गुदीमा भन्दा गातामा ध्यान [फिल्म समीक्षा : इन्टु मिन्टु लन्डनमा]

फिल्म : इन्टु मिन्टु लन्डनमा | रेटिङ : २/५

- गोकर्ण गौतम

कुनै जमानाका सुपरहिट निर्देशक तुलसी घिमिरे भन्छन्, “फिल्मको प्रविधि र लगानीमा प्रगति भयो । तर, सोच जहाँको तहीँ छ ।” नयाँ फिल्मकर्मीप्रतिको यो कटाक्ष/व्यंग्य कतिपयलाई घिमिरेको कुण्ठाजस्तो लाग्न सक्छ । तर, गहिरिएर नियाल्ने हो भने घिमिरे–कथनमा सत्यकै पल्ला भारी छ । किनभने, फिल्मको लगानी बढेको छ । तर, कथा र कलात्मक पक्षमा उल्लेखनीय उपलब्धि छैन । आत्मालाई बेवास्ता गर्दै निर्देशकहरु आवरणमा रमाउन थालेका छन् । पछिल्लो उदाहरण हो, इन्टु मिन्टु लन्डनमा

भव्य सेट छ, आकर्षक लोकेसन छ, सुन्दर हिरो–हिरोइन छन्, महँगा पहिरन छन्, सुमधुर गीत छ । अर्थात्, यसको गाता चम्किलो छ । तर, गाथा अर्थात् कथा र कथनपद्धतिचाहिँ फितलो । फलत: पर्दामा अभिव्यक्त संवेदना दर्शकसम्म प्रवाह हुन्न । कोरियोग्राफरका रुपमा एक दशक अनुभव संगालेपछि रेनशा वान्तवा राईले फिल्म निर्देशनको ‘कमाण्ड’ सम्हालिन् । फिल्म हेरिरहँदा लाग्छ, निर्माण पक्षबाट उनलाई नपुग्दो केही थिएन । तैपनि, अपेक्षाकृत निर्देशन कौशल देखाउन चुकिन् । उही आवरणमै अल्झिन् उनी पनि ।

नेपालबाट लन्डन गएकी छन्, मीरा (साम्राज्ञीराज्यलक्ष्मी शाह) । त्यहाँ उनको भेट इशान (धीरज मगर) सँग हुन्छ । बिस्तारै नजिक हुन्छन्, माया बस्छ । तर, यो सम्बन्ध मिराका बाबुलाई पटक्कै पाच्य हुन्न । बाबुले मीराको विवाह सैनिक अधिकृत आकाश (सारुक ताम्राकार) सँग तय गरिदिन्छन् र छोरीलाई लिएर नेपाल आउँछन् । इशान र मीराको मायाको डोरो यहीँ चुडिएला त ? सन् ९० को दशकका हिन्दी फिल्मका दर्शकले यसको कथानक विकास सहजै अन्दाज लगाउन सक्छन् ।

माया बस्नु, केही अवरोध आइलागेर छुट्टिनु अनि फेरि माया गाँसिनु वा विछोड हुनु, संसारभर बन्ने प्रेमकथानक फिल्म यही पेरिफेरीमा हुन्छन् । मायालाई मन छुने ढंगले स्थापित गरिएको छ भने मात्र विछोड हुँदा दर्शकको मन भतभती पोल्छ । इन्टु मिन्टु लन्डनमाको आधारभूत समस्या भनेकै इशान र मीराको माया परिपक्वसँग पस्कन नसक्नु हो । उनीहरुलाई बारम्बार भेटेको देखाइन्छ । तर, उतिविघ्न मायाको आभास हुन्न । प्रेम पस्कने शैली पनि नौलो छैन । त्यसमाथि मध्यान्तरअगाडि उस्तै लाग्ने दृश्य बारम्बार दोहोरिन्छन् । पटकथा छरितो नहुनुको परिणाम हो यो । यस्ता अनावश्यक दृश्य सम्पादन गर्ने मौका रेनशाले सदुपयोग गरेकी छैनन् । जबकि, पटकथासमेत रेनशाले अभिमन्यु दीक्षितसँग मिलेर लेखेकी हुन् । कतिसम्म भने कतिपय घटनाहरु ‘फ्ल्यासब्याक’ हो कि वर्तमान, छुट्याउन मुस्किल पर्छ । एवंरीतले लटरपटर गर्दागर्दै मध्यान्तर हुन्छ । तर, यहीँसम्म पनि लन्डनका मनमोहक लोकेसन र साम्राज्ञी–धीरजको ‘केमेस्ट्री’ ले राहतचाहिँ हल्काफुल्का दिइरहन्छ ।

आकाशको प्रवेशसँगै केही समय कथाले गति लिन्छ । उनको चरित्र चित्रणले ध्यान खिच्छ । उनी र इशानको द्वन्द्व खिच्दा निर्देशकले ढंग पुर्‍याएको आभास हुन्छ । बरु मीराकै चरित्र कमजोर लाग्छ । आधुनिक युवतीको मनोविज्ञान र आकांक्षा समेट्न सकिएको छैन । उनी के गर्छिन्, के पढेकी हुन् भन्नेसम्म भेउ पाइन्न । राजदूत बाबुको छोरीको खुसीमाथिको एकोहोरो हस्तक्षेप पनि उति विश्वसनीय लाग्दैन । बरु लन्डनका नेपालीको जीवनशैली, व्यवहार र लवज स्वाभाविक लाग्छ । अधिकांश संवाद साहित्यिक छन् । सुन्दा गहकिला तर पात्रसँग असुहाउँदो । यस्ता पक्षलाई नजरअन्दाज पनि गर्न सकिन्थ्यो, यदि कथा र समाख्यान सशक्त हुँदो हो त । तर, त्यस्तो अवसर पाइन्न । कारण उही, निर्देशकको जोड ‘हार्डवेयर’ मा छ, ‘सफ्टवेयर’ मा होइन ।

विवाह, इन्गेजमेन्ट वा कुनै जमघट झाराटराइ शैलीमा देखाइएको छैन । धेरै हदसम्म यथार्थपरक ढंगले मिहिनेत गरेर खिचिएको छ । यो फिल्मको सुन्दर पक्ष हो । सबै गीत एकसेएक राम्रा छन् । कोरियोग्राफीले आँखा शीतल बनाउँछ । शैलेन्द्रध्वज कार्कीको खिचाइ फिल्मको अर्को प्रशंसनीय पक्ष हो । तर, डबिङ धेरै ठाउँमा खट्किन्छ । पाश्र्व संगीत दृश्यको भाव अनुकूल छ । इन्टु मिन्टु लन्डनमाको ढोकाबाट प्रवेश गरेको उज्यालो अनुहार हुन्, धीरज मगर । चकलेटी हिरोहरुका तुलनामा उनको काम अब्बल छ । उनी अनमोल केसी, प्रदीप खड्काहरुलाई ‘थ्रेट’ हुन् । अभिनयमा अझ निखार ल्याउन जरुरी त छँदैछ ।

साम्राज्ञीको हकमा चाहिँ शून्य प्रगति । अनुहारको भावभंगीमा र संवाद बोल्ने शैली बनावटी छ । यही स्तरको अभिनय र फिल्म छनोटले उनको आभामय भविष्यको सुनिश्चितता दिलाउँदैन । यसअघि मुख्य भूमिकामा देखिएर पनि जम्न नसकेका सारुकका लागि यो फिल्म प्रीतिकर हुन सक्छ । विवेक लिम्बूले थोरबहुत हसाउँछन् । निर्माताको लगानी अनुरुप निर्देशकका रुपमा रेनशाले प्रतिफल दिन नसकेको तीतो–सत्य हो । आशा छ, आगामी दिनमा गाताजस्तै गुदीमा पनि ध्यान दिनेछिन् ।

कथा र प्रस्तुतिमा अन्य नेपाली प्रेमकथानक फिल्मभन्दा माथि उठ्न सकेको छैन, इन्टु मिन्टु लन्डनमा । तर, तल पनि छैन । हेर्ने/नहेर्ने आफ्नै मर्जी । अँ, धीरज मगरका प्रशंसकले चाहिँ नछुटाउँदा हुन्छ ।

प्रकाशित: आश्विन ५, २०७५