[तीन किताब] वैचारिक यात्रामा

- सरिता तिवारी

प्राय: राजनीतिक पुस्तक नै छनोटमा पर्थे पहिले । पछिल्लो समय काम र रुचिले पनि बहस, विमर्शका किताबमा समय लगाउँछु । स्वाभाविक रुपमा महिला विमर्शका किताब अलि बढी पढ्छु । आफैँलाई प्रश्न गर्दै उत्तर खोज्ने सकर्मक ऊर्जा दिने किताबले तान्छ । किताबकै कारण विचारहरु निरन्तर बनिरहेका–भत्किरहेका हुन्छन् । जीवनशैली नै किताबसँग नजोडिई असम्भव भइसकेको छ ।

पारिजातका उपन्यासमध्ये सबैभन्दा ढिलो पढेकी हुँ, पर्खाल भित्र बाहिरशिरीषको फूलभन्दा यो उपन्यास उच्चकोटिको छ । तर, यसबारे प्रचार निकै कम छ । नेपाली साहित्यमा पारिजातले यति सुन्दर–भव्य कृति पनि दिएकी छिन्, एउटा ठूलो वैचारिक कायाकल्प गरेर । यो एकरेखीय यात्रामा हिँडेका लेखकका लागि असामान्य कुरा हो । यसमा विषय, पात्र र पीठिका सबै अद्भुत लाग्छन् । पञ्चायतकालका कठोर दिनलाई बन्दीगृहको फलामे ढोकाभित्रको फ्रेममा राखेर प्रस्तुत गरिएको यस उपन्यासको भाषा पनि उत्तिकै सम्मोहक लाग्छ । हिजो राजनीतिक आन्दोलन बोकेर हिँडेका मानिसहरुसाग देशका लागि कति गहिरो सपना थियो, आफू हिँडेको बाटोप्रति कत्रो विश्वास थियो ! जेलभित्र पनि ती कति सिर्जनात्मक र आशावादी नजरले समयको चेतनालाई थामेर सोच्थे भन्ने प्रसंग छ किताबमा ।

पोहोर महिला विषयक किताब खोज्न दिल्ली चक्कर लाउँदा बहुत दु:ख पाएँ । पहिलोपल्ट किताब खोज्न भनेरै दिल्ली गएको त्यो पनि ल्याङफ्याङ पाराले, एक्लै । मध्यम खालका किताबमा नै बजेट सकियो । पोखराबाट फर्कंदा चाउथेमा मलाई निकै बेर पर्खेर साथी गनेस पौडेलले झ्यालबाट गज्जबको किताब थमाए । पढ्न सुरु गरेपछि थाहा भयो, त्यो त आजको संसार हल्लाइरहेको किताब रहेछ, युवल नोह हरारीको स्यापियन्स । नखोजेको तर पढ्नैपर्ने किताब अचानक पाउँदा आश्चर्यमा परेँ ।

बीचका रास्ता नहीं होता  भारतीय कवि अवतारसिंह पाशका लगभग सबै कविताको समष्टि हो । यसभित्रका बलिया कविताले जहिल्यै प्रभावित गर्छन् । देश मात्रै होइन, पूरै विश्व परिवेशमा आफैँसँग सशंकित हुनुपर्ने स्थिति छ आज । आफैँलाई गालामा हानेर झक्झक्याउनुपर्नेछ बारम्बार । हामी आफैँभित्र कुनै दिन प्रतिगामी विचार आउने हो कि भन्ने भयको बीचमा र्‍याकबाट झिकेर अलिबेर यसका थप्पड लाउने शब्द छाम्छु र रिचार्ज हुन्छु । जिम्मेवार कम्युनिस्ट र उच्च संवेदनाका कवि पाशका कविता इतिहासका अभिलेखजस्ता लाग्छन् । कविता र जीवनलाई अभिन्न बनाउने साहस दिन्छ पाशको यस किताबले ।

पञ्चायतविरोधी राजनीतिबाट प्रभावित दाइले कम्युनिस्ट विचारका किताबहरु ल्याउनुहुन्थ्यो । किताबले मलाई ठूला दुर्घटनाबाट ‘रेस्क्यु’ गरेका छन् । अग्रज लेखक नारायण ढकालका मुखबाट पहिलो पटक सुनेको हर्मन हेस्सेको सिद्धार्थबारे । पछि साथी अमर न्यौपानेले सिफारिससहित सौजन्यसमेत गरे र पढेँ । यसमा बुद्धकालीन समाजको एउटा ब्राह्मण किशोरको अनुभवजन्य सत्य खोज्ने कठोर यात्राको कथा छ ।

यो उपन्यास मेरा परम्परित रोजाइका किताबभन्दा धेरै फरक छ र पनि यो मलाई असाध्यै मन पर्छ । सिद्धार्थको असामान्य पात्रताले प्रभावित गरेको हो । कारण, ऊसँग तथाकथित भौतिक सुखका अनेक अवसर थिए । बुद्धसँग ठोक्किएर पनि ऊ बुद्ध बन्दैन, बरु मोक्षको बाटोमाथि सन्देह गरेर आफ्नो छुट्टै गोरेटो खन्छ । सिद्धार्थको सत्यान्वेषण जसरी नदीमा आएर टुंगिन्छ, त्यो निकै अर्थपूर्ण लाग्छ । यसमा नदीका दुई धारजस्तै जीवनका परस्पर विपरीत किनाराहरुको निर्मम घर्षण छ । आफ्नै पूर्वधारणा र विचारलाई फड्केर नयाँ भंगालो पक्रने साहसका लागि यो उपन्यास म पटक–पटक सम्झिन्छु । गम्भीर प्रतीकात्मक अर्थ भेटाउँछु यसमा । यो आध्यात्मिक यात्रामा मात्रै होइन, हरेक वैचारिक यात्रामा लागू हुन्छ ।


प्रस्तुति : गुरुङ सुशान्त

तस्बिर : सागर कार्की

प्रकाशित: आश्विन ११, २०७५

ट्याग: किताब