[स्मरण] पुष्पप्रेमी इन्द्रबहादुर राई

- वैरागी काइँला

मैले इलाम हाइस्कुलमा कक्षा ७ को विद्यार्थी छँदा आईबी दाइलाई देखेको चर्चा गरिसकेँ । त्यही वर्ष आइतबारे र फिक्कलको बीचमा पर्ने करफोक विद्यामन्दिरमा प्रधानाध्यापक भएर दार्जिलिङबाट ल्याइएका थिए उनी । उतिबेला दार्जिलिङ मात्र नभएर आसामतिरबाट पनि ल्याइन्थे शिक्षक । इलाम हाइस्कुलमा आसामबाट ल्याइएका केशवलाल जोशी त्यसबेला प्रधानाध्यापक थिए ।

आईबीको भाषा–वैज्ञानिक अध्ययन र लेखनमा रुचि र ज्ञान दुवै थियो । महानन्द सापकोटासँगको संगतले त्यसो भयो होला भन्ठान्छु । उनले करफोकमा सन् १९५५ को आधाउधिसम्म काम गरेछन् । उसबेला नाम चलेका हास्यव्यंग्यकार अच्छा राई ‘रसिक’ र ऋषिहरुका देखासिकीमा मैले पनि हास्यव्यंग्यप्रधान कविता र लेख लेख्न कोसिस गरेँ । इलामबाट दार्जिलिङ पढ्न जानेहरुमा अग्निराज श्रेष्ठले अञ्जली पत्रिका निकाल्थे सन् १९५८ तिर । त्यही पत्रिकामा आज रमिता छ उपन्यास धारावाहिक रुपमा प्रकाशित हुन थालेको थियो ।

उनले विद्यार्थी काल (सन् १९४३–४४) देखि नै लेख्न थालेका रहेछन्, उपन्यास र नाटक । उनका रचना सन् १९५१ देखि नै हाम्रो कथा, भारती, प्रभातजस्ता पत्रिकाहरुमा छापिन थालेका रहेछन् ।

एउटै व्यक्तिभित्र सिर्जनशील लेखक, समालोचक र चिन्तक पाउनु कठिन हुन्छ । आईबी राई भने यी तीनै विधामा सशक्त कलम चलाउँथे । सधैँ नयाँ कुरा सोचिरहने, साहित्यमा केही थोक दिन खोज्ने उनी महान् आख्यानकारका साथै समालोचक र उपल्लो तहका चिन्तक पनि थिए । ईश्वरवल्लभ र मैले दार्जिलिङे साहित्यमा नौलोपन ल्याउन जमर्को गर्‍यौँ । मेरो कोठामा साहित्यिक कोठेगोष्ठी आयोजना गर्न थाल्यौँ । तर, म र बल्लभ भने सधैँको आयोजक । यसै संस्थालाई ‘कोठेगोष्ठी साहित्य प्रतिष्ठान’ अनौपचारिक नाम दिएर नै चलायौँ निकै वर्ष ।

फूलप्रेमी इन्द्रबहादुर राईसँग यसैको कार्यक्रमको निम्तोपत्र छाप्ने सिलसिलामा आशालच्छी प्रेसमा फेरि मेरो झल्याक्क भेट भयो । निकै पछि गणेशबहादुर प्रसाईंले उहाँको तुङसुङ बस्तीको घरमा लगेर चिनाएका थिए । त्यसपछि भने उहाँसँग भेटघाटको क्रम बाक्लियो ।

तुङसुङ बस्तीको उहाँको घरका भित्तामा, भुइँमा, डिलमाथि र मुनि फूलका गमला देखिन्थे । उनी आँगनमा दरी बिछ्याएर त्यसमाथि किताब थुपारेर पढिरहेको भेटिन्थे कि फूलहरु स्याहारसुसार गरिरहेका हुन्थे । दाजुभाउजू दुवै फूलको पारखी र सोखिन । कुन फूलको नाम के हो ? जात के हो ? वर्ग के हो ? हामीलाई विस्तृत जानकारी दिनुहुन्थ्यो । दाइले एक दिन भन्नुभयो, “काइँला फूल भनेका नानीहरुजस्तै हुन् । नानीहरुलाई बरु स्याहार्नु सजिलो छ, फूललाई स्याहार्नु त्योभन्दा गाह्रो । तर, नानीलाई जस्तै मायाले र कोमलताले स्याहार्नुपर्छ है !”

कालेबुङका युसी प्रधानले धेरै वर्षको अध्ययन र अनुसन्धानपछि सुनाखरीको नयाँ प्रजाति फेला पारे । यसलाई आईबी राईले नयाँ नाम दिए । र, बेलायती ‘द रोयल बोटानिकल हर्टिकल्चरल सोसाइटी’ ले आईबीले गरेको आविष्कारलाई फालाएनोप्सिस इन्द्रबहादुर राई भनेर प्रमाणपत्रसहित मान्यता दिलाएर फूलप्रेमीका रुपमा सम्मान गरेको थियो । फूलप्रेमी आईबीका नाममा सुनाखरीको एउटा नयाँ प्रजातिले मान्यता पाएकामा समग्र नेपालीले गर्व र खुसी अनुभव गर्नु स्वाभाविक नै हो ।

कालान्तरमा उहाँको र मेरो सम्बन्ध भने साहित्यिकभन्दा पारिवारिक धेरै भयो । एकाघर–परिवारका दाजुभाइजस्ता पो बन्यौँ । सर्जकको नाता होइन, हाम्रो त पारिवारिक नाता थियो ।

भाउजू मायादेवी राई क्षत्रीको देहावसानपछि अशान्त र विदग्ध मन भएका दाजु आईबी राईले घरको बरन्डामा भाउजूले स्याहारेका फूलका गमला हेर्दै लेखेको कविता, जहाँ इम्प्यासेन्स नामक फूल पनि थियो :

भाउजू मायादेवी राई क्षत्रीको देहावसानपछि अशान्त र विदग्ध मन भएका दाजु आईबी राईले घरको बरन्डामा भाउजूले स्याहारेका फूलका गमला हेर्दै कविता लेखे ।

इम्प्यासेन्स बन्यो

सामान्य, तर असामान्य सुन्दर

मायाले जुन अतीव माया गर्थिन् ।

. . . . . . . . .

जाँदा बेला पनि

इम्प्यासेन्स

तीन गमला

फुलाइराखिन्

आफ्नो घरमा ...

भाउजूको निधनपछि परिवारबीचमा पनि नितान्त एक्ला बनेका दाइले बरन्डामा भएका गमलामा फुलाइराखेको फूल बिजी लिज्जी अर्थात् इम्प्यासेन्सलाई स्याहार्दै भाउजूलाई सम्झिरहे । फूलसँग उनैलाई हामी एक्लै हुँदैनौँ है, छिट्टै आउँछु भनिरहे, भनिरहे । र, उनी भाउजूसँगै गए ।


प्रस्तुति : रमण घिमिरे

प्रकाशित: आश्विन १२, २०७५

ट्याग: सस्मरण