नेताजीको मनोवृत्ति

- सुरेन्द्र लाभ

एयरपोर्टको भीआईपी कोठामा एक नेता भित्र छिर्न खोज्दा सुरक्षाकर्मीले सोधे, “हजुर को ?”

“थाहा छैन ? म पूर्वसांसद ।” रिसाएर जवाफ दिँदै उनी भित्र छिरिहाले । विचरा, सुरक्षाकर्मी लाचार । न केही गर्न सके, न त केही भन्न सके । उनी भीआईपीभित्र पर्छन्–पर्दैन भन्ने प्रश्न यहाँ महत्त्वपूर्ण होइन । सुरक्षाकर्मीले रोक्न सक्थ्यो अथवा भित्र छिरेर कोठाबाहिर निकाल्न सक्थ्यो, नेताजीलाई त्यो प्रश्न पनि उल्लेखनीय होइन । प्रश्न नेताजीको मनोवृत्तिको हो । उनी त पूर्वसांसद । झन् वर्तमान सांसद अथवा मन्त्रीको स्थिति कस्तो होला ! भन्नै पर्दैन, सबैको मनोवृत्ति उस्तै छ यहाँ ।

स्थिति अर्को । कुनै पनि कार्यक्रममा थुप्रै मन्त्रीहरूलाई बोलाइएको हुन्छ । यस्ता कार्यक्रममा एउटा दृश्य आम छ । मन्त्रीज्यू अथवा कुनै ठूलै नेताजी हलभित्र प्रवेश गर्नुहुन्छ । उहाँ न दायाँ हेर्नुहुन्छ, न त बायाँ । र, सीधा गएर स्वयंलाई मञ्चमा विराजमान गराउनुहुन्छ । कार्यक्रम सञ्चालकलाई कहिलेकाहीँ हम्मेहम्मे भइहाल्छ, व्यवस्था मिलाउन । प्रधानमन्त्री पनि आउने त्यो कार्यक्रममा मन्त्रीको स्थान मञ्च तल नै निर्धारित थियो । तर, मन्त्रीजी माथि नै आइहाल्नुभयो, अब के गर्ने ? आसन ग्रहणका लागि आग्रहपछि मात्रै मन्त्रीजी मञ्चमा आउने आशय राखेका सञ्चालकलाई टाउको दुख्न थाल्छ, अब के भन्ने ?

यस्ता अनेक दृश्यहरूमा गजबको एकरूपता छ । काठमाडौँबाट यस्ता दृश्यहरूको प्रारम्भ भयो । तर, आजभोलि विराटनगर, जनकपुरधाम, हेटौँडा, बुटवल, पोखरा, सुर्खेत, धनगढी सबैतिर यस्तै देखिन्छ । यस्ता दृश्यको सन्दर्भमा पहाड र मधेसमा भिन्नता छुट्याउन मिल्दैन । राजनीतिक दलहरूमा पनि कुनै भिन्नता  छैन । नेकपा, नेपाली कांग्रेस, मधेसकेन्द्रित दल, राप्रपा सबै बराबर । कालको आधारमा पनि स्थिति उस्तै देखिन्छ । राणाकाल, पञ्चायतकाल, कांग्रेसीकाल, कम्युनिस्टकाल सबैमा यस्तै दृश्य देखिए ।  यो सर्वकालिक, सर्वदलीय, सर्वप्रदेशीय शाश्वत दृश्य हो ।

किन एक जना जनप्रतिनिधि अथवा नेता आफूलाई भीआईपी ठान्छन् ? आम जनता बस्ने ठाउँमा किन उनी बस्न चाहँदैनन् ? जनताकै माझबाट बनेका नेता किन जनताबाट टाढा बस्न चाहन्छन् ? के आमजनबीच बस्दा उनलाई कुनै सुरक्षा चुनौती हुन्छ ? अथवा, भीआईपी स्थानमा बस्दा आम जनताको नजरमा विशिष्ट हुन्छन् ? के जनताको मनोविज्ञान यस्तै हो ? नेताकै मनोविज्ञान आफूलाई फरक र महत्त्वपूर्ण देखाउने खालको हुन्छ ? यस्ता अनेक प्रश्न छन् ।

यस्तै मनोभाव एक जना मन्त्रीसँग राख्दा उनले आफ्नो विचार पोखे, “होइन, यो जनता पनि गजबको हुँदो रहेछ । म आफ्नो जिल्ला जाँदा सबैसँग हात मिलाउने गर्छु । कम्युनिस्ट भएको हुनाले हाम्रो सुरुदेखिको प्रशिक्षण यस्तै छ । तर, मेरा प्रतिद्वन्द्वी कांग्रेसी नेता त्यहाँ जाँदा कसैसँग मित्रवत व्यवहार गर्दैनन् । सामन्तजस्तो व्यवहार गर्छन् । टाढैबाट सबैलाई ‘के छ भाइ ?’ भन्छन्  । अनि, सबैले उनलाई टाढैबाट ‘नमस्कार हजुर, नमस्कार हजुर’ भन्दा रहेछन् । र, ठूलै नेता मानेर उनका पछि लाग्छन् । हात मिलायो कि ‘भ्यालु’ खत्तम ।’ जीवनको अन्तिम चरणमा आइपुगेका नेताजीको अनुभव त गजबको थियो । के नेताजीहरू यस्तै मनोभावका कारण जनतासँग घुलमिल गर्न चाहँदैनन् ?

यहाँ चेतना र संस्कार दुइटा कुरा देखिन्छन् । चेतनाको स्तर माथि भएको जनताको चाहना ‘जनता र नेताबीचको अन्तराल हटाउने’ खालको छ । यो स्वाभाविकै हो । जतिजति चेतना बढ्दै जान्छ, यस्तो भावको विकास हुँदै जान्छ । अर्को, नेताजीको संस्कारको विषय छ । राणाकालदेखि नै नेपालमा मन्त्री भनेको ठूलो हो । सेवक होइन, शासक हो भन्ने बुझाइको विकास भयो । पञ्चायतकालमा राजाको हालीमुहालीमा पल्लवित–पुष्पित नेताहरू झन् ठूला भइदिए । जनता एकातिर, नेता अर्कोतिर । राणाकालमा पनि राजा थिए र पञ्चायतकालमा पनि । त्यसैले राणाकालीन संस्कारबाट सबैजसो नेता ग्रसित भए । नेपाली कांग्रेस ठूलै संघर्ष गरेर सत्तामा पुगेको थियो । तर, नेताहरूले उही राणाकालीन पञ्चायती संस्कार जानी–नजानी अवलम्बन गरे । त्यस्तै, एमाले जनतालाई संगठित गर्दै सत्तामा पुग्यो । तर, नेताहरूमा राणा–पञ्चायत–कांग्रेस सबैको संस्कार प्रवेश गर्‍यो । माओवादीहरू दसवर्षे जनयुद्ध लडे र जनताकै घरदैलोमा बसेर जनताकै जनजीविका तथा अधिकारको कुरो उठाएर सत्तामा पुगे । तर, आश्चर्यको कुरो के भयो भने उनीहरू पनि सत्तामा पुग्नासाथ राणाकालीन–पञ्चायती–कांग्रेसी संस्कार देखाइदिए । क्रमभंग भएन ।

आम जनतामा गणतन्त्र र संघीय नेपालको अनुभूति न संविधानबाट हुन्छ, न त ठूलाठूला दर्शनबाट । नेताजीहरूको विनम्र व्यवहार र जनतासँग घुलमिल गरेर बस्ने बानीबाट धेरै हदसम्म जनताको मन जित्न सकिन्छ । मन जित्नलाई ठूला गाडी, सुरक्षाकर्मीको लस्कर, कार्यकर्ताको हूल, खास ड्रेस, दम्भी स्वभाव, सर्वज्ञानी चरित्र केही चाहिँदैन । बस्, ‘मोहिनी एक मन्त्र है, तजिदे हृदय कठोर ।’

प्रकाशित: आश्विन ११, २०७५

ट्याग: विचार