[स्मरण] ‘तेस्रो आयाम’को न्वारान

- वैरागी काइँला

तेस्रो पटक मलाई लागेको टीबी रोग बल्झियो । तारककुमार कार्कीको प्रयासले डा जीएस गुरुङको उपचार र निगरानीमा देशबन्धु चेस्ट क्लिनिक, बडा कागझोडामा भर्ना भएा, सन् ०६२ को हिउँदमा । दैनिक हेरचाहमा सहयोग गर्ने उतिबेला राजाको निरंकुश कदमविरुद्ध सशस्त्र क्रान्तिमा लागेका मेरा दाइ भूविक्रम नेम्बाङका सहयोगी आफ्नै गाउँका काशीराम आचार्य थिए । ताप्लेजुङ, पाँचथर, इलाम र झापाका क्रान्तिकारी साथीहरु पनि हेर्न आइरहन्थे । साहित्यकारमा आइबी राई र ईश्वरवल्लभ पनि भेट्न आइरहन्थे ।

यो ०१९ हिउाददेखि ०२० को असार–साउनसम्मको कुरा हो । त्यसअघि नयाँ ढंगको लेखन अगाडि सार्नुपर्छ भनेर म प्रकाशक र ईश्वरवल्लभ सम्पादक भएर फूल पात पत्कर (सन् १९६१) पत्रिकाका दुई अंक निकालिसकेका थियौँ । ईश्वरवल्लभ अलि बेग्लै स्वभावका थिए, कसैसाग नदब्ने । यस्तै स्वभावले गर्दा टर्नबुल हाइस्कुलबाट पनि राजीनामा गर्नुपरेको थियो । त्यसपछि उनी फुलटाइमर साहित्यकारजस्तै भए । उनको आईबी राईसाग घनिष्ठता र सहकार्य बढ्यो ।

नेपाली साहित्यमा नयाँ ढंगमा लेख्ने अभियानलाई के कसरी मूर्त रुप दिन सकिन्छ भन्नेमा हाम्राबीच छलफल भइरहन्थे । पाठकले ‘झ्वाम्म’ अथवा ‘डल्लै’ अनुभूत गर्न सक्ने सिर्जना गरिनुपर्ने कुरा हुन्थे । ‘च्याप्टो’ साहित्यले मानिसको अनुभूति सग्लै व्यक्त गर्न सक्दैन भन्थ्यौँ । म बिरामीलाई हेर्न आएका बखत एक दिन दाइ आईबीले भन्नुभयो, “नयाँ थोक केही गर्नुपर्छ । नयाँ पाराको काम केही गर्नुपर्छ ।”

त्यसैबेला नेपालबाट रुपरेखाले प्रेमकविता विशेषांक निकाल्दै थियो । उताका साहित्यकारहरुको रचना संकलन गरेर पठाइदिन आईबी राई सक्रिय रुपले लागे । मलाई पनि लेख भन्नुभयो । मैले ‘मेरो अटोग्राफ’ भन्ने प्रेमकविता लेखेँ रुपरेखाका लागि ।

च्याप्टो साहित्यका विरुद्ध डल्लो साहित्य लेखनका लागि पत्रिका निकाल्ने कुरा भयो । अर्थको व्यवस्था र नाम सुझाउने दायित्व मेरो काँधमा आइलाग्यो । मैले सुझाएँ– ‘थर्ड डाइमेन्सन’ । अनि, त्यसैलाई नेपालीकरण गरेर जन्मियो– तेस्रो आयाम पत्रिका ।

पहिलो अंक (असार, २०२०) मा मेरा दुई कविता ‘मातेको मान्छेको भाषण मध्यरातको सडकसँग’ र ‘साँझ : रेखाचित्र’ छापिएका थिए । ईश्वरवल्लभका दुई कविता– ‘आयतनमा जिन्दगी’ र ‘बन्द कुहिरोमा नानीका पाइला’ अनि आईबी दाजुको कथा ‘काजु, बदाम र ब्ल्याकआउट’ प्रकाशित थिए । अगमसिंह गिरीको ‘चिहान यहाँ बोलिरहेछ’ कविता पनि छापिएको थियो ।

जम्मा २० पृष्ठको पत्रिकामा आईबी राईले लेख्नुभएको २० पंक्तिको पहिलो अंकको सम्पादकीय नै तेस्रो आयाम को दर्शन बन्यो । उहाँले लेख्नुभएको थियो, अबको साहित्य लेखनले मानिसको सम्पूर्णतालाई उचाल्न सक्नुपर्छ मानिस आँखा मात्र, कान मात्र, मन मात्र होइन जम्मै इन्द्रिय, हृदय, मस्तिष्कको पुञ्ज हो , अब लेखिने प्रत्येक वाक्य पंक्तिले उसको सम्पूर्णतालाई समाउनुपर्छ, उचाल्नुपर्छ यो गर्न हाम्रो प्रत्येक कृतिले तृतीय आयाम आफूमा ल्याउन सक्नुपर्छ दु: पाउने मान्छेको कथा वा कविता त्यो एउटा मान्छेले दु: पाएको कथा वा कवितामा मात्र सीमित नरहोस् त्यसले उठ्न सकेर त्यो टुक्रा कुराको पछि विशाल विचार बसेको होस् उँभोतिर एउटा दर्शनको आकाश टाँगियोस्, त्यो एउटा टुक्राले राजनीति बोकोस्, सामाजिक भाष्य बनोस् त्यो त्योमात्रभन्दा धेरैधेरैअरुकुरा होस् यहीधेरैहरु होतेस्रो आयाम

धेरै अरुभित्र सबै समेटिने कुरा बुझिन्छ हामी मानिस एक्लै वा थोरैमा आफू मात्र रमाउन थालेकाले हामीले हरायौँ समग्रता वा सम्पूर्णता आज हाम्रोहराएको सम्पदा भयो सम्पूर्णता अबको लेखनको दर्शन त्यो सम्पूर्णताको पुन:प्राप्ति हुनुपर्छ

सम्पूर्णताको दर्शन र समग्रताको लेखनबारे आईबी राईको उक्त विचारोत्तेजक सम्पादकीय आयामिक लेखनको आधारशिला बन्न पुग्यो ।

यथार्थमा आयामिक लेखन के लेख्ने हो भन्दा पनि कसरी लेख्ने भन्नेमा पछिसम्मै केन्द्रित थियो । शब्दमा व्यक्त भएका स्रष्टाको अनुभूति पाठकले डल्लै (सम्पूर्ण) ग्रहण गर्न सक्ने गरी कसरी लेख्ने ? यस्ता प्रश्नहरुका उत्तरको खोजीमा मिथकीय विम्बदेखि चित्रकलामा चलेका अमूर्त तथा घनत्ववादी शैली र चित्रकलाको सोझो साम्य भाषा प्रयोगको चर्चा गर्दै निस्केको थियो, तेस्रो आयाम । 

आरम्भदेखि पछिसम्म नै चर्का विरोधको सामना गर्‍यौँ । अन्तत: यही विरोधले नेपाली साहित्यमा ‘तेस्रो आयाम’लाई स्थापित गरायो ।

प्रस्तुति : रमण घिमिरे

प्रकाशित: आश्विन ४, २०७५

ट्याग: सस्मरण