सेमिफाइनलमै सास्ती : साफ च्याम्पियनसिपमा कहाँ चुक्यो नेपाल ?

- पवन आचार्य

बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा २७ भदौमा मालदिभ्सविरुद्ध सेमिफाइनल खेल्दै गर्दा नेपाली फुटबल टोलीको मनोबल उच्च थियो । समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग २–१ ले पराजित भए पनि त्यसपछिका दुवै खेलमा क्लिनसिट कायम गरेकाले मनोबल उच्च हुनु स्वाभाविक थियो । खेलाडी मात्रै होइन, नेपालको पूरै टिम साफ च्याम्पियनसिपको फाइनल प्रवेश गरेर इतिहास रच्ने आत्मविश्वासमा थियो । यसअघि तीनैपटक सेमिफाइनलमा मालदिभ्ससँग पराजित भएर घर फर्किनुपरेको पीडामा मलहम लगाउने योजना टोलीको थियो ।

तर, २७औँ मिनेटमा भारी वर्षा र चट्याङले खेल झन्डै आधा घन्टाका लागि स्थगित भयो । त्यो चट्याङ बंगलादेशमा मात्र परेको थिएन, फाइनलमा स्थान बनाउने नेपाली फुटबल टोलीको सपनामाथि पनि बज्रिएको थियो । त्यतिबेलासम्म कमजोर रक्षापंक्तिको दण्ड भोग्दै नेपाल १–० ले पछि परिसकेको थियो । दोस्रो हाफमा त झन् नेपालको प्रदर्शन बिर्सन लायक रह्यो । खेलको अन्त्यतिर २ मिनेटको अन्तरालमा मालदिभ्सले २ गोल थपेपछि साफमा नेपालको सेमिफाइनल ‘जिंक्स’ पुन: दोहोरियो ।

लिग चरणको पहिलो खेलमा पाकिस्तानसँग अन्तिम समयमा २–१ ले पराजित भएको नेपालले त्यसपछि भुटानलाई ४–० ले र आयोजक बंगलादेशलाई २–० ले हराएको थियो । धेरैलाई लागेको थियो, नेपाली टोलीले लय समात्यो । तर, त्यो लय सेमिफाइनल पुग्दा विलय भयो । सेमिफाइनलमा एकपछि अर्को गल्ती दोहोर्‍याउँदा नेपालले अनपेक्षित हार बेहोरेको हो । फुटबल विश्लेषक सञ्जीव मिश्र भन्छन्, “फ्रि–किकमा मालदिभ्सले पहिलो गोल गर्दा पनि विमल घर्तीमगरले अनावश्यक फउल खेलेका थिए । दोस्रो हाफको २ गोलमा त रक्षापंक्तिको उपस्थिति नै नभएजस्तो रह्यो ।”

खेल अवधिभर नेपालले मालदिभ्सविरुद्ध झन्डै २ दर्जन आक्रमण गरेको थियो । मालदिभ्सले गरेका सबै आक्रमण गोलमा परिणत भए । नेपालको खेर गयो । लिग चरणमा एकै गोल नगरी भाग्यको सहारामा सेमिफाइनलमा स्थान बनाएको मालदिभ्सले फाइनल प्रवेशका लागि नेपाललाई सिकार बनायो ।

टोली सेमिफाइनल प्रवेश गरेपछि प्रशिक्षक बालगोपाल महर्जनले भनेका थिए, “नेपालले मालदिभ्सविरुद्धको खेलमा ऐतिहासिक नतिजा ल्याउनेछ ।” सेमिफाइनलपछि नेपालले इतिहास त रच्यो । तर, फाइनल प्रवेश गर्ने होइन, चौथो पटक एकै टिमसँग पराजित भएर सेमिफाइनलबाटै घर फर्किने । अलि अस्फाकबिनाको मालदिभ्सलाई सजिलै हराउने आत्मविश्वास नेपाली टोलीमा थियो । लिग चरणमा आत्मविश्वासी खेल प्रदर्शन गरेको र सबै खेलमा गोल गरेको आधारमा त्यसलाई स्वाभाविक पनि ठान्न सकिन्थ्यो । तर, नकआउट चरणमा एक गोलले पछि परेपछि त्यही आत्मविश्वास डगमगाउँदा गोल फर्काउनु त कता हो कता, नेपाली टोलीले थप २ गोल खान पुग्यो ।

प्रतियोगितामा सहभागी भएर स्वदेश फर्किएपछि काठमाडौँमा टोलीका कप्तान विराज महर्जनले भने, “यसपालि हामीलाई मौसमले पनि साथ दिएन ।” कुनै समय हिलाम्मे मैदानमा नेपाली राष्ट्रिय टोलीले विपक्षीको पोस्टमा आक्रमण मात्रै होइन, गोल पनि गथ्र्यो । तर, अहिले कृतिम मैदान (एस्ट्रो टर्फ) मा प्रशिक्षण गर्ने बानी परेको नेपाली टोलीले बंगलादेशको पानी र प्राकृतिक मैदानमा खेल्न अप्ठेरो परेको देख्न सकिन्थ्यो । नेपाली खेलाडीहरू सेट पिसमा प्रहार गर्दा पनि चिप्लिएर लड्न पुग्थे । वर्षाले प्रभावित खेल आधा घन्टा रोकिएर पुन: सञ्चालन हुँदा पनि नेपाली खेलाडीले जर्सी र बुट परिवर्तन गरेको देखिएन । जबकि, मालदिभ्सका खेलाडीले पूरै सेट नै परिवर्तन गरेका थिए । “हाम्रा खेलाडीमा मात्रै होइन, प्रशिक्षक र व्यवस्थापकमा पनि फुटबल सेन्स कमजोर छ । पानीले भिजेको जर्सी र बुट परिवर्तन गर्न पनि कसैले भन्नुपर्छ र ?” मिश्र प्रश्न गर्छन् ।

एक गोलले पछि परेको अवस्थामा खेलमा फर्किन नेपालले धेरै ढिला गर्‍यो । त्यसको प्रमुख कारण प्रशिक्षक महर्जनले खेलाडी परिवर्तनका लागि प्रशस्तै समय लिए । गरेको परिवर्तन पनि सुहाउँदो भएन । ४–४–२ को परम्परागत शैलीमा खेलेको नेपाली टोलीले दोस्रो हाफको ६० मिनेटपछि मात्रै खेलाडी परिवर्तन गर्‍यो । निराजन खड्का र भरत खवासलाई परिवर्तन गर्न महर्जनले निकै समय लगाए, त्यतिबेलासम्म ढिलो भइसकेको थियो । डिफेन्डर सुमन अर्याललाई हटाएर विशाल राईलाई ७५औँ मिनेटमा मैदान प्रवेश गराएपछि नेपालको शैली आक्रामक हुने निश्चित थियो । विपक्षीको पोस्टमा आक्रमण गर्न लिएको रणनीति फेल खाएपछि नेपालले अन्तिम समयमा २ गोल खान पुग्यो । ३ जना डिफेन्डर मालदिभ्सको आक्रमण रोक्न असफल रहे । नकआउट चरणमा १ गोलले पछि परेको अवस्थामा डिफेन्डर निकालेर फर्वार्ड खेलाउनुको मूल्य नेपालले चुकायो । दोस्रो हाफमा मालदिभ्सले २ गोल गर्दा नेपाली रक्षापंक्तिबीच तालमेल अभाव भयो । क्लोज रेन्जबाट गोल गर्न मालदिभ्स सफल हुँदा नेपाली टिममा भरपर्दा र अनुभवी डिफेन्डरको अभाव खट्कियो । कप्तान विराज महर्जन त्यसको विकल्प हुन सक्थे । तर, प्रशिक्षकले उनलाई विश्वास गरेनन् ।

क्रिकेटका कप्तान पारस खड्का भन्थे, ‘हारले सबै खराबीहरूको प्रदर्शन गर्छ र जितले सबै अक्षमताको ढाकछोप ।’ नेपाली फुटबल टोलीको हकमा पनि त्यही लागू भयो । फर्ममा नरहेका निराजन खड्का र भरत खवासप्रति प्रशिक्षकले गरेको विश्वासको मूल्य नेपालले सेमिफाइनलमा चुकायो । अघिल्ला खेलमा पहिलो रोजाइमा परेर पनि राम्रो प्रदर्शन नगरेका उनीहरूलाई दिइएको मौका सदुपयोग हुन सकेन । भरतले त सेमिफाइनलमा नजिकबाट गोल गर्ने अवसरसमेत खेर फाले । नेपाली टोलीका लागि गेम चेन्जिङ मोमेन्ट सायद त्यही थियो ।

सेमिफाइनल जिंक्स

साफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमा रोकिएको यो पहिलो पटक होइन । यसअघि १९९९, २०११ र २०१३ मा भएको प्रतियोगितामा पनि नेपालको यात्रा सेमिफाइनलमै गएर टुंगिएको थियो । गजबको संयोग के भने सबै प्रतियोगितामा नेपालको सपना चकनाचुर पार्ने टोली मालदिभ्स नै थियो । साफ बन्नुअघि सार्क गोल्डकपका नाममा हुने प्रतियोगितामा पनि नेपाल सेमिफाइनलभन्दा अगाडि बढ्न सकेको थिएन । दक्षिण एसियाली फुटबलको सर्वोच्च प्रतियोगितामा नेपालले अझै फाइनलको यात्रा तय गर्न सकेको छैन ।

प्रतियोगिताअघि भारतले च्याम्पियनसिपमा २३ वर्षमुनिको टोली पठाउने निर्णय गर्दा धेरैले अपेक्षा गरेका थिए, बंगलादेशको भूमिमा नेपालले इतिहास बनाउनेछ । त्यसको एउटा कारणमध्ये थिए, प्रशिक्षक बालगोपाल महर्जन । सन् १९९३ मा नेपालले ढाकामा आयोजित दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्दा महर्जन नेपाली टोलीका सदस्य थिए । त्यस्तै, सन् २०१६ मा महर्जन प्रशिक्षक हुँदा नेपालले बंगबन्धु गोल्डकप फुटबलको उपाधि जितेको थियो । यसपटक महर्जनकै प्रशिक्षणमा नेपाली टोलीले बंगलादेश यात्रा गर्दा नतिजा सकारात्मक आउने आशा गरिएको थियो । तर, फुटबलमा सधैँ समयले साथ दिँदैन । जसले बहादुरीका साथ मैदानमा प्रदर्शन गर्छ, उसैलाई भाग्यले पछ्याउँछ । सेमिफाइनलमा स्थान पक्का गर्न भाग्यको सहारा लिएको मालदिभ्सले फाइनल यात्राका लागि नेपालविरुद्ध बहादुरी प्रदर्शन गर्‍यो ।

व्यक्तिगत उपलब्धि

नेपाली टोली सेमिफाइनलबाटै घर फर्किएपछि साफ सुजुकी कप केही खेलाडीका लागि ऐतिहासिक बनेको छ । कप्तान विराज महर्जनले राष्ट्रिय टोलीबाट सर्वाधिक क्याप जित्ने कीर्तिमान बनाउन नसके पनि ६८ क्यापको पूर्वकप्तान राजुकाजी शाक्यको बराबरी गरेका छन् । शाक्य तिनै कप्तान हुन्, जसको कमानमा नेपालले १९९३ मा दक्षिण एसियाली फुटबलमा स्वर्ण जितेको थियो । पाकिस्तानविरुद्धको समूहगत चरण खेलमा उनलाई मैदान उतारिए पनि त्यसपछिका खेलमा बेञ्चमा सीमित भएका थिए । एन्फा एकेडेमीका दोस्रो ब्याचका उनले सन् २००८ मा पाकिस्तानविरुद्धकै खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए ।

त्यस्तै, स्ट्राइकर भरत खवासले पनि नेपाली टोलीबाट ५०औँ क्याप जितेका छन् । समूहगत चरणको अन्तिम खेलमा आयोजकविरुद्ध निश्चित जितका साथ मैदान उत्रिँदा उनले ५०औँ क्याप पूरा गरे । नेपालले उक्त खेल जित्यो र खवासले सेमिफाइनलमा मौका पाउँदा क्याप संख्या ५१ पुर्‍याए । भरत र विराज दुवैले एउटै खेलमार्फत राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन् । तर, विविध कारणले भरतले राष्ट्रिय टोलीमा नियमित स्थान बनाउन सकेका थिएनन् । भरतपछि राष्ट्रिय टोलीमा सर्वाधिक खेल खेल्नेमा विराज, किरण लिम्बू र रोहित चन्द छन् । अचम्म के पनि छ भने किरण र रोहितले भरतपछि मात्रै राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन् । 

प्रकाशित: भाद्र २८, २०७५