पाठकीय पोस्टमार्टम [पुस्तक समीक्षा : शल्यक्रिया]

पुस्तक : शल्यक्रिया | लेखक : जंगबहादुर शाह | प्रकाशक : बुक–हिल | पृष्ठ : १७२ | मूल्य : रु. ३५०

- राजकुमार बानियाँ

सिर्फ साक्षर । सोझो लाहुरे ।

नेपाली साहित्यका चर्चित किताब माधवी, ऋग्वैदिक नारी चरित्र  र असहमतिको चिरफारका क्रममा जंगबहादुर शाहले सेल्फ–पोट्रेट गरेका छन् । बुटवलबासी ज्ञानवृद्ध पाठक शाहले आफ्नो किताबलाई न समीक्षा भनेका छन्, न त समालोचना । तर, समीक्षा साहित्यकै पृथक् आयाम बन्न पुगेको छ, शल्यक्रिया

वैदिक र उपनिषद्कालीन प्रसंगमा तीनवटै किताबमा कति तथ्य छन् र कति मिथ्या ? मदनमणि दीक्षित र सौरभ ‘फ्याक्ट चेक’ मा कति होसियार छन् ? लेखकद्वय एउटै पाठकीय कठघरामा उभिएका छन् । प्रमाण र तर्कका आधारमा किताबका तथ्यगत त्रुटि औँल्याउने शाहको अधिकतम प्रयत्न छ ।

निजात्मक शैलीमा लेखिएको किताबमा अध्ययनको व्यापकता र अभिव्यक्तिको तीक्ष्णता फेला पर्छन् । शाहलाई पढ्दै गर्दा बिहारको मुजफ्फरपुरमा जन्मेर मणिपुरमार्फत नेपाली साहित्यमा उफान ल्याइदिने गैरनेपालीभाषी समालोचक चन्द्रेश्वर दुवेको सम्झना आउँछ । तेस्रो आयामको शव परीक्षा, एरिकल्स, शेली देवकोटा, नेपाली साहित्य एक सर्वेक्षण  आदि पुस्तकमार्फत दुवेले आलोचनाको एउटा धार दिएका थिए ।

किताबको सबभन्दा रोचक पक्ष नै ८२ वर्षे पाठकले ९३ वर्षे लेखकमाथि गरेका संगीन प्रश्नहरु हुन् । अझ सवा ६ सय पृष्ठको उपन्यासको ९४ पृष्ठमा गरिएको निर्भीक शल्यक्रिया । नेपालीमै उल्था गरिनुपर्ने र कम महत्व पाएको भनी धेरै चर्चा गरिने आख्यान माधवीमाथि गहन अध्ययनका साथ शाह खण्डनमण्डनमा उत्रिएका छन् ।

‘थोरै इतिहास र धेरै गफ भएको ब्राह्मण साहित्य महाभारतले माधवीको मोल आठ सय श्यामकर्ण घोडा बताएको छ । राजा–राजन्यलाई नरुचाउने दीक्षितजीले एउटी राजपुत्रीको अस्मिताको मोल ह्वात्तै घटाएर चार घोडा तोकिदिनुभएको छ । साम्यवादी हुँ भन्दैमा लिखतलाई बिगारेर कसैको अपमान गर्न पाइन्छ ?’ उनको प्रश्न छ ।

माधवी राजपुत्री हुन् कि नगरवधु ? चार–चार छोरा जन्माउँदा पनि अक्षत योनी भनी लेख्नेको दिमाग नखुस्केको कसरी भन्ने ? २४ वर्षे गालव र २१ वर्षे माधवीलाई किशोरकिशोरी लेख्न पाउने ‘लाइसेन्स’ कसले दियो ? मूलस्रोत महाभारतमा वर्णित प्रतिष्ठानपुरका राजा ययाति माधवीमा अहिच्छत्रको सम्राट कसरी भए ? के भित्ताको दिवार, हरियो सुगन्ध व्याकरणसम्मत छन् ?

दीक्षितकै अर्को किताबको नाम हो, ऋग्वैदिक नारी चरित्र । तर, चित्र छ, मंगोल महिलाको । २५ विदुषीको चर्चा गरिएको १ सय ३७ पृष्ठको किताबमा सयौँ गल्ती औँल्याएका छन् शाहले । पहिलो त उनी ऋग्वैदिक समाजलाई नारीप्रधान मान्दैनन् । ऋग्वैदिकमा दुर्गादेवी, गौरी, ताटका, प्रद्वेषी, सुदेष्णा, द्रौपदीको घुसपैठ पनि स्वीकार गर्दैनन् ।

शाहलाई झोँक चल्छ, नाम ऋग्वैदिक राख्ने अनि पौराणिक पात्रबारे लेख्ने ? कुनै वेदमा चर्चा नभएकी द्रौपदी ऋग्वेदकालीन नै हुन् भन्ने निर्णय गरिदिने ? ऋग्वैदिक युगमा ब्राको आविष्कार कसरी भयो ? ‘जाया’ भाडाकी आमा ‘सेरोगेट मदर’ होइन, पत्नी हो भन्ने उनको निष्कर्ष छ । वेदिक इन्डेक्स, वेदिक माइथोलोजी, रिलिजन अफ ऋग्वेद आदि किताबका आधारमा उनले यसलाई पौराणिक प्रमाणविरुद्ध लेखिएको किताब मात्र भनेका छैनन्, गीता त्रिपाठी, रजनी ढकालमार्का भूमिकाकारको पनि उछितो काढेका छन् ।

पछिल्लो कालका ‘एन्टी करेन्ट’ लेखक सौरभ पनि शाहको तोपगोला हमलाबाट जोगिन सकेनन् । उनले असहमतिको पृष्ठ ७ देखि नै लेखकलाई कान समातेर उठबस गराएका छन् । खल्जी कसरी खिल्जी भए ? बाहुनलाई कसरी दसौँ हजार वर्ष पुरानो जात भनियो जबकि प्राचीन आर्यसमाज जातिविहीन थियो । ऋग्वैदिक राजा वृत्रासुर र त्रेतायुगीन रावण बाहुन होइनन् ? यजुर्वेदलाई सात हजार वर्षअघिको मान्ने हो भने त्यतिबेलासम्म त व्यासका पुर्खा वशिष्ठ पनि जन्मेका थिएनन् । ‘अखबारका लागि लेखेको हुँ, अखबारमै सीमित हुन चाहन्छु’ भन्ने हरफ किताबमा आउनु कस्तो विरोधाभास ? शाहको निष्कर्ष छ, ‘सौरभको लेखनमा फेद र टुप्पो दुवै छ तर कहिलेकाहीँ टुप्पोचाहिँ ग्राफ्टिङ गरिएजस्तो लाग्छ ।’

समीक्षकका रुपमा शाह छिद्रान्वेषी र सत्याग्राही लाग्छन् । शाह समीक्षा वा समालोचनाका नाममा प्यारिसको पर्फ्युम छर्किदिने या औसत पुस्तकलाई पनि वेद वा बाइबलकै कोटिमा उभ्याइदिने दोषबाट मुक्त छन् । उनको गैरफौजी 'सर्भिस’ विद्वत्जनग्राह्य छ ।

प्रकाशित: आश्विन ३, २०७५