नाटक घरजस्तो

- गोकर्ण गौतम

तीन दर्जन स्टेज नाटक गरिसकेकी छन्, सिर्जना सुब्बाले । एउटै नाटकमा चार–पाँच थरी भूमिका वहन गरेको अनुभव पनि छ । तर, एउटाबाहेक अरु चरित्र स–साना थिए, सोही कारण एउटाबाट अर्कोमा रुपान्तरित हुन खासै मुस्किल पर्दैनथ्यो । हाल मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक जालिनीमा उनका जम्मा दुइटा भूमिका छन् । तैपनि, पात्रलाई जीवन्तता दिन बडो सकस परिरहेको छ । कारण, दुवै चरित्र महफ्वपूर्ण छन् र एकअर्कामा भिन्न पनि । एउटा, कथावाचक । अर्को, दासहरुकी विद्रोही महिला, जलजला । रंगमञ्चमा झन्डै डेढ दशक बिताइसकेकी सिर्जना भन्छिन्, “फरक आयामका पात्र स्टेजमा वहन गर्न साँच्चै कठिन रहेछ । अभिनय गरिरहँदा एकअर्कामा पात्रको प्रभाव पर्छ कि भन्ने डर हुन्छ । तैपनि, राम्रो गर्ने प्रयास गरिरहेकी छु ।” 

प्राय: नारी विषयक नाटकमा काम गरेकी छन् । गत वर्ष युमा  नाटक निर्देशन गरेर आफ्नो क्षमताको नयाँ पाटो उघारिन् । उनलाई नेपाली नाटकमा नारीका विषयले यथेष्ट स्थान नपाएको आभास हुन्छ । मण्डलाकी संस्थापक उपाध्यक्षसमेत रहेकी सिर्जना भन्छिन्, “महिला लेखक नहुनुको परिणाम हो यो । त्यसैले कलाकार र निर्देशक मात्र होइन, महिला लेखक अझ आवश्यक छ ।” नयाँ नाटक निर्देशन गर्न लागिपरेकी उनी अनुभव लिएर मात्र निर्देशनमा लाग्नु उचित हुने धारणा राख्छिन् ।

सिर्जनाले लुट, डाइङ क्यान्डल, चक्कर, मिस्टर भर्जिन, लुट लगायत एक दर्जन फिल्ममा पनि अभिनय गरेकी छन् । नाटक र फिल्ममा कुन प्यारो  ? सिर्जना भन्छिन्, “मेरा लागि नाटक भनेको घर हो, फिल्म भनेको घर छाडेर ‘रिफ्रेस’ का लागि घुम्न गएजस्तै ।”

प्रकाशित: आश्विन ८, २०७५

ट्याग: रङ