[निबन्ध] छ–पांग्रे ग्यास च्याम्बर

- विनोदविक्रम केसी

म को हुँ ?

मान्छे हुँ कि इँटा हुँ ?

मान्छे हुँ कि भेडाबाख्रा हुँ ?

मान्छे हुँ कि गुन्द्रुक हुँ ?

कसैको कठालो समातेर गर्नुपर्ने प्रश्न हुन् यी । तर, व्यस्त छन् मेरा हात, बसको डन्डी समाउनमा ।

हरेक दिन खात लाग्छु, चाङ लाग्छु, हुलिइन्छु, कोचिइन्छु, च्यापिइन्छु, खाँदिइन्छु । अमानवीयकरणको एउटा प्रक्रियामा सरिक हुन्छु । यसरी यो देशको सार्वजनिक यातायात मलाई मान्छेबाट तल खसाल्न उद्यत छ ।

दालभातसहित जिन्दगीका यावत् धन्दा चलाउन म दिनमा ५० किलोमिटरजति गुड्छु । चार वटा बस चढ्छु । घर–अफिस, अफिस–घरको यो सतत चक्करमा कहिलेकाहीँ कवि पाशलाई सम्झन्छु ।

सबसे खतरनाक होता है

मुर्दा शांति से भर जाना

होना तडप का सब सहन कर जाना

घर से निकलना काम पर

और काम से लौटकर घर जाना

सबसे खतरनाक होता है

हमारे सपनों का मर जाना

यो देशको सार्वजनिक यातायात मेरा सपनाहरु मार्न उद्यत छ ।

कहिलेकाहीँ मलाई गणित–प्रवीण बन्ने लहड चल्छ । हिसाब गर्न मन लाग्छ, मैले जीवनको कति समय बस कुरेर बिताएँ होला ? भरिलो बैँसमा मैले प्रेमिकाको त्यति प्रतीक्षा गरिना होला, जति म बसको प्रतीक्षा गर्छु ।

ठ्याक्कै तेइस वर्ष भएछ, सार्वजनिक यातायातको सिकार भएको । नियमित सिकार । यो काँठको बासिन्दा केन्द्र–काठमाडौँको सेवामा हाजिर हुन थालेको पनि एक जुग भयो । म त्यसरी नै उपस्थित हुन्छु सहरमा, जसरी युगौँदेखि सभ्य काठमाडौँले कोर्काली भन्ने काँठ दूध, सागपात, तरकारी, फलफूल बोकेर एकाबिहानै उसको दैलोमा उपस्थित हुन्छ । बस चढेर काँठ काठमाडौँ आउाछ, जसरी आउाछु म ।

सडकमा बस मात्रै गुड्दैन, झुन्ड–झुन्डको दादागिरी पनि गुड्छ, जसलाई  सिन्डिकेट भनिन्छ । साँच्चै, सिन्डिकेट त तोडियो क्यारे ! तोडियो भन्छन्, तोडियो होला । लोकसेवा आयोगको परीक्षामा सोधिन सक्ने एउटा प्रश्नमा तोडियो होला– कसको कार्यकालमा यातायातको सिन्डिकेट तोडियो ? तर, व्यवसायीको मनोमानी तोडिएको छैन । खाँदिएर, गुम्सिएर यात्रा गर्नुपर्ने दु:खी नागरिकको बाध्यता तोडिएको छैन । हिजो पनि बस छ–पांग्रे ग्यास च्याम्बर थियो, आज पनि बस छ–पांग्रे ग्यास च्याम्बर नै हो ।

जिन्दगी संघर्ष हो । दुनियाँमा यो जति थोत्रो वाक्य कुन होला ? विश्वप्रसिद्ध व्यक्तित्वदेखि टोलवरिपरि चर्चा–सीमित–व्यक्तिसम्मका मुखबाट निक्लने यो अभिव्यक्तिको गुरुत्व र वजन कहीँ प्रमाणित हुन्छ भने बसमा हुन्छ । चढ्नु, हूलको हिस्सा हुनु, जीउ बंग्याएर उभिनु, पेलिनु र भएभरका असुबिस्ता र असुविधालाई आत्मसात् गर्नु...। जिन्दगी संघर्षबाहेक अर्थोक के हुन सक्छ ?

कुनै बेला हाम्रो काँठतिर एक टुक्रा जग्गा बेचेर भए पनि मोटरसाइकल किन्ने चलनैजस्तो बसेको थियो । बीस–बाइस वर्षअघि होला । त्यतिबेला मोटरसाइकलको नम्बर प्लेटमा बा.अ.फ. लेखिएको हुन्थ्यो । जसले जग्गा बेचेर बाइक चढ्यो, त्यसलाई हामी उडाउाथ्यौँ– ‘बारी अब फर्किंदैन ।’ जमिनप्रेमी आमाबाउले सन्तानलाई माटो बेचेर मोटरसाइकल किन जुटाइदिन्थे होलान् ? सायद ती आफ्ना सन्तानलाई  बसबाट मुक्ति दिन चाहन्थे ।

बसलाई म ग्यास च्याम्बर देख्छु । बसलाई म ग्यास च्याम्बर भन्छु । छ–पांग्रे ग्यास च्याम्बर । चारपांग्रे ग्यास च्याम्बर पनि हुन्छ, माइक्रोबस ।

म रुट नम्बर २२ को यात्रु हुँ । नाम दक्षिणकाली यातायात । पुरानो बसपार्कदेखि दक्षिणकाली मन्दिरसम्म करिब २० किलोमिटरको यात्रा गर्दा (ग्यारेन्टी दिन्छु) बेहोर्ने हैरानी र पट्यारले तपाईंलाई लाग्नेछ– सहरबाट यति दूरदराजमा आइपुगियो कि अब भेटिइनेछन् आदिम गाउँबस्ती । तर, तपाईं फर्पिङमा हुनुहुनेछ, ऐतिहासिक नगरी फर्पिङ ।

पंक्तिकार हरेक दिन कवि पाशले खतरनाक तोकिदिएको अफिसबाट घर जाने क्रममा पुरानो बसपार्क पुग्छ । त्यसपछि सहिदगेट, त्रिपुरेश्वर, टेकु, कालिमाटी, कुलेश्वर, बल्खु, सुन्दरीघाट, चोभारगेट, चोभार डाँडो (जसलाई लभ डाँडो पनि भनिन्छ), हिमाल सिमेन्ट, चुन कारखाना, लप्सीको बोट, टौदह स्कुल, टौदह, पानी ट्यांकी, खहरे र मूलपानी डाँडा । करिब १० किलोमिटरको यात्रा । थप यति नै यात्रा गरेपछि पुगिन्छ दक्षिणकाली ।

दक्षिणकाली यातायातका बसहरु घुइँचोका लागि विख्यात छन् । एउटा बसमा कति मान्छे अट्छन् ? मैले आजका मितिसम्म भेउ पाउन सकेको छैन । अचम्मको गणित लागू हुन्छ, दक्षिणकालीको बसमा– ‘एउटा बसमा जति पनि मान्छे अटाउँछन् ।’ कोचाकोच मान्छे हुन्छन् र पनि कन्डक्टर भनिरहेको हुन्छ, ‘अलि–अलि सरौँ है, सरौँ ।’ ख्याल गर्नुभएको छ ? यो कन्डक्टर भन्ने जीव अचम्मको दृश्य शक्तिले लेस हुन्छ । जहाँ तपाईं चार अम्मल ठाउँ देख्नुहुन्न, त्यहाँ उसले चार जना मान्छे अटाउने ठाउँ देख्छ । देख्छ मात्रै होइन, अटाएरै छाड्छ ।

मंगलबार र शनिबार हामी बीच ठाउँका बासिन्दाका लागि दक्षिणकालीको बस चढ्नु युद्ध जित्नुबराबर हो । तपाईंलाई अलिकति कल्पनाशील बनाउने अनुमति दिनुहोस् । दिमागमा दृश्य खिच्न थाल्नुहोस् । (कुनै) शनिबार १० बजेतिर म सपत्नी तीन वर्षको छोरो बोकेर उभिएको छु, मूलपानी डाँडामा । षाण्चक्री साधन आउँछ, रोकिन्छ । हामी चढ्छौँ । बसभरि भक्तजन छन् । रातो टीकाले निधार ढाकेका, गलामा माला लाएका । लामो र्‍याकभरि भाकलमा चढाइएका कुखुराका भालेहरु लम्पसार छन् । बसभरि धर्मातीहरु छन् र हामी एक हातले डन्डी समाउँदै अर्को हातले अप्ठेरो गरेर छोरो बोकिरहेका छौँ । मेरी श्रीमती च्याँठिन्छिन्, ‘कसैले त (हाम्रो बाबु) बोकिदिए हुने नि ! वाँ’ भने धर्म गरेर आएका रे ! धर्माती रे !’

मलाई धर्मातीहरुको औकात थाहा छ । मलाई दक्षिणकाली मन्दिरको औकात पनि थाहा छ । अनि, प्रताप मल्लको पनि औकात थाहा छ । किंवदन्ती छ– नौ–दस वर्षकी बालिकालाई प्रताप मल्लले जबर्जस्ती करणी गर्‍यो । ती अबोधको मृत्यु भयो । पाप कटाउन प्रताप मल्लले दक्षिणकाली मन्दिर बनाउन लगायो । ‘दक्षिणकालीको बस सधैँ यस्तै हो’– हरेक यात्रुको एउटै टिप्पणी हुन्छ । सधैँ भीडग्रस्त, सधैँ च्यापाच्याप । तर, सत्य के हो भने सार्वजनिक यातायात बेथितिको ‘नेम’, ‘मिडिल नेम’ र ‘सरनेम’ तीनै थरी नाम भएकाले दक्षिणकालीको मात्र होइन, साँखु, थानकोट, कीर्तिपुर, सुन्दरीजल, भक्तपुर, बनेपा, लेले सबैतिरको बस सधैँ यस्तै हो । नेपालभरिकै बस सधैँ यस्तै हो ।

बसमा भीड छ । घुँडा कटकटी खाने सत्तरी वर्षीय वृद्ध उभिएका छन् । ढोलजत्रो भुाडी लिएर नौ महिनाकी गर्भवती उभिएकी छिन् । बिरामी उभिएका छन् । ‘अपांगता’ को पीडाले ग्रस्तहरु उभिएका छन् । म उभिएको छु । तपाईं उभिनुभएको छ । र, उभिएको छ एउटा प्रश्न । यो देशमा रेल कसलाई चाहिएको हो ?

मलाई त (सायद तपाईंलाई पनि) अलिकति सुबिस्ता दिने बस चाहिएको छ । यो देशका सडकभरि साझा यातायातका जस्ता ठूला र फराकिला बस चाहिएका छन् । ‘झार्ने, टिप्ने र दौडिहाल्ने’ महानगरका जस्ता बस चाहिएका छन् । झ्यास–पतिंगर यातायातका पत्करे डोकाजत्रा बसहरु चढ्दा–चढ्दा, तिनका देहभित्र खाँदिदा–खाँदिदा वाक्क भइसकेँ म । ‘चमेरे सिट’ (उभिएर बसको डन्डी समाइएको अवस्थालाई भुक्तभोगी यात्रुहरुले दिएको परिभाषित शब्दाबली) मेरो नियति बन्नु हुँदैन ।

डन्डी समातेर उभिँदा कहिलेकाहीँ म रोचक मनोदशामा पनि हुन्छु । भोल्तेयर भन्थे, ‘एउटै त क्रिस्चियन थियो दुनियाँमा, निर्दयीहरुले उसलाई पनि शूली चढाइदिए ।’ म पनि दुनियाँमा एउटै छु, आफ्नै खालको । मलाई पनि सार्वजनिक यातायातका गुण्डाहरुले...। तर, दैनिक हुने मेरो क्रुसिफिक्सन अलिक संकीर्ण र अलिक साँघुरो हुन्छ । म जिससले झैँ हात फिाजाउन कहाँ पाउाछु र ? बसको डन्डी समातेका हात खुम्चिएका हुन्छन् । खुट्टाको अवस्थिति चाहिँ मेरो पनि क्रसमा टाँगिएका जिससको जस्तै हुन्छ ।

कुनै बेला त उभिँदा–उभिँदा यति गाह्रो हुन्छ कि कसैले सिट छोडिदिन्छ भने बदलामा उसलाई सिंगै पृथ्वी दिऊँजस्तो लाग्ने ! तर, सिट छोडिदिने कसले ? बसभित्रको वर्गीय समाजमा उभिने र बस्ने दुई वर्ग हुन्छन् । सिटमा बस्नेहरु मोबाइलमा घोप्टिएका हुन्छन् । खै, कता पो सुनेँ– यो घोप्टे युग हो । घोप्टे युगमा सबै घोप्टिएका हुन्छन् । मोबाइलमा, ल्यापटपमा, ह्यान र त्यान ग्याजेटमा । अचेल बसमा कसैले पत्रिका पढेको देखिँदैन । घोप्टे युगकै करामत हो यो ।

तेइस वर्षमा बसका आकारप्रकार, रुपरङ कति फेरिए होलान् ! तर, तिनका भित्तामा लेखिइने दुइटा वाक्य जस्ताको तस्तै छन् । ‘पाकेटमारदेखि सावधान !’ र ‘ आफ् नो सामानको सुरक्षा आफैँ गर्नुहोला !’ पाँच सात वर्षयता बसहरुले पशुपतिनाथलाई चटक्कै छोडिदिए । नत्र हरेक बसमा ‘श्री श्री श्री पशुपतिनाथले रक्षा गरुन् !’ लेखिएका हुन्थे । सायद पशुपतिनाथबाट रक्षा र कल्याणका मामिला पार नलाग्ने सत्य बोध गरियो । अहिले अर्को एउटा वाक्य पनि हरायो– ‘हामी सबै मिलीजुली यात्रा गरौँ !’ मलाई मिलीजुलीको बिजोग देख्दा भाउन्न हुन्थ्यो । बसैपिच्छे यसका ह्रस्वदीर्घ फरक–फरक हुन्थे– ‘मीलीजुलि’, ‘मिलिजुलि’, ‘मीलीजूली’, ‘मिलिजूली’...। मैले मिलीजुलीका सहस्र रुप तथा औतार देखेको थिएँ ।

बसलाई म ग्यास च्याम्बर देख्छु । बसलाई म ग्यास च्याम्बर भन्छु । छ–पांग्रे ग्यास च्याम्बर । चारपांग्रे ग्यास च्याम्बर पनि हुन्छ, माइक्रोबस ।

हिटलरले लाखौँ यहुदी संहार गरेथ्यो, ग्यास च्याम्बर प्रयोग गरेर ।  

मान्छेका रुपमा मेरा विभिन्न आयाम छन् । छ–पांग्रे ग्यास च्याम्बर प्रयोग गरेर मेरा ती आयाम संहार गरिँदै छन् । हाइड्रोजन साइनाइड र कार्बन मोनोअक्साइडजस्ता विषालु ग्यासको प्रयोगबिनै ।

हजारौँ ग्यास च्याम्बर सञ्चालन गरेको थियो, नाजी जर्मनीले । भनिन्छ– हिटलर ग्यास च्याम्बर निरीक्षण गर्न कहिल्यै गएन ।

यो देशका शासक पनि त बस चढ्दैनन् ।

प्रकाशित: आश्विन १०, २०७५

ट्याग: निबन्ध