अब चिनियाँ बन्दरगाह पनि

- नेपाल संवाददाता

अब हामीले चीनको बन्दरगाह पनि प्रयोग गर्न पाइने भएपछि बहुत खुसी छाएको छ । कारण के भने आजसम्म हामी भारतको बन्दरगाह मात्रै प्रयोग गर्दै आइरहेका थियौँ । अब चीनको बन्दरगाह पनि प्रयोग गर्न पाइने भएपछि संसारको कुनै पनि देशबाट सामान ल्याउन पाइने भयो । 

वास्तवमा अब भारतको बन्दरगाहमाथि मात्र भर परेर नहुने अवस्था पनि हामीसामु आइसकेको छ । समय जो बदलिसक्यो नि । सबैलाई थाहा भएकै कुरा हो, नेपालका लाखाँै युवाहरु वैदेशिक रोजगारीका क्रममा विदेशमा छन् । युवाहरु विदेश गएपछि उनीहरुले रेमिटेन्स पठाउँछन् । अहिले देशमा रेमिटेन्स आउने क्रम बढेको बढ्यै छ । कहिलेकाहीँ यस्सो घटेको जस्तो देखिन्छ । तर, पछि फेरि बढिहाल्छ ।

रेमिटेन्स बढेपछि विदेशी सामानहरु किन्ने क्षमता पनि बढ्ने नै भयो । अहिले हामीसँग विदेशी सामान किन्ने क्षमता ह्वात्तै बढेको छ । यति बढेको छ कि अब विदेशी सामान भारतबाट मात्र झिकाएर त पुग्दै पुग्दैन । चिनियाँ बन्दरगाहबाट पनि झिकाउनुपर्ने अवस्था छ । यदि चिनियाँ बन्दरगाहबाट समेत सामान नझिकाउने हो भने विदेशी सामान किन्ने हाम्रो क्षमता धान्नै नसकिने हुन सक्छ । हाम्रो त्यही क्षमतालाई बुझेर चिनियाँ बन्दरगाहबाट पनि सामान झिकाउन पाउने जो व्यवस्था हालै भयो, त्यो साह्रै सराहनीय, सान्दर्भिक र समयसापेक्ष छ । यदि अहिले नै त्यसो गरिएन भने हाम्रो त्यो क्षमतामा ह्रास पनि आउन सक्छ । ह्रास आयो भने समृद्धि कसरी हुन्छ ? 

 

प्रकाशित: आश्विन १२, २०७५