिटी विभागको निगरानीमा खेल सञ्चालनको तयारी गरेको छ । त्यसका लागि नेपाल प्रहरीका पूर्वडिआईजी सुदीप आचार्य इन्टिग्रिटी अफिसर नियुक्त गरिएका छन् । खेल हुने हल्चोकस्थित सशस्त्र प्रहरीको मैदान र एन्फा कम्प्लेक्स सातदोबाटोमा विशेष क्यामेरा जडान गर्ने एन्फाको योजना छ ।

कुनै पनि मुलुकको फुटबलको विकासलाई हेर्ने मापदण्ड भनेको त्यहाँ सञ्चालन हुने घरेलु लिग नै हो । लामो समय लिग नहुँदा त्यसको प्रभाव नेपाली राष्ट्रिय टोलीमा पनि परेको एन्फा कार्यसमिति सदस्यहरूले नै स्वीकार्दै आएका छन् । तर, गर्नका लागि मात्रै लिग गर्दा न त्यसले नेपाली खेलाडीको विकासमा कुनै टेवा गर्छ, न त एन्फाले भन्दै आएजस्तो फुटबलको व्यवसायीकरणमा मद्दत गर्नेछ । यसअघिको नेतृत्वले लिग गर्न नसकेको तर नयाँ नेतृत्व आएलगत्तै लिग गरेर देखायौँ भनेर आत्मरतिमा रम्नुबाहेक अब हुने लिगबाट पनि ठोस उपलब्धि हासिल नहुने देखिएको छ ।

प्रकाशित: आश्विन १२, २०७५