माला बन्नै बाँकी [फिल्म समीक्षा : कथा काठमाडौँ]

फिल्म: कथा काठमाडौँ | रेटिङ: २/५

- गोकर्ण गौतम

कतिपय निर्देशक फरक बाटो हिँड्न खोज्छन् । तर, गन्तव्यमा पुग्दैनन् । फिल्मको भाषामा मूर्त ढंगले कथा प्रवाह गर्न सक्दैनन् । कथा काठमाडौँ  यसकै उदाहरण हो । निर्देशक संगीता श्रेष्ठले रोजेको कथा र संरचना हाम्रो सन्दर्भमा केही पृथक पक्कै छ । परम्परागत बजारु सूत्रमा अल्झिएकी छैनन् । तैपनि, फिल्म हेर्दा मन फुरुंग हुँदैन । कारण, कथाहरु बिस्कुनझैँ छरिएका छन्, एकअर्कासँग सरोकार राख्दैनन् । त्यसैले कथा काठमाडौँ छोटा फिल्महरुको संग्रहझैँ लाग्छ ।

यस फिल्ममा तीन कथा छन् । पहिलो, ड्रग्सको लतमा फसेको सौरम (प्रमोद अग्रहरी) आफ्नी मोडल प्रेमिका नोरा (प्रियंका कार्की) लाई प्रयोग गरेर पैसा कमाउँछ, उनलाई यातना दिन्छ । दोस्रो, गाउँबाट भर्खर सहर आएर कलेज भर्ना भएको राकेश (संजोग कोइराला) र निडर काव्या (सन्ध्या केसी) को छ । डरपोक राकेश काव्यालाई मन पराउँछ । तर, व्यक्त गर्न मुस्किल पर्छ । एउटै अस्पतालमा उपचाररत आयुष (आयुषमान देशराज जोशी) र शिखा (प्रेक्षा अधिकारी) को सम्बन्धचाहिँ अन्तिम कथा हो । आयुष आफैँ बिरामी छन् तर प्रेक्षाको खुसीका लागि मरिमेटर लागिपर्छन् ।

यी सबै पात्र र कथा काठमाडौँका हुन् । निर्देशकको ध्यान यी कथाहरुलाई एक अर्कासँग जोडेर एउटा पूर्ण र वजनदार ‘प्याकेज’ बनाउनुमा छैन । हरेक कथा भन्छिन्, छोड्छिन् । जबकि, तीन कथा स्वतन्त्र रुपमा हेर्दा उति विघ्न कमजोर लाग्दैन । सौरम र नोराले यो महानगरमा मान्छे पैसाका लागि कतिसम्म गिर्छ र खुसी देखिनेहरू भित्रभित्रै कसरी जलिरहेका छन् भन्ने झल्को दिन्छन् । महानगरका रैथानेले बाहिरियालाई गर्ने व्यवहार र मोफसलबाट राजधानी आउनुपर्ने बाध्यता पेस गरेका छन् राकेश र सन्ध्याले । अनि, महानगरभित्रको नीरस मानवता र प्रेमको प्रतिनिधि पात्र हुन्, आयुष र शिखा । यसरी फरक पात्र र प्रवृत्तिलाई आत्मसात् गर्नु सकारात्मक हो । तर, एउटै मालामा उन्न नसक्नु निर्देशकका रुपमा संगीताको सबैभन्दा ठूलो असफलता हो ।

करिब यही संरचनामा बलिउड निर्देशक अनुराग बसुले लाइफ इन मेट्रो  बनाएका थिए । जहाँ भिन्न पात्र र कथाहरु एकआपसमा जोडिएका थिए । कथा काठमाडौँमा त्यो गुणको अभाव छ । संगीताले केही वर्षपहिले टेलिभिजनका लागि छोटा फिल्महरु बनाएकी थिइन्, जसमा एउटा कथाको अर्कोसँग सरोकार हुँदैनथ्यो । फिचर फिल्म बनाउँदा त्यो भ्रान्तिबाट उम्कन नसक्नु विडम्बना हो । त्यसमाथि हतारमा हरेक कथाहरु बीचमै छोडिएझैँ भान हुन्छ । तीनमध्ये सशक्त प्रमोद र प्रियंकाको भाग छ । तर, यसको अन्त्यले फिस्स पार्छ । बरु आयुष र शिखाको कथाको ‘क्लाइमेक्स’ ले मन चिरिन्छ । राकेश र काव्याको चरित्र चित्रण बनावटी लाग्छ । तीनमध्ये कमजोर कथा हो यो ।

शिखाको जोडी अस्पतालबाट निस्केको सिक्वेन्समा निर्देशकको अपरिपक्वता झल्किन्छ । राकेश र काव्याका अधिकांश दृश्य अर्थपूर्ण छैनन् । जबकि, सीमित दृश्यमै सौरम–नोराको चरित्र स्थापित हुन्छ । अर्को छुटाउन नहुने पक्षचाहिँ हो, द्वन्द्व । फिल्ममा रोचकता पैदा गरे पनि यसको केन्द्रीय द्वन्द्व नै अन्यौलपूर्ण छ । फिल्मको अन्त्यमा सुनिने संगीताको आवाजले कथा र पात्रप्रति उनकै आत्मविश्वास छैन भन्ने देखाउँछ । नत्र त्यस्तो एकोहोरो ‘स्पष्टीकरण’ को जरुरत के थियो  ! बरु कलाकारलाई अभिनय गराउने सवालमा भने निपुणता झल्किन्छ । प्रमोद र प्रियंकाले आफूलाई चरित्रमा खरो रुपान्तरण गरेका छन् । प्रमोदलाई दुई भिन्न हुलियामा देख्न पाइन्छ । आयुषमान  र प्रेक्षा उत्तिकै प्रिय लाग्छन् । चरित्र कमजोर भए पनि संजोग र सन्ध्याको अभिनय प्रशंसनीय छ ।

यो फिल्मलाई सेन्सर बोर्डले दु:ख दिनुको औचित्य छैन । प्रमोद र प्रियंकाको अन्तरंग दृश्य ‘ भल्गर’ होइन, कलात्मक र पात्र अनुरुप लाग्छ ।

अधिकांश नेपाली फिल्ममा गीत असान्दर्भिक ठाउँमा आउँछ, कथाको बहाव नै बिथोल्छ । तर, कथा काठमाडौँमा ‘रातका कुरा...’, ‘जून अनि तारा...’, ‘धूलोमान्डु’ लगायतका गीतलाई कथावाचनकै माध्यमका रुपमा प्रयोग गरिएको छ । खिचाइ दृश्यको भाव अनुरुप नै छ । ‘डबिङ’ ठाउँ–ठाउँमा खट्किन्छ । संगीताले बजारु बाटो रोजिनन् । तर, जता हिँडिन्, त्यसमा पनि दक्षता देखाउन सकिनन् । त्यसैले उनका लागि ‘पर्ख र हेर’ को नीति उपयुक्त हुन्छ । उनमा लेखकभन्दा निर्देशकको गुण ज्यादा भएको छनक दिन्छ ।

कथा काठमाडौँमा फूलहरु अर्थात् सहायक कथाहरु राम्रै छन् । तर, फूललाई उनेर सुन्दर माला बुनिएको छैन । भलै निर्देशकका रुपमा संगीताको प्रयास इमानदार छ ।

प्रकाशित: आश्विन १२, २०७५