[नोटबुक] बर्दीमा साहू

- मनबहादुर बस्नेत

सैनिक संगठनभित्रको पछिल्लो चर्चित शब्द हो, ‘साहू’ ।

मानिसले जीवनमा शत्रु–मित्र दुवै कमाएको हुन्छ । पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीलाई ‘साहू’ भन्दा उनका बैरीले लगाएको आक्षेप भन्ने लाग्थ्यो, सुरुमा । तर, निवास सामाखुसीदेखि जंगी अड्डा र रक्षा मन्त्रालयसम्म क्षत्रीको यो उपनामले ख्याति कमाएको रहेछ । त्यसैले पसियो, प्रधानसेनापति भएपछि जोडेको जग्गाजमिन खोज्न । अर्बौं रुपैयाँको जायजेथा जोडिएको भेटियो । केही स्थानको फोटो खिच्नु थियो । सम्पर्क–सूत्र समात्दै मेसो मिलाइयो । सामाखुसीमा उनले ठड्याएको भव्य भवनको फोटो आफ्नो घरबाट खिच्न दिन केही व्यक्ति राजी भए । तर, कबोल गरेको समय आएपछि अत्तालिए । “सम्पत्तिका कारण चिफसाब एकदमै तनावमा हुनुहुन्छ,” तीमध्ये एकले भने, ‘सरी ।’

तिखिदेवलमा रहेको उनको घरको फोटो लिनु थियो । घरछेउकै किराना पसलमा ग्राहक बनेर गइयो । कुराकानी गरियो । तर, क्षत्रीको घरमा सुरक्षार्थ खटिएका सैनिकका आँखा पसलमा बसिरहेको मतिरै सोझिएका थिए । केही बेरमा दुई चार जना मेरै वरिपरि घुम्न थाले । पसल्नी दिदीले सुटुक्क भनिन्, “नौलो मान्छेलाई यस्तै हो ।” सैनिक साहूका अगाडि केही लाग्दैन । जुँगा चल्यो, कुरा बुझ्यो भनेर हिँडियो । तर, मनमा खट्किरहने प्रश्न, सेनाजस्तो संवेदनशील निकायमा साहू जन्मिनु मुलुकका लागि फाइदै फाइदा हो ?

बर्दी दम्भ

कुराकानीकै क्रममा पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) अच्युतकृष्ण खरेल एकाएक रोकिए । आँखीभौँ खुम्चाएर एकटकले गेटतिर हेरिरहे । “डीआईजीले झपारेजस्तो छ,” उनले खुसुक्क भने । जय नेपाल भन्दै दुवै जना खरेलको अगाडि आएर तनक्क तन्किए । पूर्वआईजीपी भएकाले भेट्न आएका रहेछन् भन्ने अनुमान लगाएँ । तर, चुरो अर्कै रहेछ । खरेलले र्‍याखर्‍याख्ती बनाउन थालिहाले ।

द्वन्द्वकालमा नेपाली सेनासँग टक्कर लिएका । वामदेव गौतम गृहमन्त्री छँदा धु्रवबहादुर प्रधानले प्रतिस्थापन गरेका । फेरि अदालती आदेशबाट धु्रवबहादुरलाई पन्छाएर महानिरीक्षक बनेका । इतिहासका चर्चित यी पूर्वआईजीपी आजकाल निवास धुम्बाराहीदेखि बिहान नित्य पशुपति दर्शनमा हाजिर हुने रहेछन्, गेरु वस्त्रमा । यही दर्शन यात्रामा भदौ पहिलो साता चाबहिलमा सानोतिनो काण्ड घटेछ । पैदल यात्रीको बाटोमा प्रहरीको भ्यान तेर्साइएको रहेछ । खरेलले चालकलाई गुनासो गरेछन् । “उताबाट बाटो छ,” चालकले ओठे जवाफ फर्काएछन् । तत्कालै फिल्ड कमान्डरलाई भनेछन्, “पब्लिक हिँड्ने ठाउँमा प्रहरीको भ्यानले छेक्ने ?” कमान्डरले पनि चालककै जस्तो जवाफ दोहोर्‍याएछन् । तत्कालै भीड जम्मा भइहाल्यो । खरेलका अंगरक्षकले खुसुक्कै पूर्वआईजीपी भनेर सूचना चुहाएपछि प्रहरी लत्र्याकलुत्रुक बनेछ । खरेलले घर आएर महानगरीय प्रहरी आयुक्त कार्यालयका डीआईजीलाई विवरण सुनाउँदै सोधेछन्, “हिजोआज प्रहरीलाई यस्तै सिकाइन्छ ?”

यही घटनाको सफाइ दिन दुई प्रहरी हाजिर भएका थिए । “चोरीको सूचना आएको थियो । म यहाँ भर्खर आएकाले बाटो थाहा नभएकाले सोध्न गाडी रोकेको सर,”एक जनाले भन्यो ।

“जुनसुकै बहाना भए पनि पब्लिकलाई अप्ठेरो हुने काम प्रहरीले गर्दैन । गल्ती स्वीकार्नुको सट्टा जस्टीफाइ गर्ने ?” खरेल राँकिएपछि दुवै जना गल्ती भयो भन्दै माफी माग्न थाले । आँसु झार्न मात्रै सकेनन् । “म न माफी लिने ठाउँमा छु, न त दिने । बर्दीको दम्भ देखाउनुहुँदैन भन्ने सम्झियौ भने भयो,” खरेल पग्लिए, “ल अब के गर्नुपर्‍यो ?”

“एक पटकलाई गल्ती भयो,” दुवैले एकै सासमा भने ।

खरेलले डीआईजीलाई फोन गरे । उठेन । ‘अप्ठेरो हुँदैन’ भनेर आश्वासन पाएपछि दुवै हिँडे । बर्दीको दम्भ र दुव्र्यवहारका कारण हिजोआज प्रहरीप्रति सर्वसाधारणको विश्वास धर्मराएको खरेलको निचोड रहेछ । यही बेला नेपाल प्रहरीप्रति कञ्चनपुर बलात्कार घटनाका कारण आक्रोश बढिरहेको थियो । पीडितको कुरा सुन्नै नचाहने प्रहरीको व्यवहारले कञ्चनपुर काण्ड काबुबाहिर पुग्यो । सोचेँ, आफ्नै पूर्वआईजीपीमैत्री बन्न नसकेको प्रहरीका लागि सर्वसाधारणको साथी बन्न थप मिहिनेत आवश्यक छ ।

प्रकाशित: आश्विन १२, २०७५

ट्याग: नोटबुक