[स्मृति] चिट्ठीमा प्रेम

- वसन्त आचार्य

जातभातमा धनीगरिब भनेर भेदभाव नगर्ने, रगतको नाताभन्दा भावनाको नाता ठूलो हुन्छ भन्ने कुरामा विश्वास गर्ने, देशलाई माया गर्ने अनि आवश्यक परेमा देशका लागि ज्यान पनि दिन पछाडि नपर्ने देशभक्त एवं मिलनसार जुनसुकै ठाउँको साथीले पनि मसँग मित्रताको साइनो गाँस्न सक्नुहुनेछ

रेडियो नेपालको कार्यक्रम साइनोमा यति भनेर कार्यक्रम उद्घोषकले मेरो नाम र ठेगाना के उच्चारण गरेका थिए, नाम प्रसारण भएको विज्ञापन नि:शुल्क गाउँभरि एकाएक फैलिएछ । रेडियोका राम्रा कार्यक्रममा नाम प्रसारण गर्न कविता, मुक्तक र गजल लेख्नुपर्ने मेरो ढंगै पुगेन । मलाई पत्रमित्रताबारेमा केही पनि थाहा थिएन । पत्र लामो समयसम्म पनि प्रसारण नभएपछि अस्पतालले बिदा दिएको बिरामीजस्तै जम्मै आशा मारेको थिएँ ।

झुक्किएर हो कि नाम प्रसारण भएछ । मेरो खुसी झुसिलकिरोबाट एकाएक पुतलीजस्तो पो भयो । जेनतेन सम्हालिएँ । एक हप्तापछि हुलाकी दाइ लगातार चिट्ठीका मुठा बोकेर घरमा आउन थालेपछि मनमा एकाएक सेलिब्रिटीको रंग गाढासँग पोतियो । उतार्न खोजेँ । तर, पर्मानेन्ट मार्करले लेखेझैँ जाँदै गएन ।

चिट्ठी राखेको खाम, टाँसिएको टिकट र अक्षर मात्रै फरक हुन्थे । हरेक पत्रमा ‘तपार्इंको भावना मलाई निकै मन पर्‍यो, मित्रता गाँस्न यो पत्र पठाएको’ भनेर लेखिएका हुन्थे । पत्रहरु केटाभन्दा पनि केटीका बढी आउँथे । भर्खर जुँगाका रेखी बस्न थालेको याममा केटीका चिट्ठी आएपछि मनमा एकाएक खुसीको भ्वाइलिन रेटिन्थ्यो । चिट्ठीका हरेक अक्षरबाट अभिव्यक्त नै गर्न नसकिने खालको सुगन्ध बहन्थ्यो । साँच्चै अत्तर छर्किएजस्तो मीठो बास्ना आउँथ्यो पानाबाट । यौवन र प्रेम फूलजस्तो बास्नादार अरु के पो छ र दुनियाँमा ?

घरमा एकाएक चिट्ठीका खात लाग्न थालेपछि छोरो सानैमा ‘ठूलो’ मान्छे भएजस्तो लाग्यो होला । बाआमा गाउँभरि प्रचार गर्नुहुन्थ्यो । मेरै उमेरका केटाहरु केटीको चिट्ठी आएकामा घुटुक्ट थुक निल्थे । उनीहरुले चोरचार पारेर रेडियोमा चिट्ठी पनि पठाए । उनीहरुको चिट्ठी कहिल्यै प्रसारण भएन । गाउँभरि ठिटाहरुको भीडमा केवल म मात्रै सेलिब्रिटी भइरहेँ ।

सेलिब्रिटी गरिमालाई कसरी टिकाइराख्ने ? खातका खात चिट्ठीको जवाफ लेख्नु थियो । दुई रुपैयाँको टिकट टाँसेर पठाए पनि करिब ५ सय सकिने छाँट थियो । पाँच सय त्यतिबेला मलाई उच्चारण गर्न मात्रै बनेको पैसाजस्तो लाग्थ्यो । कहिलेकाहीँ खुसीहरु पनि हैसियत भुलेर पो आउँदा रहेछन् ।

चिट्ठीलाई प्राथमिकताका आधारमा वर्गीकरण गरियो । पहिलो चरणमा केटा र केटीको छुट्याइयो । त्यसपछि अलि राम्रा नाम गरेका केटी परे । अन्तिम चरणमा भेट हुने सम्भावना भएका नजिकका चिट्ठी परे । तर, त्यतिबेला नजिकको भनेको बुटवलबाट आएका चिठी थिए ।

खाजा खर्च कटाएर बिस्तारै प्राय: चिट्ठीहरु सम्प्रेषण गरियो । यस्तैमा मन हल्लाउने चिट्ठी आयो, बुटवलबाट अनिशा केसीको । नामै कति राम्रो ! खुसीको तापक्रम १०२ डिग्री रापिलो भयो ।

प्रत्येक अक्षरलाई स्पर्श गरेपछि नाममा अडेस लाग्दै आँखामा सुन्दर अनुहारको छाप बसालेर पत्र लेखेँ । लेख्नु नै के थियो र ! उही देशभक्ति भावना, वर्गीय र जातीय समानताको आदर्श । उसले मेरो भावना मन पराएर पत्र कोरेकी थिई । पहिलो लटमा १० जना केटीलाई पत्र पठाइयो, जसमा अनिशा पहिलोमा ।

पत्र आउने क्रम दौडिरहेको थियो । धेरैजसो चिट्ठी सबैभन्दा पहिले घाम बोक्ने जिल्लाका थिए । आउन कम्तीमा एक महिना कुर्नुपथ्र्यो । औपचारिकताका लागि लेखिने चिट्ठीको खासै महफ्व हुँदैनथ्यो । तर, केही मन खाने पत्रहरुको भने निकै प्रतीक्षा हुन्थ्यो । मिति हेरेर क्यालेन्डर कोर्न मन लाग्थ्यो । सबैभन्दा बढी उत्सुकता हुन्थ्यो, अनिशाको पत्रमा । हरेक पटकको चाङमा अनिशाको पत्र प्रतीक्षा हुन थाल्यो ।

करिब एक दर्जन चिट्ठी आदान प्रदानपछि मायाको डोरी कसियो । फुकाल्न संसारकै वलबान मान्छे आए पनि सम्भव छैन । अक्षर र फोटोका आधारमा प्रेमको नदी बग्न थाल्यो, कर्णालीजस्तो । रोक्नै नसकिने गरी भेलजस्तै बनेर ।

एसएलसी दिँदा लाएको पिरती ११ कक्षा पढ्दासम्म चलिरहेको थियो । केटी त प्रेममा अनौठोसँग पागल पो हुन थाली । पानामा चुम्बनको लिपिस्टिक मात्रै पोत्ने होइन, रगतसम्मले पनि लेखी । ‘वसन्त, म तिमीबिना बाँच्न सक्दिनँ, आई लभ यु !’ यौवनले पखेटा हाल्न थालेको ममा योभन्दा गहिरो शब्द सुन्न सक्ने तागत थिएन ।

रगतको जवाफ रगतमै दिनैपर्‍यो । धेरै पटक बाले दाह्री फालेर राखेको ब्लेडले हात काट्ने प्रयास गरेँ । तर, काट्न सकिनँ । साता दिनसम्म पनि पठाउन सकेको थिइनँ । विचरीलाई कस्तो तडप भयो होला ! मनमा अनौठोसाग माया पलाउँथ्यो ।

गाउँमा खनाल बाजेले सधैँ शनिबार खसी काट्थे । आमालाई कट्नेसी खान निकै मन लागेको रहेछ । कट्नेसीमा रगत पनि मिसाइन्थ्यो । तीन दिनदेखिको लगातार रुवाइकराइ र धम्क्याइपछि आमाले आशाको टुकी बालिदिनुभयो । साता दिनदेखिको बेचैनी फुत्त बाहिर गयो ।

रगत लिन आफैँ गएँ । लुकाएर कचौरामा अलिकता रगत राखेँ । कसैले नदेख्ने गरी सादा कागजमा लेखेँ, ‘अनिशा, आई लभ यु ! म तिमीलाई जीवनसाथी बनाउन चाहन्छु ।’ रगतको अक्षरले पाना भरिएपछि मन उत्पात सँग खुसीले फन्कियो ।

मलाई आइतबार कुर्न हम्मेहम्मे भयो । चिट्ठीमा अरु केही लेख्न मन लागेन । रगतले त्यति मायालु कुरा लेखेपछि डटपेनले पनि के लेख्नु ! चिट्ठी खसालेपछि दिन गन्न थालेँ । तर, हातखुट्टा दुवैका औँला गने पनि कहाँ पुग्थ्यो र ?

बेचैनी महसुस नगरेर आफ्नै लयमा चिट्ठी आयो । मैले हल्का प्रेमका कुरा हुन थालेपछि खाममा केटाको नाम लेख्न भन्थेँ । स्कुल गएको बेलामा घरकाले चिट्ठी खोले भने ? ममा त्रास व्याप्त थियो । उसले अनिश केसी लेख्थी । आमाले त्यो चिट्ठी पनि दिएपछि मेरो भोक नै सुइँकुच्चा ठोक्यो । अनिशाले उस्तै गरी रगतले लेखेर पठाएकी थिई । उसले पनि कट्नेसी काण्डकै फाइदा उठाएर लेखेजस्तो लाग्यो । आफू चोर भए अरु पनि उस्तै लाग्नु स्वाभाविक नै हो ।

अनिशाले मलाई आफ्नो गाउँ देवदह बोलाएकी थिई । घरमा बाआमासँग कुरा गरेको र मलाई उहाँहरुले पनि हेर्न खोज्नुभएको आशय थियो । हिन्दी फिल्म दिलवाले दुल्हनिया ले जायेंगेको गीत गुनगुनाउन मन लाग्यो, ‘डोली सजाके रखना मेहेन्दी लगाके रखना...।’ अब मेरो एउटै मिसन बाँकी थियो– दसैँमा जसरी पनि बुटवल जाने–आउने भाडाका साथै अनिशाका लागि राम्रो उपहार दिने ।

दसैँ आयो । नातेदारका घरमा गइयो पनि । पैसा सोचेजस्तै जुट्यो । बुटवल जान र उपहार किन्ने आरामदायी पैसा थियो । औँला भाँच्दाभाँच्दै आयो र गयो पनि । आमासँग बुटवलमा साथीको घर जान निकै अनुनय–विनय गरेँ । १२ कक्षामा पढ्ने छोरोले जिद्दी गरेपछि आमाले पनि हुन्छ भन्नुभयो ।

मनमा अनेक उत्साह बोकेर म दोस्रो पटक बुटवल जाँदै थिएँ । पहिलो पटक स्कुलबाट भ्रमणमा गएको थिएँ । बिहानको गाडी चढेँ । दिउँसो १ बजेतिर पुगियो । बुटवल पाल्पा चोकमा पुगेर मिठाई र उसलाई मन पर्ने नायक श्रीकृष्ण श्रेष्ठको ठूलो पोस्टर किनेँ । हातमा उपहार र मनमा उत्साह बोकेर देवदह गाविस–२ मा पुगेँ । मनमा खुसी, उत्साह र डर एकै ठाउँमा मिसिएर मलाई के भइरहेको छ भन्नेसमेत ठम्याउन सकेको थिइनँ ।

मनको घरमा बसेको मान्छे बस्ने घर सोध्दै गएँ । साँझको करिब ६ बजिसकेको थियो । चिट्ठीमा कोरेको चित्रलाई हेर्दैहेर्दै गएको थिएँ । तर, मैले सोधेको अनिशा नाम भने कसैले चिनेनन् । कस्तो फसाद ! मनका उत्साह एकाएक कता हराए कता ! मनले पीडा मात्रै महसुस गर्ने भयो । राती ८ बजिसक्यो । तर, पत्तै लागेन । एउटा घरमा दानी मनका मान्छे रहेछन् । रात परेकाले बस्न भने । मेरा लागि त्यो ठूलो चिट्ठा थियो । साँझ खाना खाएपछि घरबेटीले बिस्तारा लगाए– ‘अस्ति नै पनि केही केटाहरु त्यही नाम खोज्दै आएका थिए । हामीले कोही छैन भनेर फर्कायौँ ।’

मेरो अनुहार र मनको उत्साहको बत्ती झ्याप्प निभ्यो । त्यो दुई वर्षको प्रेम, त्यो रगतको चिट्ठी अनि दुई वर्षको बेचैनी । एक दर्जन शब्दको एक वाक्यले बत्ताएर कता हो कता लग्यो !

मिठाई र पोस्टरको उपहार त्यहीँ छाडिदिएँ । बिहानै दाङ फर्कें ।

पत्रमित्रताप्रति वितृष्णा आउन थाल्यो । कसैको पत्रको जवाफ पनि फर्काइनँ । अचानक धेरै पछि पत्र आयो ।

‘वसन्त, तिमी मलाई खोज्दै मेरो गाउँ आएका रहेछौ, मेरो मायाले । मैले पनि तिमीलाई देखेँ, वास्तवमा म केटी होइन, केटा हुँ । तिमीलाई झुक्याएको मात्रै ।’

भुल्न थालेको प्रेममा फेरि नुनचुक दलियो । मनसँग खेल्न मान्छेलाई कस्तो सजिलो !

पत्र पढिनसक्दै च्यातेँ अनि बाकसमा लुकाएर राखेका पुराना चिट्ठी पनि च्यातेँ । मन हलुंगो भयो । बिस्तारै पीडाको रङ खुइँलिँदै गयो ।    

प्रकाशित: आश्विन ४, २०७५

ट्याग: साहित्य