[तीन किताब] मुराकामी एम्बेसडर

- अनुप बराल

मन परेको पुस्तक एकै बसाइमा सकाइदिन्छु । विश्राम लिएर पढ्दा प्रभावको प्रवाह टुट्ने डर हुन्छ । उहिल्यै साथी र म दूध दुहेका बेला पनि पालैपालो सस्वर वाचन गरी किताब पढ्थ्यौँ । शिल्प, भाषा र प्रस्तुतिले फरक प्रभाव पार्ने हुनाले अनेक विधाका पुस्तक सम्झिन्छु । निर्मल वर्माको जस्तो यात्रामूलक र व्यक्तिचित्रात्मक गैरआख्यानले मलाई छुन्छन् ।

सन् १९९५ मा नेसनल स्कुल अफ ड्रामा (एनएसडी) मा पढ्दा ताका नाटकका लागि टेक्स्ट खोज्दै थिएँ । तर, मेरो खोजले गतिलो सामग्री पाइरहेको थिएन । तीन वर्षपछि नेपाल आउँदा एक जापानीसँग भेट भयो । जापानी लोकप्रिय साहित्यबारे सोध्दा उनले हारुकी मुराकामीको नर्वेजियन उड  सिफारिस गरे । धेरै दु:ख गर्दा पनि फेला पार्न नसकेको उक्त उपन्यास पछि पीडीएफ भर्सनमा पढ्न पाएँ । मुराकामीको लेखनको शक्ति त्यहीँ भेटेँ । लेखकले बिटल्स र ज्याज संगीत सुनेर आफ्नो कलम माझेको हुनुपर्छ । निजी संघर्ष, रोमान्टिक प्रेम, अर्थहीन पात्र, समयको कथा, मिस्टिसिज्म र चरित्रबीचको सम्बन्धले मलाई निकै छोएको हो । सरल भाषामा लेखिएको हस्तक्षेपकारी कथनपद्धतिले मलाई कायलै बनायो । धेरैलाई यो किताब पढ्न सुझाएपछि बुद्धिसागरले मलाई ‘मुराकामीको नेपाली ब्रान्ड एम्बेसडर’ नै ठहराए ।

आर्थर मिलरको नाटक डेथ अफ अ सेल्सम्यान  मलाई विषयकै कारण मन परेको हो । उपभोक्ता संस्कृतिले मानिसलाई कसरी सेल्सम्यान बनाएर बजारमा घचेट्छ भन्ने यथार्थलाई मनमोहक ढंगमा लेखिएको छ । लेखकले अमेरिकामै बसेर पनि पुँजीवादलाई आलोचना गरेको पाटो मलाई रोचक लाग्छ । दृश्यहरुले बताउँछन्– बजारमा बिक्री हुन सक्नु नै आजको मान्छेको खुबी हो । राम्रो बन्नु, होर्डिङबोर्डमा देखिनु र वस्तुको गुणवत्ताभन्दा बढ्ता बखान गरी बेच्नु विद्वान् हुनुभन्दा पनि चर्चाको विषय बनिदिन्छ । नाटकको पात्र ‘लोम्यान’ ले पनि शिक्षाको पाटोभन्दा बजारको सूत्र अपनाउाछ । जनआन्दोलनपछि पढेको त्यस नाटकमा अमेरिकी जीवनको लोकाचारले निम्त्याएको मानवीय संकटलाई नजिकबाट देख्न पाएँ । सन्तानको हुर्काइबढाइमा लोम्यानले आगालेको पद्धतिप्रति ऊ आफैँभित्र विरोधाभास उब्जिन्छ । पछि छोराछोरीले पनि गुनासो गर्छन् । र, अन्त्यमा सेल्सम्यानले आत्महत्याको बाटो रोज्छ । किस्ताबन्दीमा चलेको अमेरिकी जीवनप्रति यो त्रासदीले गतिलै प्रहार गरेको छ ।

काठमाडौँमा हुने चित्रकला प्रदर्शनीबाट फर्किंदा बुबाले कमिक्सहरु टन्नै ल्याइदिनुहुन्थ्यो । कमिक्स पढ्ने आदतले मलाई किताबको संसारमा रमाउने बनायो । घरकै सानो पुस्तकालयमा भएका साहित्यिक पुस्तक र म्यागजिनहरु बोकेर बेलौतीको बोटमुनि जान्थेँ । हिन्दी उपन्यासमा पुनरावृत्ति पाउन थालेपछि पारिजात, अल्वेयर कामु, भर्जिनिया उल्फहरुका वाक्यविन्यासमा डुब्न थालेँ । जेम्स ज्वायस र शंकर लामिछानेको चेतनप्रवाह शैलीले मलाई हुरुक्क बनाउँथ्यो । पछि मुक्तिबोधका कविताले मोहित बनाए । प्रभाववादी लेखन पनि मेरो रुचिमा पर्न थाल्यो ।

जासुसी उपन्यासहरु पढिरहेको मलाई धच गोतामेको घामका पाइलाहरुले अर्कै रुमानी अन्दाजमा फड्काइदियो । मैले पढ्दा पुस्तकको दार्शनिक अर्थ पनि थाहा थिएन सायद । जनकपुरको रेल स्टेसन बनाउने सन्दर्भमा देखिएका पात्रहरुले मलाई खिचे । चरित्रको निरुपण, दृश्य विम्ब र सुरुचिपूर्ण भाषासहितको बलियो सामाजिक यथार्थवादले प्रभाव पारेको हो । श्रीलाल शुक्ला, लियो टोल्सटोय, म्याक्सिम गोर्कीहरु पनि यही लेखनशैलीले पाठकमा छाएका हुन् । घामका पाइलाहरुमा छिरेपछि पहाडी भेगमा हुर्किएको मेरो पाठकको आँखामा तराईका दृश्यहरु कुद्न थाले, मानौँ– रेलको झ्यालमा बसेको छु । जुनसुकै वादमा रहेर लेखिएको होस्, किताबले पाठकको मनमस्तिष्कलाई हुँडल्नुपर्छ । गोतामेको कलममा मैले त्यही तागत भेटेँ । 

जर्जी ग्रोतोस्कीको पुअर थिएटर दिल्ली, दरियागन्जको पुस्तक–हाटमा एक वर्षसम्म हरेक आइतबार धाएर हात पारेको छु । शारीरिक भाषाको रंगमञ्चका लागि मानक मानिने त्यो किताबको गातासमेत खुस्किएर थोत्रो भएको थियो ।

कहिलेकाहीँ पुस्तकभन्दा पेन्टिङ र संगीतले बढी छुन्छन् । एउटा प्रश्न जाग्छ– समकालीन समाज र भावी पुस्तालाई समेत जोडेर पुस्तक लेख्न सकिन्छ ? कल्पनाशीलताको उचाइमा पुगेर लेखिएको त्यस्तो किताब खोजीमा छु सायद ।

प्रस्तुति : गुरुङ सुशान्त 

प्रकाशित: आश्विन ४, २०७५

ट्याग: किताब