समयचेतका कविता [पुस्तक समीक्षा : म भात जोरूँ कि कविता लेखूँ]

पुस्तक : म भात जोरूँ कि कविता लेखूँ | लेखक : विश्वविमोहन श्रेष्ठ | प्रकाशक : साझा प्रकाशन | पृष्ठ : ९४ |मूल्य : रु. १९०

- रमण घिमिरे

तीस दशकको मध्यदेखि चालीस दशकको अन्त्यसम्म विश्वविमोहन श्रेष्ठ, अशेष मल्ल, दिनेश अधिकारी, विष्णुविभु घिमिरेहरुले नेपाली कवितालाई नयाँ मोड र आयाम दिने भरपुर कोसिस गरे । यस पुस्ताका यी कविहरुमा काव्यसिर्जनामा सहकार्य  हुँदाहुँदै पनि सिर्जनशीलतामा पृथकता र मौलिकता थियो । कवि विश्वविमोहन श्रेष्ठ यस पुस्ताका एक झरझराउँदा कवि हुन् । त्यही कालखण्डमा उनले लेखेको एउटा कविता पछिसम्म पनि औधि लोकप्रिय भयो– ‘म भात जोरूँ कि कविता लेखूँ’ । यही शीर्षक राखेर श्रेष्ठको कवितासंग्रह प्रकाशित छ ।

‘यात्रा’ देखि ‘म भात जोरूँ कि कविता लेखूँ’ सम्म छिचोल्दा उनका ३५ वटा कविता पढ्न पाइन्छ । र ‘म भात जोरूँ कि कविता लेखूँ’ भित्रका यी कवितामा देशले भोग्दै आएको विसंगति र विचलन, मानिसले खेप्दै आएको पीडा र सास्ती मात्र होइन, आशावादी धारका कविताहरु पनि पढ्न पाइन्छ । ‘यात्रा’ यस्तै आशावादी कविता हो भने ‘म भात जोरूँ कि कविता लेखूँ’ एउटा कविको बाध्यात्मक अभिव्यक्ति हो– म परिवारको भोको पेट भर्ने काममा लागूँ कि कविता लेखेर सिर्जनाको खेती गरुँ ?

प्रजातन्त्रको आह्वानमा रचिएको ‘तिमी आउँछौ भन्ने सुनेर’ कवितामा उनले पोखेको अभिव्यक्तिमा एउटा आशा र संशय पनि छ । यसलाई आजको समयसाग दाँजेर हेर्‍यो भने अझ सापेक्षित हुन्छ । भलै, कविता धेरै पुरानो हो । आशा गरेको प्रजातन्त्र आयो तर संशय यथावत् छ । रोगीलाई दुई गोली औषधी आएन, जनताले भरपेट खाने अवस्था आएन । न ठिहीमा लुगलुग कामिरहेकाहरुलाई ओढ्ने लिएर आयो, न त सम्पूर्ण विश्वलाई एक तला माथि उठाउने आन्दोलन भएर आयो । तर, फेरि ‘सूर्य : जो सधैँ यस बस्तीमा आउँछ’ ले एउटा नयाँ आशा र उमंग जगाउाछ । अनि, ‘खै त्यस्तो त केही देखिएन’, ‘रमेशमान, विज्ञान र जीवन’, ‘को हाँकेर हिँडिरहेछ’ कविताले असन्तुष्ट समय र परिस्थितिको वर्णन गर्छन् ।

‘म जिन्दावाद गाइरहेछु’ यस संग्रह पाठकलाई आन्दोलित पार्ने एउटा कविता हो । अनि, फेरि ‘नयाँ नेपालको चित्र लेख’ ले मानिसलाई आश्वासन र नवनिर्माणका लागि अभिप्रेरित गर्ने कविता हो ।

यसरी कवि विश्वविमोहनको ‘म भात जोरूँ कि कविता लेखूँ’ संग्रहभित्रका हरेक कविताले पृथक् काल र परिस्थितिलाई सम्बोधन गरिरहेका हुन्छन् । फरकफरक समयमा लेखिएकाले होला– प्राय: कविताले भिन्नभिन्न चेत र अवस्थाको कथा भन्छन् । यसैमध्येको ‘मृगतृष्णा’ एउटा गणितीय कविता हो । तर, यसले एउटै नियतिचक्रमा घुमिरहनुपर्ने जागिरे जीवनको नियतिलाई  मृगतृष्णामा परिभाषित गरेको छ । छोटो तर सटिक अर्को उनको कविता हो ‘एक टुक्रा’ ।

केही कविताले समयलाई पनि समाइरहेका छन् । हुन त, कविताले समाउने भनेकै समयलाई हो । तर, विश्वविमोहनका ‘पानी गल्दैन’ ले नेपालमा एक्लो मनोरन्जनको साधन रेडियो हुँदाको छेकको कुरा गरेको छ । यसले चालीस दशकअघिको नेपाललाई सम्बोधन गर्छ । अनि, ‘ गोर्खा पल्टनको सिपाही’ ले भाग्यबाट निर्वासित लाहुरबाट फर्केको एउटा गोर्खा पल्टनको सिपाही’ को विवशता बोल्छ, पुरानै समयलाई ।

विश्वविमोहनका केही कविता (२०४४), एउटा गन्तव्यको खोजीमा (२०६२), अंगारका धमिला धर्सा (२०६२) तीन कवितासंग्रह यसअघि नै प्रकाशित गरिसकेका श्रेष्ठको यो काव्यकृतिमा परिस्कृत कविताहरु पढ्न पाइन्छ । फेरि यसो भन्नु पनि अन्तिम सत्य होइन । किनभने, उनका अघिल्ला काव्यकृतिहरुमा पनि सशक्त शैली, विम्ब र सन्देश अभिव्यक्त भएकै छन् । तर, विविधताका दृष्टिले यो कृति अझ उम्दा र गहनतम छ ।

रातको मध्य पहरमा

जेलको घडीले बाह्र हान्दा

चिर्दै सन्नाटालाई सडक बोल्छ

हरेक बिहान मन्दिरका घन्टाहरुसँगै 

सरहमा एकाएक कोलाहल ब्यूाझँदा

वेश्याको चिसो तन्नासँगै सडक बोल्छ

(सडक बोल्छ)

जसरी ‘पानी गल्दैन’ मा सञ्चार–मनोरन्जनको एक मात्र साधन रेडियोलाई संकेत गरिएको छ, त्यसरी नै ‘सडक बोल्छ’ मा समय–सूचनाको छनक प्रस्तुत गरिएको छ । अर्थात्, कुनै समयको राजधानीमा घन्टाघरबाहेक समयसूचित माध्यम जेलको घडी रहेछ । कविताको अभ्यन्तरमा कविले अनेकौँ घटना–परिघटना, भोगाइहरुको बेलिविस्तार लगाए पनि समय र परिस्थितिजन्य कुरालाई थाहै नपाउने गरी सूचित गरेका छन् । त्यस कालावधिको खास अवस्थालाई वर्णन गरेका छन् ।

समग्रमा ‘म भात जोरूँ कि कविता लेखूँ’ कविता–संग्रहभित्र कवि विश्वविमोहनले यथार्थ र कल्पनासँगै स्वचिन्तनलाई पनि सुपठनीय शैलीमा प्रस्तुत गरेका छन् ।    र, ०४४ सम्मको कालक्रमलाई यसमा समेटेका छन् । तर, सिर्जनाकाल तीन दशकअघिको भए पनि उनको कविताले अभिव्यक्त गरेको कथा त आजको मानिसले पनि त्यही रुपमा भोगिरहेछ ।

प्रकाशित: आश्विन १०, २०७५