सम्पदा पुनर्निर्माणमा सिमेन्ट नै किन ?

- गोकर्ण गौतम

पशुपति क्षेत्र हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र मात्र होइन, विश्व सम्पदा स्थलसमेत हो । विश्व सम्पदामा सूचीकृत क्षेत्रमा सिमेन्ट, रडजस्ता आधुनिक निर्माण सामग्री प्रयोग निषेध हुन्छ । अन्यथा, संयुक्त राष्ट्रसंघको शिक्षा, विज्ञान तथा सांस्कृतिक संगठन (युनेस्को) ले सूचीबाटै हटाइदिन्छ ।

तर, भदौ दोस्रो साता पशुपतिको प्राकृतिक र मौलिक सौन्दर्य मास्ने दुष्प्रयास गरियो, श्लेष्मान्तक वनबाट धु्रवस्थली निस्कने कंक्रिटको बाटो बनाएर । त्यो पनि अरू होइन, पशुपतिको संरक्षण र सम्वद्र्धनको मुख्य दायित्व बोकेको स्वयं पशुपति क्षेत्र विकास कोषकै अगुवाइमा । बहानाचाहिँ आध्यात्मिक पार्क बनाउने । गोपालेश्वरबाट गुह्येश्वरीसम्म पनि कंक्रिटयुक्त सडक बनाउने कोषको तयारी छ । यी हर्कत आफैँमा प्राचीन स्मारक संरक्षण ऐनविरुद्ध छन् ।

पशुपतिभन्दा अझ ठूलो रडाको मच्चियो, रानीपोखरीमा । काठमाडौँ महानगरपालिकाले पर्यटकीय गन्तव्य बनाउने भन्दै रानीपोखरीलाई कंक्रिटको पर्खालले घेर्न खोज्यो । मापदण्डविपरीत यो कार्यमा महानगर आफैँ लागिपर्‍यो । सुरुमा पुरातत्व विभागले देखेको नदेखै गर्‍यो । स्थानीय, सम्पदाविद् र पुरातत्व अधिकारीहरूको चर्को विरोधपछि कंक्रिटको पर्खाल निर्माणमा ‘ब्रेक’ लाग्यो । त्यसपछि बल्ल विभाग बोल्यो, आधुनिक निर्माण सामग्री प्रयोग गरेर पर्खाल बनाउन अनुमति दिएकै छैन । तर, महानगरले रट लगाइरह्यो, विभागबाट लिखित सहमति लिइएको छ । विवाद चर्कंदै गएपछि रानीपोखरी पुनर्निर्माण अलपत्र छ ।

यो दुर्दशा पशुपति र रानीपोखरीमा मात्र सीमित छैन । सिमेन्ट, रड, छडजस्ता आधुनिक निर्माण सामग्रीलाई मापदण्डविपरीत प्रयोग गरेर सम्पदाको साख र महत्त्व नष्ट पार्ने दुष्कर्मले चौतर्फी बढावा पाइरहेको छ । थप दु:खलाग्दो पक्षचाहिँ, सम्पदा संरक्षणको गहन जिम्मेवारी बोकेका निकाय नै यस्ता कार्यमा संलग्न छन् । जस्तो : रानीपोखरीको सवालमा महानगरपालिका, पशुपतिमा पशुपति क्षेत्र विकास कोष । अनि, पुरातत्व संरक्षण गर्ने आधिकारिक सरकारी निकाय पुरातत्व विभागको यी दुवै ठाउँमा दोहोरो चरित्र झल्कियो । यी सबै गतिविधिलाई नियालिरहेका सम्पदा संरक्षणकर्मी रवीन्द्र पुरी भन्छन्, “सम्पदाका लागि रक्षक नै भक्षकजस्ता भएका छन् । सरकारी निकायका अधिकारीहरूले न सम्पदाको पुरातात्विक महत्त्व बुझेका छन्, न त तिनको बचाउमा प्रभावकारी कदम चालेका छन् । जताततै मौलिक सम्पदा मास्ने कामले प्रश्रय पाइरहेको छ ।” सम्पदा निर्माण, पुनर्निर्माण र जीर्णोद्धारमा सिमेन्ट बैरी मानिन्छ । तर, हामीकहाँ ठ्याक्कै उल्टो । उदाहरण अनेक छन् ।

भक्तपुरको सूर्यविनायकस्थित धार्मिक तथा ऐतिहासिक महत्त्वको केदारनाथको शिर मानिने डोलेश्वर महादेव मन्दिर १२ वैशाख ०७२ को भूकम्पले भत्कियो । यसको पुनर्निर्माण सम्पन्न भइसकेको छ । तर, मौलिक होइन, कथित आधुनिक स्वरूपमा । मन्दिरमा पिलर ठड्याइएको छ, सिमेन्ट, रड र छड प्रयोग गरिएको छ । मानौँ कि, यो चार शताब्दी पुरानो विशिष्ट मन्दिर होइन, भर्खरै बनाउन लागिएको कुनै व्यावसायिक भवन हो । तर, पुरातत्व विभागले समेत डोलेश्वरमाथिको यस्तो मनपरी शैलीलाई रोक्न सकेन । मन्दिर परिसरका अन्य संरचना पनि मापदण्डविपरीत बनाइएका छन् । विभागका सूचना अधिकृत दामोदर गौतम आधुनिक निर्माण सामग्री प्रयोग नगर्न पटक–पटक निर्देशन दिँदा पनि रोक्न नसकिएको दुखेसो पोख्छन् । “डोलेश्वरमा सोह्रै आना गल्ती भएको हो । भत्काउनुपर्छ भनेर बारम्बार पत्र लेखेका छौँ,” गौतम भन्छन्, “कानुन पनि छ तर हामी अर्धन्यायिक निकाय हौँ । आफैँले कारबाही गर्न सक्दैनौँ ।” अन्तत: केदारनाथको शिर भनेर संसारभर प्रचार गर्न सकिने डोलेश्वरको साखै घुम्यो, उही सिमेन्टका कारण ।

पशुपति क्षेत्रभित्र बनाउन लागिएको कंक्रिट बाटो  | तस्बिर : अनिश रेग्मी


विश्व सम्पदामा सूचीकृत अर्को स्मारक क्षेत्र बौद्धनाथ पनि आधुनिक निर्माण सामग्रीको दुष्चक्रबाट बच्न सकेन । बौद्धनाथ गजुरको पुनर्निर्माणका क्रममा आफ्नो सल्लाहविपरीत कंक्रिट प्रयोग गरिएको भन्दै युनेस्कोले आपत्ति जनायो । बौद्धनाथ चैत्यमाथि अहिले ठूलो, गह्रौँ कंक्रिटको ‘प्लाटफर्म’ राखिएको र फेरि भूकम्प जाँदा त्यसलाई चैत्यले थेग्न मुस्किल पर्ने युनेस्कोको भनाइ छ ।

भक्तपुर दरबार क्षेत्रभित्रको सिद्धिलक्ष्मी मन्दिरमा बठ्याइँ गरियो । पुरातत्व विभाग अन्तर्गतको भक्तपुर दरबार हेरचाह कार्यालय बनाउँदा पनि मन्दिरको तल नेपाली होइन, राजस्थानी ढुंगा राखियो । जुन सिमेन्टजस्तै हुन्छ, फुसफुस भएर जान्छ । सस्तो हुने भएकाले पत्तै नपाउने गरी राजस्थानी ढुंगा प्रयोग गरिएको थियो । तर, पछि स्थानीयले थाहा पाए, विरोध भयो, त्यसपछि बल्ल नेपाली ढुंगा नै राखियो । भक्तपुर दरबार क्षेत्रकै ९९ चोकभित्र तलेजु परिसरमा रहेको द्वेयमाजु चोकभित्र ढुंगा छाप्दा सिमेन्ट प्रयोग गरियो । संसारका धेरै देशका सम्पदाको स्थलगत अवलोकन र अध्ययन गरेका पुरी भन्छन्, “उपत्यकामा ७ वटा विश्व सम्पदा स्थल छन् । यति सानो क्षेत्रमा संसारमा कतै पनि ठूलो संख्यामा विश्व सम्पदा स्थल छैनन् । तर, यस्तै चाला हो भने भोलि एउटा पनि नरहन सक्छ ।” पुरी किन यसो भनिरहेका छन् भने सम्पदामा कंक्रिट प्रयोग गरिएको र मापदण्ड नपछ्याइएको भन्दै युनेस्कोले विश्व सम्पदा सूचीबाट हटाउन पटक–पटक चेतावनी दिइसकेको छ ।

पुरातत्व विभागका अनुसार देशभरका ७ सय ५३ वटा सम्पदामा भूकम्पले क्षति पुर्‍याएको छ । १ सय ५१ पूर्णरूपमै क्षति भए, ४ सय ७० आंशिक र १ सय ३२ मा सामान्य क्षति । त्यस्तै, पुरातत्व विभागको कार्यविधिमा स्पष्ट भनिएको छ, ‘विज्ञ तथा प्राविधिक टोलीको राय लिएपछि मात्र संवेदनशील अवस्थामा सिमेन्ट, रडलगायतका आधुनिक निर्माण सामग्री प्रयोग गर्न पाइने ।’ तर, व्यवहार ठीकविपरीत छ । विज्ञहरू सिमेन्ट प्रयोग गर्न हुँदै हुन्न भन्छन्, विभाग तथा अन्य सरोकारवाला निकाय सिमेन्टलाई नै प्राथमिकता दिन्छन् ।

सिमेन्टप्रतिको यतिविघ्न अनुरागको कारण के होला ? एक दशकयता काठमाडौँको सम्पदा जोगाउन लागिपरेका अभियन्ता गणपतिलाल श्रेष्ठ भन्छन्, “मुख्य कुरा त, कमिसनको खेल नै हो । सँगै सम्पदाको मौलिकताप्रतिको प्रेम पनि देखिन्न । मनपरी गरिन्छ ।” रानीपोखरीमा कंक्रिटको पर्खाल लगाउनुहुन्न भनेर समूह लिएरै उनी पुरातत्व विभाग पुगे । त्यहाँका इन्जिनियरले उल्टै सोधेछन्, ‘मान्छे बस्ने घरचाहिँ सिमेन्टको बनाउन हुने, मन्दिर किन नहुने ?’ हाल पशुपति क्षेत्रलाई कंक्रिटको बाटो मुक्त गर्न भिडिरहेका श्रेष्ठ भन्छन्, “विभागका कर्मचारीमै यस्तो सोच छ, अनि के अपेक्षा गर्न सकिन्छ ?”

जबकि, सिमेन्ट प्रयोगले सम्पदाको साख मात्र होइन, संरचना पनि कमजोर बनाउँछ र सामान्य कम्पन पनि थेप्न सक्दैन भन्ने वसन्तपुर दरबार क्षेत्रभित्रको ९ तले मन्दिरले देखाइसकेको छ । ०७२ को भूकम्पले यो मन्दिर क्षतिग्रस्त भयो । उद्धारका क्रममा देखियो, त्यहाँ त पिल्लर पो रहेछ । कुन समयमा पुनर्निर्माण गर्दा पिल्लर राखिएको भन्नेचाहिँ पत्ता लाग्न सकेन । काठ पनि अग्राख होइन, सल्ला रहेछ । परम्परागत र आधुनिक साम्रगी/शैलीको सन्तुलन नमिल्दा यो मन्दिर भत्कियो । “विगतमा भएका यस्ता गल्तीबाट हामीले पाठ सिक्नुपर्छ र आधुनिक निर्माण सामग्रीलाई निरुत्साहित गर्नुपर्छ,” विभागका सूचना अधिकृत गौतम भन्छन्, “सम्पदाको मौलिकता, प्रमाणिकता र आधिकारिकतालाई मजबुत बनाउनुपर्छ ।” भलै विभागको कार्यशैलीचाहिँ आधुनिकताको नाममा मौलिकता सिध्याउन उद्यत छ ।

नेपाली परम्परागत वास्तुकलामा काँचो चुन, सुर्की भनिने इँटाको धूलो, माटो र काठजस्ता सामग्री प्रयोग गरिएको हुन्छ । निर्माण प्रविधिमा नेपालीपन गाँसिएको हुन्छ । यसलाई हुबहु निरन्तरता दिनुपर्ने सम्पदाविद्को सुझाव छ । सम्पदालाई जीवित राख्न सिमेन्ट बर्जित गर्नुको विकल्प छैन । तर, विभागकै कतिपय इन्जिनियर सिमेन्ट प्रयोग गर्दा संरचनाको आयु बढ्ने, अझ बलियो हुने प्रचार गरिरहेका छन् । ठेकेदार दंग पर्ने भइहाले । जबकि, सिमेन्टको अधिकतम आयु नै सय वर्ष हुन्छ, त्यो पनि ढलान गर्ने पानीमा लवणको मात्र शून्य भयो र अन्य गुणको सन्तुलन मिल्यो भने मात्र । तर, हाम्रा सम्पदा त कयौँ शताब्दीदेखि जीवित छन् । माटो, काठ र इँटाबाट सम्पदा बनाउने, विभिन्न प्रकोपले क्षति पुग्ने र पुनर्निर्माण गरेर जस्ताको तस्तै बनाउने नेपाली परम्परा नै बनिसकेको छ ।

इन्जिनियरिङ अध्ययन संस्थानका पूर्वडीन तथा सम्पदा इतिहासकार प्राडा सुदर्शनराज तिवारी भन्छन्, “सम्पदा भनेको बाहिरी मात्र होइन, भित्री रूप पनि हो । त्यसैले बलियोको नाममा कंक्रिटमय बनाइयो भने मौलिकता भन्ने केही बाँकी रहन्न ।”

तर, विडम्बना ! स्वयं प्रधानमन्त्री केपी ओली नारा बनाइदिन्छन्, ‘देख्दा दुरुस्तै, बलियो प्रशस्तै ।’ अनि, सम्पदा कसरी सिमेन्टमुक्त होऊन् !

प्रकाशित: आश्विन १०, २०७५

ट्याग: सम्पदा