[नोटबुक] स्मार्ट ठग

- सुनीता अधिकारी

छुट्टीको मुडमा बनेपादेखि यात्रा गर्दै स्वयम्भू  स्तुपाको उकालो उक्लँदै थियौँ, असार अन्तिम शनिबार । सुकिलो लुगाले तन ढाकेको चिनियाँ आएर हाम्रो बाटो छेक्यो । उसले छोराको टाउकोमा हात राख्दै मन्त्र पढ्न थाल्यो । छोरालाई मैले बोकिरहेकी थिएँ । अचम्म अनि डर पनि लाग्यो एकसाथ । छोराको हातमा बाला र घाँटीमा पत्थरजडित डोरी लगाइदियो र इसारै–इसारामा पैसा माग्यो । हामीले ५० रुपैयाँ दिएर उम्कन खोज्यौँ । तर, ऊ डेग चलेन । चिनियाँ भाषामा के–के भन्दै बाटो छेकी नै रह्यो । उसले आफ्नो गोजीबाट सयको नोट निकालेर देखाएपछि हामीले ५० को नोटको साटो सयको नोट दियौँ । तर, अझै पनि टसमस भएन । सिँढी चढ्दै गरेकाहरु हामीलाई नै नियालिरहेका थिए तर कोही पनि बोलेनन् । हामी सकेसम्म छिटो ऊबाट उन्मुक्ति चाहन्थ्यौँ । त्यसैले थप सयको नोट उसको हातमा राखिदियौँ ।

अब त भयो होला भन्ठानेका थियौँ । अझै पनि बाटो छोड्न तयार भएन । हातको तीन औँला ठड्याएर थ्री हन्ड्रेड भन्दै बाटो छेकी नै रह्यो । रिस उठ्न थाल्यो । झगडा गरौँ, आफ्नै बिदाको मजा किरकिर हुने । अन्तिममा मैले थप सयको नोट उसको हातमा थमाइदिएँ । यति भएपछि ऊ हाँस्दै ओरालो लाग्यो । ठगीका अनेक रुप !

आपतमा नपाइने एम्बुलेन्स

७० वर्ष कटेका हजुरबुबा/हजुरआमा दुवै बिरामी हुनुहुन्थ्यो । डाक्टरले दिएका औषधीले राम्रो काम गरिरहेको थिएन । २१ साउन राती उहाँहरुलाई झनै गाह्रो भयो । पानी परेको रात सवारी साधन पाउने कुरै थिएन । नजिकैको बनेपा हस्पिटलमा फोन गर्‍यौँ । एम्बुलेन्स पठाइदिन अनुरोध गर्‍यौँ । स्वर सुन्दैमा निद्रामा लट्ठजस्ता त्यहाँका स्टाफले एम्बुलेन्सको समय बिहान ८ देखि बेलुकी ८ सम्म हो भन्दै फोन राखे । हामीलाई आपत परेको थियो । शिर मेमोरियल हस्पिटलको फोन नम्बर पत्ता लगाएर फोन गर्‍यौँ । दुई घन्टीमै फोन उठ्यो । मैले आफ्नो समस्या बताएँ । ठाउँ बताएँ, कुसादेवी । ठाउँको नाम सुन्नेबित्तिकै आवाजमा परिवर्तन आइहाल्यो, “अहिले एम्बुलेन्स बाहिर गएको छ । आएपछि खबर गरौँला ।”

अन्त्यमा धुलिखेल अस्पतालमा फोन गरियो । उसले त एम्बुलेन्सको ड्राइभरको नम्बर दियो । दिइएको नम्बरमा फोन गर्दा भन्यो, “म गाडी लिएर अर्कै ठाउँमा पुगेको छु । फर्केपछि आउँला । कति समय लाग्छ, अहिले ठ्याक्कै भन्न सकिन्न ।” हामी आजित भयौँ । नजिकै चिनेजानेकाहरुलाई फोन गर्दै आफ्नो समस्या सुनायौँ । अन्तत: आफन्तको सहयोगमा पनौती नगरपालिकाद्वारा सञ्चालित एम्बुलेन्स आइपुग्यो आँगनमै । र, हामीले हजुरबा–हजुरआमालाई अस्पताल पुर्‍याउन सक्यौँ ।

एम्बुलेन्स आपतमा सबैलाई २४ घन्टै सेवा दिन  तयार हुनुपर्ने होइन ? नभए यसलाई एम्बुलेन्स नाम मात्रै किन दिने !

मयूरले दिएको पीडा

माइतीघरअगाडि बस कुरिरहेकी थिएँ । सिन्डिकेट अन्त्य गर्न सफल मयूर यातायात बनेपा–धुलिखेल भन्दै आइपुग्यो । खुसी हुँदै बस चढेँ । तीव्र गतिमा कुद्यो बस । यात्रुहरु मुखामुख गर्न थाले । किन कुदायो ? कसैलाई थाहा थिएन । कोटेश्वर कटेपछि रिङरोडतिरबाट आएको मयूरकै अर्को बस हाम्रो बसलाई उछिन्दै अगाडि लाग्यो । त्यसपछि हाम्रो बसको रफ्तार झनै बढ्यो । बसमा हामी ९–१० जना थियौँ । सूर्यविनायक पुगेपछि चालकले बसको स्टार्ट बन्द गर्दै भन्यो, “यति मान्छे बोकेर घाटा खानु छैन । म धुलिखेल जान्नँ । तपाईंहरु अर्को गाडीमा जानूस् ।” यति भन्दै चालक सिटबाट उत्रियो । हामी लाचार थियौँ । अन्य यात्रुले त के गरे कुन्नि ? मचाहिँ काठमाडौँबाट खचाखच भरिएर आएको गाडीमा झुन्डिएँ ।

प्रकाशित: भाद्र २८, २०७५

ट्याग: नोटबुक