संविधानको सुर्केनो

- अजित तिवारी

जनकपुर– मधेसवादी दल राष्ट्रिय जनता पार्टी (राजपा) ले ३ असोजमा संविधान दिवसको विरोध गर्न सर्कुलर गर्‍यो । राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको हस्ताक्षर रहेको सर्कुलर पार्टीले गोप्य भनेको छ । सत्तामा बस्ने र संविधानको विरोध पनि गर्ने राजपाको द्वैध चरित्रको मधेसमा चर्को आलोचना भइरहेको छ ।

२५–२६ भदौमा काठमाडौँमा बसेको राजपा अध्यक्ष मण्डलको बैठकले ११ वटा निर्णय गर्‍यो । निर्णयको अन्तिम बुँदामा भनिएको छ, ‘असोज ३ मा मधेसीविरोधी संविधान जारी गरेकाले त्यो दिन विभिन्न विरोधका कार्यक्रम गरी विरोध दिवस मनाउनू ।’ मधेसको असन्तुष्टि र माग नसमेटिएको भन्दै राजपाले संविधानको पुर्नलेखनसम्मको माग गर्दै पछिल्लो दुई वर्ष असोज ३ लाई ‘कालो दिवस’ का रूपमा मनाउँदै आएको छ । 

यही संविधान टेकेर तीन तहको निर्वाचनमा सहभागी भएको राजपाले प्रदेश २ मा संघीय समाजवादी फोरमसँग मिलेर गठबन्धन सरकार बनाएको छ भने संघीय सरकारलाई समर्थन गरेको छ । खासमा ‘कालो दिवस’ लाई ‘विरोध दिवस’ मा बदलेर राजपा धर्मसंकटबाट उम्किन खोजेको देखिन्छ ।

मधेस मामिलाका जानकार विजयप्रसाद मिश्र सत्तामा बस्ने र संविधानको विरोध पनि गर्नु नसुहाएको बताउँछन् । “यही संविधानमा टेकेरै सत्तामा पुगेको हो,” मिश्र भन्छन्, “पूरै संविधानको विरोध गर्नुभन्दा कुन–कुन बुँदामा चित्त बुझेको छैन, त्यो भन्नुपर्छ ।” उनले ०४७ मा जारी गरिएको संविधानको उदाहरण पनि दिए । त्यतिबेला पनि नेपाल सद्भावना पार्टीले संविधानको आलोचनात्मक समर्थन गरेको थियो । नेकपा एमालेले पनि पूर्ण समर्थन गरेको थिएन । 

राजपाले ३ असोजमा विरोध प्रदर्शन र विरोधसभा, त्यही दिन साँझ ७ देखि ७.१५ बजेसम्म ब्ल्याक आउट र विरोधका अन्य कार्यक्रम तय गर्ने अधिकार सबै जिल्ला कमिटीलाई दिएको छ । राजपाका केन्द्रीय प्रवक्ता कृष्णा सिंहका अनुसार संविधान दिवसका दिन अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर पर्सामा, राजेन्द्र महतो धनुषामा, राजकिशोर यादव सिरहामा र शरत्सिंह भण्डारी महोत्तरीमा रहनेछन् । ती जिल्लामा आयोजित विरोधसभामा राजपाका शीर्ष नेता सहभागी हुनेछन् । 

“३ असोज मधेसका लागि कालो दिन नै हो,” राजपाका प्रवक्ता सिंह भन्छन्, “संविधानप्रति असन्तुष्टि जनाउँदै सडकमै उत्रिएर विरोध गर्दा पनि हाम्रो माग सुनुवाइ भएन । मधेसीको टाउको र छातीमा गोली हान्दै संविधान जारी गरियो ।” 

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गत वर्ष ३ असोजमा मधेसमा कालो दिवस मनायो । संघीय समाजवादी फोरमका नेता/कार्यकर्ता कालो दिवसमा सहभागी मात्र भएनन्, चर्का भाषण नै गरे । ३ असोज नजिकिँदा पनि फोरमको मौनता अर्थपूर्ण छ ।

संविधान दिवसको दिन संघीय सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ । हर्षोल्लास गरेर त्यो दिन मनाउन सरकारको उर्दी छ ।

प्रदेश २ मा सरकारको बागडोर सम्हालेको फोरमलाई ३ असोजको दिन कष्टपूर्ण बन्ने देखिन्छ । प्रदेशमा आफ्नै सरकार रहेकाले संविधानकै विरोधमा सडकमा उत्रिनु कि समर्थनमा हर्षोल्लास मनाउनु, यी दुवै मामिलाले फोरम तनावमा छ । सरकार बाहिर रहेका फोरमका नेताहरूले भने संविधान दिवसलाई कुनै न कुनै रूपमा विरोध गर्न पार्टीमा दबाब बढाएका छन् । फोरमका प्रदेश स्तरका एक नेता आफूहरूलाई संविधान दिवसको विरोध गर्न जनस्तरबाट दबाब बढेको बताउँछन् । “तर, पार्टी मौन छ, हामी दोधारमा छौँ,” ती नेता भन्छन् ।

संविधान संशोधनको मुद्दामा सत्ताको स्वाद र जनताको दबाब खेपिरहेका दुवै मधेसवादी दललाई संविधान दिवस कालो बादल मडारिएजस्तै संकट बनेर आइदिएको छ । जसलाई उनीहरू न पन्छ्याउन सक्छन्, न त अंगाल्न नै ।

 

प्रकाशित: भाद्र २८, २०७५

ट्याग: समसामयिक