सुकेको गुलाफ [फिल्म समीक्षा : रोज]

फिल्म: रोज | रेटिङ: १/५

- गोकर्ण गौतम

प्रेमगीतबाट प्रदीप खड्का चम्किए । क्रेज बढ्यो, व्यस्तता बढ्यो, पारिश्रमिक बढ्यो । नबढेको त त्यसयता उनले खेलेका फिल्मका गुणस्तर मात्र हो । प्रेमगीत लिलीबिलीले अपेक्षाकृत बहार ल्याउन सकेनन् । नयाँ फिल्म रोजको हालत अझ दयनीय छ । न कन्टेन्ट बलियो छ, न त प्रदीपको चरित्र र अभिनय नै । रोजलाई निरक पौडेलले निर्देशन गरेका हुन् । सोही कारण फिल्म कमजोर हुनुको पहिलो अपजस निरकलाई जान्छ । प्रदीपजस्ता गिनेचुनेका स्टारलाई लिएर पनि उम्दा फिल्म बनाउन नसक्नु दु:खद पक्ष हो । जबकि, फिल्मको विषयवस्तु आफैँमा गहन छ, हत्यामा बदलिएको प्रेम र सत्यको खोजी । तर, अपरिपक्व प्रस्तुतिले रोजलाई निरस बनाएको छ ।

लज्जालु अभि (प्रदीप) खुला स्वभावकी रोज (परामिता राज्यलक्ष्मी राणा) लाई मन पराउँछन् । तर, व्यक्त गर्न सक्दैनन् । मौका मिलाएर प्रस्ताव राख्छन्, स्वीकृत हुन्छ । तर, प्रेम घनीभूत हुन नपाउँदै अभि पढाइका लागि विदेश जानुपर्छ । बिस्तारै रोजसँग सम्पर्क टुट्दै जान्छ । फर्केर आउँदा स्थिति भयानक भइसकेको हुन्छ । प्रतिशोध र आक्रोश कतिसम्म बढ्छ भने अभिले रोजको ज्यानै लिन्छन् । त्यसरी हत्या गर्नुको कारण के होला ? वा रोजको हत्या अभिले नै गरेको होला ? यस्तै सवालवरपर घुमेको छ फिल्म । एकाध ‘ट्वीस्ट’ छन् । तर, उतिविघ्न विश्वसनीय लाग्दैन ।

भनिन्छ– जे देखिन्छ, त्यति मात्र सत्य हुन्न । प्रमाण खोज्दै जाँदा वास्तविक सत्यको घुम्टो खोलिँदै जान्छ । अदालतलाई न्याय र सत्यको प्रतिविम्ब त्यत्तिकै मानिएको होइन । रोजको मूल कथा पनि एउटी युवतीको हत्याको सत्यतथ्य पत्ता लगाउने नै हो, जहाँ वर्तमान समयका युवायुवतीको अधैर्य, महफ्वाकांक्षा र एकअर्काप्रतिको अविश्वासलाई पहिल्याउन खोजिएको छ । तर, सुरुआतबाटै दर्शकको मोहभंग हुँदै जान्छ । कारण हो, अमूर्त र पट्यारलाग्दो कथाबुनोट । केदार भुसालले लेखेको यस फिल्ममा कलात्मक दृश्यको उस्तै खडेरी छ । घटना र पात्रलाई आत्मसात् गर्न सकिन्न । भुसालको लेखनमा गहनता मात्र होइन, विश्वसनीयताको पनि चर्को अभाव छ ।

रोज  निरकको यो तेस्रो फिल्म हो, कुसुमे रुमाल २ र होमवर्कपछि । तर, उनको निर्देशन कौशल माझिएको छैन । बरु गिरावट आएको छ । अदालतभित्रका दृश्यसमेत निर्देशक र लेखकले स्वाभाविक ढंगले बुन्न सकेका छैनन् । मुख्य पात्र रोजलाई घरीघरी ‘रोजी’ भनिनुबाट लापरबाही प्रस्ट हुन्छ । अभि र रोजको सम्बन्धलाई आत्मीय नदेखाइएकाले रोजको हत्या हुँदा पनि दर्शकको आँखा रसाउँदैन । अभि, रोज, अभिकी साथी तथा वकिल बनेकी स्नेहा (मिरुना मगर) देखि अभिका बाबुसम्मको चरित्र स्थापित हुन्न । कथालाई अनावश्यक तन्काइएकाले झिँझो लाग्छ । विदेशमा खिचिएका दृश्य‘ब्लर’ छन् ।

‘फूल होइन...’ भन्ने गीत श्रुतिमुधर मात्र होइन, लोकेसन पनि आकर्षक लाग्छ । फिल्मको पहिलो भाग तुलनात्मक रुपमा राम्रो छ । केन्द्रीय कथा संवेदनशील छ । मोडलिङको दुनियाँमा हुने यौन दुव्र्यवहारलाई एक हदसम्म तार्किक ढंगले खिचिएको छ । तर, कथावाचनमै समस्या रहेकाले रोज  फक्रेको र सुगन्धित होइन, सुकेको गुलाफजस्तो भएको छ । अभिनय र चरित्र चयनमा प्रदीपले ध्यान नपुर्‍याए उनको लोकप्रियता स्वाट्टै ओरालो लाग्नेमा शंका छैन । उनी रोजमा भिन्नभिन्न ‘लुक्स’ मा छन् । तर, फलदायी भएको छैन । परामिताको अभिनयबाट सन्तुष्ट हुन सकिन्न । उनले आफ्नो चरित्रलाई आत्मसात् गर्न नसकेको प्रतीत हुन्छ । बरु मिरुना मगरको काम तारिफयोग्य छ । मध्यान्तरपछि फिल्म करिब–करिब उनकै काँधमा अडेको छ । स्वर अर्कै कलाकारको भएकाले अभिनेता कर्माको उपस्थिति फिक्का लाग्छ । वरुणजंग राणा, नरेश पौडेललगायतका सहायक कलाकारको अभिनय औसत छ । दम्भ र दामले होइन, साधना र सामूहिक प्रयासले मात्र अब्बल फिल्म तयार हुन्छ भन्ने तथ्यलाई निर्देशक निरकले आत्मसात् गर्नुपर्ने समय घर्किसकेको छ ।

खुराकयुक्त फिल्मका पारखी मात्र होइन, प्रदीपकै फ्यानलाई समेत रोजले निराश तुल्याउँछ । यसले नेपाली फिल्मको साख र समृद्धिमा खासै योगदान पुर्‍याउँदैन पनि ।

प्रकाशित: भाद्र २९, २०७५