[स्मरण] नेहरू भेट्नुअघि

- वैरागी काइँला

होचाहोचा डालका, दौरासुरुवाल लगाएका तर टोपी नलगाएका, कोटचाहिँ पाखुरामा बोकेर स्कुलको आँगनमा गुरुबाबुहरुसँग बात गरिरहेका ।

मेरो मनमस्तिष्कमा आईबी राईको छवि अहिलेसम्म आलै छ । राईलाई पहिलो पटक इलाममा देखेको हुा, २०१० तिर । इलाम बजारको पद्मोदय हाइस्कुलको आँगनमा । म ७ कक्षामा पढ्थेँ त्यतिबेला ।

०१२ पछि दार्जिलिङ गभर्मेन्ट हाइस्कुलमा पढ्न पुगेँ । कवि ईश्वरवल्लभसँग संगत भएपछि हामीले हाइस्कुलस्तरीय रामायणवाचन प्रतियोगिता गर्ने सोच बनायौँ । त्यसैको निम्तोपत्र छाप्न एक दिन आशालच्छी प्रेस पुगेका थियौँ । त्यहाँ होचाहोचा सुट लगाएका मानिसले हाम्रो निम्तोपत्र सरसर्ती हेरे र कस्तोकस्तो रिसाएजस्तो अनुहार पारे । हामीले निम्तोपत्रमा नेपालकै लेखापढीको भाषा प्रयोग गरेका थियौँ । जस्तै : स्थानका ठाउँमा गौँडा लेखेका थियौँ । र, नेपाली (पहाडे) कागजमै छापेका थियौँ ।

उनलाई आफ्नैपन देखाउन नेपाली कागजमा लेखापढीको भाषामा छापेको बतायौँ । पछि ईश्वरवल्लभले ‘उहाँ इन्द्रबहादुर राई, सर पो त’ भनेर चिनारी गराइदिनुभयो । वल्लभसित त उहाँको परिचय पुरानै थियो । दुवै टर्नबुल हाइस्कुलमा पढाउनुहुन्थ्यो ।

आईबी राईले साहित्यमा यसअघि नै नयाँ प्रयोग गर्न थालिसक्नुभएको थियो । उहाँको आज रमिता   उपन्यास अग्निराज श्रेष्ठ सम्पादित अञ्जली  पत्रिकामा शृंखलाबद्ध प्रकाशित भइरहेको थियो । यसरी आईबी राईसँग आशालच्छी प्रेसमा दोस्रो देखभेटपछि सोझो बोलचाल र आत्मीय परिचय सुरु भयो ।

म बीएमा गभर्मेन्ट कलेज पढ्न थालेँ । क्षयरोग लागेर डाक्टर जीएस गुरुङको निगरानीमा रहेका बेला कोलकाता विश्वविद्यालयले तीनवर्षे स्नातकको पाठ्यक्रमबाट नेपाली भाषालाई अचानक हटाइदिएछ । मसमेत अन्य चार–पाँच विद्यार्थीका नामबाट तारककुमार कार्कीले त्यसविरुद्ध पर्चा निकाली सभा डाक्नुभएछ । सभाको निर्णय अनुसार झन्डै ३–४ महिना लामो समयसम्म आन्दोलन चलायौँ । कोलकाता विश्वविद्यालयले हाम्रो माग तत्कालै पूरा गर्‍यो ।

दार्जिलिङ जिल्लास्तरीय सरकारी कामकाजको भाषाको मान्यता अपहरण हुन नदिन र नेपाली भाषालाई राज्यस्तरीय सरकारी मान्यता दिलाउन राजनीतिक दल, समाजसेवी, बुद्धिजीवी तथा विद्यार्थी सम्मिलित सर्वपक्षीय प्रतिनिधित्व गराई ‘दार्जिलिङ डिस्ट्रिक्ट हिल पिपल्स ल्याङ्वेज इम्प्लिमेन्टेसन (रेकग्निसन) कमिटी’ अर्थात्, नेपाली भाषा मान्यता समिति नामक २१ सदस्यीय समिति खडा गरेर आन्दोलन अगाडि बढ्यो । संस्थाको अध्यक्ष गणेशलाल सुब्बा र सचिव आईबी राई थिए भने म विद्यार्थी प्रतिनिधि थिएँ । दार्जिलिङमा त्यसअघिसम्म छात्रहरुले गरेको आन्दोलनको सभापति म थिएँ ।

भारतका प्रधानमन्त्री जवाहरलाल नेहरु दार्जिलिङ आउँदै थिए । उनका समकालीन नेता बीसी रोय पश्चिम बंगालका मुख्यमन्त्री । प्रधानमन्त्री नेहरु आउँदा उक्त समितिको प्रतिनिधिमण्डलले भेट पाउने तय भयो । भेटमा गणेशलाल सुब्बा र आईबी राईले राम्ररी कुरा राख्नुभएको थियो । मैले विद्यार्थी नेताका रुपमा एउटा स्मरणपत्र नेहरुजीलाई बुझाउने मौका पाएँ । त्यसको अघिल्लो दिन सायंकालमा गभर्नर हाउसमा पश्चिम बंगालका मुख्यमन्त्री बीसी रोयलाई भेट्ने समय मिलेको थियो । प्रतिनिधिमण्डलको कुरा सुनेर उहाँ एक्कासि झोँक्किनुभयो । रोयले रन्किएर अंग्रेजीमा भने, “नचाहिँदो माग नराख्नू । टाउकोमा भिजेको चिसो टाबेल राखेर कुरा गर ।”

गणेशलाल सुब्बाको कन्पारो तातिहाल्यो । तर, उनी संयमित भएर तत्काल केही बोलेनन् । त्यसैबेला आईबी राईले तिनलाई अंग्रेजीमै जवाफ दिनुभयो, “महाशय ! टाउकोमा चिसो टाबेल त तपाईंले पो बाँध्ने हो त, हामीले होइन ।” राईको ठाडो जवाफले सबै जिल्ल पर्‍यौँ । यो असहज वातावरण रेकर्ड गर्ने फोटो तथा अन्य पत्रकारहरु कोठाभित्र क्यामेरा सोझ्याउादै भित्र पस्न खोजिरहेका थिए । मुख्यमन्त्री रोयले बाँकी रिस अब पत्रकारहरुमाथि खन्याउँदै सुरक्षाकर्मीलाई बंगालीमा आदेश दिए, “फेलेदाओ ।” (सबैलाई घोक्र्याएर बाहिर निकाल) ।

प्रहरीले पत्रकारलाई ठेलेरै बाहिर निकाले । गणेशलाल सुब्बाले सुझबुझका साथ वातावरणलाई सहज तुल्याएपछि नेहरुसँग भेट हुँदा राखिने हाम्रा मागबारे छलफल भए । ‘राई झ्वाँक’ देखाउने आईबीको निर्भीकताबाट म साह्रै प्रभावित भएको छु ।

प्रस्तुति : रमण घिमिरे

प्रकाशित: भाद्र २८, २०७५

ट्याग: सस्मरण