रंगीन दुनियाँ, अँध्यारो जिन्दगी

- विभु लुइटेल

”नाम नखुलाइदिनू है, साहूले थाहा पायो भने जागिर जान्छ मेरो,” काठमाडौँको निकै चलेको डान्सबारमा डान्सरका रूपमा काम गरिरहेकी रक्षा श्रेष्ठ (नाम परिवर्तन), १९, ले आफ्नो कथा सुनाउनुपूर्व नै सजग गराइन् । रोल्पा घर भएकी यिनी राम्रो अंक ल्याई १२ पास गरेपछि म्यानेजमेन्ट पढ्छु र प्रहरी बन्छु भन्ने सोचले काठमाडौँ आएकी थिइन् । “पुलिस भएको भए समाजले सम्मानले हेथ्र्यो । भाग्यले बार डान्सर बनाइदियो, सबै छि:छि: दूरदूर मात्र गर्छन्,” भाग्यलाई सराप्दै उनी भन्छिन् ।

काठमाडौँ आएपछि उनी धेरै समय जागिरका निम्ति भौँतारिइन् । कहिले असनका गल्लीगल्ली त कहिले लगनखेलका गोरेटो । महँगीले थिचेको काठमाडौँमा घरबाट बोकेर हिँडेको दस हजार रुपैयाँ सकिन समय लागेन । बस्ने ठाउँ नपाउँदा पाटनका मन्दिरका पेटीमा सुतेको अनुभव पनि छ उनीसँग । केही समयपछि कुमारीपाटीको एक कपडा पसलमा सेल्स गर्लको काम पाइन्, बस्नका लागि नजिकै कोठा पनि पाइन् । तर, दु:खका दिन सकिएनन् । “१२ घन्टा खटिनुपर्ने, तलब जम्मा आठ हजार । ६ हजार त कोठाको भाडा तिर्दै जान्थ्यो,” उनले विगत सम्झिइन् । बारमा नाचेमा तलब त आफ्नो ठाउँमा छँदै छ, अतिरिक्त टिप्स र कमिसन पनि पाइन्छ भनी कसैले सुनाइदिएका भरमा उनी यस व्यवसायमा लागेकी हुन् । हातमुख जोड्ने राम्रो जोहो गरौँला अनि बचेको पैसाले कलेज पढौँला भन्ने उनको इच्छा अहिले इच्छामै सीमित भएको छ ।

तीन वर्ष भयो, रक्षा घर गएकी छैनन्, परिवारका कसैलाई भेटेकी छैनन्, कसैसँग फोनमा समेत कुरा गरेकी छैनन् । हीनताबोधले उनमा जरो गाडेको छ । डान्सबारमा दिनहुँ आउने ग्राहक नै उनका संसार बनेका छन् र त्यहाँका अन्य डान्सर नै परिवार ।

“घरमा थाहा पाए मार्छन्,” गहभरि आँसु पार्दै उनी भन्छिन् । डान्सबारमा अधिकांश राम्रो नियतले नआउने उनी बताउँछिन् । चित्ताकर्षक नृत्य गर्दै उनीजस्तै अन्य डान्सर ग्राहकसामु पुग्छन्, सँगै बसेर जुस, बियर तथा हुक्का पिउँछन् । अन्यत्रभन्दा मादक पदार्थको मूल्य डान्सबारमा अलि बढी हुन्छ । ग्राहकसँग बसेर खाएबापत डान्सरहरूलाई बारका साहूले कमिसन दिन्छन् । अझ, खुसी भएका ग्राहकले टिप्स पनि दिन्छन् । भन्छिन्, “बियर धेरै खान पाइँदैन । झ्याप भइयो भने फेरि अरू ग्राहकसँग बस्न सकिँदैन ।”

बारमा एकचोटि आएका आफूलाई फिल्म निर्देशक भनी चिनाउने एक व्यक्तिले उनलाई आइटम गीतमा डान्स गर्ने प्रस्ताव राखे । सुनाउँछिन्, “सोचेँ, फिल्ममा आइटम डान्स गर्नेको चाहिँ इज्जत छ, हाम्रो छैन । त्यसैले उनको प्रस्ताव स्वीकारेँ । तर, उनको अभिप्राय अर्कै रहेछ ।” यसरी धेरै जनाले धेरै पटक पैसाको प्रलोभनमा पारी फाइदा उठाउन खोजेका रहेछन् ।

काठमाडौँ नयाँ बसपार्कको एक गजलबारमा रक्षाकी साथी सोफिया, २२, काम गर्छिन् । रक्षाका भन्दा उनका अनुभव तीता छन् । गजलबारमा काम गर्ने सुइँको पाएपछि उनलाई पहिलेका घरबेटीहरूले निकालिदिएका रहेछन् । “त्यसैले अहिलेका घरबेटीलाई हस्पिटलमा काम गर्छु भनेकी छु । राती निस्कँदा केही भन्दैनन् । सम्मानको दृष्टिले हेर्छन्, छोरीजस्तै माया गर्छन् ।” पेट पाल्न मानिसले अँगाल्ने पेसाका आधारमा सम्मानको तह तोकिने समाजमा बस्न गाह्रो भएको गुनासो पोख्छिन् सोफिया ।

“डान्सबारमा स्ट्रिप गर्नुपर्दैन । पूरै लुगा लगाएर नाच्न पाइन्छ । गजलबारका साहू सकेसम्म पारदर्शी कपडा वा भित्री वस्त्र मात्र लगाइदेओस् भन्ने सोच्छन्,” रक्षासँग आफ्नो कामको तुलना गर्दै सोफिया भन्छिन् । गजलबारमा कहिलेकाहीँ आउने ग्राहकलाई दिनहुँ आउन प्रेरित गर्न साहूकै आदेशमा उनीहरूसँगै बाहिर जाने गरेको समेत उनी बताउँछिन् ।

रक्षाजस्तै उनी पनि घर नगएको वर्षौं भइसक्यो । फर्कने अवस्था पनि छैन । उनले यस पेसालाई सहर्ष स्वीकार्न नसके पनि यस पेसाले उनलाई आफ्नो बनाइसकेको छ ।

रक्षा बालिग नहुँदै यस पेसामा संलग्न भएकी थिइन् भने सोफिया बालिग भइसकेपछि । नागरिकता भने दुवैको छैन । केही सामाजिक संस्थाले रक्षालाई सम्झाई–बुझाई यस पेसाबाट अलग्याउन नखोजेका पनि होइनन् । रक्षाले आक्रोश पोखिन्, “म बाटोमा सुतेका बेला कहाँ थिए यस्ता संस्था ? बरु सक्छन् नै भने अब समाजमा मेरो छवि चोख्याइदिऊन्, स–सम्मान बाँच्ने वातावरण सिर्जना गरिदिऊन् ।” यस पेसामा स्वेच्छाले नआएको तर अब अन्त कतै जाने ठाउँ पनि नभएको पीडाले उनलाई बारम्बार सताउँछ । भन्छिन्, “कसैले नदेख्ने गरी कहिलेकाहीँ डाँको छाडेर रुन्छु ।”

गाउँमा आएका एक युवकले ‘काठमाडौँमा पैसा फल्ने रूख छ, कहिल्यै दु:ख पाइँदैन,’ भनेर फकाएकै भरमा उनैसँग भागेर काठमाडौँ आएकी सविता ठमेलको एक डान्सबारमा काम गर्छिन् । सवितामाथि आफ्नो मात्र नभएर छोरीको पनि जिम्मेवारी छ । डान्सबारमा काम गर्न छाडेर ती युवक कता गायब भए, सवितालाई नै थाहा छैन । पाँच वर्षीय छोरी स्कुलबाट फर्किएपछि सविता सधैँ उनलाई कोठामा थुनेर डान्सबार जान्छिन् । उनले दु:खमनाउ गरिन्, “न एउटा राम्रो डान्सर बन्न सकेकी छु, न त एक कुशल आमा ।” सविताकी छोरीलाई भने आमा साँझतिर तयार भएर निस्केको मन पर्दो रहेछ । भन्छिन्, “म पनि ठूली भएपछि आमाजस्तै राम्री हुन्छु ।” सविताले झपारिन्, “चुप, त्यस्तो भन्न हुन्न । तँलाई त म ठूलो मान्छे बनाउँछु ।”

बार डान्सरले एक दिन पनि बिदा नपाउने उनीहरू बताउँछन् । बिरामी परेर वा अन्य केही कारणले बिदा चाहिए तलब काटिने गुनासो यिनको छ । त्यसैले सविताले छोरीलाई समय दिन पाएकी छैनन्, अरू डान्सरले आफ्नो इच्छा अनुरूपको काम गर्न पाएका छैनन् । सोफिया भन्छिन्, “हामीले यस्तो जिन्दगी रोजेका छौँ जुन बाहिरबाट हेर्दा रंगीन देखिन्छ । तर, भित्र कति अन्धकार छ, त्यो भोगेकालाई मात्र थाहा छ ।”

डान्सबार तथा गजलबारमा ग्राहक बनी दुबई, नैरोबी, दिल्लीजस्ता विदेशी सहरका बारका एजेन्ट पनि बेलाबखत आउँछन् । रंगीन जीवन र धेरै पैसाको लोभ देखाई केही युवतीलाई यी सहरका डान्सबारमा रोजगारीका निम्ति लैजान्छन् । रक्षा र सोफियाकी साथी कृपाले टेलिफोन संवादमा भनिन्, “नेपालको भन्दा पैसा बढी हुन्छ । तर, खट्न निकै पर्छ ।” उनलाई नियुक्त गर्न दुबईको एक डान्सबारका साहूले एजेन्टलाई १० लाख तिरेका थिए । पासपोर्ट बनाउने बेला उमेर नपुगे पनि बढाएर बनाइएको थियो । “कसरी बनाइयो थाहा छैन । एजेन्टले एक दिन फोटो खिचाउन लगे, भोलिपल्ट पासपोर्ट हात पर्‍यो,” पासपोर्ट बनाएको प्रक्रियाबारेको उनको भनाइ हो यो । डान्सरका रूपमा केही समय उक्त बारमा बिताइसकेपछि उनी अहिले तिनै साहूसँग घरजम गरी बसेकी छन् । दुवै मिली डान्सबार चलाउँछन्, एजेन्ट पठाई यताका युवती पनि समय–समयमा लैजान्छन् । आवश्यक कानुनी प्रक्रिया पुर्‍याएरै नेपालबाट कामदार झिकाउने गरेको उनी बताउँछिन् । “हामीले महिला बेचबिखन गरेका होइनौँ, युवतीहरूको पूर्ण सहमति नभई ल्याउन पनि मिल्दैन ।”

यसरी बार डान्सर विदेसिने क्रम बढेपछि बारहरूमा योग्य डान्सरको कमी हुँदै गएको बार सञ्चालकहरू बताउँछन् । अझ, नाइट क्लब, पब र डिस्कोको संख्यामा वृद्धि भएसँगै डान्सबारमा आउने ग्राहक कम हुँदै गएको गुनासो एक डान्सबार सञ्चालकको छ । भन्छन्, “समाजमा डान्सबार आउनु सभ्य मानिँदैन, क्लब जानु निकै सभ्य मानिन्छ । त्यसैले अहिले क्लब तथा लाउन्जहरूले धेरै ग्राहक आकर्षित गरिरहेका छन् ।”

बार डान्सरहरूको न्यूनतम आय सरकारले १४ हजार रुपैयाँ तोकेको छ । तर, यसबारे उनीहरू स्वयं जानकार छैनन् । पाँच हजार र कमिसनमा मात्र काम गर्ने युवती पनि छन् । उनीहरूको हकहितमा आवाज उठाउने ‘महिलाका निम्ति महिला’ संस्थाकी अध्यक्ष रचना ढकाल भन्छिन्, “कानुनी न्याय पाउनबाट अहिलेसम्म कोही बार डान्सर वञ्चित भएका छैनन् । उनीहरूलाई चाहिएको सामाजिक न्याय हो ।”


डान्सरका हितमा काम गर्ने उद्देश्य

— समीर गुरुङ

अध्यक्ष, ठमेल पर्यटन विकास परिषद्

ठमेल र नयाँ बसपार्क अत्यधिक डान्सबार सञ्चालन हुने ठाउँमध्येमा पर्छन् । यिनको संख्या अहिलेसम्म यति नै भन्ने यकिन छैन । कारण, अहिलेसम्म त्यस्ता बार नियन्त्रण गर्ने संस्था नै थिएनन् । अबको केही महिनाभित्र देशभरका बार र तिनमा कार्यरत कर्मचारीबारे तथ्यांक सार्वजनिक गर्ने उद्देश्य परिषद्ले लिएको छ ।

जनयुद्धले प्रभावित गाउँका युवती सुरक्षाका लागि काठमाडौँ पसेपछि बार डान्सर बन्नुलाई सबैभन्दा सहज पेसाका रूपमा लिन्थे । म आफैँ पनि पहिला डान्सबार चलाउँथेँ । त्यसरी आएका महिलालाई नृत्यमा प्रशिक्षण दिएर मात्र काममा लगाउँथेँ । विश्वका ठूलाठूला सहरबाट डान्सबारका साहू आउँथे, ती महिलालाई पैसाको प्रलोभन देखाउँथे र लैजान्थे । थोरै पैसा र सीमित कमिसनमा काम गरिरहेका यहाँका डान्सर त्यसप्रति आकर्षित नहुने कुरै भएन । डान्सरहरू विदेसिने क्रम बढ्यो । त्यसैले काठमाडौँका डान्सबारमा योग्य डान्सर नै छैनन् भन्दा पनि हुन्छ ।

ठमेलका डान्सबारमा कार्यरत धेरैजसो महिलाका छोराछोरी छन्, श्रीमान् छैनन् । रातीको समयमा काम गर्ने हुँदा उनीहरूलाई बच्चाको हेरचाह गर्न समस्या पर्छ । त्यस्तै, महिला तथा बालबालिकालाई लक्षित गरी परिषद् छिट्टै एउटा नाइट केयर सेन्टर खोल्ने प्रक्रियामा छ । त्यसपछि बार डान्सर महिला निर्धक्क र निश् चिन्त भई आफ्ना काममा जान पाउनेछन् ।

प्रकाशित: आश्विन ११, २०७५

ट्याग: समाज