धरापमा यात्रा

- जे पाण्डे

कालीकोट– हिमाली जिल्ला मुगु सदरमुकाम गमगढी–नाग्मा सडक खण्ड झन्डै २ महिना बन्द भयो । साउन र भदौमा नेपालगन्ज र सुर्खेतबाट कर्णाली राजमार्ग हुँदै आउजाउ गर्ने यात्रुवाहक र मालवाहक गाडी गुड्न सकेनन् । उपभोग्य वस्तु र निर्माण सामग्रीको भाउ अकासियो । गरिबीको चपेटामा परेका बासिन्दामाथि ठूलो आर्थिक भार पर्‍यो ।

कर्णाली राजमार्गमा पर्ने कालीकोट सदरमुकाम खाडचक्र–१ सुनार खोलामा हिउँद–वर्षा दुवै समय सडक अवरुद्ध हुन्छ । दिनरात एक ट्राफिकको ड्युटी रहन्छ । भत्केर भताभुंग सडक स्तरोन्नति नगर्दा यातायात अवरुद्ध हुँदै आएको ५ वर्ष बित्यो । यही क्रममा खण्डहरजस्तो खाडचक्र नगरभित्रैको अस्पताल मोडनजिक साघुँरो राजमार्गमा जीप पल्टिँदा ३ जनाको ज्यान गयो, ६ घाइते भए, १२ मंसिर ०७४ मा ।

यसपटक नेपालगन्ज–जुम्ला यात्रामा हिँडेका प्रशान्त शर्मालाई कालीकोट पुग्न ४ दिन लाग्यो । जबकि, एक दिनको बाटो हो । राजमार्ग दर्जनौँ स्थानमा भत्केकाले ३ दिन अलपत्र परे । यसबीचमा परिवारलाई सकुशल भएको खबर दिन पनि पाएनन् । न कतैबाट फोन सम्पर्क गर्न सके, न त आउने–जानेसँग खबर पठाउन । प्रशान्त भन्दै थिए, “नाम मात्रैको राजमार्गजस्तो छ । सबैतिर जोखिमैजोखिम । यो मार्गमा यात्रा गर्नु भनेको ठूलै युद्ध जित्नु समान हुन्छ ।”

कालीकोटका व्यापारी जगत शाहीको कर्णाली राजमार्गमा पर्ने गगने खोलामा अकालमा ज्यान भयो । दैलेखबाट कालीकोट हिँडेका शाहीको पहिरो खस्दा उछिट्टिएको ढुंगाले लागेर मृत्यु भएको थियो, २ भदौ ०७४ मा । आर्थिक जोहो गर्न हिँडेका बेला अचानक यात्रा अवरुद्ध भयो । राजमार्गमा उभिएर सेल्फी लिँदै गर्दा खसेको पहिरोले बाँकी छाडेन उनलाई ।

कर्णाली राजमार्ग जोड्ने दैलेखको रति खोलामा अलपत्र परेका किशोर महेन्द्र बुढा क्षत्रीले सर्ट खोलेर ‘बाँचे घर पुगौँला, मरे बगरलाई’ भन्दै उर्लिंदो खहरेमा फाल हाले । “बगाउने थियो, बाँचियो । के गर्ने घर जानैपर्‍यो । खोलामा कुद्न बाध्य भएँ,” उनी राजमार्गको कथाव्यथा सुनाउँदै थिए ।

तराईलाई पहाडी र हिमाली जिल्लासँग जोड्ने आर्थिक विकास र समृद्धिको मेरुदन्ड मानिने कर्णाली राजमार्गबाट गन्तव्यमा पुग्नु भनेको मृत्युलाई जित्नु जत्तिकै हुन्छ, बाह्रै महिना । किनकि, अनगिन्ती खतरा छन् । यात्रामा निस्कने यात्रु र गाडी चालक हरपल जोखिम मोलेर हिँडिरहेका हुन्छन् ।

१५ महिनायता कालीकोट सडक खण्डमा मात्रै १७ वटा दुर्घटना भए । ६ जनाको मृत्यु भयो । २२ जना घाइते भए । कालीकोटमै सबैभन्दा ठूलो दुर्घटना हुँदा २८ जनाको ज्यान गएको थियो, २५ भदौ ०६९ मा । तीन वर्षयता २१ को ज्यान गयो । थोत्रा गाडी र चालकको लापरबाही पनि दुर्घटनाका थप कारण हुन् । 

कालीकोट, जुम्ला र मुगु जोड्ने राजमार्ग भत्केर पूरै भताभुंग छ । कतै साँघुरो त कतै निकै घुमाउरो । गाडीबाट बाहिर हेर्दा कहाली लाग्छ । चक्कर नै आउलाजस्तो हुन्छ कतिपय यात्रुलाई । त्यसमाथि हिउँद, वर्षामा जाने हिले र सुख्खा पहिरो । कहाँ, कति बेला, कस्तो संकट आइपर्ने हो ? जगजगी मात्रै । अनेकथरी धराप छन् ।

कालीकोट र दैलेख सीमाको दही खोला क्षेत्रमा पनि पहिरोले धेरैको ज्यान लिइसकेको छ । राजमार्गमा काम गर्ने मजदुरसमेत पहिरोमा परेका छन् । गरिबका पसल पुरिएको २ वर्ष हुँदासमेत पहिरो नियन्त्रण गर्ने चासो कसैले देखाएको छैन । यस्तो लाग्छ, कर्णालीका लागि सरकार नै छैन । यहाँको विकास नारा र भाषणमै मात्र सीमित छ ।

डरलाग्दा चट्टान फुटालेर निर्माण गरेको राजमार्ग भए पनि सामान्य वर्षा हुनासाथ पहिरो जाने गर्छ । सुर्खेतदेखि जुम्लासम्मको २ सय ३२ किलोमिटर मार्गको यात्रा पूरा गर्न कुनै बेला २ सातासम्म लाग्छ । खाडाचक्र नगरपालिकाका मेयर जसीप्रसाद पाण्डे भन्छन्, “संघदेखि प्रदेशसम्मका मन्त्रीलाई भेटेर राजमार्ग सुधार्न माग गरेँ । कसैले सुनेनन् । अहिले पनि कर्णालीप्रति सौतेलो व्यवहार छ ।” कर्णाली प्रदेश सरकार वामपन्थीकै भए पनि जनताले त्यसको महसुस गर्न नपाएको बताउँछन् पाण्डे ।

राजमार्ग अवरुद्ध हुँदा कालीकोट, जुम्ला र मुगुका अस्पतालमा बिरामीका लागि नभई नहुने अक्सिजनको समेत हाहाकार हुने गरेको छ । अक्सिजनका सिलिन्डर बोकेका गाडी गगने खोलाको पहिरोमा रोकिँदा यसपटक जुम्लाका बिरामी संकटमा परे । यस्तो घटना हरेक वर्ष दोहोरिने गरेको छ ।

नेपाली सेनाले निर्माण गरेको तीला नदीको बेलिब्रिज पुल पनि निकै जीर्ण छ । खियाले खिइँदैछ पुल । कुन बेला भत्केर कतिको ज्यान जाने हो ? निश्चित छैन । दुर्घटनाका संकेत देखिए पनि सरकारको नजरमा परेको छैन । ४१ मिटर लामो पुल ३६ घन्टामा बनाएको थियो, नेपाली सेनाले । खाडाचक्रका मेयर पाण्डे भन्छन्, “पुल भत्कियो भने कालीकोट, जुम्ला र मुगुमा नाकाबन्दीजस्तो विकराल समस्या आउँछ ।”

अहिले सोही जीर्ण पुलबाट दैनिक डेढ सय सवारी ओहोरदोहोर गर्छन् । कालीकोट दैखोलाबाट जुम्लाको नाग्म बजारसम्मका विभिन्न खोला र नदीमा पुल निर्माण कार्य कछुवा गतिमा छ । टाकुल्ला खोला पुल निर्माणको ठेक्का कालोसूचीमा परेको कम्पनीले पाएको छ । सुर्खेतबाट कालीकोट हुँदै जुम्ला पुग्दा कर्णाली राजमार्गमा एक दर्जन पुल पर्छन् । निर्माणाधीन ती सबै पुल कहिले बनिसक्ने हुन्, टुंगो छैन । सरकारी निकायलाई नटेर्ने राजनीतिक आडमा ठेक्का लिएका ठेकेदार निकै बलिया भएकाले पुल बन्न सकेका छैनन् । दैलेख खण्डका पुलको पनि बेहाल छ । सडक डिभिजन कार्यालयले पुल बनाउन ढिलाइ गर्नेलाई कारबाही गर्नुको साटो ठेक्का म्याद थप्दै आएको छ ।

सशस्त्र विद्रोहका बेला राजमार्ग निर्माण कार्यमा कठिनाइ भयो । ०६१ मा कर्णाली राजमार्गको ट्रयाक खोल्न खटिनेहरू बारुदी धरापमा पर्थे । अहिले पूरै राजमार्ग नै धरापजस्तो देखिन्छ । तैपनि, धरापमार्ग सञ्चालन भयो, ०६३ चैत ३० मा ।

प्रदेश ५ को तराईलाई कर्णाली प्रदेशको उच्च हिमाली र पहाडी जिल्ला जोड्ने सडक हो, कर्णाली राजमार्ग । बाँकेको कोहलपुरबाट रत्न राजमार्ग हुँदै सुर्खेत काटेर उत्तर दैलेख उक्लेपछि कर्णाली राजमार्ग पुगिन्छ । ७ प्रदेशको अछाम जाने पहाडी लोकमार्ग पनि जोडिन्छ यही मार्गमा । त्यसैले पनि कर्णाली राजमार्ग ३ वटा प्रदेशको आर्थिक समृद्धि र विकासको मेरुदण्ड हो । तर, यो मार्ग जति महत्त्वपूर्ण छ, उति नै उपेक्षित ।

कर्णालीको काया परिवर्तन गर्ने सपना बाँडेर कर्णाली प्रदेश सरकारमा पुग्नेहरूले जनताका समस्यालाई पटकै वास्ता नगरेको भन्दै नेकपाकै नेता/कार्यकर्तासमेत रुष्ट छन् । जुम्ला, हुम्ला र मुगुको ट्रान्जिट प्वाइन्ट कालीकोट सदरमुकाम खाडाचक्रमा सडक, खानेपानी र बिजुलीको व्यवस्था नहँुदा स्थानीय जति निराश देखिन्छन्, त्यसभन्दा बढी दिक्क छन् जनप्रतिनिधि ।

जोखिम मोलेर गुडेका गाडीहरू यत्रतत्र गुल्टेका देखिन्छन् । एम्बुलेन्स चल्न नसक्दा कयौँको अकालमा ज्यान जाने गरेको छ । सत्तामा पुग्ने र प्रतिपक्षमा बस्ने नेताले चुनावताका जहाज नै बस्ने धावनमार्ग बनाइदिने आश्वासनका पुलिन्दा बाँडेका थिए । तर, अहिले सडक स्तरोन्नतिप्रति कसैको चासो देखिँदैन । यस्तो बेवास्ताले जनतामा बढ्दो निराशा आक्रोसमा परिणत हुन बेर लाग्दैन । तीनतिर फर्केका तीनथरी सरकार यो कुराबाट अनभिज्ञ छैनन्, तर चुपचाप छन् । 

प्रकाशित: भाद्र ३१, २०७५